प्लेनले त्रिभुवन विमानस्थलको रनवे टेकेपछि ओर्लेपछि ‘अब बाँचियो’ भनेर ऊ ढुक्क भयो।
उसलाई मृत्युदेखि निकै डर लाग्थ्यो, सामान्य मानिसलाई भन्दा बढी। अझै उमेर थियो, आफ्नो खाने लाउने इच्छा पूरा गरेको थिएन, श्रीमतीको रहर पूरा गरेको थिएन, बाबु आमाप्रतिको कर्तव्य पूरा गरेको थिएन, छोरीलाई हुर्काउनु थियो। त्यसैले उसलाई बाँच्नु थियो।
त्यही बाँच्ने रहर पुरा गर्न ऊ आफ्ना खेतहरू बाँझै छोडेर खाडीका मरूभूमिलाई पसिनाले सिंचित गर्न हिँडेको थियो।
नेपालमा पनि जीवन नचलेको त हैन, चलेकै थियो। तर कस्तो चल्ने, कस्तो चलाउने मानिसको सोचाइमा निर्भर गर्ने कुरो हो। नेपालको जीवनले उसलाई सन्तुष्टि दिएन। एमए पास गरेपछि पनि भने जस्तो जागिर नपाएपछि ऊ विरक्तिएको थियो।
प्राथमिक विद्यालयमा समेत सरकारी शिक्षक हुन नपाएपछि उसले बोर्डिङमा पढाउन सुरू गरेको थियो। तर बोर्डिङमा पढाएर पाएको तलब हात्तीको मुखमा जिरा पनि हुँदैनथ्यो।
उसलाई आफ्नो लागि स्मार्ट फोन र मोटरसाइकल किन्नु थियो, श्रीमतीको रानीहारको रहर पनि पूरा गर्नु थियो र छोरीलाई बोर्डिङमा पढाउनु थियो। ती सपना साकार पार्न उसलाई पनि नेपाल छोड्नै पर्ने भयो।
उसलाई जानै मन त पटक्कै थिएन। कारण उही थियो- मृत्युको डर।
‘जाँदा आकाशमा आउँदा बाकस’मा भइन्छ कि भन्ने कथन कल्पना मात्र हैन धेरैको लागि वास्तविकता भैसकेको थियो। तर नगई पनि उपाय थिएन। विदेश जाँदा उसलाई फर्की आउने केही ठेगान नभएको युद्धमा जान लागेको सिपाहीजस्तो अनुभव भएको थियो। मन अमिलो पारेर आफ्ना पीडा मनमै गाँठो पारेर उसले देश छोड्यो।
चालिस डिग्रीको तातो मरूभूमिलाई उसले आफ्ना पसिनाले सिंचित गर्दै त्यहाँ मरुद्यान निर्माण गर्यो। ज्यानको बाजी लगाएर काम गर्नुपर्दा कतै घर फर्कन नपाउँदै मरिहाल्छु कि भन्ने उसलाई डर लागि रहन्थ्यो। त्रासमै उसको तीन वर्ष बित्यो। तर ऊ मरेन। अन्तमा घर फर्कने दिन पनि आयो।
घर फर्कनुभन्दा अगाडि आफ्नो लागि एउटा नयाँ मोबाइल किन्यो अनि छोरीलाई एउटा नयाँ ल्यापटप। बाँकी सामान काठमाडौं किन्ने योजना बनाएर प्लेनमा बस्यो। घर पुगेको सपना बुन्दै प्लेनमा बस्दा उसलाई फेरि डर लागेको थियो। तर प्लेन खसेन, त्रिभुवन विमानस्थलको रनवेमा प्लेन रोकिए पछि ऊ फेरि बाँच्यो। लामो सास फेर्यो।
भन्सारमा सामान जाँच भयो।
'यो कम्प्युटरको राजस्व बुझाउनुपर्छ' त्यहाँका कर्मचारीले भने।
