मध्यरात भएकै थिएन। तर, विराटनगरको मध्य सहर चकमन्न भइसकेको थियो। म सोफामा पल्टिएको थिएँ र झ्यालबाट देखिने पर–परसम्मको दृश्य निर्निमेष हेरिरहेको थिएँ। सडक बत्तीहरू झलमल्ल थियो। बत्तीको पोलमुनि कुकुरहरू यताउता गरिरहेका देखिन्थे। त्यसबाहेक अरू कुनै चहलपहल देखिँदैनथ्यो।
मैले घडी हेरें, रातको ८ बजेको रहेछ।
कोभिड महाव्याधिको बखत। प्रशासनले लकडाउन घोषण गरेको थियो। घरबाहिर निस्किएर हिँड्न डरमर्दो थियो।
घरमा यसै बसिरहँदा पनि शरीर थाक्ने रहेछ। ज्यान आलस्य थियो। निद्रा लागेजस्तो भयो। यसो सोफामा ढल्किएरै आँखा बन्द गरें। ठीक यहीबखत मोबाइलको घण्टी बज्यो। अल्छी मान्दै फोन उठाएँ, अस्पतालको आकस्मिक कक्षबाट रहेछ।
‘सर चक्रघाँटीबाट एउटा बिरामी रिफर गरेर ल्याएको छ।’
चक्रघाँटी सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्छ। विराटनगरबाट करिब ४० किलोमिटरको दूरीमा। राति कुनै गम्भीरता नभए त्यति टाढाबाट बिमारी पक्कै आउने थिएन। मैले अनुमान लगाएँ, ‘केही साह्रोगाह्रो भएको होला।’
‘के भएको रहेछ’ मैले हतारमा सोधें।
‘इक्टोपिक रप्चर छ सर ।’
‘इक्टोपिक रप्चर’ सुन्नसाथ म तन्त्राबाट हठात् ब्युँझिएँ। मेरो छाती ढक्क फुल्यो। ‘इक्टोपिक रप्चर’ मेरो मुखबाट अनायस यो वाक्य दोहोरियो।
इक्टोपिक रप्चर भनेको गर्भ पाठेघरमा नबसेर अन्य (अण्डबाहिनी नली, अण्डाशय) ठाउँमा बसेको र सो फुटेको (रप्चर) अवस्था हो। यस अवस्थामा फुटेको ठाउँबाट रगत बग्ने हुन्छ। सो रोक्न तुरून्तै शल्यक्रिया गरेर फुटेको ठाउँ बाँध्नुपर्ने हुन्छ।
बिरामीको अवस्था कति जटिल होला ? म आत्तिएँ।
‘अहो! अनि अवस्था कस्तो छ ? तुरून्त रगतको व्यवस्था गर्न लगाउनू, शल्यकक्षलाई पनि खबर गर। म आइहालें’ यति भनेर म जुरूक्क उठें।
***
नाम– साबित्री मगर। उमेर– ३२ वर्ष। ठेगाना– सुनसरी, बराह नगरपालिका।
उनी चार सन्तानकी आमा रहिछन्। उनको पाँचौ गर्भ बसेछ। चार सन्तान हुर्काउनै महाभारत छ, अर्को बच्चा कसरी हुर्काउने ? यसबखत मगर दम्पतीले बच्चा नजन्माउने निर्णय गरेछन्।
अब विकल्प रह्यो, गर्भपतनको। तर, कहाँ गर्ने ? कसरी गर्ने ? उनीहरू अनभिज्ञ थिए।
घर पायक ठाउँमा स्वास्थ्य चौकी थियो। उनीहरू त्यही जाने हो कि भनेर घोत्लिए। यद्यपि सावित्रीलाई भने केही असहज महसुस भइरहेको थियो। किनभने गाउँकै स्वास्थ्य चौकीमा चिनेजानेका मान्छेहरू हुन्छन्। गर्भपतनको कुरा उनीहरूले थाहा पाउने पो हुन् कि?
