मोबाइलको घण्टी उठाउँदै 'हेलो, ओई के गर्दै छस्? आजकाल वेपत्ता भइस् त। तैँले थाहा पाइस्, माया त पूरै डिप्रेसनमा गइछ नि। कस्तो बिरामी भइछ, समय मिलाएर जा न हौ भेट्नलाई,' एकै सासमा बेलिविस्तार गरी लक्षुले।
हामी सबै मायाले लक्ष्मीलाई लक्षु भन्थ्यौं।
'ए हो र? के भएछ त उसलाई त्यस्तो? भेट्न जानुपर्ला' भन्दै कुरा सक्काएर फोन राखेँ। स्कुल पढ्दाको मिल्ने साथी र नातेदार पनि थिई। साथीहरूमा पाको तर असाध्यै रमाइलो गर्नुपर्ने। घरमा जे-जस्तो तनाव भए पनि साथीहरूसँग खुलेर बस्थी। ऊ आमासँग बस्थी। बुवा कान्छी आमा लिएर बाहिरै बस्थे क्यारे, कहिल्यै भेट भएन हाम्रो।
दाजुहरू विवाह गरेर कामको सिलसिलामा बाहिरै थिए। स्कुल जाँदा-आउँदा बाटोमै घर पर्ने, त्यसैले पनि आमाले हात समाएर लग्दै धेरै पटक खाजा खुवाउनु भएको थियो। खासगरी कोदोको खोलेमा भटमास मिसाएर खाएको त्यो आमाको हातको मिठास कहिल्यै बिर्सन्न म।
विवाहअगाडि त सम्पर्कमै थियौं। विवाहपछि त खै के नमिलेर हो काठमाडौंमै भए पनि बाल्यसाथीहरू विदेशिएका जस्ता भएका थियौं। खबर दुवैलाई बराबरी नै थियो। सरल र उच्च विचारको असाध्यै मेहनती सधैं भन्थी- 'मेरी आमाले नदेखेको सपनालाई विपना बनाएर देखाउनु छ।'
आमाहरूको एउटै आवाज हुन्छ नै। छोरी मान्छे भएर झन् धेरै पढ्नुपर्छ नत्र दुःख पाइन्छ। हाम्रा अनपढ आमाहरूलाई मास्टर डिग्री कुन तहको पढाइ हो भन्ने थाहा नभए पनि भोगाइका अनुभवले यो सिकाएको थियो कि डिग्री गरेपछि छोरीहरू सक्षम हुन सक्छन्, सक्षम भएपछि न एक पेट भरिने खानाको लागि न एउटा शरीर ढाक्ने कपडाको लागि अरुको भर पर्नुपर्छ, न रातो मुख पार्दै हात फैलाउनु पर्छ, आफनो फरियाको गाँठो होस् या थैली होस्, न रित्याएर बस्नुपर्छ, आफनो मर्जिमा राज हुन्छ भन्ने चाहिँ राम्ररी थाहा पाउनु भएको थियो।
सायद जीवन भोगाइका क्रममा प्रत्येक पाइला पाइलामा आउने अप्ठ्यारासँग युद्ध गर्न किताबी ज्ञानको अभावको महसुस भएथ्यो हाम्री आमाहरूलाई। त्यसैले होला उसको आमाको एउटै सपना थियो कि छोरीले धेरै पढोस्, मास्टर डिग्री गरेर आत्मनिर्भर बनोस्।
श्रीमान भएर पनि आमाको एक्लोपनको पीडा महसुस गरेकी थिई उसले। केटाहरूसँग संगत गर्न डराउँथी। साँच्चै ऊ पुरुषप्रति सधैं आक्रान्त बन्थी र भन्थी- 'सबै पुरुषहरू उस्तै हुन्छन्, अवसरवादीहरू। कुमारी भएर नै एक्लो हुनुको एउटै पीडा सहेर जीवन बिताउँछु।'
यसै दुनियाँमा त्यस्ता महान् पुरुषहरू पनि छन् जसले नारीलाई पूजा गर्छन्। बोराभित्र एउटा आलु कुहियो भन्दैमा सबै आलुलाई खराब मान्न मिल्दैन नि भनेर सम्झाउथ्यौँ। तर दैव संयोग पिसिएल दोस्रो वर्ष नसकिँदै सरकारी जागिरे केटासँग विवाह भएको थियो।
भेट्न आतुर म, उसकै घरको अगाडि पुगेर गेटको घण्टी थिचेँ। उही हँसिलो अनुहार, फुलेको कपाल, कुप्रिएको ढाडमा आमा आएर ढोका खोल्दै गर्दा भनेँ, 'नमस्कार आमा! आँखा चाहिँ देख्नुहुन्छ? मलाई चिन्नुभयो?'
