ऊ प्रायः मलाई भेट्न आउँदैनथ्यो, सधैं मैले कर गर्थें। आज उसैले फोन गरेर 'भेटौँ न आज' भन्यो। मलाई अचम्म लाग्यो। एकछिन सोचेँ तर मैले ठम्याउन सकिनँ आखिर किन? के भयो आज यसलाई?
एक मनले डर लाग्यो। अर्को मनले खुसी लाग्यो, यसलाई पनि भेट्न मन लाग्दो रहेछ। हामी सधैं जाने खाजा घर गयौं। टेबलको बीचबाट तप्प-तप्प आवाज आइरहेको थियो। एउटा ठूलो खाली भाडा लिँदै बहिनी त्यहाँ गइन्। अब त्यो ठाउँमा रिजर्भको साइन राखियो। म एकाग्र सोचिरहें, एउटा पानीको थोपाले पनि त्यति धेरै ठाउँ आफ्नो बनायो, कति शक्तिशाली!
उसले भन्यो 'चिया खाने?'
'आज किन बोलाएको?' मेरो प्रश्न।
उसले मेरो आँखामा हेर्यो, के देख्यो थाहा छैन तर आँखाभरि ऊ नै थियो। सायद उसले देखेन, त्यसैले त कत्ति पनि नहिच्किचाएजस्तै गरी भन्यो, 'मेरो घरमा बिहेको कुरा चल्दैछ!'
दुई सेकेन्ड त तर्सिएँ तर मैले हाँस्दै भनेँ, 'के नौलो कुरा भयो र, सधैं उस्तै त हो! तर तिम्रो बिहे अहिले हुँदैन मेरो अन्तर-आत्माले भन्छ!'
उसले म बोलेर नभ्याउँदै भन्यो, 'मेरो बिहे अब ६ दिनपछि हुने भयो, म तिमीलाई खबर नगरी जान सकिनँ, त्यही भएर बोलाएको।'
यत्ति भनिसक्दा दुवैको अगाडि तातो चिया टक्क बस्यो। चियाको बाफ हावामा मिसिन नपाउँदै उसको कुराले मनमा चिसो पस्यो। एक्कासी शरीरमा काँडा उठेजस्तो भयो। विवाह कसैको लागि रहर त कसैको लागि बाध्यता हुन्छ, तर मेरो लागि शून्य।
उसले यो खबर यसरी सुनाउँदा न खुसी हुने मौका दियो न दुखी हुने समय। हात खुट्टा सिथिल भएजस्तै गरेँ, चिसो मन चिसो भई जलेजस्तै भयो। मेरा आँखा आँसुले टमक्क भए, मैले हलचल गर्न सक्दिनँजस्तै लाग्यो तर ओठ खुले, जिब्रो चल्यो एउटा बोली निस्कियो- 'बधाई छ।'
उसले मेरो आँखामा हेर्न सकेन या हेर्न खोजेन उसैले जानोस्। एकछिन सन्नाटा छायो। बाहिर पानी दर्किरहेको थियो। रोक्ने ठेगान छैन। तर किन रोकिनु छ र? अब मलाई कहीं पुग्नु थिएन। यात्रा नै समाप्त भएजस्तो त्यो पल, त्यो क्षण त्यो लाचारीपन सम्झिन्छु, लाग्छ सबैभन्दा गह्रुंगो त मन पो हुँदो रहेछ।
अब त्यहीँ गह्रुंगो मनको बोझले मै थिचिन्छु जस्तो लाग्यो। हेर्दा म जति खुसी को देखिन्छ होला? अनुहार मेरो जत्ति हाँसेको कसको देखिन्छ होला र? तर एकैछिनको लागि मेरो ओठको पनि बिछोड भयो बत्तीस हुन नसकेका दातहरूसँग।
अब आँखाबाट ऊसँग हुन सक्ने बिछोडका पलहरू खस्नका लागि तँछाड मछाड गर्न थाले। म यति कमजोर भएर उसको अगाडि देखिन चाहन्नथेँ। केही नभनी जुरुक्क उठेँ। 'एकछिन है' भनेर म शौचालय तिर लागेँ। शौचालय तिर फर्कनासाथ आँसु तप्प खस्यो, दाहिने हातले आँसुको थोपा सम्हालेँ, कसरी भुइँमा खसाल्न सक्थेँ र उसका ती यादहरू!
