आज म यमलोकमा स्वर्ग र नर्क जाने दुई बन्द द्वारका अगाडि नितान्त एक्लै खडा भएको छु। दुई यमदूतहरू मेरा अगाडि मलाई कुरेर उभिरहेका छन्। मेरो दायाँपट्टि यमराजको कक्ष छ भने बायाँपट्टि चित्रगुप्तको खाता भण्डार छ। केही बेरमा चित्रगुप्तले मैले पृथ्वीलोकमा गरेका राम्रा, नराम्रा कर्मका बारेमा लेखिएका खाता पल्टाउने छन् र यमराजलाई पढेर सुनाउने छन्।
यति चाँडै पृथ्वीलोक छोड्नु पर्ने रहेछ भन्ने मैले कहिले सोचेको थिइनँ। नेता भएर अझै धेरै वर्ष नेपाली जनतालाई छक्क्याउँदै, झुक्क्याउँदै राज गर्ने मेरो चाहना अधुरो रह्यो। आफ्नो मिति पुगेपछि एकदिन सबैले पृथ्वीलोकको मानव चोला त्याग्नै पर्दो रहेछ, सोहीअनुसार मैले पनि त्यागेछु।
पृथ्वीलोक त्यागेकोमा मलाई त्यति विस्मात छैन। तर चित्रगुप्तले मेरो कर्मको बारेमा के-कस्तो लेखाजोखा राखेका छन् र ती सुनिसकेपछि यमराजले मेरा लागि स्वर्गलोकको द्वार खोल्न लगाउँछन् कि नरकलोकको भन्ने पिरले साह्रै सताएको छ।
यमराजले चित्रगुप्तलाई सोध्छन्- 'हे चित्रगुप्त! यो मानव को हो? कहाँबाट आएको हो? यसले के कस्ता कर्म गरेको रहेछ? सविस्तार सुनाऊ।'
चित्रगुप्त आफ्नो अगाडि बडेमानका दुई खातामा मेरो नामका पृष्ट पल्टाएर तयारी अवस्थामा बसेका छन्। एउटा खाता पानाभरि लामो विवरण किरिङमिरिङ काला अक्षरमा लेखिएको छ भने अर्को खातामा मेरो नाम मात्र सुनौला अक्षरमा लेखिएको छ, पानाको बाँकी भाग खाली छ।
चित्रगुप्त काला किरिङमिरिङ अक्षर लेखिएको पाना पढ्न सुरु गर्छन्।
'हे धर्मराज! यो मानवको नाम यमजीत हो। यो पृथ्वी लोकको नेपाल भन्ने देशबाट आएको हो। त्यहाँ रहँदा यसले नेताको आवरणमा आजीवन जनतालाई दुःख दिने काम मात्र गर्यो। मिथ्या आश्वासन देखाएर लुट्ने काम मात्र गर्यो।
आफ्नो देशलाई कहिले स्विजरल्याण्ड बनाउँछु भन्यो त कहिले सिंगापुर। तर देशको विकास र समृद्धिका लागि कुनै काम गरेन। उल्टो भ्रष्टाचार गर्यो, कमिसन खाएर आफू र आफू पछिका सात पुस्तालाई पुग्ने गरी अकूत सम्पत्ति जम्मा गर्यो। आफू सत्तामा नरहँदा देशलाई अशान्त बनाउनका लागि बन्द, हड्ताल गर्यो। जनमानसमा आतङ्क मच्चायो। नेपाललाई नेपालजस्तै शान्त र सुन्दर देश रहन दिएन प्रभु यसले।'
'देशमा बेरोजगारी बढायो। पुराना उद्योगधन्दा, कलकारखाना सबै बन्द गरायो र मिलिजुली खायो। युवालाई स्वदेशमा रोजगारी उपलब्ध गराउने कार्यक्रम कहिले बनाएन। रोजगारीका लागि उद्योगधन्दा खोल्ने वातावरण पनि कहिले बनाएन। सोझासाझा युवा युवतीहरूलाई रोजगारीका लागि विदेश पठायो। दलालसँग मिलेर उनीहरूलाई पनि ठग्यो।
