साउनको महिना थियो। कलेज सुरू भएको महिनौं भइसकेको थियो। पढाइ धेरै छुटेका कारण अब मैले बर्खाको भेलसँगै मेरा सपनाका भेलहरूलाई बगाउँदै बगाउँदै काठमाडौंको त्यो घरहरूको भिडमा ठोक्किँएर रोकिनुपर्थ्यो।
यात्रा सोचेको भन्दा निकै नाजुक भयो। लकडाउन चलिरहेको छ भनेर कालीकोटको जितेगडामा गाडीको टिकट काट्ने बेलामा मात्र थाहा पाएका हौं। गाडीभाडा तीन गुणा बढी मागेको थियो।
कमल र म कालीकोटको भिरै भिरका बाटोहरूसँग तिर्सना साट्दै, दुःखहरू बिसाउँदै हिँडिरहेका थियौं। अनेक बाधाहरूको बाबजुद पनि तीन दिन लगाएर कोहलपुर पुग्यौं। निकै कठिन परिस्थितिको बीचमा पुगेका थियौं।
हामी अब दुई ध्रुवतिर बाँडिनु पर्थ्यो। हामी धनगढी र काठमाडौं जान छुट्टिनु नै पर्थ्यो। दिउँसो १ बजे कमललाई धनगढीको हायसमा चढाएर बसपार्कतिर काठमाडौंको बस खोज्न दौडिएँ।
बसको टिकट लिन टिकट काउन्टर दौडिएको थिएँ। तर टिकट काउन्टरबाट नभई बाहिर अन्तैबाट दिने गरेका रहेछन्।
लकडाउनले गर्दा ठगी धन्दा निकै व्याप्त चलिरहेको थियो।
बसको टिकट लिन बसपार्क नगई दलालकोमा जानु पर्थ्यो।
प्राय: काठमाडौंको गाडी नपाइने रहेछ। यदि पाइहाल्यो भने पनि तीन हजार लिने गरेको देख्दा निक्कै रिस उठिरहेको थियो। रिस उठे पनि त्यो कोहलपुको चर्को घाम खानु बाहेकको विकल्प थिएन।
कोहलपुरको गर्मीमा बिराना ठाउँ र मान्छेहरूको माझमा ठिङ्ग उभिरहेको थिएँ। उभिँदा उभिँदै मेरो साथी लामखुट्टे बनेको थियो।
बेलुकाको सात बजिसकेको थियो। बस पाउने झिनो आशा मात्रै बाँकी थियो। तर पनि गाडी पाइरहको थिएन। कोहलपुरमै बस्ने अवस्था पनि थिएन।
अब गाडी कुर्नुभन्दा दलाललाई एक हजार बढी दिएर त्यहाँबाट निस्किनु उचित ठानेँ। बल्लतल्ल साढे आठ बजे नारायणगढको बस पाएँ। त्यही बस चढेर कोहलपुरबाट बिदा भएँ।
गाडी दाङको लमही पुगेर खाना खान रोकियो। म बसमै बसेर कुरिरहेँ। म बाटोमा प्राय खाना खादिनँ। सबैजनाले खाना खाइसकेपछि गाडी हिँड्ने तरखर गर्न थाल्यो।
हाम्रो गाडीमा तीनजना मान्छेहरू थपिए। एकजना मेरो छेउको सिटमा बसे। बोलीचालीको हिसाबले बझाङ-बैतडीको होला भन्ने लागेको थियो। तर कुराकानी भइसकेपछि थाहा पाए उनी दैलेख रहेछन्। तर कामको सिलसिलामा उनी दार्चुला बसेका रहेछन्।
छोटो समयको लागि मात्र बसेको भएपनि उनको बोलाइमा उतैको लवज सुनिन्थ्यो।
मलाई पखाला लागेका कारण बोल्ने मुड थिएन।
औपचारिकताको लागि भनेर घर र नाम सोधेको थिएँ। नाम धर्मिन्द्र खत्री, घर दैलेख। यति थाहा पाएँ।
गाडी आफ्नै गतिमा गुडिरहेको थियो। यम बरालको आवाजमा सजिएको सुमधुर गीत घन्काउँदै थियो.....
