एउटा आदर्श परिवार कस्तो हुन्छ?
शिक्षित बाबुआमा, शिष्ट बालबच्चा, मुहारबिन्दुमा हाँसोमजाक, शालीनता र शान्ति।
झट्ट हेर्दा सुखी र खुसी परिवार। अझ सम्पन्न भए सुनमा सुगन्ध नै थपिन्थ्यो। समाजका अगाडि यही हो एउटा आदर्श परिवारको छवि।
तर समाजको अगाडि लगाएको ढोंगी मुखुण्डो भित्र कुन चाहिँ परिवार वास्तवमा नै आदर्श छ हामीलाई छुट्याउन गाह्रो हुन्छ।
कुरा हो काठमाडौंमा चार तल्ले घर भएको अमृतको परिवारको। अमृत र उसकी पत्नी सविता १८ वर्षअघि वैवाहिक बन्धनमा बाँधिए। दुबै जना प्रतिष्ठित परिवारबाट थिए। समाजले सराहनीय ठानेको जोडी।
विवाहको केही समय नबित्दै उच्च शिक्षाका लागि अमृत स-परिवार संयुक्त राज्य अमेरिका पुग्यो। बालबच्चा सबै उतै हुर्किए। अमेरिकाको हावापानीमा हुर्किएका बच्चाहरूले स्वतन्त्रताको रस सानै उमेरमा चाखेका थिए। आखिर अमेरिका ‘ल्याण्ड अफ द फ्री, होम अफ द ब्रेभ।’ जो ठहरियो।
सविता यो भूमिमा स्वतन्त्र पनि थिई, अनि बहादुर पनि। श्रीमान पढाइमा व्यस्त, बालबच्चा विद्यालयमा। ऊ उद्यमशील हुन छोडिन। घरी वृद्धाहरूको सेवा गरेर हुन्छ कि, घरी बालबालिकाको धाइआमा बनेर हुन्छ, उसले कामलाई पूजा सम्झँदै गई।
सविताले अमेरिकामा आफ्नो लागि बाँची। जातजातका इतर किनेर दुर्गन्धलाई छोप्थी, ब्रान्डेड क्रिमले चाउरिएका आँखा र सम्बन्धलाई रिम्क्याउँथी, महंगा कपडाले गलेको शरीरलाई चिरिच्याट्ट पार्थी।
जति दु:ख भए पनि उसले अमेरिकामा आफ्नो अस्तित्व भेट्टाएकी थिई।
ऊ अमृतकी श्रीमती र छोराछोरीकी आमा मात्र थिइन्।
साथीभाइले उसलाई, ‘हे, सविता! द प्रिटी नेपाली लेडी’ भनेर अंकमाल गर्थे। बच्चाहरूलाई सविता महंगो रेस्टुरेन्टमा लैजान्थी।
उनीहरूले भनेका कुराहरू किनिदिन्थी, मीठो खुवाउँथी। उसले देखेका स-साना सपना पूरा गर्थी आफ्ना बच्चाहरूसँग। दुई सन्तान थिए, एउटा छोरो, एउटी छोरी। दुबै साना थिए।
अमृत धेरैजसो परिवारसँग समय बिताउन पाउँदैनथ्यो। जब आउँथ्यो, प्रोफेसरले दिएको तनाव, पढाइको असन्तुष्टि, दिक्दारी लिएर आउँथ्यो। सविता अमृत मन्थन गर्न खोज्थी, ऊ विष वमन गर्थ्यो।
सुरू-सुरूमा त दाम्पत्य जीवन सम्झौतामा भरथेग गर्दै गए। परस्परमा अथाह प्रेम नभए पनि सामाजिक दायित्वका लागि भए पनि एक अर्कोलाई माया गर्ने कोसिस गरिरहे। सविता र अमृत प्रवासी दम्पती थिए। सँग-सँगैका नेपाली समाजहरूले आयोजना गरेका साँस्कृतिक कार्यक्रममा बच्चाहरू लिएर सधैं जान्थे।
समाजशास्त्रमा अमृत घाघडान विद्धान हुँदै थियो। सविता पनि ३-४ ठाउँ काम गर्थी। छोरा सौर्य र छोरी लिली चुलबुल, नटखट, शैशवकाललाई बढो आनन्दले बाँचिरहेका थिए।
‘एक आदर्श परिवार!’
