जिन्दगीको यात्रा सबैलाई लामो लाग्ला तर मलाई किन-किन छोटो लाग्न थालिसकेको छ। आज म ६५ वर्ष पूरा भएँ। यो ६५ वर्षमा धेरैँ कुराहरू भोगियो र सिकियो। कतिबेला यत्रो समय बित्यो पत्तै भएन, थाहा नै भएन।
कुनै समय थियो जहाँ सबै साथमा थिए तर आज खै किन कसैलाई भेट्टाउन सकेकी छैन। स्मरणमा त सबैकुरा ताजा रहेका छन्। मेरो स्मरणमा रहेको सबैभन्दा यादगार कुरा एउटा छ, उहिलेको जमाना अनि मिठो सम्झनामा रहेको त्यो पल अनि ऊ।
बालापनमा मसँग अत्यन्तै मिल्ने साथी कमला, हामी एउटै उमेरका थियौँ। जन्म साल एउटै भए पनि ऊ मभन्दा ४ महिनाले कान्छी थिई। पानी पँधेरो जाँदाकी साथी ऊ मेरी। घाँस काट्न, मेलापात गर्नदेखि सबै काम सँगै गर्थ्यौं। उसको र मेरो घर ७ मिनेट जतिको दूरीमा थियो तर मन भने एक मिलिसेन्टिमिटरभन्दा पनि नजिक।
घरमा रिस उठ्यो उसलाई सुनाउने, उसले पनि मलाई सुनाउने। कुनै कुरा उसलाई नसुनाई कहाँ मनले मान्थ्यो र! मान्दैन थियो, आखिर ऊ थिई नै मेरो त्यति धेरै नजिक। परिवारबाहेक कोही खास र नजिक थियो भने ऊ नै थिई।
ऊसँग बिताएका पल आज याद गर्दा पनि ताजै लाग्दछ। कति खास छे ऊ वास्तवमै मेरो लागि। जमाना त्यति बेलाको कहाँ हामी छोरीहरूलाई समानताका साथ हेरिन्थ्यो र? दाजुभाइहरू झोलामा किताब बोकी स्कुल जाँदा हामी डोको बोकी घाँसपात, मेलापात गर्न जानुपर्ने बाध्यात्मक स्थिति थियो। न स्कुल, न शिक्षा हामी भारी डोकोको जिन्दगीमै हराइरहेका थियौं।
घरकै सदस्यबाट पनि हामी अपहेलित हुनु पर्दथ्यो। तर कमलालाई आफ्नो साथमा पाउँदा म आफ्ना सबै पीडाहरू भुल्थेँ, मन पनि हल्का हुन्थ्यो। उसले मलाई भन्ने गर्थी- 'कुनै दिन म तँसँग नहुन पनि सक्छु, तँ कहिल्यै पनि दुखी नहुनु है! मेरा बाले मेरो बिहेको कुरा चलाउँदै छन्।'
उसले त्यस्तो भन्दा म सधैं निःशब्द हुन्थेँ तर पनि हिम्मत गरेर भन्थेँ, 'नकरा, म पनि तेरो पछि-पछि आइहाल्छु, तेरै घरतिरको केटासँग बिहे गर्छु नि म पनि।' हामी यस्तै-यस्तै कुरा गर्दै हाँसोमजाक गर्ने गर्थ्यौं।
दिनहरू बित्दै थियो, एकदिन म घाँस काट्न जान बोलाउन कमलाको घर गएँ। भित्रबाट तेलमा रोटी फुराएको आवाज र अचार मगमग बास्ना आइरहेको थियो। कमलाकी आमा (उजेली काकी) र भाउजूलाई भान्सामा भ्याई नभ्याई थियो। म गएर तीन पटकसम्म बोलाएँ तर कमला बोलिन। मैले उजेली काकीलाई सोधेँ, 'कमला खोई?'
