स्वच्छ्न्द आकाशमा म रम्दारम्दै
अनायासै मलाई हिजो जागिरले समातेको छ
प्राण रक्षा अनि भौतिक सुखको लागि भनी
मैले जागिर समातेको छु।
अलिकति रहर अनि अलिकति विवशता
जिन्दगीका दुःखलाई सुखमा उतार्ने बाध्यता
खाउँला अनि लाउँला भन्ने लोभले
समाजमा नाम राखी जीवन सुखमय बनाउँला भन्ने सोचले
मैले उकाली ओरालीहरूमा पनि
नुनको सोझो गर्दै हिँडिरहेको छु
कति रहरहरू दबाउनु पर्ने
परिवारदेखि टाढा रही काम गर्नुपर्ने
धेरै पटक पारिवारिक रमाइलोमा सरिक हुन मौका मिलेन
मलाई जागिरले नछोड्दा
अनि मैले पनि जागिर नछोड्दा
विवश छु म आम रहरहरू कुल्चेर बस्न
किनभने मलाई जागिरले समातेको छ
अनि मैले जागिर समातेको छु।