हुन सक्नेसम्म निर्दयी भएको बेला
मलाई खुब बाँच्न मन लाग्छ
मेरो प्रेमको सहर बेचैनीमा बलिरहँदा
थाहा छ तिमी मौनताको बाँसुरी बजाइरहन्छौ
र नीरोले समेत डाहा गर्ने अपराधी मजा लिइरहन्छौ
तर म हारेको छैन
बलेको सहरमा म दमकल बोलाउने छैन
म तिम्रो सहरमा पनि डढेलो लगाउने छु
हेरिराख
तर फेरि तिमीले मायालु नजरको
हतियार चलायौ भने
मेरो प्रेमको राज्यले आत्मसमर्पण गरिहाल्छ
प्रेयसी
तर तिमीले थाहा पाइहाल्ने छौ
कि यो सहर तिमी बस्न योग्य छैन
दिग्बिजयी साम्राज्ञीले नर्कलाई अतिक्रमण गरेजस्तै
जितेपछि त्यागिहाल्ने छौ मेरो प्रेमको सहर
चुनौती मलाई यो छ माया
जिते पनि, हारे पनि तिमी मेरो हुने छैनौ।