'माथि कोठामा छे, आज ऊ जान्न घाँस काट्न तिमी जाऊ। नपर्ख उसलाई,' उजेली काकीले मलाई ठाडो जवाफ दिँदै भनिन्।
म कमलालाई हेर्न उसको कोठातर्फ जान लागेँ। यत्तिकैमा काकीले 'अहिले नजा तँ आफ्नो काम गर्, मेरी छोरीलाई बिगार्ने काम नगर जा' भन्दै मलाई गाली गर्न थालिन्।
म अक्क न बक्क भएँ। उनी मसँग यसरी ठाडो पहिलो पटक बोलेकी थिइन्। त्यत्तिकैमा मेरी आमा पनि त्यही आइपुग्नु भयो। कमलाकी आमाले बोलाएकी रैछिन् रोटी पकाउन। आमाले मलाई ढिला नगरी घाँस काट्न जा भन्नुभयो तर म रोकिएँ। आमाले गाली गर्न लाग्नुभयो, म गहभरि आँसु लिएर फर्किनै लागेको थिएँ त्यत्तिकैमा कमलाको भाइले भन्यो, 'दिदी, आज कमलीलाई हेर्न केटा आउँदै छ रे! त्यही भएर कमलीलाई बाले कोठामा थुनेर राख्नु भएको छ।'
एक्कासी मेरो मन चिसो भयो। कता-कता डर लाग्न थाल्यो। अब म कमलादेखि टाढा हुँदैछु भन्ने सोचेर मेरा आँसु आँखामा रोकिन मानेनन्। अरु को नै पो थियो र मेरो त्यति मिल्ने साथी? मैले एक पटक कमलालाई भेट्छु भनेर उजेली काकीलाई भनेँ।
'मेरो हातमा हुन्थ्यो भने त किन तँलाई त्यति गाली गरेर फर्काउने कोसिस गर्थें र! तेरा काकाले थुनेर राखेका छन् हिजो रातिदेखि, बिहे गर्दिनँ भन्दै थिई तर तेरा काकाले कहाँ सुन्छन् र? जबरजस्ती बिहे गर्दिन लागेका छन्। यस्तै रहेछ छोरीको कर्म, अर्काको घर जानु नै पर्छ,' यति भन्दै उजेली काकी रुन लागिन्।
मेरी आमाले काकीलाई सम्हाल्दै मलाई घाँस काट्न पठाउनु भयो। म रुँदै-रुँदै घाँस काट्न जङ्गलतर्फ लागेँ। जङ्गलमा पुगेर पनि मेरा हातखुट्टा कहाँ कसरी चल्नु र, चलेनन्। जङ्गल बीचको त्यो अप्ठारो ढुङ्गा छेउमा बसेर म भक्कानिँदै रुन लागेँ। त्यत्तिकैमा एउटा डरलाग्दो आवाज सुनेँ। मैले आफ्नो होस गुमाएँ, त्यसपछि के भयो मलाई याद छैन।
कोही हुक्क-हुक्क गर्दै रोएजस्तो सुनिन्थ्यो। कता-कता कोही बोलेको जस्तो मानेँ। केही मान्छेहरू मेरो आशपास भएजस्तै लाग्यो। जब मेरा आँखा खोलेँ, म घरमा थिएँ। हुक्क-हुक्क गर्दै रोइराखेको मेरी आमा हुनुहुँदो रहेछ अनि गाउँका केही महिलाहरू आएका रैछन् मलाई हेर्न। उजेली काकी पनि हुनुहुन्थ्यो।
मेरी आमालाई गाउँलेहरू सम्झाउँदै थिए, पिर नमान, नानी ठिक हुन्छे। म आँखा खोल्नेबित्तिकै उठ्न खोजेँ तर सकिनँ। मेरा खुट्टा चलिरहेका थिएनन्, ज्यान दुखिरहेको थियो, बोल्न खोजेँ झ्वाट्ट आवाज पनि आएन। त्यत्तिकैमा उजेली काकीले 'नचल नानी' भन्नुभयो।
रुँदा-रुँदा थाकेकी मेरी आमा बरबर्ती आँसु झार्दै मलाई मुसार्दै मायाका निश्चल तरङ्गका नयनहरूले नियाल्दै हुनुहुन्थ्यो। मैले आँखा खोल्दा धेरै खुसी हुनुभयो। आमा हतार-हतार गएर पानी लिएर आउनुभयो र मलाई आफ्नो मायालु काखमा राखी आफ्नो हातले पानी पिलाउनु भयो।
'आमा, नरुनु न मलाई केही भको छैन के, कता-कता ज्यान दुखेको मात्र हो,' मैले बल्लबल्ल भनेँ। मैले यति भन्दा आमा मुसुक्क मुस्कुराउनु भयो। गाउँलेहरू एकछिन बसे र फर्किए। उजेली काकी भने बसिराख्नु भएको थियो।
त्यत्तिकैमा बा पनि आउनुभयो, नजिकै आएर सुमसुमाउँदै धन्न बाँची मेरी छोरी भन्दै आँसु झार्नुभयो। मैले मेरो बा रोएको देखेकी थिइनँ। त्यो दिन बा मेरो कारण र मैले आँखा खोलेको हर्षले रुनु भएको थियो। मैले मेरो परिवारलाई त्यत्ति धेरै खुसी भाइ जन्मेको दिनपछि बल्ल देख्दै थिएँ।
'बा, मलाई के भएको हो र?' मैले प्रश्न गरेँ।
बा केही बोल्न सक्नुभएन, बस् रोइराख्नु भयो। 'आखिर के भएको रैछ आमा मलाई? के भएको हो र? किन म हातखुट्टा चलाउन सकेको छैन?'