‘निस्टुरीले छाडेर गई हाली
हेर्दाहेर्दै अर्कैकी भई हाली,
एक्लो पारेर हो- माया मारेर’.....।
जब जब मान्छे एक्लो हुन्छ त्यसबखत दु:ख पनि आफ्नैले जस्तोगरी घोच्ने रहेछ।
साउनमा परेको वर्षाका कारण नदीको भेलले तराईका बस्तीहरू एकएक गरी डुबाउँदै, उतार्दै, अनि बगाएर लग्दै थियो। मानौं समयले पनि उसको आशा, सपना, खुसी अनि हर्षहरू सबैलाई डुबाउँदै अनि बगाउँदै गइरहेको थियो।
ऊ मन र तन द्वयबाट निकै आत्तिएको र हतारिएको जस्तो देखिन्थ्यो।
उसको छट्पटी देखेर मलाई असहज भइरहेको थियो। म चुपचाप बस्न सकिनँ।
‘के भो ब्रो सबै ठिकै छ नि?’
प्रश्न सुनेता पनि ऊ जवाफ दिने मुडमा थिएन होला। मैले पनि धेरै कर गरिनँ।
उसले त्यसपछि खल्तीबाट मोबाइल निकालेर फोन गर्न सुरू गर्यो। आठ-दश पटक फोन लगायो होला तर रिसिभ भएन।
हेर्दा जीवनको सबैभन्दा महत्त्वपूर्ण चिज गुमाउँदै छ जस्तो लाग्थ्यो। जस्तो कि मुटुले धड्कन गुमाउँदै छ।
पाँच मिनेटपछि उताबाट कल आयो सायद केटी मान्छेको थियो।
उताबाट के बोलिरहेको सुन्न सक्दिनँ थिएँ। तर उसले बोलेको कुरा प्रष्ट सुनिन्थ्यो।
............??(किन फोन गरिस्?) सायद यस्तै यस्तै केही भनेको हुनुपर्छ।
त्यसैले उसले जवाफमा ‘मैले तँलाई फोन गर्न नपाउनु। जोई (श्रीमती) होस् तँ मेरी, मैले फोन गर्न नपाए पाउने चाहिँ कसले रहेछ त? म पनि त्यही जान्न चाहिरहेको छु, कि को रहेछ त्यस्तो जसले गर्दा तैंले मलाई नै कल नगर भन्दै गाली गर्दैछेस्।’
................।
‘मैले थाहा पाइसके तेरो के चलिराछ, को छ भनेर। तैंले सबैकुरा बताइराख्न पर्दैन। अब म भोलि बिहानै पुग्छु होला। अनि जे जे हुन्छ त्यही हुन्छ।’
................।
‘सबै ठिकै छ भन्दै नआइज भन्छेस् है! कति सजिलै। केही ठिक नभएको जस्तो लागेर म दार्चुलाबाट खोलानाला, हावापानी, सजिलो, अप्ठ्यारो केही नभनी नाङ्गै, भोकै आउँदैछु, बुझिस् तैंले।’
................। (आएर नि के गर्न सक्दो रहेछस हेरौंला) सायद यस्तै केही भनी होला।
‘आज मेरो कोही छैन भनेर मलाई हेप्न, दबाउन खोजेकी होलिस् हैन? यो गाउँले हो, यसले केही पनि गर्न सक्दैन होला भन्ठानेकी त होलिस् नि। थाहा होला नि कोही नहुनेको भगवान हुन्छ भन्ने कुरा। यति सहजै छोड्छु तँलाई।’
मलाई भने भगवान शब्द सुन्नासाथ हाँसो उठ्यो किनकि जसको कोही हुँदैन त्यसको भगवान हैन स्वयं दुःखहरू मात्र हुन्छ भनेर बुझिसकेको थिएँ।
फोन कटियो। सायद मोबाइलमा पैसा सकियो होला। फेरि यताबाट फोन गर्ने उसको पालो थियो। भोइस प्याक लिएर फोन गर्यो।