'आऊ न छोरी भित्र नै' भन्दै अघि-अघि लाग्नुभयो।
मलाई देखेर माया खुसी त भई तर पीडाको थियो कि खुसीको आँसु, चुपचाप रुन थाली। म सम्झाउन खोज्दै थिएँ, 'नरोक यसलाई, धेरै वर्षदेखि थुनेर राखेको बाँध फुट्न देऊ, पोखिन देऊ आज, साथीभन्दा ठूलो दुःख पोख्ने ठाउँ अरु हुन्न नानी। मसँग पनि यसरी दिल खोलेर रुन पाएकी छैन' भन्दै आमा भान्साकोठा तिर लाग्नुभयो।
'जब हामी स्कुलबाट छुट्टियौं तिमीहरू पढाइतिर लागेर करिअर बनाउन लाग्यौ। पढाइलाई निरन्तरता दिन आमालाई गाउँमा एक्लै छाडेर म काठमाडौं आएँ। जसोतसो झेल्दै थिएँ जिन्दगी, एकदिन आमाले घरबेटीलाई फोन गरेर मलाई गाउँ बोलाउनु भयो। राम्रो घरको कुरा आएको छ विवाह गर म मर्ने बेलामा ढुक्क हुन्छु भन्दै मलाई हुन्छ भन्न बाध्य बनाउनु भयो।
मैले पनि सोचेँ, आमालाई पनि छोरीको चिन्ता रहेन, अन्जान सहरमा एक्लै गल्ली-गल्ली भौतारिनुभन्दा त मलाई पनि एक प्रकारले दुःख सुख बाँट्दै जीवन कटाउन सहज होला भन्ने सोचेर हस् भनिदिएँ। गाउँलेले त केटा खोजेर भागी रे भनेर हल्ला गरिदिएछन् तर वास्तवमा त्यो थिएन। हुन त जिन्दगी बिताउने कुरा केटाकेटी दुवैले रोजेर गर्न पाउनुपर्ने हो, जसरी बसुँ मर्जी हुनुपर्ने हो तर यही समाज न हो नमरुनजेल घाँटी रेट्ने, मरेपछि विचरा भन्ने। निहुँ पाउनु पर्छ बस खेदो खन्छन साथी।
दैवको खेल साथी आमाले ढुक्क भएँ भन्दै झारेको त्यो आँसु, मेरो एक्लोपन सकियो भन्दै खुसीले झरेको त्यो आँसुले कहिले आराम पाएन र पुछिने दिन पनि आएन। खोटो भाग्य बल गरेर किन भरिन्थ्यो र साथी?'
यस्तैमा छोरो आइपुग्छ र चिनाउँछे। भन्छे, 'छोरी जन्मे पनि आमाकै खोटो भाग्य ल्याएकी भन्ने चिन्ता, छोराले अरुको छोरीलाई प्रयोग गर्दे फालिदिन्छ कि भन्ने चिन्ता। जे हुँदा पनि सन्तोष नहुने नै रहेछ है यो आमाको जातलाई?' भन्दै भावुकताबाट बाहिरिन खोजी।
स्कुलको कपडा खोलिदिएर छोरोलाई मुसार्दै 'जाऊ, खाजा खाऊ' भन्दै पठाउँछे। 'तेरो त छोराछोरी नै छन क्यारे, तँलाई त झन् डब्बल चिन्ता कसो साथी?' ठट्टा गरेझैं भनिरहँदा सहमती जनाउँदै टाउको हल्लाइदिएँ।
'कति सहज थियो त्यत्तिबेलाको स्कुले जीवन है साथी? आमाले पकाएको खाना खाएर स्कुल जाने त एउटा बहाना थियो, पढ्ने भन्दा पनि मस्ती बढी गर्थ्यौं। स्कुलको बगैँचाका आँप र लिची खाएर ध्वस्त पारिदिन्थ्यौं। सेरोफेरो सबै मेरैजस्तो लाग्थ्यो। खुसी हुन, हाँसो छुट्न त्यत्ति ठूलो कारण चाहिन्नथ्यो। जताजतै फुर्किने रमिने त्यो मन अब त मुस्कराउन पनि कारण खोज्छ साथी।'
उठेर झ्यालको पर्दा खोली, मलाई तान्दै पर देखाएर भन्न थाली, 'हेर्न त्यो घरको कुकुरको भिआइपी जीवन। इन्डियन आर्मीको घरमा विलासीताको साथ भिआइपी जीवन बिताइरहेछ। कुकुर भएर जन्म लियो तर जीवन मेरोभन्दा राम्रो। कहिलेकाहीँ त लाग्छ म किन त्यस्तै कुकुर भएर जन्म लिइनँ? उफ! मान्छे भइकन पनि मेरो जीवन!,' लामो सुस्केरा तान्दै भइँमा थचक्क बसी।
उठेर अलि पर गई। नजिकैको दराज खोली अनि च्यातिदिंदै भनि,' हरेक व्यक्तिको यसमा लेखेजस्तै क्यारेक्टर हुने भए घरघरमा मजस्तै पीडित महिला बढ्ने थिएन होला है?'