मुख धोएँ। ऐना हेरेँ। ऐनाले मजस्ती हुन खोजेकी छु, त्यस्तै देखायो तर म कस्ती छु, मभित्र कस्तो छ, के चलिरहेको छ केही देखाउन सकेन। मलाई म नै झुटजस्तो लाग्यो। म नकाब लगाएर उभिएको जस्तो लाग्यो। लाग्यो कि एक मुठ्ठी कसेर हानुँ त्यो ऐनालाई र उतार्दिउँ त्यो नकाब।
म किन उसको अगाडि कमजोर भएको देखाउन चाहन्नँ? यो प्रश्नको जावाफ खुद मसँग थिएन। ऊ जाँदै छ छोडेर। ऊ लैजाँदै छ सबथोक। म किन रोक्न सक्दिनँ? यो प्रश्नको जवाफ खुद मसँग थिएन। म कराएँ आफैसँग। रोएँ म भित्र-भित्रै। देखेन कसैले। देखाउन चाहिनँ कसैलाई।
त्यो बेला थाहा भयो, आँसु आउनु राम्रो रहेछ भित्र-भित्र जल्नुभन्दा। मायाले मान्छेको जीवनमा रङ भर्छ, तर कुन रङ भन्ने रोजाइ आफैमा हुन्छ। उसले भर्न जाँदै थियो रातो रङ कसैको सिउँदो माथि, यता मेरो जीवन रङहीन हुँदै थियो। थाहा थियो यो हुन्छ एकदिन, थाहा थियो ऊ जान्छ एकदिन तर मैले रोक्न सकिनँ एकछिन।
बाहिर आएँ, मेरो छेउमै आएर बस्यो, विस्तारै हात समात्यो। मैले उसको आँखामा हेर्न खोजेँ, उसले हेर्न सकेन सायद। भुइँतिरै हेरेर भन्यो, 'सरी यार, मैले तँलाई धोकामा राखेँ, म खत्तम केटा हो। म चुरोट, रक्सी, गाँजा सब खान्छु, म राम्रो मान्छे होइन।'
मलाई उसका यी सबै कुराले कुनै फरक पार्दैनथ्यो। उसलाई के थाहा उसले विगतमा मेरो दुःखका आँसु खाएर, खुसी दिएको थियो। अहिले मेरो खुसी खाएर आँसु दिन गैरहेको छ। उसको चाहना म उसलाई घृणा गरुँ भन्ने थियो होला! मैले उसलाई आफूभन्दा बढी माया गर्थें र गर्छु पनि। अब कुनै पनि कुराले उसलाई घृणा गर्ने बनाउन सक्ने थिएन।
जाऊ तिमी, तिम्रो खुसी हेर। बरु म सहुँला दुःख जति, जाऊ तिमी ढुक्कसँग। तर मैले माया गरेको मान्छेलाई, मलाई माया के हो सिकाएको मान्छेलाई किन गलत साबित गर्न खोज्छौ?
मलाई सम्झना थियो उसले भनेको, 'बिहेपछि म मोबाइल नम्बर परिवर्तन गर्ने छैन। तँलाई एक महिनापछि म आफै फोन गर्छु।'
अरे यार, एक महिना किन? जिन्दगी नै उसलाई दिएको थिएँ, तैंले कदर गरेनस्। मैले भनेकी थिएँ, 'तेरो बिहेपछि मलाई तेरो घरमा काम गर्ने कमारी राख्नु है! तँलाई खाना बनाएर खुवाउने बहानामा हेर्न त पाउँछु!'