एकदिन बेलुका सविताको ढोका ढकढक गरेको आवाज बेजोडले छरिएको थियो। तर पनि सविताले सुनिन, ऊ माथिल्लो तलामा थिई।
ढोका झन् जोडले ढ्याकढ्याक गरेर कोलोनी नै थर्किन थाल्यो।
सविता हतारिँदै खोल्न पुगी। अमृत आएको रहेछ। ठ्वाँस्स मुख गनाएको थियो।
रक्सी मज्जैले धोकेर आएको रहेछ। बिछिप्त त ऊ सधैं हुन्थ्यो त्यो दिन जड्याहाको पगरी पनि भिर्यो।
‘किन पिएको यसरी?’ ऊ प्रश्न गर्छे।
‘नकचरी! तैंले मात्र होटलमा गएर अरूलाई रक्सी सर्भ गर्ने। मैले आफैंलाई गरिदिएँ, के तेरो बाउको खाको छ र मैले?’
‘काम हो त्यो मेरो। हजुरको पनि त आफ्नो काम छ।’
‘थुक्क! तेरो काम र मेरो काम एउटै हो? म एउटा बौद्धिक लेभलको मान्छे। तँ होटलमा रक्सी सर्भ गर्ने घटिया आइमाई के तुलना, तेरो र मेरो।’
मातेको बेलामा पनि अहंकार जागेको थियो।
सविता मौन रही। नसामा भएको मान्छेसँग के सिंगौरी खेल्नु भनेर केही भनिन।
‘हँ! आज को कोसँग गफ चुटेर बसिस्। कति जना मर्दहरूलाई हाँस्दै रक्सी खुवाइस्?’ अमृत अझ च्याँठियो।
‘रातो लिपिस्टिक, राम्रा कपडा, कसलाई देखाउन लाउछेस्?’
‘तपाईं चूप लाग्नुस्, जे मुखमा आयो बोल्नु हुन्छ!’
अमृतले सविताको कठालो समात्यो। उसको टाउको सिधै लगेर भित्तामा बजार्यो। टाउको फुटेर रगत बग्न थाल्यो तर अमृत रोकिएन। अझ बेल्ट खोल्यो, शरीरभरि निलडाम बस्ने गरी श्रीमतीलाई कुटेर बहादुर भयो। त्यो दिन उसलाई गहिरो निद्रा लाग्यो। मस्त घुर्यो। पीडामा आकुलव्याकुल भएकी सविता ‘एय्या!’ पनि भन्न सकिन। अमृतको निद्रा नबिथोलियोस् भनेर।
त्यो दिन हिंसाको शृंखलामा अमृतले पहिलो एपिसोड अपलोड गर्यो। त्यसपछि कैयौं पटक यस्ता घटना दोहोरिए। बन्द कोठाभित्र कहाली गुन्जिरहन्थ्यो। बाहिर शून्यता थियो।
एकदिन यस्तै अवस्थामा लिलीले सवितालाई कुटेको देखी।
‘बाबा! नगरिस्योन्!’ भनेर बाउको हात के तान्न गएकी थिई, उसको गालामा हात बजारियो। त्यो हात कुनै हिंस्रक प्राणीको डरलाग्दो पन्जाभन्दा कम थिएन। त्यो हात लिलीको बाउको थिएन। अमेरिका बसेर अहिलेसम्म भोग्नु नपरेको नेपाली समाजले जरामा गाडेको पितृसत्तात्मक सोचको हात थियो।
लिलीले त्यो दिन पहिलोपल्ट आफ्नो यथार्थ देखी। सौर्यले परबाट यो दृश्य नियालेको थियो। उसका आँखाबाट बलिन्द्र धारा आँसु बगेका थिए। उसको बालमस्तिष्कमा एउटा अमीट छाप बन्दैथ्यो। विचित्रको मनोविज्ञानले उसलाई आक्रान्त पार्दै थियो।
फेरि अर्को नेपाली साँस्कृतिक कार्यक्रम!
‘ओहो! अमृतजीको त ग्राजुएसन आउन लागिसक्यो। तपाईंले नेपालको नाक राख्नुभयो। अन्तर्राष्ट्रिय जगतमा तपाईं सम्मानित व्यक्ति हुनुका साथै विश्वले नै बौद्धिक सम्पत्ति मानेका छ्न्। तपाईंले प्राप्त गरेको ज्ञानको दायराले नै बताउँछ तपाईंको सभ्यता।’
गमक्क परेको अमृतको अनुहारमा शिक्षाको खोक्रो खादा थियो। अमेरिका उसको क्रिडास्थल जहाँ ऊ जिन्दगीको लुफ्त उठाइरहेको थियो।
‘सविता के छ त हालखबर? छोराछोरी पनि ठूलै भइसके श्रीमानले अब खतरा गर्छन्। दह्रो भाग्य लिएर आएकी रहिछौ, केही गुनासो त छैन होला नि?’
