नलेखिएका कथा सबै कहाँ देखिन्छन्
देखिएका सबै कथा लेखिएका हुन्छन्
जस्तो भए पनि भारी मन बिसाउनै पर्ने
गाढा माया सधैं कहाँ पोखिएका हुन्छन्
बुझ्नेले कुरा नबुझेपछि
खानेले कसम तोडेपछि
माया कहाँ सधैं एकैनास हुन्छ
मोड्नेले बाटो अन्तै मोडेपछि
बर्खेयामको धमिलो खोलाजस्तै
तिम्रो साथ पनि धमिलो हुँदै गयो
हिउँदको सिरेठोजस्तै
तिम्रो अनुहारले चिस्यान थाल्यो
गर्मीयामको घामजस्तै
तिम्रो अङ्गालोले पोल्न थाल्यो
प्रिय मन
प्रिय मान्छे
अब तिम्रो साथ अति भो
चाहिँदैन मलाई तिम्रो साथ
तिम्रो माया
तिम्रो दया
तिम्रो चासो
तिम्रो अभिवादन
मैले जूनको जोडी हेर्न थालेको छु
घर माथिको बुढो पिपलको जोडी हेर्न थालेको छु
पहाडको जोडी हेर्न थालेको छु
जुन एक्लै छ र यति चम्किन्छ
बुढो पिपल एक्लै छ र यति धेरै बाँचेको छ
प्रिय मान्छे
तिमी जोडी खोज्दाखोज्दै
यताउता
भौतारिन्छौ
पोखिन्छौ
छच्चलकिन्छौ
एकबाट एक, दुई हुनु
आजको गणित हो
एकबाट एक-एक नै हुनु
प्रकृति हो
त्यसैले गणित हैन
अब प्रकृति बन्नु पर्छ
बहानाबाजी हैन
विश्वासमा खेल्नुपर्छ
एक पल्स एक-दुई हैन
पहिले आफू नै आफू बन्नुपर्छ।