श्रीमतीको मनोभाव बुझेपछि श्रीमानले उनलाई घरभन्दा अलि टाढाको अस्पताल पुर्याउने निधो गरे। त्यहाँ तालिमप्राप्त स्वास्थ्यकर्मीले उनीहरूलाई गर्भपतनबारे विस्तृतमा बताइदिए।
सावित्रीको चार सन्तान भइसकेको थियो। उनलाई आफू कमजोर छु भन्ने थाहा थियो। त्यसैले औजारबाट गरिने गर्भपतनले कुनै खतरा पो हुन्छ कि? उनी भित्रभित्रै डराएकी थिइन्। स्वास्थ्यकर्मीकै सल्लाह अनुसार उनले औषधिबाट गर्भपतन गर्ने निधो गरिन्।
औषधिको एउटा चक्की उनलाई त्यही खान दिइयो। उनले डराउँदै डराउँदै औषधि खाइन्। एउटा औषधि घरमै गएर खानुपर्ने रहेछ। स्वास्थ्यकर्मीले औषधि खाने विधि पनि बताइदिए।
मगर दम्पती घर फर्किए। दोस्रो दिन बित्यो। औषधि खाइन्। तर, रक्तस्राव भएन। औषधि खाएपछि रक्तस्राव हुन्छ भनेर स्वास्थ्यकर्मीले भनेका थिए।
रक्तस्राव नभएपछि उनीहरू आत्तिए। हत्तपत्त अस्पताल गए। त्यहाँ सावित्रीलाई भिडिओ एक्स रे गर्न भनियो। सोही अनुसार चक्रघाँट्टीमा नै भिडिओ एक्स रे गरियो। रिपोर्ट आयो। चिकित्सकले रिपोर्ट हेरे। उनी केही तर्सिएझैं भए।
भिडिओ एक्स रेको रिपोर्ट सामान्य थिएन। त्यसमा केही गडबडी देखियो। सावित्रीको गर्भ अण्डाशयमा बसेको रहेछ। यस्तो अवस्थामा जुनसुकै बखत पनि अण्डाशय फुट्ने जोखिम हुन्छ। चिकित्सकले भने, ‘तुरून्तै अपरेसन गर्नुपर्छ।’
तर, त्यहाँ अपरेसनको व्यवस्था थिएन। चिकित्सकले उनलाई अर्को अस्पतालका लागि सिफारिस गरिदिए।
मगर दम्पतीसँग तुरून्तै अस्पताल दौडने स्थिति थिएन। एकातिर पैसाको चाँजोपाँजो मिलाउनुपर्ने, अर्कोतिर घरमा बालबच्चाको पनि हेरचाह गर्नुपर्ने। अब उनीहरू ऋणपान गर्नतर्फ लागे। भन्नसाथ पैसा कसले दिने? गरिब दुःखीलाई कसले पत्याउने?
पैसा जोरजाम गर्ने क्रममै धेरै दिन गुज्रियो। एकदिन सावित्री नराम्ररी बिरामी भइन्। आपत नै परेपछि त जसरी नि अस्पताल लानैपर्यो। छरछिमेक गुहारेर उनलाई अस्पताल पुर्याइयो। यतिबेलासम्म उनको अण्डाशय फुटिसकेको थियो। अतः पेटमा अत्यधिक रगत जमिसकेको थियो। अवस्था एकदमै जटिल र नाजुक थियो।
***
म हतारिँदै अस्पताल पुगें। सावित्रीको स्थिति चिन्ताजनक थियो। मैले रिपोर्ट हेरें। उनको गर्भ अण्डाशयमा रहेको, अण्डाशय फुटेको, रगत पेटमा जमेको र रगतको मात्रा निकै कम भएको देखियो।
यस्तो अवस्थामा धैर्यतापूर्वक निर्णय लिनुको विकल्प हुँदैन।
अब तुरून्तै शल्यक्रिया गर्नुपर्ने स्थिति थियो। गर्भको कारण फुटेको अण्डाशय त्यहाँबाट हटाउनुपर्ने हुन्थ्यो। अनि रक्तस्राव रोक्नुपथ्र्यो। कम्तीको यति गरेपछि उनको ज्यान बचाउन सकिन्थ्यो।
साथसाथै उनको शरीरबाट रित्तिँदै गएको रगतको परिपूर्ति गरिदिनुपथ्र्यो।
रगतको बन्दोबस्ती गर्न ब्लड बैंकमा मान्छे पठाइएको थियो। रगतको जोहो नभएसम्म शल्यक्रिया गर्ने अवस्था हुँदैन। रगतका लागि पर्खनुपर्ने थियो। मलगायत चिकित्सक टोली शल्यकक्षमा प्रतीक्षारत थियौं।
ब्लड बैंकमा उनको समूह (ए पोजेटिभ) को रगत पाइएन। मैले लामो सास तानें। घडी हेरें। रातको १०ः ३० भइसकेछ। रगत कहाँबाट ल्याउने ? बडो कठिन थियो। रगत नभई शल्यक्रिया गर्न नमिल्ने। शल्यक्रिया नगरी सावित्रीको जीवन रक्षा गर्न नसकिने।
रगतको कुराले यति निरिह बन्नुपर्दा मलाई एकदमै नराम्रो लागिरहेको थियो। बिरामी बेडमा छटपटाइरहेका थिए। जीवन र मरणको दोसाँधमा थिए। यता हामी भने रगत पर्खिरहेका थियौं।
उनका श्रीमानको वेचैन थिएन। बाबा आमाको यस्तो हालत थाहा पाउँदा घरमा भएका चार अबोध सन्तानलाई कस्तो हुँदो हो?यतिबेला मसँग दुइटा विकल्प थियो। र, दुबै विकल्प निकै कठोर थियो।
एक–‘यहाँ शल्यक्रिया गर्न सकिन्न, तुरून्तै अर्को अस्पताल पुर्याउनु।’
दुई–‘जसरी नि रगत खोज्नु, तत्काल शल्यक्रिया गर्नुपर्छ।’
हाम्रो निम्ति त पहिलो विकल्प सहज थियो। तर, बिचरा गरिब–निमुखाले मध्यरातमा कुन अस्पताल लाने? अस्पताल चाहर्दा चाहर्दै बिरामीलाई केही भइदियो भने?