उसको बोल्ने तरिकाबाट प्रष्ट थाहा हुन्थ्यो, ऊ उसलाई कति चाहन्छ भन्ने कुरा।
ऊ त्यति नै चाहन्छ होला जति मौरीहरू फूल चाहन्छ। त्यति नै चाहन्छ होला जति हप्तौंसम्म नुन खान नपाएका बाख्राहरूले ढुंगामा हालेको नुनलाई चाहन्छ, त्यति नै चाहन्छ होला जति एउटा बफादार कुकुरले आफ्नो मालिकलाई चाहन्छ।
कतिबेला ठूलो आवाजमा गाली गर्थ्यो त कतिबेला बच्चाजस्तो हुन्थ्यो त कतिबेला सामान्य हुन खोज्थ्यो।
यो पटक उनीहरूले धेरै कुरा गर्न पाएनन्। हामी जंगलको बाटोमा गुडिरहेका थियौं। नेटवर्कले काम गरेको थिएन। फोन खल्तीमा राखेर एकोहोरो झ्यालतिर हेर्दै टोलाइरह्यो।
मैले पानी खान आग्रह गरेँ। दुई घुड्को मात्र खाएर बोतल मलाई थमायो। त्यसपछि म सहज बन्न खोज्दै थिएँ।
‘मलाई झ्यालतर्फ बस्न दिनुहुन्छ? गर्मी अलि धेरै भयो।’ उसले भन्यो।
मलाई पनि धर्मिन्द्रसँग सहज बन्नु थियो। मैले झ्यालको सिट छोडिदिएँ। यति भइसकेपछि मेरो कौतुहलताले पूर्णता पाउन खोजेको भाव व्यक्त गरेजस्तो झल्को उनको अनुहारमा देखेँ।
'को हो ब्रो गर्लफ्रेन्ड?'- मैले सोधेँ।
‘हैन नि मेरो श्रीमती हो। डेढ वर्ष जति भयो विवाह गरेको।’
अनि फोनमा त निकै चर्कोचर्को बोली सुनिरहेको थिएँ नि?
‘के भन्ने ब्रो यस्तै त हो, जीवन भनेको पनि असोजमा पाक्न लागेको धान जस्तै रहेछ। घाम, पानी सहनैपर्छ, सबैभन्दा ठूलो कुरा त अरूहरूको बानी सहन सक्नु पर्छ। यो सबै सहन सक्यो भने मात्र कार्तिकमा भित्रिन सकिने।’
सायद उसलाई सबै कुरा भन्नु थिएन। तर मलाई सुन्नु थियो। मैले फेरि आग्रह गरेँ।
'के होला खै भन्न मिल्ने भए भन्नु न। अघिदेखि तपाईंको फोनमा बोलेको सुनेर मनमा विभिन्न उत्सुकताहरू उब्जिएको छ।'
‘कसलाई सुनाएर के मिल्दोरहेछ र यहाँ। जसरी वैशाख-जेठमा घामले सुकाएको कोदोको बेर्नाले आकाशलाई सुनाएका बेदनाहरूलाई सुनेर खुसी भएर झन् उज्यालिएको जस्तो यहाँ मान्छेका दुःखका कथाहरू सुनेर मान्छे पनि खुब आनन्दित भएको देखेको छु मैले।’
मैले तपाईंको दुःखलाई बाँडेर मन हल्का बनाइदिन खोजेको हुँ। म के आफूलाई आनन्दित तुल्याउनु। भन्नु न भन्नु ब्रो बाटो पनि अझै धेरै छ।
भावना पोख्ने पालो अब धर्मिन्द्रको थियो।
‘प्राय: एउटा सामान्य घरको मान्छेले देख्ने सपना भनेको काठमाडौं गएर त्यहाँका कलेजहरूमा पढ्ने हुन्छ। दुःखसुखसँग लड्दै खेल्दै दश कक्षा पास भएँ।
अब मेरो लागि पनि सपनाको सहर काठमाडौं जाने बाटो खुलेको थियो। माटो ढुङ्गासँग लडेर हामीलाई सुन्दर सपनाको बाटो हिँडाउन खोज्ने बाआमाले पनि सजिलैसँग हुन्छ भन्नुभयो।
