कविता
हामी शहीदहरूका दौंतरीहरू
सम्झनामा सम्मान जनाउन सामेलहरू
बाँचेका भनिने हामी मृत र अर्धमृतहरू
बितेका तीनै वर्षहरू बारे
पश्चाताप गर्न स्वतन्त्र छौं
गरि नै रहेका छौं
जुन वर्षहरूमा शहीदहरू
हाम्रो सहयोध्दाहरू थिए
सच्चा शहीदहरूलाई
वैरीहरूले बाँच्न दिएनन्
आफन्त दरिएका,
हामी र हाम्रा सुयोग्यहरूले
मर्न पनि दिएका छैनौं।
फलतः उनीहरूलाई
आफ्नो शहादत बारे सोच्ने समेत छुट छैन
शहीदका वास्तविक हकदारहरूले
शहीद नै बन्नु पर्ने स्थिति बाँचेकै छ,
चलन अझै कायम छ
न्याय खोज्दा शहीद बन्न नपर्ने
समाज तयार भएको भए
सायद दिलकाजी र उनका दमालीहरू
शहीद भइसकेका हुन्थे।
('जनयुद्ध'का क्रममा २१ वर्षअघि मारिएका दिलकाजीको स्मृतिमा नेकपा माओवादी केन्द्रका नेता एवम सांसद राम कार्कीले यो कविता लेखेका हुन्।)