'बि-ए-एन-के, ब्यांक। ब्यांक माने बैंक।
बुझिनस् र?
तैँले कहिल्यै केही नबुझ्ने भइस्।'
कक्षा कोठामा गलल्ल हाँसोको फोहोरा फुट्यो।
हाँसो बन्द अब। एकै आदेशमा कक्षा कोठा शान्त भयो। सर अगाडि बढ्नुभयो र भन्नुभयो, 'बैंक भनेको पैसा राख्ने ठाउँ।'
'मेरा बाले सिरानीमुनि राख्छन्,' एउटाले बोल्यो।
'मेरा बाको त इस्टकोटमा हुन्छ,' अर्कोले थप्यो।
के निहुँ पाउ, कनिका बुकाऊ भैहाल्यो सरको लागि। हिजोको माने सोच्छु भनेर सबैलाई गोद्न थाले। घन्टी बज्यो र पिरियड सकियो। सबै विद्यार्थीले लामो सास फेरे।
छुट्टी भएर घर फर्कने बेला मनमा अनेक कुरा आए। बैंक भनेको पैसा राख्ने ठाउँ हो भने त सिरानी र इस्टकोट पनि बैंक नै भयो। दिमागले यसैलाई अर्थ बनायो। बिहान उठेर माने घोक्न थालेँ। गोदाइबाट बच्नु थियो।
नभन्दै सरको कक्षा मानेबाट नै सुरु भयो। म त्यो दिन ढुक्क थिएँ। माने सोद्धै आउँदा मेरो पालो आयो।
'ल बैंकको स्पेलिङ र माने भन्।'
'बि-ए-एन-के, ब्यांक। ब्यांक माने सिरानी वा इस्टकोट वा सुरुवालको इजार।'
कक्षामा हाँसोको फोहोरा छुट्यो। सरले सिर्कनेले बेस्सरी हातमा ठोके। म रोएँ।
'अझ रुन्छस्!' भनेर सिर्कने थपे।
आँसु बरबर खसे। आवाज बन्द भो।
यो घटनाले मेरो जीवनमा नमिठो छाप छोड्यो। मलाई जीवनभर यो शब्दले झस्काइरह्यो र अझै पनि झस्काइरहन्छ।
सात कक्षा पढ्ने बेलामा दाइले पहिलो पटक बैंक देखाइदिए। ललितपुरको मंगलबजारमा। ठूलो बिल्डिङको तल्लो तलामा मान्छेको लाइन थियो। हामी लाइनमा बस्यौं र हाम्रो पालो आएपछि दाइले एउटा मान्छेलाई पैसा दिए। त्यो मान्छेले पैसा गन्यो, दराजजस्तो भाँडोमा लगेर थन्कायो र दाइलाइ एउटा पुर्जी थमायो।
बैंक भनेको के हो भनेर मैले दाइलाई सोधिनँ। क्लासले नै दह्रो पढाइसकेको थियो। तैपनि कोठामा फर्कने बेला बाटोमा मनमनै यसको माने खेलाएँ। बैंक भनेको ठूलो बिल्डिङको कोठामा हुने दराजजस्तो भाँडो हो।
वर्ष बित्दै गए। म कक्षा उक्लँदै गएँ। एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरें। त्रि-चन्द्र कलेजमा आइएस्सी पढ्न थालेँ। कलेज आउने-जाने प्रदर्शनी मार्गको आरआर क्याम्पस आडमा ब्लड बैंक छ भन्ने सुनेँ। मलाई अनौठो लाग्यो। फेरि यो ब्लड बैंक भनेको के हो? कलेज आउँदा-जाँदा त्यो ठाउँमा पुगेपछि मेरो मुटुको धड्कन बढ्न थाल्यो।
अनावश्यक रुपमा टाउको दुख्न थाल्यो। सोच्न थालेँ यो बैंक भनेको त ताल-तालको कुरा पो रहेछ, कहिल्यै यसको गुदो थाहा नहुने भो। प्रथम श्रेणीको इज्जत धान्न एकदिन दह्रो मुटु बनाएर त्यो बैंक पसेँ। के गर्ने, के नगर्ने! कसलाई सोध्ने, कसलाई नसोध्ने! अलमलमा परेँ। सरलाई सम्झेँ, डर लाग्न थाल्यो।
यहाँभित्र पनि सरजस्तै मान्छे त होलान्, एक मनले भन्यो। तर सरले जस्तो पिटी चाहिँ नहाल्लान्, अर्को मनले भरोसा दिन खोज्यो। भरोसे मनको भरोसा गर्दै एकजना नजिकै उभिएको मान्छेलाई सोधेँ, 'दाइ! यो ब्लड बैंक भनेको के हो?'