'एउटा ल्यापटप त ल्याउन पाइने हैन र सर?' उसले आफूले सुनेको कुरा बतायो।
'पुरानो भए पाइन्छ। तपाईंको त नयाँ हो, राजस्व बुझाउनुपर्छ' कर्मचारीले भने।
'यसो मिलाइदिनुस् न सर। हजुरहरू नेताहरूले चाहिँ सुन तस्करी गर्दा पनि नदेख्ने, हाम्ले ल्याएको एउटा ल्यापटप पनि देख्ने' उसले आफ्नो रिस पोख्यो।
'धेरै कुरा नगर्नुस्। हाम्लाई आफ्नो काम गर्न दिनुस्। राजस्व तिर्ने मन छैन भने तपाईंको ल्यापटप जफत हुन्छ' कर्मचारीले टाउको उठाएर आफ्ना तिखा नजरले उसको मुटु नै छेड्ने गरी हेरेर हप्काउँदै भने।
कर्मचारीसँग तर्क गर्नु उसले ठीक देखेन। निहुँ खोज्दा मोबाइलको राजस्व पनि तिराउलान् भनेर ऊ डरायो।
'अहिले मसँग नेपाली पैसा छैन त कसरी तिर्ने?' उसले बहाना बनायो।
'त्यो मेरो सरोकारको विषय हैन। विदेशी मुद्रा सटही काउन्टरा गएर साट्नुस्। हैन भने ल्यापटप यहीँ छोडेर जानुस्, अर्को दिन आएर राजस्व तिरेर लान सक्नुहुन्छ।'
उसको केही उपाय लागेन। एकछिन मनमनै मुर्मुरायो र राजस्व तिर्न लाइन लाग्यो।
ऊजस्तै खाडीबाट फर्केकाहरू कोही टिभीको, कोही मोबाइलको, कोही कम्प्युटरको कर तिर्न लाइन लागेका थिए। लाइनमा पर्खंदा उसले सोच्यो- यो देश यस्तै राजस्वले त चलेको छ। नत्र सरकारको खर्च कहाँबाट आउने? केले विकास गर्ने? केले बाटो बनाउने। बाहिरबाट देख्नेले जस्तो देखे पनि ऊ त एमए पास गरेको मान्छे हो। धेरै थाहा नभए पनि देश कसरी चल्छ, नागरिकको दायित्व के हो भन्ने उसलाई थाहा थियो।
ऊ जस्तो पढेलेखेको मान्छेले राजस्व ठगी गर्न खोज्छ भने अरूले झन् के गर्लान्? व्यापारीले राजस्व ठगी गर्छन् भन्ने उसलाई थाहा नभएको होइन। तर ऊ त व्यापारी हैन नि। अरूले बदमासी गरे भन्दैमा आफूले गर्नु त भएन नि। अरूले जे गरे पनि एउटा असल नागरिकको हैसियतले आफ्नो दायित्व पूरा गर्नु पर्छ। यस्तै सोचले उसको रिस बिस्तारै मर्यो।
खुरूक्क राजस्व बुझायो अनि प्लास्टिकले बेरेर डोरीले बाँधेको ३० किलो वजनको सुटकेस अनि अर्को सानो गुडाउन मिल्ने सुटकेश डोर्याउँदै ऊ बाहिर निस्क्यो।
साँझ सात बजे एअरपोर्टबाट निस्के पछि ट्याक्सीमा बसपार्क गएर होटलमा बस्यो। घरमा फोन गर्यो। घरमा सबैलाई खुसी बाँड्यो, सबैलाई खुसी बनायो, आफू पनि खुसी भयो।
'म लिन आम?' श्रीमतीले काठमाडौं जाने बहाना खोजिन्।
'पर्दैन, भोलिको नाइटमा गैहाल्छु।'
'किन नाइट कुर्नुपर्यो त? ‘डे’ मा आए हुन्न?'