अलि टाठाबाठा युवायुवतीलाई आफ्नै कार्यकर्ताका रूपमा पार्टी प्रवेश गरायो। उनीहरूलाई आजीवन बेरोजगारीको चक्रमा फसाएर जघन्य सामाजिक अपराध गर्यो। सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न, कमिसन खान र समाजमा आतङ्क मच्चाउन उनीहरूलाई भरियाका रूपमा प्रयोग गर्यो। कालोबजारी, गुण्डागर्दी गर्ने मान्छेसँग साठगाँठ गर्यो। आफ्नो पदले पाएको अख्तियारको दुरुपयोग गरेर तिनको भरणपोषण, संरक्षण गर्यो र आफ्ना कुकर्ममा सघाउन प्रयोग गर्यो।'
चित्रगुप्तले मेरा पापकर्मका बारेमा लेखिएको पहिलो पाना पढिसके। अर्को पाना पल्टाउनुभन्दा पहिले केही बेर रोकिएर यमराजको आदेश पर्खन्छन्।
यमराजले आदेश गर्छन्- 'हे चित्रगुप्त! यो मानवको पापखाताको अरू पाना पनि पढ।'
चित्रगुप्तले अर्को पाना पल्टाएर पढ्छन्- 'हे धर्मराज! यो मानवले गरिब जनतालाई कर लगाएर सङ्कलन गरेको विकास बजेट आफ्ना आसेपासे ठेकेदारलाई बाँड्यो। जनताका आँखामा असारे विकासको छारो हालेर कमिसन झ्वाप्प आफैले खायो। करोडौं, अरबौं खर्च गरेको कागजमा देखायो तर काम भने लाखको पनि गरेन।'
'पदमा पुग्ने बित्तिकै आफ्ना लागि सरकारी खर्चमा नयाँ सवारी साधन किन्यो। एउटा साधनले मात्र पुगेन, अनेकौँ किन्न लगायो। कुनैमा आफू चढ्थ्यो, कुनैमा आफ्ना परिवार, त कुनैमा आफ्ना आसेपासे। आफू एकजना पदमा पुग्यो तर श्रीमती, छोराछोरी, साला, साली, भाइ, भतिजा सबै मिलेर राज्यको सम्पत्ति सर्वनाश गर्यो। सरकारी खर्चमा नै कम्प्युटर, टिभी, फ्रीज, सोफा किन्यो र आफ्नो घर लगेर निजी बनायो।'
'महंगीको भुङ्ग्रोमा जनतालाई पिल्स्याउँदै आफ्नो भत्ता आफै बढायो। नक्कली कागतपत्र बनाएर पुरुषले पनि सुत्केरी भत्ता खायो। धेरै कागजी कर्मचारी खडा गर्यो, उनीहरूको नाममा तलब निकालेर आफै खायो। भूकम्प, बाढी, पहिरो पीडित जनताको राहतका लागि विदेशी संघसंस्थाले दिएको सहयोगमा पनि राल काढ्यो। त्यहाँ पनि कमिसन खायो, आफ्ना आसेपासेलाई बाँड्यो र असली पीडितलाई तिरस्कार गर्यो।
संघ, सङ्गठन खोल्न लगाएर कर्मचारीतन्त्रलाई कमजोर बनायो। नेताको चाकरी गरेमा कर्मचारीले जनसेवा नगरे पनि बढुवा पाउने, धेरै घुस खान पाउने ठाउँमा सरुवा पाउने बेथिति सृजना गर्यो। कर्मचारीलाई आफ्ना दास बनायो। उनीहरूसँगको मिलिभगतमा सोझासोझा जनताको दोहन गर्यो। भ्रष्टाचार गर्ने कर्मचारीको संरक्षण गर्यो, मिलेर कमिसन खायो र आफ्नै भुँडी भर्यो।
