जब त्यो भएको हुन्छ
वास्तवमा साँच्चीकै भएको हुन्छ
जब छुट्छ अतीत बन्छ
तब लाग्छ त्यो पनि मैले
मात्र
अर्को नाटक गरेको रहेछु
जीवन यसरी नै चलिरहेछ
यहीँ यादहरूको थाक-थाकभित्र
मस्तिष्कको बेल्चा चलाउँदै
कहिले यसलाई यता पल्टायो
कहिले उसलाई उता सार्यो
अनि तिनीहरूलाई असरल्ल हुनेगरी
बीचमा थुपार्यो
नयाँ आउनेहरू आई नै रहेछन्
लामो सुस्केरा काढ्यो
यसो कर्के नजर लगायो
कहिले मुसुक्क मुस्कुरायो
कहिले दिक्कदार बन्यो
ऋतुहरूजस्तै हो जिन्दगी
कहिले वर्षा, कहिले खडेरी
कहिले उराठलाग्दो बतास
अनि कहिले हरियाली शीतल।