'के गरेकी?' भन्दै हात समाएर हेरेँ, उसैको श्रीमानको डिग्रीको क्यारेक्टर सर्टिफिकेट रहेछ।
'राम्रा मान्छेहरू टाढैबाट चिनिन्छन् तर धोकेवाज नजिकै भएर पनि मैले चिन्न सकिनँ साथी। महिलाहरू मात्र किन यति धेरै भावुक बन्नुपर्ने? याद त आउँछ नि। जे भए पनि ऊ मेरो छोराको बुवा हो। उसले बुवालाई खोज्दा मैले जवाफ दिनैपर्छ।
एउटा केटाको विश्वासमा आँखा चिम्लेर सबै जन्मनाता छोड्न सक्ने यही नारीलाई छोडेर कसरी सजिलै अर्को घरजम गर्न सक्छन् केटामान्छेहरू है! हामी सामान्य नारीहरूको ठूलो इच्छा नै के हुन्छ र साथी? बस् साथ दिने र कुरा बुझिदिने परिवार त चाहेको हुन्छ। हामीबाट हजारौं आश गर्ने यही परिवारबाट यति पनि इच्छा राख्न नपाउने हामीले?
सधैं हामी नारी नै प्रश्नहरूले पुरिनु पर्ने? हामी मात्रै जवाफी बन्नुपर्ने सधैं? कस्तो न्याय हो? कस्तो नियम हो यो समाजको? पढेका शिक्षित हुन् या नपढेका अनपढ, सबैको मुखमा एउटै कुरा हुन्छ केटी असल हुनुपर्छ, संस्कारी हुनुपर्छ, धेरै पढेको अनि जागिरेसँगै घरको सबै काम भ्याउन सक्ने, सानो-सानो कुरामा विद्रोह नगर्ने, सवाल गर्दा जवाफ नदिने रे! उफ! कसैको छोरी दान लिने पुरुष पनि यस्तै लक्षणयुक्त हुनुपर्ने होइन र?
प्रत्येक आमाबाबुले छोरीसँगै छोरालाई पनि अनुशासन र सुसंस्कार सिकाइदिने हो भने, स-साना गल्तीमै सजायको भागीदार बनाइदिएर सीमा र बन्धन तोकिदिने हो भने, छोरीसँगै संस्कारी ज्वाइँ, संस्कारी बुहारी खोज्दा संस्कारी छोरा पनि हुनुपर्छ भन्ने कुरामा पनि संस्कार बस्दै जाने थियो कि?
