मैले उनले जिद्धी गर्दै भन्न थालिन्। 'म तपाईंबिना बाच्नै सक्दिनँ। अहँ! हुन्न। मेरो पहिलो प्रेम तपाईं हो। र अन्तिम पनि। मेरो लागि हजुरको विकल्प यस संसारमा छैन। कदापि बन्ने छैन। मेरो वास्तविक राजकुमार तपाईं नै हो। तपाईं मेरो प्राण हो। मरो श्वासप्रश्वास हो। मेरो धड्कन हो। मेरो जीवन पर्यन्त र मृत्युपश्चात पनि सँगै रहने एक साथी हो।
मुनाको मदन, क्लियोपाट्राको एन्टोनी, हेलन अफ ट्रोयको पेरिस र जुलियटको रोमियोभन्दा धेरै प्यारो मानिस हो तपाईं मेरो लागि। तपाईं जे-जस्तो हुनुहुन्छ त्यो सब मेरो लागि अमूल्य छ। अरुलाई तपाईं कस्तो लाग्छ त्यससँग मेरो सरोकार छैन। अरुको नजर मेरो लागि प्रधान हैन। विशेषगरी हामी अरुका लागि एक हुन लागेका हैनौं। हाम्रा लागि एकाकार हुन लागेका हौं। त्यसैले यसमा तपाईंको र मेरो सरोकार प्रधान हो। अन्य कुराहरू गौण हुन्। सबैलाई हामी मन पर्नुपर्छ भन्ने केही छैन। अरुले हामीलाई आहा भनिदिनु पर्ने छैन।
त्यसैले अब यो वा त्यो बहानामा टाढा हुने प्रयास नगर्नुहोस्। तपाईंसँग कुरा समेत गर्न अनिच्छुक थिएँ म केही समयअगाडि। मलाई तपाईंको मतलब थिएन। तपाईं को हो? कस्तो हो? किन हो? सरोकार थिएन। खै! केही समयपश्चात त्यही केटी तपाईंसँग गम्भीर सरोकार राख्ने भई। हुँदाहुँदा वैवाहिक जीवन जीउन समेत तयार भई। सारमा भन्नुपर्दा तपाईंको अनुरोधमा तत्पर भई।'
केही महिनाको डिजिटल माध्यमबाट भएको हाम्रो प्रेमलाई उनले विवाहमा ढाल्न चाहेकी थिइन्। मैले उनलाई रोक्ने अनेकन प्रयास गरें। तर सकिनँ।
उनी थप्दै गइन्, 'हिजो म हजुरप्रति आकर्षित हुनुको कारण तपाईंको असल मानवीय गुण थियो। त्यो आज पनि छ। सदा रहनेछ। हिजो ममा के थियो? हिजोको डिजिटल भेटघाट किन सुखद् थियो? पहिले डिजिटल र पछि छिटपुट हुने भौतिक भेटघाटमा किन तपाईं मरिहत्ते गर्नुहुन्थ्यो? किन मेरो मन पगाल्ने काम भयो? अनि त्यसो गर्नेले आज किन कुरा घुमाउँदै हुनुहुन्छ? हिजो र आजमा के कुरा फरक आयो र अकमकाउनु पर्ने भयो? मलाई कन्भिन्स गर्नुपर्ने भयो? यसको उत्तर हजुरबाट अपेक्षा राखेको छु।'
उनमा उत्पन्न भएका भावहरूले मलाई खिन्न बनायो। उनको भावुक चेहरा देखेर ठुलै गल्ती पो गरें कि भन्ने आभास भयो। मैले उनलाई अस्वीकार गर्नुपर्ने कारण थिएन। उनलाई मैले नै प्रस्ताव गरेको हो। फेसबुक म्यासेन्जरमार्फत। सुरुका कैयन प्रश्नहरू उनले बेवास्ता गरिन्। उत्तर दिइनन्। प्रश्नका चाङहरू बढ्दै जाँदा समेत वास्ता गरिनन्। मलाई लाग्थ्यो उनको उत्तर दिने बानी नै थिएन। केही समयपछि मात्र क्रमशः मेरा केही प्रश्नहरूका उत्तर आउन थाले।
यसरी क्रमशः हामी निकट हुँदै गएका थियौँ। म त तम्सिएरै उनलाई झकझकाउन खोजेको। भावनामा डुबेर कौतुहलता, प्रश्नहरू तेर्साउँथें। क्रमशः उनी पनि बोल्न थालेपछि नरोकिने हुन थालिन्। उनले पनि उत्तरको साथमा मलाई धेरै प्रश्नहरू गर्न थालिन्। त्यसपछि हाम्रो डिजिटल माध्यममा च्याट र बोल्न बानी नै पर्यौ। धेरै समय कुर्न परेन।