आमा पनि केही बोल्नुभएन, बस् रोइराख्नु भएको थियो।
मैले फेरि उजेली काकीलाई सोधेँ, 'काकी, कमला खै? किन आइन मलाई भेट्न? अनि मलाई के भएको हो?'
उजेली काकीले पनि आफ्ना आँसु थाम्न सकेकी थिइनन्। उजेली काकी मेरो नजिक आउँदै भनिन्, 'नानी, तँ अप्ठ्यारो ढुङ्गाबाट लडेकी थिइस्। बिहान रुँदै जङ्गल गएकी त फर्की होलिस् भन्ने सोचेर तेरा बा-आमालाई मैले बिहेको सबै जिम्मा लगाइदिएँ। अरु को नै थियो र मेरो नजिकमा? तर मैले ठूलो अपराध गरे छोरी।
केटा पक्षकाले बेहुली आजै लैजान्छौँ, घर धेरै टाढा छ भने र त्यही दिन नै कमलाको बिहे भयो। सबै बिहेकै तयारीमा व्यस्त थियौं। कमलाले तँलाई सम्झिँदै धेरै रोएकी थिई तर पनि हामीले ध्यान दिएनौँ। जब तेरा आमाबुवा घर गए, तँलाई भेट्टाएनन् यहाँ आए। हामीले सायद कमलासँग भेट्न नदिएको भनेर रिसाएर अरु साथीकोमा गई होलि, भोलि आउँछे भन्यौ र रात छिप्पिसकेको हुँदा त्यो दिन तँलाई खोजेनौं।
बिहान अबेला हुँदासम्म पनि तँ नफर्केपछि सबैले जताततै खोज्न लाग्यौं तर तेरो केही अत्तोपत्तो लागेन। साथीहरू कसैले पनि देखेको भनेनन्। रातिसम्म पनि भेटिनस्। राति पल्लो गाउँका एकजना तेरो बालाई खोज्दै यहाँ आइपुगे र एकजना घाइते केटी भेटिएको बताए। हामी गाउँका सबै त्यहाँ गएर हेर्दा तँ नै थिइस्। तँलाई त्यस्तो हालतमा देख्दा कसैको आँसु थामिएनन्।
दिउँसो २ बजेतिर तलाई भेट्टाएका रैछन् गोरु चराउने गोठालाहरूले। अनि तँलाई घरमा लगेर औषधिमूलो गरेका रहेछन्। आज बिहान तँलाई घरमा लिएर आएको। वैद्य बा आएर तेरो उपचार गरेर गएका छन्। तेरा बा भर्खरै वैद्यलाई छाडेर फर्किएका छन्। ईश्वरको कृपाले धन्न त बचेकी छस्, नत्र भने त्यत्रो भिरबाट खसेपछि बाँच्न मस्किलै थियो, भाग्यमानी रहेछिस् केटी।'
उजेली काकीले त्यति भन्दा मैले आफ्ना आँसु रोक्न सकिनँ। मैले आमाबासँग आफ्नो गल्तीका लागि माफी मागेँ।
'अनि अब कमली कहिले आउँछे त?,' मैले फेरि सोधेँ।
'टाढा छ घर भनेका थिए, तीजमा लिन आउनु भनेका छन्। अब तीजमा आउँछे। दुई महिना न हो, पीर नलिई। आइहाल्छे नि,' उजेली काकीले भन्नुभयो।
दिनहरू बित्दै गए। म पनि पहिलेजस्तै निको भए। अब म घर नभनी कहीँकतै नजाने भइसकेको थिएँ।
एकदिन म खाना बनाउँदै थिएँ, ढिडो र लोकल टमाटरको चट्नी। बाले दाउँरा चिर्दै हुनुहुन्थ्यो। आमा बाहिर सरेको भएर झार गोड्दै हुनुहुन्थ्यो। त्यही बेला हुलाकी आएर बालाई चिठी दिए 'मलाई अबेला भयो, उजेली काकीकोमा पुर्याइदिनु' भन्दै।
