मध्यरातमा, सहर सुतेको बेला
झ्याउँकिरीको दोहोरी सकिएको बेला
ताराहरू चन्द्रमालाई खोज्दै थाकेको बेला
यो रातको मौनताको रहस्य खोज्न
म जागै हुन्छु
दिउँसो नर्क लागे पनि
रातको शून्यतामा सहर स्वर्गजस्तो लाग्छ।
अचानक हावाको चाल बद्लिन्छ
चन्द्रमालाई बादलले ढाक्छ
रातको सन्नटालाई चिर्दै
आउँछिन् उनी
गुनगुनाउँदै
भुनभुनाउँदै
पाउजु बजाउँदै
चिसो बतासको बेग
ल्याउँदै
काला लामा कपाल
फर्फराउँदै
म झ्यालबाट आँगनमा हेर्छु
चन्द्रमाको उज्यालोमा
धपक्कै बलेकी
शरद पूर्णिमाकी जूनजस्ती
रुपवती
मनोहरणी
कालो सारीमा उभ्भेकी
कान्तिमय युवती
उनी रातको धुनमा
एक्लोपनको तालमा
दु:खको रागमा
गाउँछिन् कुनै दुखान्त भाका
र नाच्छिन्
फाल्दै उनका दु:ख र व्यथा
उनका चालमा म मेरा धड्कनको
ताल मिलाउन खोज्छु
उनी थप-थप गर्छिन्
मेरो मुटु धक-धक गर्छ
उनी मन्द मुस्कान छर्दै नाच्छिन्
तर उनका आँखाबाट बगेका आँसुमा
म वेदना देख्छु
मानौँ उनको मुस्कानले क्रान्ति झल्काउँदै छ
मानौँ उनको संगीतले व्यथा भन्दै छ
मानौँ उनको पाउजुले पीडाको गीत गाउँदै छ
उनी धर्ती हल्लिने गरी नाच्छिन् र जान्छिन्
म उनी गएको हेरिरहन्छु
उनका खुट्टा त उल्टा रहेछन्
म तर्सिन्छु
उनी को हुन्?
मेरै घर किन आउँछिन्?
मध्यरातमै किन आउँछिन्?
थाहा छैन
तर उनी मेरो एक्लोपन भगाउन आउँछिन्
मेरो लागि आउँछिन्
मेरी रातकी रानी
मेरी रातकी रहस्यमयी रानी।