फाट्नु, बिग्रनु
टुट्न र फुट्नु
नासिनुको उदाहरण
नै सम्झिन्छन् मान्छेहरू
जीवन त तब सुरु हुन्छ
केही फाटेपछि
कोही छुटेपछि
कुनै सम्बन्ध फुटेपछि
र कसैको नजरमा बिग्रेपछि
हेर्नुस् त त्यो दूधलाई
जब फाट्छ नि
मूल्यवान पनिर बन्छ
त्यो अन्डा पनि त
नफुटी कहाँ जीवन सुरु हुन्छ र
जब फाट्छ नि मन
अनि सुन्दर रचना बन्छ
जब नासिन्छ नि झुसिलकिरा
तब त
सुन्दर पुतली जन्मिन्छ
त्यो ढुङ्गा पनि त
नटुक्री कहाँ मूर्ति बन्छ र
केही नहुनु पनि त
केही हुने सुरुआत हुनु हो
त्यसैले
म केही भएन होइन
म केही हुँदैछु
सोच्न सक्नुस्
नटुटेको मन
नछुटेको साथ
र
नरुझेको आँखा बोकेर
कोही जिएको छैन यहाँ
आउनेहरूलाई स्वागत गर्दै
जानेहरूलाई बिदाइ गर्दै
रमाउन सक्नु नै त
वास्तविक जीवन रहेछ
सर्पले हामीलाई टोक्छ र
पीडा आफूले महसुस गर्छ
त्यस्तै गरी
छोडेर जानेहरू पनि
हजुरको अभावमा
खुसी भएर बाँच्न सकेका छैनन्
त्यसैले अब हजुरले
दूधजस्तै फाट्नु पर्छ
र पनिर बन्नु पर्छ
ढुङ्गाजस्तै टुक्रिएर
मूर्ति बन्नुपर्छ
झुसिलकिराजस्तै नासिएर
पुतली र यार्सागुम्बा बन्नुपर्छ
छोडेर जानेहरूको यादमा रोएर
के पाउनुहुन्छ र
भोलि समय बदलिन्छ
र हजुर पनि त
बदलिनु हुन्छ
आज ढुङ्गा देख्ने मनहरू
भोलि मूर्ति देखेर
पूजा गर्न आउनु पर्छ
आज झुसिलकिरा देखेका आँखाले
भोलि यार्सागुम्बाको मूल्यमा
खरिद गर्न सक्नुपर्छ
छोडिदिनुस् कसैको
बियोगमा रुन
र बदल्नुस् आफूलाई
अनि आफ्नो मूल्यलाई
मनको आँखा खोलेर हेर्नुस् त
संसार कति सुन्दर छ
र हजुर त्यो सुन्दर संसारको
सबैभन्दा सुन्दर मान्छे हुनुहुन्छ
त्यसैले हजुर जरुर बदलिनु पर्छ।