अबोध बाल्यकालसँगै
जब पाठशालाको दैलो टेकेँ
अबोध मस्तिष्कमा
अमिट रहने गरी
मलाई सिकाइयो
मलाई घोकाइयो
आफ्नो भाग्य
आफ्नो भविष्य
आफ्नै हातमा हुन्छ।
म नियाल्थें
म चियाउँथें
खै कहाँनेर?
औँला या हत्केला
मेरो भाग्य
मेरो भविष्य
खै कस्तो?
आँतुर हुन्थें
सुन्दर भविष्य
स्वर्णिम भाग्य
नचाहने को होला?
मान्यजनको मन्थन
गुरुको गन्थन
सबै स्वीकारें
सबै अङ्गालें
भनेझैं भएन
किशोरावस्थाको
कौतुहलतासँगै
भाग्य के हो?
प्रश्न सोधें
जवाफ खोजें
लाग्छ सहायक
भाग्य परिस्थिति हो
अनुकूलता सौभाग्य हो
प्रतिकूलता दुर्भाग्य हो।
जब सौभाग्य भेट्न
खुट्टा उचाल्छु
पाइला बढाउँछु
हर पाइला
हर प्रहर
दुर्भाग्यका पहाडहरू
अजङ्ग रुप लिएर
बाटो छेक्न
यात्रा रोक्न
ठिङ्ग उभिन्छन्
बारम्बार
एउटै नियति
एउटै परिस्थिति
उदेक लाग्छ
उत्साह ओइलिन्छ
निराशा मडारिन्छ
वर्षातको बादलले
आकाश छोपेझैं
अनि मनमा लाग्ने गर्छ
भाग्य फेर्न मिल्ने भए!
ॠतुसँगै प्रकृतिले
रुप फेरेझैँ
रङ्ग फेरेझैँ
भाग्य फेर्न मिल्ने भए
फेरिरहन्थें
बदलिरहन्थें।