आस्थाका दुखाइ र
जीवनका मूल्यह्रासमा
सधैँ स्वाभिमानले बाँच्न सकुँ
जीवनको यो मेरो चाहना
हो
जीवन अनन्त हुँदा
बगरमा हिंड्नुपर्छ खुट्टा दुखाइ
मरुस्थलमा हिँड्नुपर्छ पानी नपाइ
यसैमा जीवनको मूल्य छ
सुख साथ लिई
दुःखलाई निकट मित्र बनाउन सकुँ
जीवनको यो मेरो चाहना।
कहिलेकाहीँ
बादलबिना नै पानी पर्छ
कहिलेकाहीँ
चट्याङबिना नै हुरी चल्छ
र
सहनुमा म महानता ठान्दछु
खै सुख के भन्ने
खै दुःख के भन्ने
सुख र दुःखको रङ्गमञ्च भएर बाँच्न सकुँ
जीवनको यो मेरो चाहना।
हिँड्दैछु म निरन्तर र
पाइलाहरू मेट्दै पनि छु
यद्यपि
यात्रा निरन्तर जारी छ
म जीवनमा अलिकति कोलम्बस हुन्छु
म जीवनमा अलिकति मार्कोपोलो हुन्छु
जीवनमा अलिकति भास्कोडिगामा हुन्छु
र निरन्तर जीवनको यात्रा ।
यो जीवनको यात्रा चलाइरहन सकुँ
जीवनको यो अर्को चाहना मेरो।
जीवन हो यो-
कहिले पानी पर्छ
कहिले खडेरी पर्न सक्छ
कहिले हुरी र आँधी आउन सक्छ
सन्दर्भ मिलाएर विज्ञापन पनि हुनसक्नु पर्यो
सन्दर्भ मिलाएर आस्थावान् पनि हुनसक्नु पर्यो
त्यसैले
कहिले म सिउडीझैं फुलिदिन्छु
कहिले म गुलाफझैँ फक्रिदिन्छु
प्रताडना र पीरहरूको माझमा
आस्था र स्वाभिमानको बीचमा।