माइती धनी भए पनि के गर्नु अधिकार नभएपछि? घर धनी भएर के गर्नु सम्बन्ध नै नरहेपछि? प्रशस्त सम्पत्ति त थियो नि मेरो घरको पनि तर छोरालाई नदिएर बुहारीलाई गरिखान अंश दिन सक्ने कुन सासूसुराको त्यो आँट? त्यो महान् दिल हुन्छ र साथी? मेरो पनि त्यस्तै भयो। अर्काको घर भनेको हातगोडा चलाउन्जेल हो रैछ।
तँलाई याद छ कि नाई? सबैले सानैदेखि मलाई बाबुको अनुहार परेकी कति भाग्यमानी भन्थे, म मख्ख पर्थें। यो सब बकवास हुन्। भाग्य छ भन्दैमा डोकोमा दूध अडिने होइन रहेछ साथी। तँलाई देख्दा आन्टीको याद मेटिन्छ मलाई, खै मभन्दा तँ भाग्यमानी छेस् है।'
ढोका घर्याक्क खोलिएको आवाजसँगै सम्हालियौं। आमाले 'गफ मात्र गर्ने कि खाने पनि हो?' भन्दै कफीको साथमा तातोतातो पकौडा राखिदिएर जानुभयो। उहाँलाई थाहा थियो मलाई पकौडा मनपर्छ भनेर, आमालाई के दुःख भन्दै कप समाउन पुगेँ।
'सबैलाई सबैथोक त के मिल्थ्यो नि साथी! जीवनभर आमा साथमा हुनु नै सबथोक हुनु होइन र साक्षात भगवान नै साथमा हुनुहुन्छ अनि मेरो त १५ वर्ष भयो, यो जुनीमा त कहिल्यै आमा शब्द बोल्न पाउदिनँ। यो मेरो अभाग होइन र?' उसको घाउमा केही मलम लगाउन खोज्दै रुन्चे हाँसोमा मुस्कुराउँदै कफीको चुस्की लगाउन थालेँ।
'हुन त हो, तँलाई तेरो आमाले त्यतिबेला छोडेर जानुभयो जतिबेला तँलाई धेरै आवश्यक थियो। भनिन्छ नि साथी, घर बनाउँदा छोराले बुवाको संघर्ष र मेहनतको महसुस गर्छ रे अनि छोरीले बच्चा भएपश्चात आमालाई बुझ्छे रे, यसैले भनेकी।'
ऊ आसु झार्दै थिई म लुकाउन खोज्दै थिएँ। एकछिन कोठामा सन्नाटा नै छायो। हामी चुपचाप एकअर्काको दुःख महसुस गर्न व्यस्त भयौँ।
'मुखले ठिक्क पार्दै आफनो जीवन बाँच्न जान्नुपर्ने रहेछ, त्यो मैले जानिनँ। यो दलदलको सम्बन्धबाट खुसी आश गरी हात थाप्नु नै नउम्कने गरी फस्नु रहेछ। हरेक रात रक्सीमा मात्तिएर मध्यरातमा आउँदा, महिनौं खबर नगरी बाहिर बस्दा छोरामा संस्कार नखोजिने कहाँसम्मको उचित हो साथी? समाजलाई देखाउन, माइती र घरको इज्जत बचाउनकै लागि बिग्रेको सम्बन्ध सकी नसकी झेलिरहँदा भित्रभित्रै गुम्सिरहेका र बलिदान भइरहेका छोरीहरूमै आफूलाई महसुस गर्न थालें।
दाँत देखाउँदैमा हाँसेर मन रमाएको, सास फेर्दैमा रहरमा बाँचेको देख्नु, बाँचुन्जेल साथ नदिने अनि मरेपछि मात्र विचरा भन्ने यो समाजले कहिल्यै हामीजस्ता छोरीबुहारीको वास्तविकता बुझ्न सक्दो रहेनछ। सास जानु मात्र मर्नु होइन साथी, आत्मसम्मान गुमाएर बाँच्नुको पीडा झनै असह्य हुँदो रहेछ।
लाज लाग्छ मलाई त प्रत्येक शिक्षित भनाउँदा घरहरूमा पनि, बाहिर बोक्रो भित्र खोक्रोपन देखेर। भाग्यले पनि कस्तो-कस्तो सम्बन्ध जुराइदिन्छ है? जसलाई राम्ररी निल्न पनि नसक्ने अनि समाज र माइतीको इज्जतको डरले सधैंभरि घाँटीमै राखेर बाँच्न पनि नसक्ने।