'रगत राख्ने ठाउँ,' प्याट्ट उत्तर आयो। उत्तर पनि आयो र उनी पनि गए। बाँकी कुरा सोध्न पाइनँ। झ्याउ मान्दै त्यहाँबाट हिँडें। रगत राख्ने ठाउँ पनि बैंक हो भन्ने अर्को माने जाने।
आइएस्सी सकेपछि मेजर इङ्ग्लिस लिएर बिए पढ्ने विचार गरें। मलाई अंग्रेजी जान्नु थियो र बैंकको असली माने थाहा पाउनु थियो। पढाइ सुरु भयो तर के-के पढाए के-के? बैंक भन्ने शब्द त कसैले पढाएनन्। समय क्रममा बिए सकेर योसँगै बैंकको माने खोज्ने मन पनि सकेँ। एमए सकेर जागिर सुरु गरें। जागिर सुरु गरेको पहिलो वर्ष दसैंमा नयाँ नोट लिएर घर जाने सोचेँ।
सोअनुरुप नयाँ नोट साट्न बैंक जानुपर्ने बुझेँ। एकदिन बागबजारको एउटा बैंक पसेर लामो लाइनमा बसेँ। एक घन्टामा पालो आयो। नयाँ नोट साट्न आएको जानाकारी गराएँ। बैंकमा खाता नभएकोले नयाँ नोठट नपाउने जानकारीसँगै अमिलो मन लिएर कोठामा फर्किएँ।
दसैँ मनाएर काठमाडौँ फर्केपछि त्यही बागबजारको बैंकमा पहिलो पटक खाता खोलेँ। कमाएको पैसाले काठमाडौँमा बाँच्न हम्मेहम्मे पर्ने मजस्तोलाई खाताको काम त थिएन तर पनि आउने वर्षहरूको लागि नयाँ नोट पाउने आशाले खाता खोलेको थिएँ। मेरो लागि बैंक त्यतिबेला दसैँमा नयाँ नोट साट्ने ठाउँको माने बोकेर उभिएको थियो।
वर्ष विस्तारै चिप्लियो र दसैँको आगमन नजिकियो। म नयाँ नोट साट्न बैंक पुगें। राष्ट्र बैंकले नयाँ नोट नपठाएकोले पाउने सम्भावना नभएको जानकारी पाएँ। त्यो पालिको दसैंमा आमालाई नयाँ नोट हातमा राखिदिने सपना बैंकको हुरीले उडाइदियो, मुरलिधरको गीत संगीतले रंग पायो।
मैले पढाउने कलेजका बोस मेरा मिल्ने साथी थिए। भोलिपल्ट उनैलाई आफ्नो दुःख पोखेँ। उनले तुरुन्तै आफ्नो गाडीमा चढाएर मलाई त्यही बैंकमा पुर्याए। उनलाई बैंक म्यानेजरले सरासर माथिल्लो तल्लामा रहेको आफ्नो अफिसको ठाममा लगे। म उनीहरू सँगसँगै थिएँ। बैंक म्यानेजरले सोधे- 'सर तातो-चिसो के ल्याउँ? सर कति कामले पाल्नु भएको थियो?'