उसले भन्थ्यो, 'पागल नहो न तँ। भोलिको दिनमा यहीं कुरा सम्झेर यसको लागि मैले यो गरेछु भनेर मलाई तेरो हाँसोको पात्र बन्नु छैन!'
तर उसलाई त मेरो आँसुको पात्र बन्न मन रहेछ। पानी रोकिँदै रोकिँदैन, जति जोडजोडले पानी पर्थ्यो म खित्का छोडेर हाँस्थेँ। ऊ पुलुक्क मेरो मुखमा हेर्थ्यो, 'किन हाँसिराछस् तँ? मलाई ७ बजे घर पुग्नु छ समानहरू मिलाउनु छ!'
पानी रोकिँदैन।
आज मसँग समय थियो, माया गरेको मान्छे पनि थियो तर बोल्नलाई शब्द थिएन। ऊ यहीं नजिक भएर पनि टाढा पुगिसकेको थियो। म अझै सामीप्यताको आभाष गर्न चाहन्थेँ तर अब कुनै अर्थ थिएन। पानी रोकिएन जसरी मेरो मन रुन रोकिएको थिएन। मेरो आँसु देखाउन बर्सिएको झरीजस्तै लाग्दै थियो। तर जे होस् जानुभन्दा अगाडि एकैछिन बढी समय दिएको थियो मलाई समयले, उसलाई हेरिरहन।
खुसी थिएँ यो सम्झेर कि ऊ अझै एकछिन मेरो अगाडि छ, दुखी थिएँ यो सम्झिएर कि ऊ अब एकछिन मात्र मेरो अगाडि छ। एकछिन इन्द्रजीलाई सम्झिएँ 'डुबाइदेऊ इन्द्र देव आज यो सहर जहाँ मेरो लागि ठाउँ नै छैन! मलाई के काम यो सहर? मलाई तैरिन आउँदैन डुबाइदेऊ, डुबेपछि आफै उत्रिन्छ यो लास! किनकि यहाँ मेरो चिसोपन छाम्ने कोही नि छैन अब!'
एकाएक पानी अलिकति रोकियो। 'ल अब जाउँ' उसले रेस्टुरेन्टको पैसा तिर्यो अनि एउटा मश्रुम स्टीक र ससेज पोको पारेर तल झर्यौं। यसै खुट्टाले भुइँ छोडिसकेको थियो, त्यसमाथि दुई इन्चको हिल झण्डै सिँढी ओर्लिंदा लडिनँ। झसंग भएँ। उसलाई जान हतार थियो, फर्केर नि हेरेन। हो, हुन त जुन गाउँको बाटो जानु नै छैन त्यहाँ हेर्नु नि हुन्न भन्ने भनाइ उसले यही प्रमाणित गरिदियो। वचनको पक्का थियो।
'रेनकोट लाउने त?' मैले सोधेँ।
'अहँ, होस,' उसको जवाफ।
अब उसलाई मेरो कुनै चिज लिनु थिएन तर लगिसकेको थियो एक झोला खुसीका कारणहरू। हिजोअस्तीसम्म पानीमा भिज्दा ज्वरो आउँछ मलाई भन्थ्यो, आज त उसलाई भिज्न नि मजा आइरहेको थियो। सायद मनमा खुसी थियो होला। उसले एउटा बोझलाई बिना रोइकराई छोड्न सफल भएको थियो।
'ल हुन्छ जाउँ' भन्दै बाइकको पछाडि बसेँ। सधैं बाइकको पछाडि बसिसकेपछि ऐना हेर्दै 'तँलाई अझै योभन्दा कति राम्री हुन छ हुम?' भन्नेले आज म पछाडि छु/छैन पनि थाहा पाएन सायद।