धेरै पटक साथीभाइ, आफन्त राखेर, आमा राखेर हारगुहार गरियो तर सेलाएर दोस्रो पटक तताएको चिया र समाधान गरिएको सम्बन्धमा पहिलाको जस्तै मिठास आउँदै भनेजस्तै महसुस हुन थाल्यो। उसले सय चोटि तँ भनिरहँदा हजुर भन्न आत्माले नै मान्न छोड्यो र उसले जस्तो व्यवहार गर्थ्यो मैले पनि त्यसै गर्न थालेँ।
हाम्रो सम्बन्ध यति नाजुक भयो कि स-साना कुरा झगडाको कारण बन्यो, एकअर्कालाई दोषी मात्र देख्न थाल्यौँ, एकअर्काप्रति सम्मान रहेन, आएको गएको मतलब नहुने हुँदै जाँदा हाम्रो सुत्ने कोठा समेत अलग भयो। फेरि एक-दुई, एक-दुई गर्दै विश्वासको ठाउँमा शंकाले, मायाको ठाउँमा घृणालेले ठाउँ लिन थाल्यो, अनुशासन बिनाको सम्बन्ध सम्हाल्न नसकिने गरी नै बिग्रँदै गयो।
जवर्जस्ती बनाइएको सम्बन्धले झरेको आँसु मात्र देख्ने रहेछ, आँसु झर्नुको पीडालाई महसुस गर्न सक्दो रहेनछ। कोही रोएर दिल बहलाउँछन्, कोही हाँसेर दर्द लुकाउँछन। जेको पनि एउटा सीमा हुन्छ नि, कति लुकाउनु? अचेत प्राणी त होइन नि, आँखाको आँसुलाई लुकाउनु मात्र मजबुत हुनु हो जस्तो लागेन मलाई।
दुनियाँलाई लुकाउन सकिएला तर जन्म दिने आमाको अगाडि कसरी लुकाउनु साथी? जीन्दगी त आफनै तरिकाले चल्दछ, अरुको सहाराले त बस् कात्रो निस्कने गर्दछ भन्ने सही हो। के छोरीहरू अरुको घरमा बलिदान हुनको लागि मात्र जन्मिने हो र? घर बिग्रिएलाकी भन्ने डरले हरेक पटक आमा भन्नुहुन्थ्यो- 'सासूले जति कराए पनि चुप रहनू, अनि श्रीमानले रिसमा कराए सहिदिनू, बच्चाले गल्ती गरे सम्हाल्नू।'
तर अन्याय नसहनु भनेर कहिल्यै सिकाउनु भएन। त्यसैले सधैं नै सहिरहेँ तर त्यसको अन्त्य कहिल्यै भएन। अन्त्यमा रोटीजस्तो सम्बन्धलाई बिट मारिदिने सोचेर बाँकी जिन्दगी यही आमा र छोराको साथमा बिताउने अठोट गरेँ।
अनि एकदिन आमालाई अगाडि राखेर 'मेरो सम्पूर्ण जे भने पनि हजुर भगवान साक्षी मानेर भन्नुस् आमा, म के गरुँ? हजुरले जे भन्नुहुन्छ त्यसै गर्छु' भन्दा हात समाएर भन्नुभयो, 'हेर छोरी, चुपचाप सहेरै समाधान खोजिस्। चुप लाग्नु सहनु मात्र होइन, विद्रोहको बाँध फुट्नु पनि हो। अब यो सम्बन्धलाई टुंग्याइदे सदाको लागि। दुनियाँले के भन्लान् भन्ने डरमा तँलाई बलि चढ्न दिन्नँ, सुसाइड नोट लेखेर मर्न बाध्य पनि पार्दिनँ। तँ अब आफनो मर्जिले खुलेर बाँच्न सिक्। समाजलाई म झेल्छु बुझिस्।'
घरजम राम्ररी गरोस् अनि इज्जत राखोस् भनेर हरदम प्रयास गर्ने मेरी जन्म दिने आमाले नै यसो भनेपछि मैले आँट गरें र आज आमाको साथमा छु।
आजकाल त मलाई यो संसार नै बनावटी र नौटंकी लाग्छ। रोएर आँसुसँगै पीडाहरू बगाइरहँदा पीडामा मलम लगाउन सक्ने, तमासा मात्र हेर्नै यस समाजलाई मरेपछि विचरा भन्दै रिप लेख्ने अधिकार पनि नहुनुपर्ने हो। कसैको जीवन बचाउन एउटा हात पनि अघि नसर्ने यस समाज कसैको श्रद्धाञ्जली दिन कसरी हजारौं हात चलाउन आँतुर देखिन्छन्।