सवितालाई सोधिएको प्रश्न पनि हतार हतार अमृत आफ्नै भागमा खन्याउँछ।
‘केको गुनासो! काम गर्न दिएकै छु। हेलो हाई गर्न पाकै छ।’ गललल्ल हाँसो गुन्जिन्छ।
त्यो दिन पनि अमृतले धेरै पियो। जामको रससँगै उसले आफूभित्रको ‘पुरूषत्वलाई’ ठोस बनाउँदै गयो। त्यो रात फेरि सवितामाथि अमृत जाइलाग्यो। आँखामा निलो डाम बस्यो। उसको रोदनले सौर्य र लिली रातभर थरथर काँप्दै बसे।
महंगो लिपपोतले पनि निलडाम छोपिएन। भोलिपल्ट बिहानै सविता काममा गई। उसकी साथी हेलेनले देख्नेबित्तिकै चिच्याई ‘ह्वाट ह्यापेन्ड सविता?’ सविताले सिँढीबाट लडें भनेर टारी।
अरूलाई पनि यसैगरी टार्दै गई।
साँझपख सविताकी बोस आइपुगी। ऊ एक्ली महिला थिइन्। श्रीमानसँग डिभोर्स भएको १५ वर्ष भएको थियो। सवितालाई देख्नेबित्तिकै भनी , ‘योर म्यान हिट यू , डिड हि नट?’
सविताले सम्हालेर राखेको संयमताको बाँध एकैचोटि टुट्यो। उसले के भयो, कसरी भयो, किन भयो सवै विवरण ओकलिदी।
एकैचोटि फोन गयो अमेरिकी पुलिसलाई। घरेलु हिंसाको कारण अमृतलाई जेलमा ३ दिन राखियो। सविता चाहन्नथी यस्तो होस्। अमृतलाई निकाल्न धेरै जोड गरी तर अमेरिका नेपालजस्तो थिएन।
‘आफ्नो बूढीलाई नकुटे कसलाई कुट्नु?
श्रीमान् श्रीमती बीच यस्तो त भइहाल्छ नि।
लोग्ने मान्छे अलि रिसाहा नै हुन्छन्, स्वास्नी पो पृथ्वी हुनुपर्छ त।’
यस्ता वाणी हाम्रो समाजको बाहुल्यतामा बिक्छ, त्यो समाजमा ‘बाल मतलब’ ।
अमृतको डिग्री, सामाजिक प्रतिष्ठा, उसको दम्भ, केही हेरेन अमेरिकाले। बोरियाबिस्तार बाँधेर फर्किनु पर्यो। अमृतका साथै उसको सारा परिवार। उनीहरू डिपोर्ट भए।
अमेरिकाको कानुनले मोसो दलेको अमृतको अनुहार नेपाल झर्नासाथ आफन्तहरूको म्वाइले पुछियो।
बाफ् रे! तेत्रो पढेर पो आएको त। समाजमा ऊ लज्जित पात्र थिएन किनकि अमेरिकामा जे भयो, त्यो त्यहीँ रह्यो। यहाँ त ऊ एक बौद्धिक व्यक्तित्व भयो।
सविताले थुकतेल गरेर अमेरिकामा कमाएको धनले यहाँ चार तल्ले घर ठडियो। अमृत चट्ट गाडी हाँकेर हिँड्छ। ऊ हिँड्दा अर्कै शानका साथ हिँड्छ। मानौं अतितका काला दाग नेपालको हिमालसँगै सेता हिउँले छोपिदियो।
सविता नेपालमा गृहिणी छे। आर्थिक अवस्थामा सम्पन्न छन् तर सानो भन्दा सानो रकम अमृतसँग माग्नु पर्छ। लिली र सौर्य हुर्किरहेका छन्। नेपालमा आए पनि अमृतको तानाशाह सकिएन। ऊ ‘प्रगतिगामी’ पुरूषत्वले पत्नीमाथि प्रहार गरिरहन्छ। लिली फक्रिन नपाएर ओइलाउँछे बेलाबेला।
बाउले यसरी आमामाथि गरेको हिंसा देख्दै हुर्किएको सौर्य विकराल बन्दै छ।
‘मम्मी, तपाईं रद्दी। कामै छैन।:: खानु बरू तपाईं।’
उसको कर्कस बोलीले चार तल्लाको घरलाई हल्लाइरहन्छ। सौर्यमा राप छ, क्रोध छ, आक्रोश छ। सबै सविता र लिलीमाथि पोख्छ।
सानो छ, बुद्धि छैन भनेर सविता सम्झाउन खोज्छे तर ऊ आमालाई सिंगै निल्न खोज्छ।
‘सौर्य नगर न।’ भनेर लिली सम्झाउन जाँदा। चोक्टा निकाल्छु जसरी टोक्छ! चिथोर्छ, भुताल्छ।