एकैछिन पूरै सन्नाटा छायो। गाडी र बाइकहरूको आवाज पनि केही सुनिनँ। मन पूरै मौनधारणमा थियो। मन के, पूरै शरीर मौनधारणमा थियो। आँखाहरू पानीसँगै टिलपिल टिलपिल गर्दै थिए। आँखाले आँसुको बोझ बोक्न नसकेर भारी भएका थिए।
उसको फोनको घण्टी बज्यो- 'अँ बाबा, पानी परेको छ रोकिएको छैन। म यता किन्दै छु बाँकी, मलाई आउन ढिलो हुन्छ तपाईंहरू अरु किन्दै गर्नुहोस्।'
झुट बोलेको थियो बाबासँग। अरुबेला यसरी नै बोल्दा मेरो लागि झुट बोल्छ भनेर माया लाग्थ्यो, आज किन-किन यसले मलाई पनि यस्तै झुट बोल्थ्यो कि जस्तो लाग्यो।
'ल ल, यहीँ रोक अलि साइडमा,' मैले भनेँ। जाम थियो तर ऊ यति हतारमा थियो कि उसलाई साइड लाउन नै ढिलो भयो। मलाई बीच लेनमा नै उत्रिन भन्यो। अरूको बाइक चडेपछि अब झर्नु त पर्यो। अरु त भयो अब ऊ। मलाई सबैभन्दा डर लाग्ने कुरा बाटो क्रस गर्नु थियो। बाइकबाट ओर्लिएँ तर अब जाने कता हो।
मैले यता हेरेँ, उता हेरेँ सबै मैतिर आइरहेको जस्तो लाग्छ। उसलाई हेरेँ। उसले जाम हेर्दै थियो या मलाई नहेर्न खोज्दै थियो। बाटो काट्न अति गाह्रो। अरुबेला कस्तो दायाँ-बायाँ नहेरी हिँड्ने मान्छे रैछन् भनेर मै कराउँथेँ। आज कहाँ दायाँ कहाँ बायाँ नै बिर्सेछु मैले। बल्लतल्ल पारि पुगेँ अनि पछाडि फर्कें। म झर्दा रोकिएका गाडी त्यहीं थिए बस् उसको बाइक थिएन।
कति छिटो गएछ भन्ने भयो। ऊ जाममा बस्ने थिएन, मलाई ओराल्नु थियो त्यसैले रोकिएको थियो जस्तो लाग्यो। अब मलाई ५ मिनेट हिँड्नु थियो। खुट्टा मनजस्तै भारी भएका थिए। सजिलैसँग हिँड्न नसक्नेजस्तै भयो। रित्तो शरीरलाई धकेली, धकेली स्कुटरसम्म पुग्न मलाई आधा घण्टा लाग्यो। फटाफट स्कुटर स्टार्ट गँरें। ओहो! हेलमेट त पूरै भिजेर पानी त टाउकोभरि भयो।
अब ७ बज्न आँट्यो, त्यो पनि काठमाडौंको ट्राफिक जाममा। अगाडि गलत साइडमा एउटा लामो गाडी रोकिराखेको थियो। पछाडिबाट स्वयमसेवकको ड्रेस लगाएको एउटा दाइ आएर कराउन थाले- 'कहाँनेर रोकेको? तपाईंले गर्दा कति जाम भइसक्यो पछाडि, आफू नजाने भएसी बाटो किन छेकेको? यसरी गर्ने हो ड्राइभिङ?'