चिसो कोकाकोला पिउँदै केहीबेर उनीहरूको भलाकुसारी सुनेँ। हिँड्ने बेलामा एउटा खाम पाएँ। बाहिर निस्केर खोलेर हेर्दा पाँच हजारका नयाँ नोट थिए। हिजो मात्र त्यही बैंकमा पाँच सयकै भए पनि नयाँ नोट खोज्दा नपाएको म, आज पाँच हजारको नयाँ नोट हातमा थिएँ। नयाँ नोटले खुसी त दियो तर चुनौती पनि थपिदियो। त्यो चुनौती थियो बैंकको माने। यस घटनाले मलाई बैंकको मानेमा थप द्विविद्या थपिदियो।
सालाखाला सत्र वर्ष पढाएपछि दुर्भाग्य वा भाग्यले नेपालको बैंकबाट उछिटिएर क्यानडाको बैंकमा आइपुगेँ। ताप्केबाट खसेर भुग्रोमा लागु हुने लक्षण देखिसकेको थिए। नेपाल छोड्दा म धेरै कुरामा दुखी थिएँ तर एउटा कुरामा चाहिँ खुसी नै थिएँ। त्यो के भने सत्र वर्ष पढाउँदा पनि कुनै विद्यार्थीले मलाई बैंक भनेको के हो भनेर सोधेन। यदि सोधेको भए म पानी-पानी भएर गल्ने थिएँ किनकि मसँग यसको सपाट जवाफ थिएन।
अब पढाउन नपर्ने हुनाले मैले ठूलो राहत महसुस गरेँ र यही एउटा कुराले खुसी दिएको थियो। क्यानडामा पनि मलाई बैंकले पछ्याउन छोडेन।
यहाँ आएपछि बैंकका झन्-झन् नयाँ मानेहरू थपिँदै गए। आएको दुई वर्षपछि बुढीले छोरालाई नेपालमा जस्तै खुत्रुकेमा पैसा जम्मा गर्ने बानी सिकाउन पर्छ भन्न थाली। मैले सहमति जनाएँ। खुत्रुके किन्न जाने सल्लाह भयो तर भेटिएन भने के भनेर माग्ने भनि सोधेँ। खुत्रुकेलाई अंग्रेजीमा के भन्छन् भन्ने नजान्नेले के अंग्रेजी पढ्यौ र पढायौ त बुढा भनेर खुत्रुक्क पारी।
बेलुका छोरा स्कुलबाट आएपछि सोधेर भोलि जाने निर्णय गरियो। बेलुका छोरो आयो र उसलाई खुत्रुकेको अंग्रेजी माने सोधियो। जिब्रो बटार्दै 'पिग्गी ब्यांक' भन्यो। बैंकले फेरि नयाँ माने लिएर आयो।
मेरो टाउको फुट्लाजस्तो भयो। मेरो पेट बटारिएर आयो, उकउकी आउलाजस्तो भयो। विस्तारै आफूलाई शान्त बनाएँ। यसले मलाई बच्चामा अंग्रेजी विषयमा पढेको एउटा पाठ सम्झनामा ल्याइदियो। पाठको नाम 'मनि अट्र्याक्स मनि' भन्ने थियो। त्यतिबेला सरले भनेका थिए- पैसा तल बाकसमा खस्यो किनकि धेरै पैसाले थोरै पैसालाई तान्छ। भोलिपल्ट हिउँको बैंक छिचोल्दै पिग्गी बैंक किनेर अपार्टमेन्ट फर्कियौं। पग्लिँदै गरेको हिउँको बैंकले मलाई बैंकको माने पग्लाएर हेर्न भनिरहेका थिए।
अपार्टमेन्ट आएपछि म विगतका बैंकहरूलाई पगाल्न थालेँ। यतिबेलासम्म मैले साधारण अर्थमा बैंक भनेको जम्मा गर्ने ठाउँ वा जम्मा हुने ठाउँ भनेर बुझिसकेको थिए। मैले सुरुमै ब्लड बैंक सम्झिएँ। साधरण अर्थमा वा शब्दकोशको परिभाषामा रगत जम्मा गर्ने ठाउँलाई ब्लड बैंक भनिन्छ। साधरण अर्थमा ब्लड बैंकले पवित्र स्थानको परिचय पनि दिन्छ। हाम्रो दर्शन नै हो कि रगत दान, जीवनदान। तर मैले यसलाई पगाल्दै जाँदा नयाँ दर्शन पनि भेटेँ।
जनताले रगत बगाएर तिरेको कर सम्झिएँ र त्यही रगतको रंगले रंगिएका नेताका ठूला बंगलाहरू सम्झिएँ। प्रत्येक नेताको बंगलाले मेरा लागि बैंकको नयाँ माने बोकेर आए। मैले आज प्रत्येक नेताको बंगलालाई ब्लड बैंक देख्न थालेको छु। यदि कोही नेताले मेरो बंगला ब्लड बैंक होइन भन्ने हिम्मत राख्छ भने के उसले उसका सारा सम्पत्तिको स्रोत देखाउन सक्छ? के उसले निष्पक्ष छानबिनको लागि मार्ग प्रशस्त गर्न सक्छ?