समय अन्तरालसँगै उनले मेरो औधी बयान गर्न थालिन्। उनले हाम्रो नामसँग विश्व प्रख्यात शेक्सपियरका पात्रहरू रोमियो र जुलियटलगायत जोडन् थालिन्। मलाई मदनभन्दा उच्च दर्जामा राखेर प्रस्तुत भइन्। त्यो भावले मलाई अति नै प्रसन्न बनायो। असल मित्र पाएकोमा निकै खुसी लाग्यो।
त्यसपछि क्रमिक रुपमा सामान्य भौतिक भेटघाट हुन थाल्यो। हामीले एकअर्कालाई डिजिटल माध्यमबाट मात्रै नभई भौतिक रुपमा पनि चिन्न थाल्यौं। हिजो सामान्य कुराकानी मात्रै हुने हामी अब साँच्चै एक प्रेमजोडी बन्न पुग्यौं। भेटघाट भइरहँदा हामीले हाम्रो सम्बन्धको माध्यम सामाजिक संजाललाई धन्यवाद समेत दिन्थ्यौं। किनकि जोडिने सेतु नै त्यही संजाल थियो।
भेटमा मैले उनलाई सम्झाउने प्रयत्न गर्थें। 'कुरा हुँदैमा विवाह नै गर्नुपर्छ भन्ने छैन प्रिया। भेट्दैमा संसार खसेको हुँदैन। भावना साट्दैमा जोडी बाँधिहाल्नु पर्छ भन्ने छैन।' तथापि मेरो यस्तो भावना उनले अस्वीकार गर्थिन्। मेरो भनाइ उनी सुन्न तयार हुन्थिनन्।
मैले सम्झाउने हर कोसिस जारी राख्थें। रोमियो जुलियटका कहानी अब पुरानो भइसके। मुना मदनका कहावत अहिलेको संसारमा लागु हुँदैनन्। यो डिजिटल जमाना हो। रोमियोले जुलियट नपाएर मर्नुपर्ने अवस्था छैन। सबैका धेरै साथीहरू हुन्छन्। साथीहरूबीच पनि निकट साथीहरू हुन्छन्। यसको मतलब नजिक हुने बित्तिकै बिहे नै गर्नुपर्छ भन्ने छैन।
समाजको सोच पनि परिवर्तन भइसकेको छ। हिजो सँगै हिँडेको देख्दा केटाकेटी बिग्रे भन्थे। आज गफ गर्दा, सँगै रहँदा, बस्दा पनि त्यसलाई सामान्य रुपमा लिइन्छ। कुरा यत्ति हो हामी कसरी हिँड्छौं। एकअर्काबीच कति दूरी कायम गर्न सक्छौ? हामी भावनामा मात्रै डुबेका छौं कि व्यवहारमा पनि?
मेरा सिलसिलेबार कुरालाई बीचमै रोकेर उनले पुनः आफ्नो हठ दोहोर्याउँथिन्। हो, म स्वीकार्छु समाज परिवर्तित छ। सोचहरू बदलिएका छन्। तथापि मनहरू उस्तै छन्। स्वच्छ भावनाहरूलाई आधुनिकताले कहीँल्यै बदल्न सक्दैन। माया, ममता र सम्बन्धलाई समयले फरक बनाउन सक्दैन। ढुङ्गे युग र आज पनि एउटा कुरा समान छ। त्यो हो माया।
धनी वा गरिब जोसुकै होस, माया भनेको सर्वमान्य सत्य हो। आधुनिकता, समय, विकास वा सामाजिक संजाल आदिले रुप बदल्न सक्ला। सोच बदल्न सक्ला। सामर्थ्य बदल्न सक्ला तर अनुराग, प्रेम बदल्न सक्दैन। आत्माको चित्कार बदल्न सक्दैन। त्यसैले मेरो भावना बुझ्नुस् तपाईंले।
म पनि उनलाई सहज बनाउन फेरि थप्थें- 'हैन, तिमी कति साह्रो ढिपी गरेको! हिजोको सति प्रथामा झैं गछौँ किन? हामी साथीत्व नै त्याग्न गर्न लागेका त हैनौँ। हामी सधैंका लागि टाढिन त लागेका हैनौं नि। केवल तिम्रो चाहनाअनुसार वैवाहिक रुपमा एक हुन मात्र नसकेका हौँ।