अमृतले धेरैपल्ट यो दृश्य देखेको छ। तर ऊ मौन बस्छ। खासै वास्ता गर्दैन। पहिलोपल्ट सौर्यले यस्तो गतिविधि देखाउँदा पिताको भूमिका निर्वाह गरेको भए सायद आज यो हुन्थेन होला।
‘केटी मान्छे भएर बढ्ता बोलिस् भने म मार्दिन्छु तँलाई।’ ऊ लिलीलाई गर्जिंदै झम्टन्छ।
आसुका भलमा कैयौं सिरानी भिज्छन्। यो रोदन दिनहुँ चलिरहन्छ घरभित्र।
तर समाजको अगाडि, यो एउटा आदर्श परिवार हो। शिक्षित आमाबुवा, प्रतिष्ठित जागिर, सम्पन्न आर्थिक अवस्था, जाज्वल्यमान सन्तान। पर्दा पछाडिको दर्दनाक चित्रबाट हामी अनभिज्ञ छौं।
नेपाली समाजमा कति छन् यस्ता परिवार कुनै लेखा छैन। हाम्रा स-साना छोरा, भाइ यही मनस्थितिले कतै परिपक्व त हुँदै छैनन्? अरूको इज्जत गर्न सिकाइँदैन। आफ्नो इज्जत चाहिँ खुबै फ्लेक्स गर्नुपर्छ।
‘छोरा मान्छे होस्। अलिकति पर्सन्यालिटी हुनुपर्छ। इज्जत छ नि हाम्रो।’ काका, बाजे, यस्तै सिकाउँछन्।
के हो इज्जत? के हो नाङ्गिनु भनेको? असरल्ल समाज, घृणित सोचले बिरामी छ। आफूभन्दा कमजोर र आफूमा आश्रितहरूलाई दमन शोषण गरेर सामाजिक खुड्किलो चढ्छन्। श्रीमतीको बुइँ चढी प्रगतिका शिखर चुम्छन् अनि त्यही काँध भाँचिने गरी लत्याउँछन्।
यसो भुइँ बढार्दा ‘के आईमाईजस्तो काम गरेको।’ भनेर युगौं-युगदेखिको फोहोरको पसारो हाम्रो समाजले सिउरिएको छ।
हाम्रा कति ‘बुद्धिजीवी पुरूषहरू’ खतरनाक विश्वविद्यालयमा पढ्छन् तर केटीको पोष्ट तल अश्लिल शब्दहरूले कमेन्ट गर्न हात कमाउँदैनन्। ठूला-ठूला गफ गरेर थाक्दैनन् तर ‘महिलावाद’ को कुरा आए उनीहरूकै सम्मानमा हमला गरेझैं तर्सिन्छन्। घरघरको कहानी हो भन्दा फरक नपर्ला।
‘म आज बाहिर जान्छु है।’ भनेर आमाले बासँग अनुमति माग्नुपर्छ। बलात्कारविरूद्ध पम्पलेट लिएर पार्टीको झन्डा गाड्ने
नेताहरू ‘के हो मेरिटल रेप?’ भनेर सोध्छन्।
कैयौं पढे लेखेका भनौंदाको कमेन्ट पढेको थिएँ ‘अब बिहे गरेपछि पनि बलात्कार रे।’
हाम्रो शिक्षा प्रणालीको दोष भनौं कि समाजको। हिंसा, बलात्कार, कुटपिट यी जघन्य अपराध हाम्रा लागि कसरी साधारण छन्?
दोष हाम्रा पुरूषहरूको मात्र पनि छैन। सविताजस्ता हरेक आमाको पनि छ, जो पिल्सिएर, रोएर, भक्कानिएर विषलाई पनि अमृत भनेर सम्झौता गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनमा कुनै न कुनै विन्दुमा कुनै न कुनै किसिमको हिंसा भोगेको तथ्यांकले जनाउँछ। १५ प्रतिशतले यौन हिंसाको सामना गरेको बताउँछन्। आखिर दोष कसको?
हामीमध्ये कति त हिंसालाई हिंसा मान्न पनि तयार छैनौं।’ ‘एल्फा मेल’ बन्नु छ कतिलाई।
आफ्नो बर्चस्व कायम गर्न अरूको आत्मसम्मान, आत्मविश्वास र आत्मालाई पितृसत्तात्मकताको आगोमा होम्न तयार छौं।
एउटा आदर्श परिवार कस्तो होला? हामीले निकै बेर घोत्लिनु पर्छ। हाम्रा सन्ततिहरू लिली जसरी नओइलाऊन् र सौर्य जसरी नबौलाऊन्। सायद एउटा आदर्श परिवार तब पो बन्थ्यो कि!