त्यति भनिसकेपछि दंग पर्दै सपनाका बोटहरू रोप्न काठमाडौं छिरें। दुर्गम ठाउँको विद्यालयमा पढेकोले विज्ञान पढ्न सक्दैनथें। कीर्तिपुरको म्यानेजमेन्ट कलेजमा प्लस टुमा भर्ना भएँ। अध्ययन गर्न थालेँ। सुरूसुरूमा घुलमिल हुन एकदमै अप्ठ्यारो भएता पनि बिस्तारै सहज हुँदै गइरहेको थियो।
केटा साथीहरू एकपछि अर्को बन्दै थिए। सुरूको जस्तो एक्लोपनबाट गुज्रनुपर्ने अवस्था थिएन। झन्डै छ-सात महिनापछि कोठा नजिकै घर भएको एक जना केटीसँग बोलचाल हुन थाल्यो।
उसको नाम अस्मिता थापा हो।
हामी कलेज जाँदा-आउँदा, खाजा खाँदा प्राय: सँगै हुन्थ्यौं। यतिकैमा पढाइ सँगसँगै एकअर्कामा पनि एकदमै घुलमिल भइसकेका थियौं।
कक्षा बाह्रको परीक्षा नजिकिँदै थियो। एकअर्कासँग निकै गहिरो प्रेममा परेको आभास भइरहेको थियो। छुट्टिनुपर्ने दिन नजिकिँदै थियो। हामी एकअर्कामा निकै परनिर्भर भइसकेका थियौं।
परीक्षा सकियो। अब घर जानुपर्ने थियो। तर अस्मिताले आफू एक्लै बस्न नसक्ने भन्दै मसँगै जाने ढिपी गर्न थाली। त्यसपछि जेसुकै होस् भनी विवाह गर्ने निर्णयमा पुग्यौं। त्यही दिन काठमाडौंबाट भागेर हामी दैलेख पुग्यौं।
बाआमा छोराले जागिर भित्र्याउन नसके पनि स्वास्नी भित्र्याएकोमा खुसी हुनुहुन्थ्यो। उहाँहरू खुसी पनि किन नहुनु, सन्तानको खुसीमा नै उनीहरूको खुसी अडेको हुन्छ नि हैन र!
यसरी हामीले घरजम गरेर केही समय दैलेखको बसाइ सकेर काठमाडौं फर्कियौं। मेरो काँधमा थप जिम्मेवारी थपिँदै थियो। अब मैले रमाउनभन्दा पनि कमाउनको लागि बढी दौडिनुपर्थ्यो। समय छिटोछिटो दौडिरहेको जस्तो लाग्थ्यो। दस कक्षामा पढ्दा देखेका सपनाहरू आफैं पुरानिएर फाटिसकेका थिए। काठमाडौंका गल्लीहरू डुल्दै चार महिना बित्यो। प्लस टु मात्रै गरेको मलाई काम पाउनै मुस्किल भयो।
एकदिन घरमा आमा बिरामी हुनुहुन्छ भनेर फोन आयो। त्यसपछि अस्मिताको बाबा आमासँग सल्लाह गरेर अस्मितालाई काठमाडौं छोडेर म दैलेख फर्किएँ।
घरमा पनि सोचेजस्तो सजिलो थिएन। बुबाले कमाउन छोडेदेखि पैसा आउने बाटो बन्द थियो। केही दिन दैलेख बसिसकेपछि गाउँकै दाइहरूसँग रोडको काम गर्न दार्चुला निस्किएँ।
दार्चुला गएको पनि झण्डै पाँच महिना बित्यो। सुरू-सुरूमा त काम गर्न गएको बेला प्रत्येक रात फोनमा बोल्थे। तर दिनभरिको थकानले गर्दा फोनमा कुराकानी हुने क्रम घट्दै थियो। त्यसपछिका दिनहरूमा हप्तादिनमा कुरा हुन थाल्यो।
एकदिन मेरो एक जना उतैको साथीले फोन गर्यो। केटाहरूमा ऊ र म नजिक थियौं।
एकदिन उसले ‘के हो धर्मिन्द्र कता छौ? नराम्रो कुरा सुन्दैछु त! अस्मिताको बारेमा, के भएको?'