आवेगमा त्यो दाइले ठूलो-ठूलो स्वरले कराउन थाले। त्यहाँ रोकिएको आधा घण्टा बढी भइसकेको थियो। सबैजनाले स्टार्ट बन्द गरेर बसेका थिए। रेनकोटभित्र पानी छिरेर टिशर्ट भिजेको जस्तो भयो। जाम भएकै बेला मिलाउँछु भनेर लाग्दा झुक्किएर एकाएक मेरो स्कुटरको हर्न थिचियो, हर्न बज्यो। म आफै तर्सिएँ।
त्यसपछि त्यहाँ पूरै म्युजिक ब्यान्ड नै आको जसरी हर्न बज्न थाले। मेरो गल्तीले मान्छेलाई हौसला दियो। सुरुकै लाइनमा थिएँ। कति अभागी, ठ्याक्कै मै पुग्दा रोक्न पर्यो। लेफ्ट साइडको बाटो क्रस खुल्यो। गाडी बाइक सरर आए मैले फेरि देखेँ, त्यही मान्छे। ऊ पारि म वारि घुमिफिरी एकै ठाउँमा अड्केको रहेछौँ। मेरै अगाडिबाट स्वाट्टै गयो।
मैले हेर्न मात्र सकेँ, बोलाउन सकिनँ। बोलाएको भए पनि उसले नसुन्ने बहाना बनाउन सक्थ्यो अब। मलाई बीच लेनमै छोडेको मान्छे एकैछिनपछि त्यही ठाउँमा देख्दा मैले केही हेक्का नै लाउन सकिनँ। आज मलाई अर्को बाटोबाट आएकोमा पछुतो थियो। एकैछिनको लागि भए नि म उसलाई हेर्न पाउँथेँ। म किन मेन लाइनमा आएछु भन्ने भयो। त्यहाँबाट हिँडेँ।
आँखाभरि त्यही उसले मोडेको बाइक र घुम्ती याद थियो। आज मलाई यो आकाश हेर्न मन लागेन। यो सहरको बत्तीले मेरो अँध्यारो मनमा प्रकाश पार्न सकेन। भिजेको हेलमेटले कपाल पूरै भिजिसकेको थियो, अब शरीर भिज्ने तरखर गर्दै थियो। मन भिज्न जरुरी थिएन, पहिले नै भिजिसकेको थियो। मलाई महसुस केही कुरा को थिएन।
त्यो पानीले सफा भएको सडकमा मलाई स्कुटरको टायर गुडिरहेको नि थाहा भएन। मेरे उपस्थिति नै थाहा भएन आज मलाई। म गुडिरहेकी थिएँ यो सहरको भिडमा। हिजोसम्म यसरी नै गुडिरहँदा यो सहरको भिडमा म पनि संघर्षरत छु, यो भिडसँगै, अनेकौं मान्छेको सपनाको सहरमा म पनि छु भन्ने लाग्थ्यो। तर आज यहीं झिलिमिली सहर अँध्यारो लाग्यो।
अँध्यारोसँग मलाई एकदमै डर लाग्छ। यो सहरको भिडभाडमा म एक्लो छु जस्तो लाग्यो। मलाई एक्लोपनसँग एकदमै डर लाग्छ। यो पानी रोकिने नाम लिँदैन। म हिँडिरहेको बाटो, सधैँ हिँड्ने बाटो हो, सधैं स्कुटरमा हिँडिरहेकी हुन्थेँ तर कानमा उसकै आवाज हुन्थ्यो। अब ५ मिनेट, अब ४ मिनेट भन्दै घर नपुन्जेल हावा-हावा कुरा गरेर म बोल्न खोज्थेँ।
ऊ 'मम्मीले बोलाउनु भयो के' भन्दै हतारिन खोज्थ्यो। 'एकछिन न यार, म पुग्न लाइसकेँ के अब' भन्दै भुलाउथेँ। बाटोभरि हिजो उसलाई भुलाएको सम्झिएँ। ऊ भुलेको सम्झिएँ। मैले बोलाएको सम्झिएँ। उसले बोलेको सम्झिएँ। तर आज उसले नबोलेको सम्झिएँ, उसले भुलेको सम्झिएँ। आँसु खसिरहे यहीं झरीजस्तै। यो झरी बरु साथीजस्तै लाग्यो। मेरो दुखमा मसँगै रोइदिने कोही त छ।
