'तिमी ओछ्यान परेको पनि आज १९ दिन पुगेर २० दिन लागिसक्यो तर व्यथा भने २० को १९ भएजस्तो छैन सुन्तली,' आडैको कपबोर्डमा छिरलिएका स्याउका दानाहरूलाई मिलाउँदै चमेलीले भनी।
उता सुन्तली कहरेको आवाज बढ्न थाल्यो। चमेलीको कुराले उसलाई अझ निराश बनायो। माने हतारिँदै आयो।
'सेनीआमै, पैसा नै पुगेन काउन्टरमा बुझाम्न। पाँच हजार माग्यो काउन्टरकाले, मसँग पैतालिस सौ थ्यो। पान सौ पनि घटाइदिएन। त्यसका बाजे! सिस्टम हो कि के हो जातिले मान्दैन भन्छ बा। बिमाको कागज ल्याउनुपर्ने रैछ नि। सबैले लेराका रैछन्। हाम्ले मात्रै होइछ बिर्सेको।'
'मेरा सुद्धी, ह्वाँ त सभ्झेकी हुम् नि। क्यार्नु, यो खप्परले काम गर्न छोडेपछि,' सुन्तलीले धारे हात पुर्परामा लाउन के खोजेकी थिई हातमा जोडेको गुल्कोज पानीको नली तन्किएर सही नसक्नुको पीडा भयो।
चमेलीले पटुकीबाट प्लास्टिकमा बेरेको एउटा पोको निकाली। पाँच/पाँच सयका पाँच वटा नोट रहेछन् त्यहाँ। नोटका पत्र-पत्र अलग्याएर गन्न थाली। एउटा पाँच सयको नोट मानेको हातमा थमाइदिई।
'ल जा, नपुगेको पैसो थपेर औषधि लिएर आइज।'
सुन्तली हस्पिटलबाट डिस्चार्ज भएको हप्तादिन भयो आज। विस्तारै मुन्टो उठाउन थालेकी थिई। डाक्टरले महिनादिन जति आराम गर्न भनेको थियो। दिउँसभर कुँजिएर पिँढी कुरेर बस्नुपर्ने, त्यसमाथि नजिकै गोठमा डियाँहरू भोकले छट्पाएको देख्दा उसको मन भतभती पोल्थ्यो। मनमनै सोच्थी, 'तिनीहरूको आहारा बनेर अगाडि तेर्सिन पाएँ पनि हुने।'
मनमा यस्तै कुरा खेल्दाखेल्दै कतिबेला उसका परेला जोडिएछन् पत्तै पाइन सुन्तलीले। भित्तोपट्टि कोल्टे परेर सुतिरहेकी सुन्तलीले अनौठो सपना देखी।
'सुन्तली खेतमा धान रोप्दै थिई। अचानक ठूलो मुसलधारे पानी पर्यो। खेतमा बाढी पस्यो। बाढीले खेत बगायो। खेतसँगै सुन्तलीलाई पनि बगायो। खोला गाउँतिर उक्लियो। डाँडाको टुप्पोमा आइपुगेको खोला सिधैँ आकाशतिर उड्न थाल्यो। त्यो खोलाबाट मुन्टो बाहिर निकालेर एउटा बच्चा रुँदै कराउँदै थियो- 'आमा, आमा...!'
एक्कासी सुन्तलीको आँखा खुल्यो। उसलाई पिँढीको छेउमा बसेर उसकी छोरी उजेलीले बोलाइराखेकी थिई। साथमा एउटा अपरिचित व्यक्ति पनि थियो। सुन्तलीले त्यो मान्छेलाई एकटकले हेरिराखी। उसलाई आफ्नै छोराको याद आयो जसले उसलाई सधैंको लागि एक्लो बनाएर गएको थियो।
असार लाग्यो कि सुन्तलीको पुरानो घाउ बल्झिन्छ। असारे झरी, त्यो दिन दुई हलको मेलो सक्ने गरी बिहानैदेखि चटारो थियो। सुन्तली सुत्केरी भएको एक वर्ष पनि भएको थिएन। मेलापात गर्दा साथको दूधे बालकलाई बिहानदेखि बेलुकासम्म घरै कोक्रोमा एक्लै छोडेर हिँड्थी।
उजेलीका बा गाउँकै स्कुलमा पिउन काम गर्थे। दिउँसो स्कुलको टिफिन टाइममा आउँथे। छोरालाई नास्ता खुवाउँथे र स्कुल जान्थे। तर त्यो दिन घरको मेलो भएकाले त्यो दूधे बालकलाई साथमै लिएर बेसी झरे। खेत नजिकैको पौवाभित्र डाँडी बनाएर सुताए। त्यो दिन बिहान छिमेकीको दैलो चाहर्दा पर्म लगाएर राखेको खेताला समेत पाइन सुन्तलीले। दुई हलले आँटे जतिको मेलो सकियो तर रोपारे कम हुनाले रोपेर नसकिने भयो।
'आजै सक्नुपर्छ यो सबै, फेरि भोलि पल्लारे च्यान्टे दाइले खेताली बोलेका छन्। भर काट्न पनि त भएन' मनमनै कुरा गर्न थाली सुन्तली।
रिमझिम साँझ परिसकेको थियो। अबेरसम्म बसेर भए पनि रोप्न बाँकी रहेको सुर्को आजै सक्छु भनेर कस्सिई सुन्तली। गोठमा डियाँको के हाल छ? बिहानदेखि एक अंगालो घाँसको भरमा छन्। कतै दाम्लाको पासोमा परे कि, किलो उक्काएर त हिँडेनन्? सुन्तलीलाई पेट पोल्न थाल्यो।
