उत्तरको पर्खाइमा
सूर्यको उदयसँगै अन्धकारमा चम्किएको चन्द्रमालाई पनि सोधें
तर खै! सामञ्जस्यता नमिलेको हो कि उत्कृष्ट उत्तर नै भेटिनँ
स्वार्थले प्रेरित भएर जोडिएका सम्बन्धलाई
कुन अर्थमा आफन्त सम्झेर अंकमाल गर्ने?
अकमक्क भएर तिनका ती लालायित
कठोर शब्दलाई शब्दकोशमा गएर निहाल्ने कि
प्रतिउत्तर प्रतिस्पर्धात्मक तरिकाले दिने?
अन्योलताको खाडलमा जानी-जानी हामफाल्ने कि
त्यो खाल्डो पुरेर उर्बरा हरियाली बन्ने?
मन्ध मुस्कानले बुझी बुझीकन पनि
उनीहरूको तृरस्कारलाई आत्मसात गर्ने कि
प्रतिकारमा उत्रेर ज्वालामुखीझैं बिस्फोटन हुने?
प्रश्नका भेल बगेर आँधीबेरी आउने बेलासम्म
उत्तरको पर्खाइमा नै छु
धरातल बिर्सेर औकातभन्दा माथि उक्लेकाहरूलाई
कागती निचरेरझैं औकातमा नै झारिदिने कि
निर्मल र निश्चल पवन भएर शान्त गंगा बन्ने?
असल संस्कारलाई निरुत्साहित गर्दै
देखावटी आत्मियताको झुटो खेती गर्नेलाई
हावाको बेगले जरैदेखि उखालिदिने कि
मल र जल गरी दरिलो खम्बा बनेर साथ दिने?
दोधारमा छु, प्रश्न आफैलाई छ
म पर्खाइमा नै छु।