सक्दैन भने मेरो एक गट्ठा छ वा मैले सबै सम्पत्ति राज्यलाई दान गरिसकेँ भनेर जनतालाई भ्रम छर्ने काम बन्द हुनुपर्छ। आम जनताको ब्लड चुसेर राज्यलाई फिर्ता दिए पनि त्यो दान हुन सक्दैन किनकि त्यो ब्लड बैंकको प्रयोग अर्को नेताको लागि मात्र हुन्छ।
मेरा लागि क्यानडाका गगनचुम्बी बिल्डिङ्स् पनि यहाँका आदिवासी र बाहिरबाट आएका आप्रवासीहरूको ब्लड बैंक सिवाय अरु केही होइन। क्यानडा मजस्ता आप्रवासीहरूको लागि ‘जबर्जस्ती रगतदान, जेनतेन जीवन धान’ बाहेक केही होइन। नेपालमा पनि राणाहरूले बनाइएका भनिएका तर त्यसबेलाका आम नागरिकहरूको रगतले ठडिएका भिमकाय दरबार र बंगलाहरू अहिले कथित गणतन्त्रका चाटुकारहरू नयाँ राजनैतिक प्रणाली अनतर्गत तत्तत् कार्यलय बसाएका छन्।
चाहे त्यो भिमसेन बनाएको धरहरा होस् कि केपि ओलीले ठेक्का लाएको सेतो टावर पनि नेपालीहरूको कर र रगतकै उपज हो। त्यही क्रम मानव इतिहासका कैयौं देशहरूमा भए। छिमेकी मुलुक भारतमा भएको ताजमहल पनि मुश्लिम सम्राट शारजहाले आफ्नो राज्यका रैतिहरूबात सञ्चेको ब्लड मनि थियो, याने ब्लड बैंक नै मानौं त्यसलाई। रोमकालीन सभ्यताका धरोहरहरू हेरौं, ती सबै ब्लड बैंकले विकास भएका रचनाहरू थिए।
फोर्ब्सको पछिल्लो रिपोर्ट भन्छ संसारका ८५ जना धनाढ्यहरूसँग संसारको आधा जनसंख्याको कुल सम्पत्तिभन्दा बढी सम्पत्ति छ। फोर्ब्सको यो रिपोर्ट पढ्दै गर्दा बैंक भनेको पुँजीपतिले संसारकै गरिबको रगत चुसेर थुपारेको सम्पत्ति हो भन्ने माने जन्मन्छ।
कथित मनि बैंक अर्थात् पैसा जम्मा गर्ने ठाउँलाई पगाल्दै जाँदा यो पनि सर्वसाधरणको ब्लड जम्मा गरेर ठूलाबडाले मस्ती मार्ने संस्थाबाहेक केही अरु माने निस्कँदैन। मजस्तो सर्वसाधरणलाई नयाँ नोट साटिदिन आलटाल गर्ने मनि बैंकले पुँजीपतिको बिस लाख नपर्ने र नदीले कटान गरेको जग्गालाई दुई करोड मूल्यांकन गरेर आफैलाई डुबाएजस्तो गर्छ तर वास्तवमा गरिब मान्छेको ब्लड डुबिरहेको हुन्छ।
मनि बैंकको म्यानेजरले करडौं लिएर फरार हुन्छ र साधारण जनता मारमा पर्छ। सहकारीको नाममा अर्बौं भ्रष्टाचार गरेको नेतालाई जेलबाट छुटाउन वकिल र न्यायाधिसको अडियो टेप सार्वजनिक हुन्छ। यस्तो सुन्दा, हेर्दा, देख्दा र बुझ्दा, बैंक भनेको गरिब मान्छेको ब्लड चुसेर धनीहरूले न्याय किन्न थुपारेको पैसाको बिटो हो भन्ने नयाँ माने खुल्दछ।
एउटा कुरा भनिहालौँ, धेरैजसो आप्रवासी नेपालीले नेपालमा डलर सर्टेजको समस्यालाई बुझेर डलर जम्मा गरी देशलाई सहयोग गर्न खोजेको मैले भेट्छु तर ब्याजको नाफा त के उनीहरूलाई आफ्नो सावाँ पनि नेपालमा सुरक्षित हुन्छ भन्ने आड भरोसा कसैले दिन सकेको छैन। त्यसैले मेरा लागि मनि बैंक वर्तमानको आधुनिक संसारमा सर्वसाधरणले विश्वास गर्न नसक्ने एक नेसेसरी इभलबाहेक केही होइन भन्ने माने बोकेर आउँछ।