'ए उजेलीका बाउ, तिमी छिटो घर जाऊ त। म यति सकेर आउँछु,' मुठोबाट अलिकति धानको बिउ निकालेर झट्कार्दै सुन्तलीले भनी।
आदेश पाउनासाथ उजेलीका बा त्यहाँबाट डोको बोकेर हिँडे। रोपेर सक्दा झिमिक्कै भइसकेको थियो। पूर्णिमाको दिन भएकाले बादल भित्रबाट भए पनि मन्द उज्यालो दिँदै थिए चन्द्रमाले।
खोलापारि खेत थियो। झोलुङ्गे पुल पनि थिएन खोलामा। असारे झरीले खोला गडगडाएर बगेको थियो। रात परिसकेकाले सुन्तलीको साथमा कोही साथी थिएनन्। सुन्तली हतार-हतार डाँडीभित्रको छोरोलाई निकाल्छे। डाँडी बनाएको पछ्यौरी निकालेर छोरोलाई बोक्छे र त्यहाँबाट निस्कन्छे।
माथिबाट खोलो उर्लेर बगेको थियो। सुन्तली छोरोलाई पिठ्यूमा बोकेर खोला तर्न खोज्छे। खोलाको बीचमा पुगेपछि चिप्लिन्छे। पछ्यौरीले बोकेको छोरो पानीमा खस्छ। छोरोलाई छालले हुत्याएर पर पुर्याइसकेको हुन्छ। ऊ छोरो बगेतिर खोलाको तीरै तीरै दौडन्छे तर छोरोलाई भेट्टाउन सक्दिन। सुन्तली खोला किनारको बगरमा बेहोस भएर ढल्छे।
घरमा उजेलीका बा सुन्तलीको बाटो हेरेर बसेका हुन्छन्। रात छिप्पिसक्दा पनि सुन्तली घर नफर्केपछि उनले छिमेकीलाई गुहार्छन्। छिमेकीहरू हुल बाँधेर सुन्तलीलाई खोज्न हिँड्छन्। रातभरि खोजी कार्य जारी रहन्छ। सुन्तली बिहानीपख खोलाको बगरमा बेहोसी अवस्थामा भेटिन्छे। तर छोरोको अत्तोपत्तो हुँदैन। सुन्तलीको होस खुलेपछि सबै कुरा थाहा हुन्छ।
सुन्तलीको दर्दनाक घाउमा खाटो बस्न धेरै सयम लाग्छ। रोपाइको सिजन लाग्यो कि उसलाई त्यो घटनाले चिथोर्न थाल्छ।
आज छोरी घरबाट हराएको पनि एक महिनाभन्दा बढी भइसक्यो। पँधेरा, मेलापात जताततै उजेलीकै कुरा काट्नेहरू मात्र भेटिन्थे। त्यही भएर सुन्तलीलाई घरबाट निस्कन मर्नझैँ लाग्थ्यो।
सुन्तलीले उजेलीसँग आएका ती अपरिचित व्यक्तिलाई एक टकले हेरिरहन्छे। 'आमा, म हिडेपछि हजुर सिकिस्तै बिरामी हुनुभएछ। सिमलडाँडे माइली दिदीलाई भेटेको थिएँ। उहाँले सबै कुरा भन्नुभएको थियो। आमा मलाई माफ गरिदिनु, मरो कारणले गर्दा हजुर यो अवस्थामा पुग्नुभयो। उहाँ हजुरको ज्वाइँ। हाम्रो लभ परेको पनि दुई वर्ष भयो। डरले मैले पहिले मुख खोल्न सकिनँ। घरको एकमात्र सन्तान म। ममाथि हजुरहरूको कति ठूलो विश्वास थियो। मैले त्यो विश्वासलाई थाम्न सकिनँ।'
उजेली सुक्क-सुक्क गर्दै रुन थाली।
उजेलीका बा आँगनको डिलमा बसेर हेरिरहेका थिए। उजेलीका नजर बातिर पर्यो। उसले घोसे मुन्टो लगाई। उजेलीका बा नबोली घरभित्र पसे। सुन्तली सकि-नसकी उठेर भित्तामा अडेस लगाउँदै भनी- 'कति टाढादेखि आएका हौला? थकाइ पनि त लाग्यो होला नि, हिँड भित्र।'
उजेलीका बा हातमा खुर्पा लिएर ढोकामा उभिए। रिसले चुर हुँदै कड्किन थाले। 'यो दैला ठेलाबाट भित्र खुट्टा राखिस् भने छप्काइदिन्छु। जातभात के हो केही बुझ्नु छैन। दुई खुट्टाले टेकेको केटो देखे पुग्यो। हाम्रो कुलघरानको इज्जत छैन? तैले मनलाग्दी गर्न पाउँछेस्।'
'हैन उजेलीका बा, किन बौलाका हौ तिमी? होस ठेगानमा त छ? अहिलेको जमानामा पनि जातभातको कुरा गर्ने? मैले त यी बाबुको अनुहारमा मेरो खेर गाको छोराको झल्को पाकी छु। भगवानले हामीबाट खोसेको नासो हामीलाई नै फिर्ता गर्दिनु भा होला पक्कै पनि। यिनीहरूलाई घरबाट निकाल्छौ भने मलाई पनि निकाल बुझ्यौ?'