सन्दर्भ दशैँमा टीको लगाउँदाको
'डाक्टर साब! एउटा सेल्फी लिउँ न है?'
भन्दै भाइले गरेको मजाकले
साँच्चै! अपरेसन थिएटरमै पुर्याएको
थियो मेरो कल्पनालाई
सेतो कोट, घाँटीमा स्टेथोस्कोप
र हातमा मेडिकल औजार सहितको
आफ्नो काल्पनिक तस्बिर
सेकेन्डभरमै तयार भएको थियो त्यो दिन
जुन दिन मैले मेडिकल इन्ट्रान्स पास गरेर
घर गएकी थिएँ।
हाम्रो खान्दानको सान भन्दै अंकलले अँगालो हाल्दा
छोरी होस् त यस्तो भन्दै आन्टीले तारिफ गर्दा
लागेको थियो म त राष्ट्रपति नै पो बन्न लागेछु कि के हो?
यो छाती भतभती पोलिरहन्छ
दबाइले पनि छोएन गाँठे! भन्दै
खुम्चिएका अनुहारमा पीडा दर्साउँदै बोलेकी हजुरआमालाई
मनमनै भनेकी थिएँ
म के त? ठिक पारिहाल्छु नि अब।
साँच्चै त्यो जोश, ती परिवेश कति प्यारा थिए
गुनासो केही थिएनन्
थिए त सिर्फ कल्पना अनि
त्यही सेतो कोटको सपना।
मोबाइलमा मिस्डकलको पाँच घन्टीले समेत नब्युँझाउने
कस्तो गहिरो निन्द्रामा परेछु म
सिरानी अप्ठ्यारो भएछ भनेर मिलाउन खोज्दा
ओच्छ्यानमा तन्ना भेट्दिनँ
जुरुक्क उठेर हेर्ने हिम्मत गर्छु
खाट रित्तो छ
सिरानी जहाँको त्यहीँ
आफूलाई भुइँको कार्पेटमा भेट्छु र
सिरानीको रुपमा
किताबको उन्नाइस नम्बर पेज।
ओहो! रातको दुई बजिसकेछ भनेर
खाटमा उक्लिनुको साटो
किताबको पाना पल्टाउँदै सम्झन्छु
तीस नम्बर पेज त अझै पछाडि छ
आ!
योभन्दा त हजुरआमाकै काम ठिक
कम्तीमा रातभर त आराम गर्न पाइन्छ
आज नभ्याए के भो त?
भोलि खेताला हालुँला
अनि पर्म तिर्न जाउँला नि फुर्सदमा
कति सजिलै बोल्छिन् हजुरआमा
आइज आज मेरो पढुँ, भोलि तेरो पढूँला
भनेर बाँडफाँड गर्न पनि नमिल्ने यो पढाइ
एउटालाई परेको ताप अर्कोले बुझे पनि
केही गर्न नसक्ने यो पढाइ
अनि फेरी सोच्छु..
म त केही वर्षमा स्वावलम्बी बन्दैछु
आफ्नो लागि आफै सक्षम हुँदैछु
'के गर्छे र?' भन्नेको अगाडि
शीर ठाडो बनाउँदै छु।
यही सान्त्वनाले तिस नम्बरको सम्म पुग्दा
छ्याङ्गै उज्यालो भइसक्छ
अनिदाझैँ देखिने आँखालाई
पावरवाला चश्माले ढाकेर म
हस्पिटलको वार्डतिर ताक्छु
ऐय्या! ऐय्या! गरिरहेका घाइतेहरू
छट्पटी रहेका रोगीहरू देख्दा लाग्छ
म संसारकै सबभन्दा सक्षम छु
व्यर्थैमा हिजो राती चिन्तित बनेँ।
हस्पिटलको वार्ड हुँदै कलेजसम्म पुग्दा मेरो
त्यो सेतो कोटको चमकता बढ्दै जान्छ
आत्मविश्वासको सामु शिथिलता परास्त हुँदै जान्छ
दिनभरको लेक्चरपछि फेरि
हस्पिटलकै वार्डतिर हाँक्छु पाइला
जसोतसो उठ्न बल गरिरहेकी
बुढी आमामा पुगेर आँखा अडिन्छ
भुइँमा खसेको उनको थैलीमा ध्यान थामिन्छ
हतार-हतार दौडेर उठाउन कसिन्छु
आँसुले टिलपिलाएका उनका आँखामा पुगेर सास अड्किन्छ
'आमा! साथी कोही आ'का छैनन्?' सोध्छु
'बुढा आ'का छन्
दबाइ लिन गा'का कैले पो हो?
डाक्टरले बोलाइसक्यो पालो आयो भनेर!'
चाउरी परेको उनको अनुहारले
आफ्नै हजुरआमाको याद दिलाउँछ मलाई।
उनको शरीरको धेरै बोझ
आफूले थाम्ने गरी उठाउँछु र
तिनै सेतो कोटको धनी डाक्टरकहाँ पुर्याउँछु
कृतज्ञताले भरिएका उनका आँखाले
मेरो सेतो कोटप्रतिको मोह अझै बढाउँछ
अनि म
आफू माथिको पढाइको बोझ बिर्सन्छु
आँसुले टिलपिलाएका तिनै आमाको आँखा सम्झन्छु
आफ्नी हजुरआमाको दु:ख सम्झन्छु
सेता कोटमा सजिएका डाक्टरको मुस्कान सम्झन्छु
आमाको बोली सम्झन्छु
बाबाको लगानी सम्झन्छु
र विशेषगरी
त्यही सेतो कोटको सपना सम्झन्छु।