म एक्कासि झस्किए, ‘नराम्रो कुरा, हैन के भयो र? अस्ति भर्खर फोनमा बोल्दा त ठिकै जस्तो लागेको थियो।’
उसले भन्यो, ‘अनिता (अस्मिताको प्लस टु को साथी) ले भनेको अस्मिताको त आजकाल अर्कैसँग अफयर चलिरहेको छ रे! तिमीसँग कुरा हुन्न र?’
पहिला दिउँसै रात पर्छ भन्ने सुनेको मात्र थिएँ तर त्यो कुरा सुनिसकेपछि म छाँगाबाट खसेँ। त्यो दिन मैले उसलाई कमसेकम बीस पटक फोन गरेँ तै पनि फोन उठेन। फेसबुक खोलेर हेरेँ। देखिनँ। सायद मलाई ब्लक गरिसकेकी थिई। त्यसपछि मेरो मनमा भने भुइँचालो जान थाल्यो सायद साथीले भनेको साँचो थियो।
त्यसपछिका दिनहरूमा पनि कयौंपटक फोन गरे तर उठाइन। अस्ति तीन दिन अगाडि फोन आयो। मलाई रिस उठेको थियो। चर्को स्वरमा बोलेछु होला। उसले सम्झाउनुको साटो खाते, पाखे मलाई तेरो जरूरत छैन। यस्तै यस्तै भन्न थाली।
त्यसपछि आफूलाई थाम्नै नसकेर म काठमाडौं हिँडेको भने। आउन लागेको थाहा पाएर होला फोन गरी बहाना बनाई अलग हुन खोज्दै छे। आखिर सहरिया न परी।
हामी गरिबका लागि खुसी बनेको रहेनछ। थुप्रो सपनाहरू बटुलेको थिएँ। मनभित्र अनेक आशाहरू थिए। सब कुरा भुलेर उसको सामीप्यमा डुबेछु। तर त्यति हुँदा पनि खुसी नै थिएँ। दुःखहरूको संसारमा पनि खुसीको बोट रोपेर फलाउन चाहन्थेँ। आफू दुःखको भूमरीमा परेर भए पनि उसलाई सुखी राख्न चाहन्थेँ।
अचानक अस्ति उसको अफयरबारे सुनेपछि महशुस भयो एक्लोपन कस्तो हुन्छ। सपनाहरूलाई निमोठ्न कति गार्हो हुने रहेछ।
त्यो दिन मलाई केही कुरा थाहा भएन। काम गर्न गइनँ, साथीहरू छन् भन्ने पनि महशुस भएन। त्यो दिन धेरै रोएँ। जब बेलुका भयो दाइहरूले सबैकुरा थाहा पाउनुभयो। म त्यसपछिका दिनहरूमा काम गर्न सक्ने सामर्थ्य राख्न सक्दिनँ थिए। त्यति कमाइ पनि भएको थिएन।
दाइहरूले बरू हामी अलिअलि सहयोग गर्छौं तिमी काठमाडौं पुग एकचोटि भन्नुभयो। म त एकदमै आत्तिसकेको थिएँ हतारहतारमा हिँडेको, सामानहरू पनि ल्याउन बिर्सेछु।’
कस्तो अचम्मको अनि दुःखदायी कुरा। उसको कुराहरू सुन्दा म कताकता झरीले निथ्रुक्क भिजाएको लुगाजस्तो भइसकेको थिएँ। तर म आफैं भावनामा नबहकी उसलाई सान्त्वना दिनु थियो।
मैले सोधेँ, ‘अब काठमाडौं गएर के गर्नुहुन्छ त?’