हातहरू पानी र जाडोले कठ्याङ्ग्रिएका थिए। स्कुटर कसरी धानिरहेकी थिएँ मलाई नै थाहा थिएन। तर धानिनु थियो, पुग्नु त थियो घरसम्म। मनमा अनेक कुराहरू खेलिरहेका थिए। पानी परिरहेकै थियो। अगाडि बाटो थियो। आँखाले अगाडि नै हेरिरहेका थिए तर जताततै ऊसँग बिताएका पलहरू मात्र देखिएको थियो।
एक्कासी जोडले हर्न बज्यो पछाडिबाट। मलाई होस् नै थिएन, म त गलत लेनमा पो आइसकेछु। पछाडि टिप्पर थियो। अगाडि माइक्रो। म तर्सिएँ नमज्जासँग। आज अन्तिम दिन पनि हुन सक्थ्यो। अगाडिबाट आइरहेको माइक्रोको दाइले समेत 'ए बहिनी कता छ ध्यान?' भन्न भ्याए।
अब ध्यान त सबै ऊतिरै थियो तर बोल्न सकिनँ केही। झन् हात काम्यो, लाग्यो अब यहाँभन्दा अगाडि जान सक्दिनँ। मलाई उसको बोली सुनेरै यो कीर्तिपुरको जंगल काट्ने बानी परिसकेको थियो। आज जति डर कहिल्लै लागेन मलाई। थोरै अगाडि गएर स्कुटर रोकेँ अनि लामो सास फेरेँ। 'हे गणेश भगवान मलाई हिम्मत देऊ' मैले यत्ति मागेँ।
मुटु ढुकढुक पहिलेबाटै थियो, फोक्सोको बायाँपट्टि दुखेर दुखाइ एक्कासी मेरो काँध हुँदै मेरो गालासम्म आइपुग्यो। फेरि आँसु खसे। 'एकछिन बोल न म अब ५ मिनेटमा पुग्छु के' भनेर कर गरेको सम्झिएँ। भक्कानो छोडेर रुन मन लाग्यो तर सँगै अँध्यारोको डर। यो बाटोमा मैले देखेको भनेको कालो अँध्यारो रात, बर्सिरहेका पानीका थोपा अनि यहीँ मेरो एक्लोपन।
आज त यी रुखका छाहरीहरू पनि कति भयनाक देखिएका। कस्तो अचम्मको हुन्छ समय, दिउँसो चर्को घाममा यहीँ रुखहरूले घामलाई छेकेर हामीलाई शीतल छहारी दिन्छ, अनि रातमा यहीँ रुखहरूले जुनको प्रकाश छेकेर डर लाग्दो अँध्यारो बनिदिन्छ। काम त छेक्ने नै हो तर समय फरक भैदिनाले यसको प्रभाव ठिक विपरीत भैदिन्छ।
स्कुटर ४०/४५ कै स्पीडमा कुँदिरहेकै बेला लुकिङ ग्लासमा आँखा गयो। एक्कासी कोही मान्छे स्कुटरको पछाडि बसेजस्तो लाग्यो। म आत्तिएँ। स्कुटरको सन्तुलन बिग्रियो। म लडेँ। पूरै भिजिने गरी, स्कुटरले च्यापिरह्यो। उठाउन खोजेँ। आज म आफै भारी भैरहेकी थिएँ मेरै लागि, स्कुटर उठाउने बल थिएन मसँग। सकिनँ। अब प्रयास पनि गरिनँ।
अगाडि आइरहेको माइक्रोले रोक्यो। दुई जना दाइहरू ओर्लिएर आए, उठाए। 'कतै लाग्न त लागेन नि बहिनी'' यति मिठो गरी सोधे त्यो दाइले। तर जवाफ केही फर्काउन आएन। धन्यवादसम्म दिन आएन मलाई। बस फगत दाँत नदेखिने गरी एकदमै बनावटी हाँसो हाँसेँ। आफैसँग घृणा लागेर आयो। म यस्ती मान्छे होइन। आज के भयो मलाई, के भयो मेरो मन। किन यति निठुरी भएकी म। म स्कुटरमा फेरि बसेँ। स्टार्ट भयो, थोरै अगाडि गएँ। ती दाइहरू केही भन्दै फर्किए। मैले सुन्ने कोसिससम्म गरिनँ।