सार्वजनिक, ऐलानी जग्गा आफ्ना आसेपासेका नाममा दर्ता गरायो। खेतीयोग्य जमिन भू-माफियासँग मिलेर प्लटिङ गरी टुक्रा-टुक्रा बनायो। महँगा घडेरीका रूपमा बिक्री गर्ने र फाइदामा आफू साझेदार हुने परिपाटी मिलायो। खण्डीकृत जग्गा बाँझो रह्यो। आयात नगरी अन्न पनि जनताले खान नपाउने दयनीय अवस्थामा देशलाई पुर्यायो।
कृषि प्रधान देशमा खेती किसानी पेसा अपनाएर मनग्गे आम्दानी गरी इज्जतिलो जीवनयापन गर्ने वातावरणलाई नष्ट पारिदियो। राजनीति आडमा गुण्डागर्दी गरेर, बिचौलिया भएर, कालो बजारियामा लागेर, उच्च पदस्थ कर्मचारीको सरुवा बढुवामा कमिसन खाएर, भ्रष्ट न्यायसेवामा दलाल बनेर, सरकारी सम्पत्ति दुरुपयोग गरेर रातारात धनी हुने प्रवृत्तिको प्रवर्धन गर्यो। यस्ता कुकृत्य गर्नेको नै सामाजिक प्रतिष्ठा बढाउने दुष्कर्म गर्यो।
इमानदार पेसा अपनाएर आफ्नै पौरखमा उभिन चाहने स्वावलम्बी जनतामा निराशा भर्यो। स्वाभिमानी युवा पुस्ताले आफ्नै देशमा आफ्नो भविष्य उज्ज्वल बनाउने सपना देख्न नपाउने वातावरण बनायो। पौरखी युवाहरूलाई देश छोड्न बाध्य बनायो। वृद्धवृद्धालाई घरमा एक्लै पार्यो।'
सार्वजनिक स्कुल, कलेजमा अयोग्य आफ्नै मान्छेलाई जागिर खुवायो। त्यहाँका शिक्षकहरू विद्यार्थीलाई पढाउने काममा कम र राजनीति गतिविधिमा बढी लाग्न थाले। शिक्षकले राजनीति गरेमा नपठाइकन तलब खान पाउने भए। निजी स्कुलसँग मिलेर कमिसन खाँदै यो मनुवाले सार्वजनिक स्कुलको शिक्षाको गुणस्तरलाई पतालमा पुर्यायो।
सार्वजनिक अस्पताल, स्वास्थ्य चौकीको क्षमता विकास गर्ने काम कहिले गरेन। उल्टो बिगार्ने काम मात्र गर्यो। स्वास्थ्य क्षेत्रका माफियासँग मिलेर कमिसन खायो। स्वास्थ्य सेवा जनताले बेहोर्न नसक्ने गरी महँगो बनायो। जनतालाई निजी अस्पतालमा गई महँगो शुल्क तिर्न बाध्य बनायो। आफू भने बिरामी हुँदा राष्ट्रको खर्चमा विदेश घुम्दै उपचार गर्न पाउने ठग नीति ल्यायो।'
चित्रगुप्तले मेरा पापखाताको दोस्रो पाना पनि पढेर सके। केहीछिन रोकिएर यमराजबाट थप आदेशको प्रतीक्षा गर्छन्।
'हे चित्रगुप्त! यो मानवको पापखातालाई केही बेर बन्द गर र यसका धर्मकर्मका बारेमा सुनौला अक्षरमा लेखिएको धर्मखाता पनि पढेर सुनाऊ,' यमराजले आज्ञा गर्छन्।