‘यही गर्छु भनेर त सोचिहालेको छैन तर पनि पहिला यथार्थ बुझ्न मन छ। जे जस्तो भए पनि मेरो श्रीमती भैसकेकी हो। पाखे भए पनि कर्म गर्न जानेको छु। असाध्यै माया लाग्छ। यत्तिकै ल जा जाने भए भनेर छोड्न सक्ने सामर्थ्य मेरो मनमा छैन।
'सहरिया हो' अनेकौं रङ्गहरूको मोहमा परी होली। सायद मसँग गरिबीबाहेक केही छैन भन्ने आभास पनि भयो होला मनमा। आसेपासेहरूले पनि कान दुईचार कुरा फुक्दिए होलान्। उनीहरूलाई त के छ र! सहरिया हुन्। वल्लो घरकाले पल्लो घरकालाई चिन्दैनन्। जे राम्रो नराम्रो भए पनि तिनीहरूको घरमा मात्र थाहा हुन्छ। तर हाम्रो गाउँमा त्यस्तो छैन। आमाले थाहा पाउनुभो भने के जवाफ दिने मैले।
जसले मेरो खुसीको लागि आफ्ना अनगिन्ती रहरहरूलाई त्यही सुत्ने ओछ्यानको सिरानीमुनि दबाएर राखेकी छन्।
बाबालाई के भन्नु जसले मेरा चाहना पूरा गर्न आफ्नो बैंसलाई उमेर छँदै बुढोपनतिर धकेलिदिएका थिए।
म उसलाई डिभोर्स दिन सक्दिनँ।
बरू उसको बाबाआमाको खुट्टामा ढोग्छु, उसको शरणमा पर्छु। केही नलागे प्रहरीकोमा गएर मुद्दा हाल्छु तर म उसलाई छोड्न सक्दिँन होला।’
यति भनेर ऊ झ्यालबाहिर हेरेर सायद आफ्ना आँसुलाई हावामा विलिन पार्दै थियो।
म भने उसको कुरा सुनेर पनि नसुनेको बहाना बनाउन खोज्दै थिएँ। किनकि म पनि काठमाडौंका लागि नयाँ थिएँ। मैले उसको लागि गर्न सक्ने केही थिएन। प्रार्थन गर्नु बाहेक।
बिहान भयो। गाडी नारायणगढ पुगेर हामीलाई उतार्नतिर लाग्यो। बाहिर मुसलधारे पानी परिरहेको थियो। मैले आफ्नो सामान निकाल्ने बेलासम्म उनी पानीमा भिज्दै निस्किसकेका रहेछन्। म पानी रोकिने पर्खाइमा एउटा पसलबाहिर उभिएर बसेँ।
नारायणी नदीलाई साउने भेलले छिचोल्दै बगिरहेको थियो। ठूला-ठूला रूख-बिरूवा बगाएर आफूसँगै लैजाँदै थियो।
बस काठमाडौं जान नदिने रहेछ। बसको यात्रा नारायणगढसम्म मात्र भयो।
थानकोट प्रहरीले रातो नम्बर प्लेटको स्कार्पियोहरू मात्र छिर्न दिने रहेछ। यता पनि दलाललाई पैसा नदिई मजस्ता धेरैलाई उम्किने ठाउँ थिएन। जे जस्तो भए पनि काठमाडौं पुग्नै पर्ने बाध्यता थियो।
एउटा स्कार्पियो समाएर काठमाडौंको लागि निस्किएँ तर धर्मिन्द्र कता गयो थाहा थिएन।
काठमाडौं गएर उसको श्रीमतीलाई फकाउन सक्छ होला कि के गर्छ होला? यदि उसको श्रीमतीले मानिन भने आफूलाई कसरी सम्हाल्छ होला? बाआमालाई के जवाफ दिन्छ होला? यस्तै यस्तै थुप्रै प्रश्नको जवाफ म सायद भेट्टाउन सक्दिनँ होला। तर कौतुहलता जागिरह्यो।