'दिउँसो तिम्रो लागि रानी हार किन्न छ त।'
श्रीमती मख्ख परिन्।
अर्को दिन बिहानै बसपार्क गएर रात्री बसको राम्रो सिटको टिकट किन्यो र होटलमै सामान राख्न भनेर किनमेलको लागि निस्क्यो।
श्रीमतीलाई रानी हार, आमालाई पस्मिनाको ओढना र बालाई हाते एफ एम रेडियो किन्यो।
मोटरसाइकलको सोरूममा पुगेर आफूलाई मन परेको र आफूले किन्न सक्ने मूल्यको एउटा मोटरसाइकल पनि हेर्यो। घर पुग्नासाथ ठ्याक्कै त्यस्तै मोटरसाइकल किन्ने योजना बनाएर त्यहाँबाट निस्क्यो।
साँझ पुगेर होटलबाट सामान निकालेर बसमा गएर बस्यो।
काठमाडौंबाट बस चढेर घर फर्कन उसलाई निकै रमाइलो लाग्थ्यो। साँझको काठमाडौंको चिसो चिसो मौसम।
धुलोको कुहिरोमा पश्चिम आकाशमा देखिने मधुरो सूर्य अनि काठमाडौं छोड्ने यात्रुहरू र ती यात्रुहरूलाई गन्तव्यमा पुर्याउने गाडीहरूको लहर।
झ्यालतिरको सिटमा बसेर बाहिरको गोधुली साँझमा बाहिरको चहलपहल हेर्दा उसको मन निकै रोमाञ्चित हुन्थ्यो। त्यो रोमाञ्चक वातावरणमा घर फर्कने खुसी थपिँदा उसको मन पुलकित भयो। तीन वर्षपछि घर जाने खुसीमा उसको मन त्यसैत्यसै हावाको सिरसिरीमा नाचिरहेको थियो।
बसमा उसले सोच्यो- अब त मरे पनि विदेश जान्नँ। खाडीमा जति गरेको दु:ख आफ्नै देशमा गरे त्यहाँको जत्तिको कमाइ त नेपालमा पनि हुन्छ। उसले अरूहरूले गरेको पनि देखेको थियो, सुनेको थियो। कसैले कालिज पालेका छन्, कसैले ड्रागन फ्रुट, कसैले स्ट्रबेरी, कसैले टर्की पालेर मनग्गे पैसा कमाइरहेका थिए। आफ्नै व्यवसाय गर्न अलिकति पैसा पनि जम्मा भएको थियो। त्यहीबाट सानै भए पनि आफ्नै व्यवसाय सुरू गर्ने उसले विचार गर्यो।
मनमनै आफ्नो व्यवसायले सफलता पाएको, मनग्गे पैसा कमाएको, अरूलाई रोजगार दिएको, खाडी जाँदा समाजमा गुमाएको इज्जत पुनः फर्काएको कल्पनामा डुब्यो र मनमनै मुसुक्क हाँस्यो।
पानी, कुरकुरे र पत्रिका बेच्नेहरू बसमा चढेर कराउन थालेपछि उसको एकाग्रता भङ्ग भयो।
पाँच बजेको बस भने पनि कलङ्कीबाट बस हिँड्दा सात बजिसकेको थियो। तर उसलाई शिकायत थिएन, उसलाई हतार थिएन। बिहान घामको पहिलो झुल्कोसँगै घरमा प्रफुल्ल मनसहित बा आमा, श्रीमती र छोरीलाई देख्न पाए उसलाई रातभरि जति ढिलो भए पनि मतलब थिएन।
नारायणगढमा खाना खाएपछि सिटमा गएर रूमालले अनुहार छोपेर फोल्डिङ सिटमा ऊ आराम हुनेगरी सुत्यो।
गाडी चलेपछि ऊ एकैछिनमा निदायो। कति पटक बाटोका खाल्डाखुल्डीमा गाडी पस्दा टाउको बसको भित्तामा ठोकिन्थ्यो अनि अलिकति ब्युँझन्थ्यो अनि फेरि सुत्थ्यो। एक पटक टाउको अलि बेस्सरी नै ठोक्कियो, दुख्यो पनि। ‘ऐय्या’ भन्यो अनि सुत्यो। त्यसपछि सुतेपछि चाहिँ ऊ फेरि ब्युँझिएन।
अचम्मको कोलाहल सुनेपछि घर आइपुग्यो होला भन्ने सुन्दर सपना बोकेर आँखा खोलेको ऊ कहिले नदेखेको अचम्मको दृष्य देखेर तर्सियो। त्यहाँ कोलाहल मात्र थिएन, रूवाबासी र पीडाले भरिएको चित्कार थियो।