बाले चिच्चाउँदै मलाई बोलाउनु भयो। कमलाको चिठी रहेछ, मैले चिच्चाउँदै उजेली काकीलाई बोलाएँ। उजेली काकी र काका बोलाउने बित्तिकै आउनुभयो। त्यो समयमा कहाँ अहिलेजस्तो सामाजिक सञ्जाल थियो र? न मोबाइल नै थिए। बस् त्यतिबेला खबर पुर्याउने, चिठी लेख्ने, चिच्याउने आदि माध्यममार्फत खबर आदानप्रदान हुन्थ्यो।
मेरा कान त्यो पत्रमा के लेखिएको थियो सुन्ने हतारमा थिए। मेरो मुटु बेस्सरी धड्किरहेको थियो। बाले चिठी पढ्न लाग्नुभयो, 'सबैलाई न्यानो माया, म यता आरामै छु। उता सबैलाई आरामै होला। सबैलाई सम्झिएकी छु। कहिले आउँजस्तै भएको छ। बा मलाई तीजमा लिन आउनु है! अनि त्यो बाटुलीलाई धेरै पिर नमान् भन्नू।'
गाउँको एकजनालाई एक मोहर तिरेर चिठी लेख्न भनेकी रहेछी कमलाले। कमलाको आगमन तीजमा हुने कुराले म गद्गद् भएँ। भुइँमा खुट्टा भएन। त्यो दिन म गाँउभरि सबैलाई त्यही कुरा सुनाउँदै हिँडें।
तीज पनि नजिकिन थाल्यो। मेरो मनमा हर्ष छाइरहेको थियो, तीजमा कमला आउँछे भनेर म त्यसै त्यसै फुरुङ्ग थिएँ। तीज लागेसँगै गाउँमा चेलीबेटीको आगमन हुन थाल्यो, कमलाका बा पनि उसलाई लिन उसको घर गए।
कतिबेला काका कमलालाई लिएर आउँछन् भनेर मेरा आँखा बाटोतिरै गइरहेका थिए। म बेसबर भई उसको प्रतीक्षा गर्दै थिएँ। ४ दिनपछि काका फर्किए। म काकालाई देखेर हतार-हतार बाटोमा गएर यताउता हेरेँ। कमलालाई देखिनँ।
'काका, कमला खै त?,' आत्तिँदै सोधेँ।
काका निराश हुँदै भन्नुभयो, 'छोरीलाई लिएर ज्वाइँ भारत जानुभाको छ रे। भेट पनि भएन छोरीसँग।'
मेरा मनमा फुटेका लड्डु तिता हुँदै गए, मेरा हर्ष सबै आँसुमा परिणत हुन थाले। म आफूलाई सम्हाल्न सकिनँ। तीज गयो, दसैं पनि आयो तर मेरो मनमा हर्ष आएन किनकि कमला आएकी थिइन। उजेली काकी र काका पनि छोरीको यादमा रुँदै दिनहरू कटाउँदै हुनुहुन्थ्यो। मेरो आमाबुवा मेरो बिग्रँदै गरेको हालतप्रति चिन्तित हुनुहुन्थ्यो।
समय बित्दै बित्दै गयो। दिन, महिना बिते तर कमलाको कुनै खबर आएन। त्यसको एक वर्षपछि बुवाले मेरो बिहे नौडाँडा पारिको जमिन्दारका छोरासँग गरिदिने निधो गर्नुभयो। मेरा हात तिउरीको पातले रङ्गिए, रातो सारीले मलाई सजाइयो, मिठा-मिठा परिकारहरू पकाइए, नाचगान भयो अनि कन्यादानसहित माइतीको हातबाट मेरो स्वामित्व त्यो अन्जान मानिसको हातमा पुग्यो।