लकडाउनको बेला छ। ए पोजेटिभ रगत पाउन सहज छैन। यस समूहको रगत भएको मान्छे भए पनि उनलाई कसरी ल्याउने? कसरी रगत निकाल्ने?
यस्तो क्षणमा म आफैं पनि रगत दिन तत्पर हुन्थें। तर, मेरो रगत समूह मिल्दैनथ्यो। मैले आफ्ना साथीहरू सम्झिएँ, नातेदार सम्झिएँ, कर्मचारी सम्झिएँ, नर्सहरू सम्झिएँ। उनीहरूमध्ये कोही न कोही त ए पोजेटिभ रगत भएका होलान् नि?
आनन्द मण्डल। अनायसै मेरो दिमागमा यो नाम आयो। उनी शल्यकक्षमा काम गर्ने कर्मचारी थिए। उनको रगत समूह ए पोजेटिभ थियो। मैले हत्तपत्त उनलाई खोजें। तर, उनी त आफ्नो काम सकेर दुई घण्टा अगाडि नै घर गइसकेका रहेछन्।
घडी हेरें। रात निकै छिप्पिसकेको थियो। यतिबेला आनन्द निदाइसकेका पो होलान् कि? वा हालसालै कतै रक्तदान गरिसकेका होलान् कि?
आखिर जे भए पनि मैले उनलाई फोन लगाएँ। फोन उठेन। फेरि कोसिस गरें। यसपटक उनले फोन उठाए। ‘हजुर सर’ अल्छी मान्दै बोले। उनी निद्राको सूरमा बोलिरहेका छन् भनेर थाहा पाउन गाह्रो भएन।
‘तिम्रो ब्लड ग्रु ए पोजिटिभ हो है’ मैले सोधें।
‘हो सर’ उताबाट जवाफ आयो।
‘भाइ एउटा जरूरी काम गर्नुपर्ने भयो। तिम्रो रगत चाहियो’ मैले यहाँको स्थिति बताउँदै उनलाई हतारमै सबै कुरा भनें।
दिनभरको कामले थाकेको ज्यान आनन्दपूर्वक ओछ्यानमा सुताइसकेका आनन्द मेरो बोलीले तंग्रिए। उनी उठे। ‘हुन्छ सर’ उनले फोनमा भने, ‘तर कसरी त्यहाँसम्म आउने?’
अस्पतालको गाडी थियो। मैले सोही गाडी पठाउन निर्देशन दिएपछि आनन्दलाई फोनमा भने, ‘अस्पतालको गाडी आउँदैछ। तिमी सिधै ब्लड बैंकमा जानू। हामी बिरामीको शल्यक्रिया सुरू गर्छौं।’
हामीले बिरामीलाई शल्यकक्षमा ल्यायौं। कति पनि समय खेरो नफाली शल्यक्रिया सुरू गरियो। एक घण्टा लाग्यो शल्यक्रिया गर्न। यतिबेलासम्म रगतको जोहो भइसकेको थियो। सावित्रीको शरीरमा आनन्दको रगत दिइयो।
कुन भूगोलमा जन्मेको मान्छे, कुन जातको, कुन धर्मको, कुन समुदायको उनीहरूबीच खास समानता थिएन। तर, समानता थियो मानवताको अनि शरीरमा प्रवाहित रगतको समूहको। कहाँको मान्छेको शरीरमा बग्ने रगतले कहाँको मान्छेको शरीरमा प्रवाह भएर प्राण रक्षा गर्छ। समाज र संस्कारले अलग गरेका जातलाई पनि रगतको जात (समूह) ले जोड्छ।
वास्तवमा त्यो क्षण एकदमै भावुक भएको थिएँ म। जसै श्रीमतीलाई शल्यकक्षबाट बाहिर निकालियो, उनका श्रीमान् अत्यन्तै कृतज्ञ भए। उनले आँखाभरी आँसु पारेर भने, ‘डाक्टर साप, मेरो छोराछोरीलाई टुहुरो बन्नबाट बचाउनुभयो।’
उनको अन्तरहृदयबाट आएको यी वाक्यहरूमा आशिर्वाद मिश्रण भएको थियो। भरोसा घुलिएको थियो।
खासमा यसको असली हकदार त, आनन्द मण्डल हो। मैले उनलाई सम्झें र मनमनै कृतज्ञता प्रकट गरें। यतिबेलासम्म बिरामीको स्थिति निकै सामान्य भइसकेको थियो। बिरामीको स्थितिमा क्रमश: सुधार आइरहेको थियो र अब उनमा मृत्युको जोखिम थिएन। मेरो मन ढुक्क भयो।
मैले आनन्द मण्डललाई फोन लगाउन पुगेछु।
उताबाट ‘हेलो’ भन्न नपाउँदै मेरो मुखबाट अनायसै यस्तो वाक्य फुत्किएछ, ‘आनन्द तिमीले चार जना बच्चालाई टुहुरो हुनबाट जोगायौं। सायद उनीहरू यतिबेला आफ्नी आमालाई पर्खिरहेका होलान्। तिमीलाई भगवानले सधैं आशिर्वाद दिनेछन्।’