कविता
छाडेर जानेहरू घामजस्तै
भोलिपल्ट बिहानै भेट
हुन आइहाल्छन भन्ने पनि छैन
छाडेर जानेहरू नदीका दुई किनारा जस्तै
कहिल्यै नभेटिने गरी
बाटो लाइहाल्छन् भन्ने पनि छैन।
छाडेर जानेहरूलाई पनि त थाहा छ
बगरमा गिट्टी फुटाएजस्तै
सजिलो छैन सम्बन्ध फुटाएर जान
छाडेर जानेहरूलाई पनि त थाहा छ
पैतालाबाट काँडा छुटाएजस्तै
सजिलो छैन साथ छुटाएर जान
तर जानेहरू विवश छन् छाडेर जानबाट
जसरी पानी विवश छ बग्नबाट
जसरी हावा विवश छ बहनबाट
जसरी छाया विवश छ
कहिल्यै नभेटिने गरी
सँगसँगै रहन बाट
कि सम्झलान् कि बिर्सिजालान्
थोरै पीडा र धेरै माया दिई जानेहरू
कि आउलान् कि उतै हराइजालान्
यादहरूको चिनो लिइजानेहरू
चट्यान बनेको ढुंगा पनि फुट्नैपर्छ
हो थाहा छ एकदिन सबै छुट्नैपर्छ
तर किन किन
टाढा भएर पनि मनमा रहिरहन्छन्
सम्झनामा भैरहन्छन्
बीचमै छाडेर जानेहरू
ए छाडी जानेहरू हो
पंक्षीलाई पिन्जरामा टाँसिरहनुपर्छ भन्ने छैन
तिमी यही बसिरहनु पर्छ भन्ने छैन
तिमी जाऊ खुला आकाशमा उड्न जाऊ
तिमी जाऊ प्रगतिको शिखर चढ्न जाऊ
तिमी बादल जस्तै वर्ष सृष्टिको रचना गर्ने
तिमी फूल बनी फक्र संसारमा सुवास छर्न
तिमी यही बस्नुपर्छ भन्ने छैन
तिमी आकाशमा चम्चामाउने तारा बन
तिमी जे बन्न चाहन्छौ तिमी त्यो सारा बन
यो जिन्दगी पनि सपनाजस्तै छ
कति मान्छे नआऊ भन्दाभन्दै आउँछन्
कति मान्छे नजाऊ भन्दाभन्दै जान्छन्
छाडी जानु भनेको माया मार्नु हैन
छाडी जानु भनेको एक्लै पार्नु पनि हैन
छाडी जानु भनेको त कसैलाई सम्झी
सपनीमा बर्बराउनु पनि हो
छाडी जानु भनेको
छोडी आएकाहरूलाई सम्झिएर
यादहरूमा हराउनु पनि हो।