अब म कसैको श्रीमती बनेँ, कसैको बुहारी, कसैको भाउजू। पहिलो श्रीमती बच्चा पाउन नसकेर बच्चासहित मृत्यु भएपछि मसँग बिहे गर्नुभएको रहेछ उहाँले। सासु र श्रीमानले माया गर्नुहुन्थ्यो तर देवर र नन्दको आँखामा म कसिङ्गर नै थिएँ। मेरो बिहेको एक वर्षपछि नन्दको बिहे भयो, देवर पनि हामीबाट छुट्टिएर बस्न लाग्नुभयो।
समय बित्दै गयो, म आफ्नो माइतीमा पत्र पठाउँथें। श्रीमानले लेखिदिनु हुन्थ्यो। माइतीबाट पनि पत्र आउँथ्यो तर कमलाको कुनै खबर कसैले पाएको थिएनन्। म माइती जाँदा सबैलाई सोध्थें तर ऊबारे कसैले भनेनन् मलाई। कमलाको खबर कतैबाट थाहा पाउन सकिनँ मैले।
बिहे भएको तीन वर्ष बित्यो। म कसैको श्रीमतीबाट आमा बनिसकेकी थिएँ। पारिवारिक सुखमा म अत्यन्तै खुसी थिएँ तर मनैमन कमलाको बारेमा जान्ने मन हुन लाग्यो।
दिनहरू बित्दै गए, कमलासँग नभेटेको पनि थुप्रै भइसकेको थियो। बस् ऊसँग सानैदेखि बिताएका यादहरू र एउटा फोटो मात्र थियो मसँग। कहिले उसलाई भेटुँलाजस्तो भइसकेको थियो मलाई। मैले एकदिन मेरो श्रीमानलाई कमलाको बारेमा भनेँ। मेरो श्रीमानले कमलाको बारेमा खोज्न एकजना मान्छे पठाउनु भयो कमलाको गाउँमा।
मान्छे फर्कियो। म खुसी थिएँ अब त म कमलाको बारेमा अन्ततः थाहा पाउनेछु।
कमलाका श्रीमानले कमलापछि १७ वटी केटीसँग बिहे गर्यो रे अनि सबैलाई भारत लगेर गयो। गएकामध्ये कोही पनि फर्किएर आएनन्। गाउँलेहरूले आइमाई बेच्ने भनेर चिन्दो रहेछन् त्यो घरलाई। मेरी कमलालाई पनि सायद त्यो मान्छेले बेचेको होला।
'अनि कमलाको केही खबर?,' मैले सोधेँ।
'गाउँलेहरू सबै भएर त्यो मान्छेलाई छोपेर बाँधेर सोध्दा सबैलाई आफूले भारतको वेश्यालयमा लगेर बेचेको बताएको थियो त्यो डाकाले। ऊबाट नै कमला अब यो संसारमा नरहेको पनि थाहा भयो। अहिले त्यो डाका कहाँ भाग्यो भन्ने कसैलाई थाहा छैन।'
यत्ति सुन्दा म आफ्नो होस सम्हाल्न सकिनँ। पाइला चाल्दादेखिको साथी मेरी कमला यो संसार छाडेर धेरै पहिले नै बिदा भइसकेकी रहेछ। म भक्कानिएर रोएँ तर म रोएर कमला फिर्ता आउने थिइन। म कति अभागी, मेरी साथीको बारेमा त्यत्रो समय बेखबर भएर बस्न सकें। मेरो मनमा असहजताको बाढी आयो।
मैले मेरो जिन्दगीमा सबैथोक पाएँ तर कमला र कमलाजस्तो साथी पाउन सकिनँ। १४ वर्षमा परिवारको जबरजस्तीले बिहे गरेकी कमला आज मसँग छैन। केवल कमलाका याद र ऊसँग बिताएका पलहरू छन्। वास्तवमै मैले एउटा आत्मीय मित्र गुमाएकी थिएँ। जीवनसाथी र कमलासँगको पल मेरा लागि वास्तवमै अविस्मरणीय छ। आज पनि ऊ जिउँदै छे, मेरो मनमा, मेरो यादमा।