धर्मखातामा मेरो नामको पाना पल्टाएर यमराजलाई देखाउँदै चित्रगुप्त भन्छन्- 'हे धर्मराज! यो मानवले कुनै पनि धर्मकर्म गरेको छैन। अन्य मानवजस्तै यो मानव पनि जन्मेको बेलामा यसका धर्मकर्मको लेखाजोखा राख्नका लागि धर्मखातामा यसको नाम सुनौलो अक्षरमा लेखिएको थियो। तर तत्पश्चात् यसले धर्मखातामा लेख्न योग्य कुनै पनि शुभ कर्म गर्दै गरेन।'
यमराज आश्चर्यचकित हुँदै चित्रगुप्तलाई आदेश दिन्छन्- 'त्यसो पापकर्म मात्र गर्ने मानव पनि हुन्छ र? यसको पापखाताका अरु पाना पनि पढेर सुनाऊ। यसका सबै कुकर्म सुनेपछि मात्र यसलाई कुन स्तरको नरकबास गराउनु पर्ने हो, म निर्णय गर्नेछु।'
चित्रगुप्तले मेरो पापखाताका बाँकी अंश पढ्न थाले। तर उनले पढेर सुनाउँदै गरेमा मेरा ती कुकर्महरू मैले सुन्ने हिम्मत गर्न सकिनँ। यमराजबाट नरकबासको कुरा सुनेर मेरा नौनाडी गलेर आइसके।
सोच्न थालें- होइन, मैले केही पनि सुकर्म गरेको रहेन छु कि क्या हो! पृथ्वीलोकमा मेरा आसेपासेले त बाहिर मेरो ठूलो नाम छ, जय जयकार छ भनी सुनाउँथे। मेरो बारेमा सबै राम्रा कुरा मात्र पढ्न पाउथें। मेरा राम्रा कुराहरू जनतालाई सुनाउनका लागि मैले धेरै भरौटेलाई मासिक भत्ताको व्यवस्था गरेको थिएँ। होइन, तिनीहरूले जनतालाई सुनाएका सबै कुरा झुट्टा रहेछन्? उनीहरूले जनतालाई मात्र होइन मलाई पनि सधैँ मूर्ख नै बनाएका रहेछन् त?
यस्तायस्तै सोच्दै थिएँ, मनमा एउटा जुक्ति पलायो। चित्रगुप्तले धर्मखातामा नलेखेर के भयो त? मेरा राम्रा कामको बयान यमराज समक्ष म आफै गर्नेछु।
मैले पनि त जीवनको लामो कालखण्ड राजनीतिक पार्टी र अग्रज नेताको झोला बोकेर बिताएको थिएँ। उनीहरूले सेतोलाई कालो भन् भन्दा कालो नै भनेको थिएँ। उनीहरूका लागि कति हो कति नारा जुलुस गरें। अनगिन्ती बन्द हरताल गरें, बाटाका रेलिङ भाँचें, टायर बालेर सहरमा आतङ्क मच्चाउँदै तत्कालीन सरकार र जनतालाई तह लगाउने काममा अहम् भूमिका खेलेको थिएँ। कति पटक पुलिसको डन्ठा खाएँ, कति रात हिरासतमा बिताएँ। मेरा त्यस्ता महान् परोपकारी कामको लेखाजोखा खोइ?
राजनीतिमा मेरो योगदानको कदर नभएको भन्ने पनि लाग्दथ्यो, बेलाबेलामा। पार्टी फुटाएर हुन्छ कि, पार्टी नै परिवर्तन गरेर हुन्छ, पद त मैले नै पाउनु पर्छ भन्ने मान्यता राख्दथें। यस्तो मुस्किलसँग पाएको पदमा पुग्दा केही पैसा कमाएँ भन्दैमा मेरा कर्मलाई पापखातामा किरिङमिरिङ अक्षरमा मात्र लेख्न पाइन्छ? धर्मखातामा सुनौला अक्षरमा लेख्नु पर्दैन?