अगाडि नै भनिसकेँ कि म नेपालको बैंकबाट उछिटिएर क्यानडाको बैंकमा आइपुगें। क्यानडामा रहँदै बस्दै गर्दा बैंकका नयाँ-नयाँ मानेहरू बुझ्ने र भोग्ने मौका पाएँ। एकदिन योर्क युनिभर्सिटीमा सोसल वर्कको क्लास लिँदै गर्दा प्रोफेसरले फूड बैंक भन्ने शब्द प्रयोग गरे। साधरण अर्थमा खाने कुरा जम्मा गर्ने ठाउँ भन्ने बुझे। बाँकी कुरा बुझ्न र भोग्न त छँदै थियो।
यसको दुई दिनपछि मैले र मेरो क्यानेडियन साथी प्याट्रिकले क्लास बंक गरेर फूड बैंक जाने सल्लाह गर्यौं। युनिभर्सिटीबाट हामी एक घन्टाको ट्रेन यात्राबाट डाउनटाउन टोरोन्टो आयौं। सेरबर्न स्टेशनमा ओर्लेर हामी सेरबर्न स्ट्रीटको दक्षिण दिशातिर अघि बढ्दै गयौं। बाटाभरि माग्ने मान्छेहरू थिए। मलाई यो दृश्य अनौठो लागेको थियो।
प्याट्रिकलाई सोधेँ, 'यी मान्छेहरू किन यहाँ बसेर मागिरहेका छन्?'
उनीहरू होमलेस भएको बतायो।
'यिनीहरू फूड बैंक किन जाँदैनन् त खाना लिन?'
'उनीहरू आत्मा मार्न चाहँदैनन्।'
'मैले कुरा बुझिनँ, प्याट्रिक।'
'उनीहरूले सोच्छन् कि फूड बैंक भनेको शरीर बचे पनि आत्मा मर्ने ठाउँ हो। उनीहरू फूड बैंकमा आफ्नो आत्मा मार्न चाहँदैनन्। फूड बैंकमा माग्नुभन्दा स्ट्रीटमा माग्नु उनीहरूले राम्रो मान्छन्।'
फूड बैंक आफैमा राम्रो कन्सेप्ट भए पनि मान्छेले लिने मानेमा मैले धेरै भिन्नता पाएँ। यहाँका मान्छेलाई लाग्दो रहेछ कि फूड बैंक गरिबीलाई संस्थागत गर्ने र राज्यले आफ्नो नागरिकको फूड सम्प्रभूतामा प्रहार गर्ने एक हतियार मात्र हो।
प्याट्रिकले सोध्यो, 'तेरो देशमा खान नपाए मान्छे कहाँ जान्छन्?'
'यहीँजस्तो कोही माग्छन् र कोही सदाको लागि बैंक जान्छन्।'
उसले सदाको लागि बैंक जान्छन् भन्ने कुरा नबुझेर व्याख्यात्मक टिप्पणी माग्यो।
मैले भनेँ, 'उनीहरू सदाको लागि रिभर बैंकमा लगिन्छन्, खासमा जान सक्दैनन्। खान नपाएर मरेपछि उनीहरूलाई रिभर बैंकमा लगेर जलाइन्छ।'
कुरा गर्दै गइयो र अन्त्यमा प्याट्रिकले मलाई फूड बैंक देखाइदियो। भोकले रन्थनिएकाहरू आत्मालाई बेवास्ता गर्दै खानेकुरा लिन लाइन बसेका थिए। संसारमा सबै दर्शन र सिद्धान्त सबैलाई लागु नहुँदो रहेछ। आत्मा नमार्न तर देह जोगाउन कोही सेरबर्न स्ट्रीटमा माग्दै थिए भने कोही आत्मालाई चुनौती दिँदै पेटको राको मार्न फूड बैंकको लाइनमा कुरिरहेका थिए।
सीड बैंक भनेर संसारका कतिपय धनी देशहरूले हरेक देशका भूभागबाट मौलिक बिजहरूलाई, चाहे ती खानाका हुन् वा वनस्पती सबैको बिज संकलन गरेर आउने दिनका लागि सुरक्षित राखेका छन्। धनी देशले चाहेको बिउ बिजनलाई फैलाउँदै हरेक देशको मौलिक बाली नालीमा ह्रास ल्याउँदै सबै समाजको एकांकी आफूतर्फ पार्न खोजिरहेका छन्।