अग्लो पहाडको फेंदीमा कुनै खोलाको किनार जस्तो देखिने त्यो ठाउँ कहाँ हो भन्ने उसलाई यकिन भएन। सरसर्ती चारै दिशामा नजर लगायो। खोलाका दुवै किनारामा बडेमानको पहाडहरू उभिएको थियो। ती पहाडहरू चिरेरे खोलाले आफ्नो मार्ग बनाएको थियो। खोलामाथि नागबेली सडक थियो।
अचानक आफ्नो अगाडि दुई जना अपरिचित मानिसहरू उभिएको देखेपछि ऊ झस्कियो। ती मानिसहरू अलि अर्कै थिए। उनीहरूको शारीरिक आकृति पनि अलि भिन्न थियो। पहिरन पनि भिन्न थियो। मुखाकृति भयंकर थियो। उनीहरू भयका प्रतिबिम्ब जस्ता देखिन्थे। उसले त्यस्ता मानिसहरू पहिले कतै देखेको थिएन। तर पनि उसले अलिकति आँट जुटायो र आफू कहाँ छु भनेर सोध्ने विचार गर्यो।
‘यो मृत्यु मार्ग हो मनुष्य’ उसको प्रश्नमा उनीहरू मध्येको एक जनाले उत्तर दियो।
उनीहरूको उत्तरले ऊ झन् अलमलमा पर्यो।
'मृत्युमार्ग? कहाँ हो यो? के हो मृत्युमार्ग भनेको?' उसले फेरि सोध्यो।
'मर्त्यलोकमा अवस्थित नेपाल देशका सबै मार्गहरूलाई हामीले मृत्युमार्ग भन्ने गरेका छौं मनुष्य। तिमी तिनै मृत्युमार्गहरू मध्येको एउटा मार्गमा छौं।'
उनीहरूको अचम्मको सम्बोधन र लवज सुनेर ऊ झस्कियो। कतै ऊ साँच्चै मर्यो कि? तर सम्हालियो।
'के भनेको मैले बुझेन। म कहाँ छु?' ऊ हडबडाउँदै सोध्यो।
'तिमी मर्त्यलोकको नेपाल देशको एउटा मृत्युमार्गमा छौ। हामी तिमीलाई लिन आएका यमदूतहरू हौं। अब तुरून्तै तिमी हामीसँग मृत्युलोक जाँदैछौ' उनीहरूले आफ्नो उत्तर दोहोर्याए।
‘यमदूत’ शब्दले उसको हंस उड्यो। काँपेको स्वरमा उसले सोध्यो, 'म मरिसकें र?'
'हो मनुष्य तिमी मरिसक्यौ। हामी तिमीलाई लिन आएका हौं।'
आफू कसरी मरें भन्नेमा उसलाई सोध्नुपर्ने आवश्यकता थिएन। ऊ चढेको बस पल्टेर आफू मरेको भन्ने उसलाई निश्चित थियो। नेपालका सडकहरूमा गाडी पल्टेर मानिस मर्ने या गाडीले हानेर पैदल यात्री मर्ने कुरा आकस्मिक नभएर नियमित भैसकेको थियो।
सडक दुर्घटनामा नेपालमा मान्छे नमरेको दिन हुँदैनथ्यो। तर उसले आफू पनि सडकमै मरिएला भन्ने कहिले सोचेको थिएन। तीन वर्ष मृत्युकुण्ड जस्तो खाडीबाट बाँचेर आएको, प्लेनबाट पनि बाँचेर आएको आफू बस पल्टेर मरें भन्ने तथ्य स्वीकार्न उसलाई गाह्रो भैरहेको थियो। त्यो सबै सपना भैदियोस भन्ने उसले चाहेको थियो। तर उसले सोचेर नहुने, उसले चाहेर रोक्न नसक्ने दुर्घटना घटिसकेको थियो।
'म मर्न चाहन्नँ। कृपया मलाई बचाउनुहोस्' उसले हात जोडेर रूँदै याचना गर्यो।
'यो हामीले रोक्न सक्ने कुरा हैन मनुष्य। यो कुरा तिमीले तिम्रो देशका मृत्युमार्ग निर्माण गर्नेहरूलाई भन्नुपर्थ्यो। उनीहरूले इमानदारितापूर्वक काम गरेको भए, गुणस्तर सडक बनाएको भए दुर्घटना नहुन सक्थ्यो। तिमी सायद नमर्न पनि सक्थ्यौ तर अब ढिलो भैसकेको छ, हामीले केही गर्न सक्दैनौं।'