यमराजका सामुन्ने यी कुरा राख्दै नारा लगाउने विचार के गरेको थिएँ, यमराज कक्षको बाहिर भित्तामा ठूला अक्षरमा कुदिएको सूचना देख्दछु- 'चित्रगुप्तका खातामा पाप र धर्मकर्मका सारा विवरण हुबहु सत्य लेखिएको छ। मर्त्यलोकमा कानुनलाई आफू अनुकूल व्याख्या गरेजस्तो चित्रगुप्तका खातामा लेखिएका भन्दा बाहिरका विवरण पेस गर्न पाइने छैन।'
यो सूचना पढेर म चुपचाप भएँ।
चित्रगुप्तले पापखाताका पाना पल्टाउँदै मेरा पापकर्मका बारेमा निरन्तर पढिरहेका छन्।
उनलाई यमराजले रोक्दै भने- 'हे चित्रगुप्त! भो, यो मानवका कुकर्मका बारेमा थप चर्चा गर्न आवश्यक छैन। यसका धर्मकर्म सबै देखावटी र मिथ्या रहेछन्। यो मनुवा रक्षकको भेषमा भक्षक रहेछ। सेवकको भेषमा शोषक रहेछ। यसका लागि सबैभन्दा तल्लो नरकलोकको द्वार खोलिदेऊ। नरकलोक जाने बाटामा यसलाई उम्लिरहेको तेलका कराईमा दुईचार चोटि बढी चोबल्नू। यसका कुकर्मले गर्दा गरिबी र भोकमरीको रापमा प्रतिपद पिल्सिरहेका जनतालाई शान्ति मिल्ने छ। अँ यसलाई तातो तेलमा चोब्दा यसले चिच्याएको आवाज बाहिर नसुनियोस् भन्ने हेतुले वरिपरि थपडी बजाउने जत्था भेला पारेर राख्नु। यो मनुवाले पृथ्वीलोकमा आफ्ना कुकृत्य ढाक्ने उद्देश्यले जनताका सामु आफ्नो खोक्रो प्रशंसा गर्ने त्यस्तै जत्था भेला पारेर राखेको थियो।'
यमराजका यी निर्णय म चुपचाप सुनिरहन्छु।
यमराजको हुकुमपश्चात् तिखे गोरुका जस्ता सिङ भएका र लामा-लामा दाह्रा भएका राक्षसरूपी दुई यमदूत मेरा अगाडि आइपुग्छन्। मेरो घाँटीमा यमपाश लगाउँछन् र तातो तेलको कराईतिर इशाराले देखाउँछन्। म अझै यी यमदूतको पासोबाट फुत्किने केही उपाय छ कि भनि सोच्दै छु। मेरा बफादार सल्लाहकार, वकिलको सल्लाह लिन मन लाग्छ। तर यमलोकमा ती सल्लाहकारहरू सँगै लिएर जान मिल्दैन रहेछ। म फगत एक्लै छु- आफ्नो कर्मको फल केवल एक्लै भोग्दै छु। उम्लिएको तेलमा चोबिँदाको पिर खप्न तयार हुँदैछु। तर अहो कसरी खप्ने होला! हे प्रभु, बचाइदेऊ!
सोच्दासोच्दै मेरो पिर कम गर्ने एउटा जुक्ति झट्ट मनमा पलाउँछ। हाड, मासु र छालाले बनेको र दुखाइ अनुभव गर्नसक्ने मेरो शरीर त मैले पृथ्वीलोकमा नै छोडेर आएको छु। अहिले त म आत्मा मात्र हुँ। आत्मालाई तातो तेलमा चोबले पनि दुख्दैन क्यारे!