रैथाने बाली होस् वा हलगोरुको साँढे, सबै आयातीत देखिन्छन्। काठे प्रजातीका गाईवस्तु देखिन छाडे अहिले। कुखुराको अवस्था पनि उस्तै छ। प्रमुख बाली धान, गहुँ, तोरी, मकै, तरकारीका सबै प्रजातीका बिउबिजन विदेशी सिड बैंकबाट आएका छन्। नेपालभित्र सहजै प्रवेश पाउने बिउबिजनको आवतजावत्मा पश्चिमा धेरै देशहरूले कडा कानुन बनाएका छन्।
सीड बैंकको परिभाषा नबुझिकनै विश्वका धेरै मुलुकहरू त्यसको प्रत्यक्ष असरबाट ग्रसित भइसकेका छन्। मोनसान्टोको बिउजस्तै एकपल्ट उम्रेपछि अर्को पटकलाई नहुने बिज दिएर किसानहरूलाई रिभर बैंकतर्फ धकेल्न उद्दत हुन्छ सरकार र हामी निरीह भएर रिभर बैंकमा पुगे मुक्ति मिल्थ्यो भन्ने निराशा लिएर बाँच्छौं।
अत्यन्त फराकिलो रुपमा हेर्दा कुनै पनि चिज जम्मा गर्ने वा जम्मा हुने ठाउँ नै बैंक हुँदोरहेछ। यस अर्थमा आजभोलि स्पर्म बैंकसम्मको कुरा सुनिनु नौलो कुरा रहेन। यस्तै हो भने मैले पनि बैंकलाई आमाको गर्भाशयको नयाँ माने दिन्छु। पुरुषले शुक्राणु लगेर जम्मा गरिदिन्छ र डिम्ब नामक कर्मचारी शुक्राणु नामक पैसाको हिसाब-किताब गर्छिन् र सम्बन्धित ठाउँमा थन्काउछिन् जहाँ पैसारुपी नयाँ जीवन डिपोजिट हुन्छ।
मेरो विचारमा जीवनको पहिलो र सबैभन्दा सुरक्षित बैंक नै यही हो जहाँ आमा नाम गरेकी म्यानेजर हुन्छिन्। अरु बैंकका म्यानेजरले मान्छेको ज्यानै लिएका हुन्छन तर अनौठो कुरा गर्भाशय बैंकमा सबैभन्दा असुरक्षित म्यानेजर नै हुन्छिन् किनकि डिपोजिट तलमाथि भएमा ज्यानै जाने खतरा हुन्छ। अझ डरलाग्दो दुर्भाग्य त के हो भने यदि ब्याज छोरीको रुपमा आयो भने पुरुष र समाजले नस्वीकार्ने सम्भावना रहन्छ।
छोरो ब्याजको रुपमा निस्कियो भने समाज खुसीले नाच्छ। विडम्बना, आजको युगमा त्यही छोरोले वृद्धाश्रम नामक वल्डएज पिपल बैंकमा लगेर बाउ-आमालाई जम्मा गर्दिन्छ र यो संस्कृति बढ्दो छ।
कसैले जीवन के हो भनेर सोधे भने अब निर्धक्क भन्नेछु- जन्मदेखि मर्दासम्मको बैंक हो जीवन र बाँचुञ्जेल यसले कैयौं बैंकहरू सँगसँगै घर्षण गर्दै रहनुपर्छ। खिइरहनु पर्छ बाँच्नलाई, खियाइरहनु पर्छ मर्नलाई। जीवन श्वासैश्वासको बैंक हो। यो एक हावा घर हो। आउनुहोस् एकपल्ट होसपूर्वक बैंकमा जम्मा भएको श्वासलाई विस्तारै लिउँ र छोडौं। कृपया सक्नेले आजीवन होसतर्फ लाग्ने प्रयास गरौं, नसक्नेले फेरि उही बैंकको लकरमा बाँधिएर बसौं। भोलि फेरि कुनै न कुनै बाहानमा खोलिनु त छँदै छ।
(त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहमा लामो समय अंग्रेजी साहित्य अध्यापन गरेका लेखक हाल क्यानडामा 'साहित्य सृजना' विषयमा सोध गरिरहेका छन्।)