'हजुरहरू त भगवान हुनुहुन्छ। जे पनि गर्न सक्नुहुन्छ। मलाई धेरै काम गर्नुछ। म भर्खर जिन्दगी जिउन सुरू गर्दैछु। मेरो परिवार ममा आश्रित छ। कृपया जे गरेर हुन्छ मलाई जीवन दान दिनुहोस्। हजुरलेहरूले अरू जे भन्नुहुन्छ म मान्न तयार छु' उसले बिन्ती गर्यो।
तर यमदूतहरूले मानेनन्, उनीहरू नियमबाट बाँधिएका थिए।
उसले फेरि एक पटक नजर घुमायो। उसले आफ्ना नजर मधुर हुँदै गैरहेको महशुस गर्यो। अघिल्लो साँझ आफू चढेको बस कच्याकुचुक भएर खोलाको बगरमा लडेको थियो। मानिसहरूका लास निकालिँदै थिए। ती लासहरूमा टाउकोमा चोट लागेको उसको रक्ताम्य लास पनि थियो। उसले घर सम्झ्यो, आमा बुवा सम्झ्यो, श्रीमती सम्झ्यो, छोरी सम्झ्यो। उनीहरूलाई भनेर किनेर ल्याएका सामान सम्झ्यो। आफ्नो सुटकेश हेर्यो। प्लास्टिकले बेरेको त्यो सुटकेश बगरमा पल्टिएको थियो। उठाउन खोज्यो तर सकेन। ऊ भक्कानो छोडेर रोयो। यमदूतहरूलाई अनुनय विनय गर्यो। उनीहरूको अगाडि हात जोडेर, घुँडा टेकेर बिन्ती गर्यो। तर उनीहरूले केही सुनेनन्।
'ल हिँड अब मनुष्य' यमदूतले उसलाई भने।
त्यसैबीचमा अलि पर आकाशबाट ठूलो आवाज आयो। उसले आवाज आएतिर नजर लगायो। एउटा हेलिकप्टर दुर्घटनास्थलतिरै आउँदै थियो। उसले हेरिरह्यो। हेलिकप्टर उसकै नजिक आयो अनि समतल स्थान खोजेर बालुवाको धुलो उडाउँदै थपक्क बस्यो।
हेलिकप्टरबाट सुकिला यातायात मन्त्री निस्के। उनका पछिपछि सुरक्षा गार्ड र अरू सहयोगी निस्के। मन्त्री आउने थाहा पाएर जम्मा भएका कार्यकर्ता र दुर्घटना भएपछि जम्मा भएका जनता र सुरक्षाकर्मीहरू मन्त्रीलाई नमस्कार गर्न लाइन लागे।
मन्त्रीले सुरक्षाकर्मीसँग दुर्घटनास्थलको जानकारी लिए। पत्रकारहरूले फोटो खिचे। टिभीमा दुर्घटनाको भन्दा मन्त्री त्यहाँ पुगेको समाचारले प्राथमिकता पायो। सुरक्षाकर्मीलाई उद्धार कार्यमा कुनै कसर नराख्न निर्देशन दिएर उनी हेलिकप्टरमा फर्के।
उनको फोन बज्यो। बाटो बनाउने ठेकेदारको फोन थियो। नाम देख्ने बित्तिकै उनले एकै घण्टीमा फोन उठाए।
'छ महिना पनि नटिक्ने के बाटो बनाउनुभा’ तपाई्ंले? अलिकति त लोकको गाल पनि छल्नुपर्छ नि' हेलो पनि नभनी झोक्किँदै मन्त्रीले भने।
'गल्ती भयो हजुर। अब यस्तो हुँदैन' ठेकेदारले भने।
'बाटो भास्स्या छ। दुवैतिर गाडी लाम लाग्या छन्। मलाई अरू कुरा थाहा छैन, यो काम तुरून्त गर्नुस्। अहिले नै सुरू गर्नुस्। ढिलोमा आज साँझसम्म दोहोरो आवागमन सुरू भैसक्नुपर्छ। अरू बाँकी काम त्यसपछि गर्दै गर्नुहोला' मन्त्रीले आदेशको लवजमा भने।
'हुन्छ हजुर। कति बजेट राखौं?'
'पच्चिस।'
ठेकेदारले बुझिहाल्यो।
'हजुरकोमा?' ठेकेदारले सोध्यो।
'दश।'
'हस् हजुर।'
उनले फोन राखे।
हेलिकप्टर ठूलो आवाज निकालेर धुलो उडाउँदै आकाशतिर लाग्यो। उसले मन्त्रीको हेलिकप्टर उडेको धेरैबेर हेरिरह्यो। एकैछिनमा हेलिकप्टर टाढिँदै गयो र आकाशमा बिलायो।