मलाई हिलोको स्वाद र गन्ध दुवै थाहा छ। घुमेर आउने हरेक असारको रमाइलो, नरमाइलो ताजै छ। त्यो पनि थाहा छ, जति फेसबुकका भित्तामा असार आउँछ त्यसको ठिक विपरीत हुन्छ किसानको असार।
कहिले मुहानबाट आफ्ना गरामा पानी आइपुग्न लाग्दा बीचमा अर्कैले कुलाको पानी आफ्नो रोपामा लाउँछ। कहिले कुलाको ढिस्को गर्लामगुर्लुम लडेर पानी कुलुलु कुद्छ अर्कैको भर्खर रोपाइँ सकेको आँठामा। कहिले रोपाइँ गर्न झरेका रोपाहार अर्कैले बीचैमा रोकिदिन्छ। कहिले कुलाको मुहान बालुवाको ढिस्कनुले थुन्छ।
भात खान गोठको कुनामा टुसुक्क बसेका बेला पानी मर्यो भन्दै 'हली दाइ' कराउँछन्। कहिले पानी खेतमा आइपुग्दा पुग्दै झ्याउँकिरी बास्न थाल्छ। फेसबुकका भित्तामा यस्ता कथा आएनन्। आउँदैनन् पनि। किनभने असारभरि डाँडाबारी भेनाको थोत्रो टुकटुके मोबाइल प्लाष्टिकले छोपेर कटेराको माथिल्लो तल्लामा ढोडको खातमुनि राखिएको हुन्छ।
असार लागेपछि म डाँडाबारी भेना सम्झिन्छु। डाँडाबारी भेना सम्झिएपछि सम्झिनै पर्दैन बाह्रमुरेको हिलोआली, कल्सेको पानी र झमक्क साँझ। बिहानभरि खेतको आली लगाएपछि तपतप हिलो पानी चुहिँदै गरेको कमिजको फेरलाई बटारेर, 'अब तिमी भात लिएर आऊ, म त्यो लामो गरो सक्छु। दिउँसो रोपाहार आउँछन्। भरे साउने मेलो पुग्दैन।'
मैले यो बिर्सन हुँदैन। बाघेखोलाको भेलमा दुई खुट्टा चोबेर घर पुगी आफूले खाइसकेर आरीभित्र भात, एक छेउमा एक बटुको कालो दाल। मुन्टाको तरकारी। तीन वटा हरियो जिरे खुर्सानी। माथिबाट स्टीलको थालले छोपेर रातो गम्छाका सुर चारैतिरबाट भेला गरी बीचमा टमक्क बानेर दुई गाँठा दुई औँलाले अड्याएर अघिकै सल्लेरी, उही बाघे खेलो उही कटेराको सुर छेउको भर्याङ। यो पनि बिर्सनु हुँदैन, ओभानो ओछ्यानको एक छेउमा ढल्किएर कोरीबस्दा लेखेको छु, तीन वटै जिरे खुर्सानी पालैपालै मरक्याउँदा पिरो हुन्थेन भेना?
आजकाल आउँदैन कौशिला धाराबाट तौली छिचोल्दै प्रत्येक गरामा आलीबाट तिरिरी झरेको पानीको आवाज। नौ गरेका नौ वटा गरा सात वटा भइसके। आहालेबाट सुसाउँदै पानी कुद्ने नालीमा आजकाल 'रेशम फिलिली' कुद्छ। चुलढुङ्गा मुनिबाट अँधेरीको पानी अँधेरीतिरै फर्किन्छ।
धाराबारी, डाँडाबारी, माथ्लो खेत, तल्लो खेत, माझा लुङ्, करङ्गे, कल्सेको भिर सबैलाई भिजाउने एउटै खोलो फरक-फरक पाइपमा बाँडिएर फरक-फरक ठाउँमा पुग्छ। तल्लो गराको आली र माथ्लो गराको भित्तो जोडिएपछि धानको सट्टा उत्तीस फल्दौ रैछ। धोद्रो कट्मिराको रुख धोद्रै छ। फेदमा रुप्पीको गुँड लगाएको टाँकीको बोट डाँडाबारी भेनाकै घर छेउ सरेको छ। भेना धान फल्ने खेत खोज्दै मधेश झरेका छन्। सोच्दा हुन्, अल्लि अघि आएको भए दशधुर जति जोडेर आफ्नै घरमा बस्न पाइन्थ्यो कि?
तारे र सिँधुरे साह्रै मजाका हलगोरु थिए। 'यिनीहरुका पछि-पछि जानु, जहाँसम्म पुग्छन् त्यहीँ अडिनु। त्यहाँ साइँला आएका हुन्छन्।' भेनाले आज साह्रै गलियो भनेको सुनेको मैले पहिलोपल्ट हो। गोरुले मलाई ताने कि मैले गोरुलाई धपाएँ। सुरुमा पत्तै भएन। देवीथाने बाको घरमाथिको खरबारी कट्न लागेपछि पो था भो, न मैले गोरु धपाको रैछु न गोरुले मलाई तानेका रहेछन्।
तलबाट देवीथाने आमैले, 'नरोऊ, अब यता आऊ भरे बाउ काका खोज्दै आउँछन्। त्यतिञ्जेल यतै बस्नु' भनेको हिजैजस्तो लाग्छ। त्यती मजाका सिँदुरे बिच्छेले मलाई किन बीच बाटोमै छोडेका होलान्? भेना भा भए?
हलो, पाट्को र जुवा। जोतारो, सोइलो र हल्लुड। फाली, करुवा र पाड्को। हरिश, अनौ र ठेडी। सिँदुरे, बिच्छे र म। आहाले, धाराबारी र करङ्गे। अट्टे, मसिनो र तौली। नाम्लो, बरियो र भारी। मुङ्ग्रो, किलो र डोको। ओख्रे, बाघे र माङ्माङे। ढ्याङ्ग्रो, गजो र अछेता। ढाकर, तोक्मा र अक्कर। गुवाली, ढाँड र पानीगौँडो। गरा, आँठा र राँटा। सिकुवा, पेटी र बलेँसी। हलि, बाउसे र रोपाइँ। माच, दाईँ र बिटा। नाम्लो, थाप्लो र बरियो... डाँडाबारी भेनालाई कहाँ देखिँदैन? कहाँ भेटिँदैन? असारको पन्ध्रमा भेनाको फोटो हाल्यौ? हालेनौ भने असार अधुरो हुन्छ। रोपाइँ अपुरो हुन्छ।