तिमी औधी राम्री छौ। मायालु छौ। हृदयबाट माया गर्ने एक नारी हौ। यस्तो मिजासिलो केटीलाई मभन्दा अब्बल केटाहरूले विवाह गर्नेछन्। राम्रो पुरुषहरू तिमीसँग वैवाहिक जीवन जिउन तयार हुनेछन्। बरु भोलि मैले तिमीजस्तो असल नारी पाउन्नँ कि भन्ने चिन्ताको विषय हो। तर तिम्रो सन्दर्भमा त्यो सब सामान्य कुरा हो। अनि केको चिन्ता? मात्रै भावनाबाट अलिक व्यवहारिकतामा उत्रन पर्यो तिमी।'
मैले जोड दिएर भन्छु- 'संसार ठूलो छ। तिमी डिजिटल जमानामा पनि पुरातन कुरामा मात्रै विश्वास गर्ने। एकोहोरो जिद्धी। अरे! नेपालमा लाखौँ युवाहरू छन्। विश्वमा करोडौं युवाहरू छन्। मबिना बाँच्नै नसक्ने के पर्यो त्यस्तो? मैले तिमीलाई सम्झाउनुको मतलब म स्वार्थी भएको हैन। हिजो इमोसनमा आएर केही बढीबढाउ कुरा गरें। तिम्रो माया पाउन केही मित्थ्या पनि बोलें हुँला। तर वास्तविकता फरक छ।
म अझै जीवनको करिअर बनाउने क्षणमा छु। म आफै राम्रोसँग खुट्टामा उभिन सकेको छैन। म आफै अरुसँग आश्रित हुनुपरेको छ। अनि बिहे गरेर कसरी खुसी दिन सक्छु? सोच त, संसार पैसामुखी छ। जोसँग पैसा छ, ऊ सबैको प्यारो हुन्छ। त्यसकारण मलाई कर नगर, कृपया।'
उनले मेरो कुरा पटक्कै नमान्ने भएकी थिइन्। उनी फेरि उही आफ्ना बह पोख्थिन्। 'मलाई सुख सयल चाहिएको छैन। भौतिक खुसी आवश्यक हैन। तपाईंका माया पाउन बरु पर्छ भने कष्टपूर्ण जीवन जीउन पनि मलाई स्वीकार्य छ। मन दोधार नबनाउनुहोस प्रिय। म बरु गाउँमा गएर काम गर्न तयार छु। सिकेरै भए पनि मेला पर्म गरौंला।'
उनले पुनः व्यग्र हुँदै भनिन्- 'मलाई तपाईंको डिजिटल प्रेम किमार्थ स्वीकार्य थिएन। त्यसैले त तपाईंले पठाएका सुरुका प्रश्नहरू महिनौं पेन्डिङ थिए। अझै अनुत्तरित छन्। हामी डिजिटल माध्यमबाट जोडियौँ। हामी सामाजिक संजालबाट परिचित भयौं। अहिले धेरै प्रकारका सामाजिक संजालहरू छन्। मान्छेसँग चिनाजानी गर्न, उनीहरूका व्यवहारहरू बुझ्न। उनीहरूका क्षमताहरू थाहा पाउन। गुण दोषहरू पत्ता लगाउन सजिलो छ।
हामी पनि परिचित हुने बेलासम्म डिजिटल मायामा रमाएकै हो। त्यसको मतलब हामी जीवनपर्यन्त डिजिटल जीवन जीउनु पर्छ भन्ने किमार्थ हैन। माध्यम जेसुकै भए पनि हामी एकाकार भयौँ। हामी निकट भयौँ। अब आएर टाढा हुने कुरा पाच्छ हुँदैन।'
उनले थपिन्, 'मलाई अब डिजिटल माया किमार्थ स्वीकार्य हुँदैन प्रियतम। मेरो भावना कुल्चेमा तपाईंलाई दोषारोपण बाहेक म केही गर्दिनँ। अपराधी करार गर्ने कानुनी आधार छैन। आधार भए पनि गर्न सक्दिनँ, गर्दिनँ। किनकि मसमेत सामेल भएर हामी यहाँसम्म आएका हौं। तपाईंलाई कहीँकतै मुद्दा मामिला गर्न नसके पनि तपाईं डिजिटल प्रेमी, कपटी, धोकेबाज भनेर मेरो मनको अदालतबाट दोषी करार चाहिँ गर्नेछु। त्यसपछि चैनको सास फेर्नेछु। तथापि बल अझै तपाईंको कोर्टमा छ।'