हेर्न, भर्खरको खबर लोकगायिका दिलमाया सुनारले आत्महत्या गरिछिन्। के पाइन् मरेर? अमूल्य ज्यान गयो, सन्तान टुहुरो भयो, आमाको काख रित्तियो। आर्थिक रुपमा सम्पन्न हुँदाहुँदै पनि आखिर किन महिला नै कमजोर बन्नुपर्ने? मृत्युलाई नै किन विकल्पको रुपमा अंगाल्नु पर्ने? सब यही समाजले पुरुषलाई चाहिनेभन्दा बढी छुट दिएर हो। खुब अहिले आएर न्याय दिन्छौ रे। केको न्याय मरेपछि? कसको लागि न्याय? नौटंकीहरू, पीडा पोख्दै गीत गाइरहँदा, रुँदै अन्तरवार्ता दिइरहँदा कहाँ थिए ती न्याय दिनेहरू? सबैलाई भाइरल भएर चिनिनु छ, बस् केही होइन नौटंकीहरू' भन्दै पत्रिका पढ्दै बरबराउँदै थिई।
'हेर्, म चाहिँ मर्दिनँ यसरी। रमिता हेर्छ दुनियाँले अनि औँलो उठ्छ मैमाथि, दुःख पाउँछन् मेरी आमा र छोराले। संसारकै मायाको धनी जुन पाउन मैले कुनै मूल्य चुकाउनु नपर्ने मेरी आमाको अमूल्य साथ पाएकी छु। आखिर भोको पेटले सम्बन्ध, सम्मान र इज्जत नखोजेर मात्र खाना खोज्छ, हुँदामा मात्र लाज, शरम, घिन, माया, मान सम्मान भन्ने हुँदो रहेछ। नहुनेले त राम्रै काम गरे पनि नराम्रो हुने, राम्रै सम्बन्ध पनि नराम्रो हुने विडम्बना नै छ साथी।
आत्महत्या सुनेर विचरा भन्नेहरू नै जिउँदोमा मर्न बाध्य बनाउने यो समाजमा के दुःख पोख्नु? मागेर खानुभन्दा काम गरेरै खान्छु भनेर एउटा क्यासिनोमा काम गर्न थालेँ। नराम्रो बनेँ तैपनि गरिखान छोडिनँ किनकि त्यो मेरो काम भोको पेटहरूसँगको सम्बन्ध थियो। अडिन सकेँ, बाध्यताले मान्छेलाइे कमजोर भएर होइन बलियो बनेर जीवन जिउन सिकाउँछ साथी।
तँ मेरो साथी, प्रिय साथी, सबैभन्दा प्रिय। यो समाजमा मुखले बोलेर मात्र ठिक्क पार्ने धेरै छन् तर त्यो मेरो दुःखमा तैँले लगाएको गुन कहिले बिर्सन्नँ मेरो साथी। तेरो लागि मेरो घरको ढोका सदा खुला रहनेछ। मेरो प्रिय साथी' भन्दै अँगालिएर बिदा गरी।
हतारमा निस्कँदै गर्दा घरअगाडि बाइकमा कोही मान्छे देखेँ र छोराले 'बाबा!' भन्दै बाइकमा चढ्न पुग्यो। हेलमेट नखोल्दै चिनिहालेँ कि उहाँ त वर्षौं अगाडिदेखि दाइ नाम दिई चिनाइएको परिचित मान्छे हुनुहुन्थ्यो। दुवैको वास्तविकता त थाहा भएन मलाई जे भयो अत्यन्तै नराम्रो भयो। पक्कै पनि एक हातले त ताली बज्दैन साथी। समझदारीमा आउन दुवैको त्याग र समर्पण बराबरी हुनुपर्छ नै।
एकल महिलाको जीवन पनि कहा सहज छ र? फेरि सम्बन्धमा रहनु नरहनुको कुनै मतलब नै छैन भने त्यसरी बस्नु पनि ठिक छैन। बाँच्नको लागि धेरै विकल्पहरू होलान्, रोजेर बाँच्न पाउन्। मृत्युलाई नै अन्तिम विकल्पको रुपमा आगाल्न नपरोस्। कमसे कम आत्मसम्मान जोगाउन छुट पाउन् यी नारीहरूले। आवाज नदबाइदेऊन्, गला नरेटिदिऊन्, समस्याहरू बहसको विषय बनोस्, उल्झनहरू सुल्झिऊन्। बस यो अमूल्य जीवनलाई खुलेर मनभरि बाँच्न त पाऊन्।