ऊ बर्सातको पानीजस्तै थिई
बर्सिरहने
बेमौसमा पनि
तर मेरो घरको छानो चुहिने थियो
म कसरी स्वीकार गर्न सक्थेँ उसलाई
टालेर टाल्न मिल्ने प्वाँल भए पो
टाजटुल पारेर स्वागत गर्नु
यहाँ त पूरै छानो नै मक्किएको छ
एउटा ठाउँमा टाल्दा
अर्को ठाउँ चुहिने
अनि अर्को टाल्दा
अर्को
कयौं रात त भिझौंझैं नलागेको हैन
कयौं पटक खुसीले ननाचेको हैन
तर जब उसको आगमनले मन हर्सित बनाउथ्यो
त्यही बेला चुहिएको छानोले आफ्नो औकात सम्झाइदिन्थ्यो
हो, म कयौं पटक चुहिएको छाना हेर्दै रात कटाएको छु
कयौं पटक तिम्रो मुस्कानमा हराएको छु
तर हावा र हुरी आउँदा कहाँ लुकौं?
कहाँ भागौं अवस्थामा
तिमीलाई कसरी स्वागत गरौं?
एकदिन यी छाना चुहिन छाड्लान्
एकदिन घरको भित्तो बलियो होला
अनि बर्सिरहनु तिमी
मेरै आँगनीमा
मलाई निथ्रुक्कै भिजाउने गरी
अनि स्वागत गर्नेछु म तिम्रो
सधैं दिन अनि रातभरि।