केही ढुक्क मात्र के हुन लागेको थिएँ यमपाश मेरो घाटीमा निक्कै कसिन थालेको अनुभव गरें। यमदूतले मलाई घिस्स्याउँदै तातो कराईतिर तान्दैछन्। होइन, मैले मेरो शरीर मर्त्यलोकमा नै छोडेर आए पनि यमदूतले मलाई पासो लगाएर घिसार्न कसरी सकेका होलान्? म विचारमग्न हुन मात्र के थालेको थिएँ मेरो पछाडि लामबद्ध शरीरधारी धेरै आत्माहरूलाई देख्छु।
यमलोकमा त आत्माको पनि आफ्नै शरीर हुँदो रहेछ। यमदूतले पापी आत्माको शरीरमा पासो लगाउँदा रहेछन्। जसरी मेरो आत्माले मेरा पापकर्मको बयान चित्रगुप्तबाट सुन्न सकेको थियो, त्यसरी नै उम्लिएको तेलमा चोबिँदाको असह्य जलन पनि बोध गर्ने रहेछ। यो जलन सम्झेर नै मेरो आत्माका नौनाडी गलेर आउँछ। यमपाशबाट उम्कन खोज्छु तर सक्दिनँ। यमदूतले म यो अलौकिक दुःख, सङ्कटबाट जोगिन खोजेको कुरा चाल पाउँछन् र मेरो पासो केही बेरका लागि खुकुलो पारिदिन्छन्। तर मलाई छाड्दैनन्।
बिरालोले मुसो मारेर खानुभन्दा पहिले घाइते मुसालाई केही क्षण खेलाएजस्तै मलाई पनि यमदूतले खेलाउँदै छन्। मेरा लागि यो खेल होइन, टार्न नसकिने एउटा भयानक, कहाली लाग्दो सङ्कट पहिलेको सन्नाटा मात्र हो। मर्त्यलोकमा कहिले अनुभव नगरेको, कहिले अनुमान नलगाएको छटपट्याहटबाट म गुज्रिरहेको छु।
न्वारानमा पुरेतले मेरो नाम यमजीत राखेका थिए। तर यमराजको फैसलालाई पल्टाउन सक्ने सामर्थ्य यमजीत नाम गरेको मान्छेमा पनि हुँदैन रहेछ। तैपनि बिन्तीभाउले यमराजको मन जित्न सकिन्छ कि भनेर म अन्तिम प्रयास गर्छु।
हे प्रभु! मर्त्यलोकमा रहँदा मैले घोर अपराध गरेछु। म त्यस्तो भयङ्कर अन्याय, अत्याचार फेरि कहिले गर्ने छैन। तपाईंलाई विश्वास लाग्दैन भने मलाई एक पटक पुनः पृथ्वीलोकमा फिर्ता पठाइदिनु होस्, प्रभु। मेरो अर्को कार्यकालमा- माफ गर्नु होला प्रभु, जुनी भन्नु पर्नेमा कार्यकाल भनेछु। अर्को जुनीमा कहिले गुण्डागर्दी गर्दिनँ, भ्रष्टाचारजस्ता दुष्कर्मबाट सधैँ दूर रहने छु। असत्य कहिले बोल्दिनँ। झुट्टा आश्वासन दिएर जनतालाई पिरोल्दिनँ। जे बोल्छु त्यही गर्छु र जे गर्न सक्छु त्यो मात्र बोल्छु। सेवक भएर जनता र ईश्वरको सेवामा अविच्छिन्न लीन रहने छु।
यसरी रुँदै कराउँदै दशधारा आँसु झार्दै मेरो आत्माले बिन्ती बिसाउँदा पनि यमराज सुनिरहन्छन्, तर केही बोल्दैनन्। मान्छेको शरीरले असत्य बोल्छ तर आत्माले त सधैँ सत्य मात्र बोल्छ। परन्तु यमराजलाई मेरो आत्माको प्रार्थनामा पनि किन विश्वास नलागेको होला!
