कर्णालीको मुहानबाट
रानीजमरा धमिलो भेलमा बग्छ
डुबुल्की मारेर त्यहाँ
पानीभित्र पनि पानी खोज्छु
सुनिँदैन कलकलाउँदै बग्ने
लयवद्ध ढुकढुकी
विसंगतीको अनौठो नारा उर्लन्छ।
वसन्त कालमा झिंगा भन्किन्छन्
त्यहाँ बादलको चित्कार गुञ्जिएमा
वर्षातमा झर्झराउने
पानीमाथि पनि पानी खोज्छु
म पाउदिनँ मुटुको निर्दोषीपन
रगतको बासी पीडा फैलने गर्छ।
थाहा छैन मलाई
धरोहरको खण्डहरमा एक्कासी थिचिएको
कलिलो मुटु कुन हालतमा छ?
नरभक्षीको कोलाहलमा रोकिएको
चुलबुले ढुकढुकी कुन चालमा छ?
वासन्तीका चञ्चले फूल
वेदनाले उर्लिएको हुलकुल
साथसाथै सुकेर गए
निर्जन भूमिको परिभाषा छैन।
अचेल सखारै
एक हुल परेवा उडेर जान्छन्
यो खण्डहरबाट
हजारौं मुस्कान खोज्नलाई
अनि
संसाँझमा पखेटा फट्फटाउँछन्
रानीजमरामा पौडिने मुटुको ढुकढुकीझैँ
लाग्छ
रानीजमरालाई बग्न दिउँ
मौसमी वायु बहन दिउँ
असह्य
टाँटाहरु पखालेर
एकदिन भेटाउने छु
यी परेवाझैं जीवित
मेरो मुटु र ढुकढुकी
जिस्कन्छन् बैंसालु समयसँग।