गुरु हुन् मैनबत्ती, दीप दिने जलिकन
चाहना हुन्छ सधैँ चेला झुकून् फलिकन
दिइरहन्छन् दिव्य ज्ञान दुःख पर्दा पनि
भन्नुहुन्छ मातापिता, हुन् ईश्वर गुरु भनी
अन्धकारलाई उज्यालोमा परिणत गर्ने
अज्ञानीको मस्तिष्कमा ज्ञान कुञ्ज भर्ने
गुरु ज्ञान प्रदायक, हटाउने अज्ञानता
शिष्य ज्ञानी बनाउनमै राख्ने आफूलाई व्यस्तता
ज्ञान दिई पवित्र आत्माको गराउने अनुभूति
गुरु सम्मान खातिर गर्छौं हामी सधैँ स्तुति
ज्ञानको उज्यालो प्रकाश दिने गुरु हुन् मार्गदर्शक
चेला भई नदुखाउनु कहिल्यै गुरुको चित्त भरसक
सिकाउने जुध्न जीवनमा, कठिन परिस्थिति पनि
जीवनमा सफल बनाई बनाउने अमर पनि
असत्यता हटाएर सत्मार्गमा लाने
सत्कर्म र मानवताको पाठ सिकाउँदै जाने
चट्टानलाई पगालेर बनाउँछन् माटो उर्वर
गाथा हुन् सृष्टिका गुरु, गुरु ज्ञान सागर
जीवनको खाली पन्नामा बनाउने रंगिन तस्बिर
नपुगे पनि गर्छु आत्मैबाट सम्मान झुकाई शिर
चाहिँदैन कुनै देउता, चाहिँदैन परमेश्वर
गुरु ब्रह्मा गुरु विष्णु, गुरु नै देव महेश्वर।