म उम्लिरहेको तेलको कराईमा चोबिनै आँटेको छु। त्यो पीडा सम्झेर मेरो आत्मा खत्र्याकखुत्रुक भएर गल्छ। मेरो छटपट्याहटले सीमा नाघ्छ। मेरो अन्तिम प्रयासस्वरूप जोडले चिच्याउँदै यमराजका अगाडि प्रार्थना गर्छु- मलाई क्षमा गरिदिनुस् प्रभु! मलाई क्षमा गरिदिनुस्!
'के भयो? घरै थर्किने गरी किन कराउनु भएको? कोसँग क्षमा माग्नु भएको?' भन्दै श्रीमतीले घचघच्याउँदै मलाई बिउँझाउँछिन्। म जुरुक्क उठेर ओछ्यानमै थचक्क बस्छु। श्रीमतीको अनुहार हेर्छु। कोठाको वरिपरि हेर्छु। झ्याल बाहिरको उज्यालो दृश्य अनि कोठा भित्र छिरेका सूर्यका किरण पनि हेर्छु। यी सबै कुराहरू पृथ्वीलोकका नै हुन् भन्ने ठम्याउँछु। म पृथ्वीलोकमा नै रहेछु। म मरेको होइन रहेछ।
'कस्तो अबेरसम्म सुत्नु भएको आज? बाहिर आँगनभरि कार्यकर्ताहरू भेला भइसकेका छन्। मुख धोएर लुगा फेरेर झट्ट बाहिर आउनु होला' यति भन्दै श्रीमती कोठाबाट बाहिरिन्।
अहो! आज कस्तो भयङ्कर डरलाग्दो सपना देखेछु। म मरेर यमलोक पुगेको थिएँ, त्यहाँबाट नरकलोक तिर जाँदै थिएँ। यमलोकको सपनाले डराएर कामेको मुटु अहिलेसम्म शान्त भएको छैन। धत्, यस्तो सपना बिर्सनु पर्छ। सपना भनेको सपना नै हो। सपनाका कुराहरू विपनामा कहाँ सत्य हुन्छन् र!
तर होइन होला, कुनै-कुनै सपना त विपनामा यथार्थ रूपमा परिणत हुन्छन् रे। बिहानीपख यो ब्रह्माण्डका सबैभन्दा शक्तिशाली सूर्यदेवलाई साक्षी राखेर देखेको सपना झन् सत्य हुन्छ रे।
हिजो राति अबरेसम्म मतगणना स्थलमा कार्यकर्ताले घेरिएर बसेको थिएँ। मैले प्राप्त गरेको मत विपक्षीले प्राप्त गरेको मतभन्दा धेरै बढी भएर मेरो जित निश्चित भएपछि मात्र घर आई सुतेको थिएँ। धेरै थाकेको पनि थिएँ। सपना पनि लामै देखेछु।
तर जे होस् यमराजका सामुमा अर्को जुनी पाउनका लागि जे-जे बिन्ती गरें तिनै बिन्ती जनता समक्ष उनीहरूको मत पाउनका लागि गरेको छु। यमराजले त मेरो बिन्ती सुनेका थिएनन्, तर जनताले सुनेछन्। पापीले यमलोकमा भोग्नु पर्ने दुःख पनि देखेर आएको छु। अबदेखि म नेताको आवरणमा कुनै पनि पाप कर्म गर्ने छैन, जनताको शोषण गर्ने छैन। सपनामा यमराज समक्ष गरेका प्रतीज्ञाहरू विपनामा जनता समक्ष पूरा गर्नेछु।
लुगा फेरेर म शयनकक्षबाट बाहिर निस्कन्छु। मतगणनाको अन्तिम परिणाम बिहानै आइसकेको रहेछ। म विजयी भइसकेको रहेछु। मलाई देख्ने बित्तिकै कार्यकर्ताहरूले नारा लगाउन थाले।
यो जित कसको- यमजीतको!
यमजीत- जिन्दावाद!