जन्मसँगै बुनिएका सपनाहरू
उच्चतम आनन्दमा सिर्जिएका
अमूल्य मायाका चिनोहरू
जीवन र मृत्युको दोसाँधका
अद्भुत उर्जालाई
मातृत्वले सिँचेर
छाँतीमा टाँस्न नपाउँदै
अस्ताउँदै गरेको दीपकको
जन्म नहोस् अब
यस्तो सृष्टि नहोस् अब
मातृभूमि बन्धक राखेर
विलाशी जीवनको लालसामा
परदेशिएका सन्ततिको झझल्को
चौतरी र पँधेराका कथाहरू
स्मृतिमा घुमाएर
आशाको अखण्ड दियो जोगाउँदै
चौबाटो नकुरौं अब
यस्तो सृष्टि नहोस् अब
तथाकथित सिद्धान्तको अनुयायी बन्दै
आस्था, विश्वास र भावनामा
शक्तिको अहंकार र ताण्डवका बीच
आफ्नै गर्भलाई
अराजकताको बीज रोप्ने
रणभूमि नबनाउँ अब
यस्तो सृष्टि नहोस् अब
अकल्पनीय पराकाष्ठाको जालोमा
वर्षौंदेखि पिल्सिएका
देवीजस्ता छोरीहरूको गहलाई
रक्तकुण्ड नबनाउँ अब
नरपिचासको सहबासमा
दानवीय युगको इतिहास नलेखौं अब
यस्तो सृष्टि नहोस् अब
आशा, आफ्नै माटोमा
सृष्टिका रंगिन फूलहरू
कोर्ने छन् उज्वल भविष्य
चुमेर सगरमाथा
नाच्ने छन् मैदानमा सोरठी
अस्तित्व र अस्मिताको रक्षार्थ
बाटिनेछन् डोरीहरू
प्रेम र शान्तिको ओतमा
टुँसाउनेछन् मुनाहरू
विडम्बना, उल्टो बगेछ समय
निमोठिए मातृमनहरू
सहर्ष मुक्तिको यात्रा नै
अन्तिम चाहना अब
यस्तो, सृष्टि नहोस् अब।