बल्लबल्ल म बस्ने घर पुगेँ। स्कुटर राखेँ। सिँढीबाट उक्लनु मेरो लागि निकै कठिन भयो। त्यसै त अँध्यारो, यो भारी मन, भिजेका परेली अनि यो स्यान्डल। बल गरी-गरी उक्लिएँ। दोस्रो तला आइपुगुन्जेल त श्वास बढेर घाँटीसम्मै आइपुग्यो। हात खुट्टा लर्खराए, एक्कासी आँखा धमिलो भएर आयो। स्यान्डल चिप्लियो। म लडेँ। अर्को ल्यान्डिङसम्म पुगेँ।
दुख्यो, हातको जोर्नीदेखि टाउको, कम्मर घुँडा, घाँटी सबैतिर एकैनासले करेन्ट लगाइदिएजस्तै गरी दुख्यो। गुहार माग्नेसम्मको बोली आएन। आँखा खुलै थिए, बेहोस भएकी थिइन् तर होस पनि त थिएन। दुवै हातले रेलिङ समातेर शरीरलाई उठाएँ। घुँडाले खुट्टालाई साथ दिन इन्कार गरिरह्यो। मैले बल गरिरहेँ।
रिंगटा लागेजस्तो भयो, टाउको समाते, निधारको पछिल्लो भागमा टुटुल्को उठेको थियो। घुँडाबाट रगत चुहिन थाल्यो। फेरि भगवान सम्झिएँ। किन भगवान यो सब? अब केका लागि? मन त मर्ने गरी टुक्राइसक्यौ, अब यहीं लासजस्तो शरीरलाई पनि बारबार मार्ने प्रयास गरिरहेका छौ अनि बचाइ पनि रहेका छौ? सायद तड्पिरहेको हेर्न चाहान्छौ।
कोठाको ढोका खोलेँ बल्लतल्ल। पूरै अँध्यारो। फेरि झसंग भएँ। लाग्यो साँचोले कालरात्रिको ढोका खोलेछु। काँधको झोलासँगै जीउ पनि भुइँमै बिसाएँ। अब मेरो आँखा वरिपरि घुम्न थाल्यो ऊसँग बोलेको हरेक क्षण, हरेक पल, हरेक शब्द। संसार नै घुमियो एकछिन। अब म अर्धचेतन थिएँ।
ती कहाली लाग्दा दिन सम्झेर आज मनमनै कसम खाएँ, अब उपरान्त फेरि कसैलाई माया गर्ने छैन, मायामा मर्ने छैन, पूरा नहुने सपना सजाउने छैन। अब मलाई फरक पार्ने पनि छैन यी झुटा सम्बन्धले। उसले दिएको एक महिना समय सकिएर आज २४ दिन भइसकेको थियो!
उसले मलाई एकपटक अन्तमा बाई भन्न लायक पनि सम्झिएन? के म यही लायक थिएँ? मेरो यही अन्तिम प्रश्न सोध्न नपाई पर्खिरहेको छ! अब उसका हरेक याद यसरी मेटाउन चाहन्थेँ कि 'ऊ थियो' भन्ने हेक्कासम्म नरहोस् मलाई। मैले बुझेँ आज, मरेकालाई जलाउन मान्छेहरू राँको लिएर आउँछन् तर कसैलाई ज्युँदै जलाउनु छ भने मान्छेहरू झुटो माया लिएर आउँदो रहेछन्।
म यसै एक्ली थिएँ, कोही आयो रंगहीन जिन्दगीलाई रङ्गिन बनाइदियो एकैछिन अनि गयो केही थिएनजस्तै गरी। ऊ नै जिन्दगीको अन्तिम नोक्सान थियो। ऊ गएपछि लाग्यो सबै चिज गुमाएँ मैले। अब गुमाउन बाँकी मानसिक सन्तुलन छ!