जिन्दगीको उही खातामा खुसी डेबिटमा छ
दु:ख क्रेडिटमा छ
जीवनमा खुसी ल्याउँछु भन्दै अरब गएको मेरो प्याराले
सरकारको खातामा रेमिट्यान्स नामक डलर क्रेडिट गर्छ
उसको सपना हो खुसी पाउने
तर खोई के पाउँदैछ
ऊ आफैलाई थाहा छैन
म हरेक दिनको बिहानी मिर्मिरेमा
उसको प्रेम, आयु र समृद्धिको सिन्दुरले जीवन सुरूआत गर्छु
बेहे गरेको दश दिनमा छोडेर गएको उसले
ठिकठाक चलेको जिन्दगीमा, आँतको भित्र कतै छुट्टै प्यास थपेर गयो
सम्झिँदा ऊसँगै छ जस्तो लाग्छ
तर हरेक गोँधुली साँझमा ऊ मेरो नभएजस्तो लाग्छ
जब रात छिपिँदै जान्छ, मेरो तनको काउकुती बढ्दै जान्छ
नशा नपुगेको नशालुको छटपटीजस्तै खोइ कतिबेला निदाउँछु
चिउडोमा दुई औंला र निधारमा दुई ओठको स्पर्श
अब मेरो मानसपटलमा धिरमिर धिरमिर मात्रै छ
प्यासको प्याला हरेक दिन तीव्रताका साथ बढ्दो छ
मेरा दौँतरीले मेलापात जाँदा जिस्केर लास्ट नाइट कहानी सुनाउँदा
मलाई जिस्क्याएजस्तो लाग्छ, झन् भित्र कतै काउकुति लाग्छ।
धेरै रातको छटपटीपछि म यो भन्दै छु आज
मेरो प्रिय
धागोले तुनेर बुट्टा भएको आमाको धोती फेर्ने सपना
बाको बाथको उपचार
बहिनीको बिहे
मेरो खुसीको लागि गएको तिमी
खोइ के सोच्दछौ?
यता म सुन्दै छु अहिले राज्य तनावग्रस्त छ
तिमीले रगतको पसिनाले साटेको रेमिट्यान्स नामक डलर घट्यो भनेर
म भने अर्को तनावमा छु प्यारा
तिम्रा लागि यी प्रश्न हुन् प्यारा
जब छोरी सुत्छे
हरेक सन्ध्यामा तिम्रो तातो र बढेको श्वास
मेरो कानसम्म नपुगेको थाहा छ कति भयो?
मेरो हातले तिम्रो कपाल नछोएको थाहा छ कति भयो?
तिमी जाँदा पेटमा भएको छोरी टुक-टुक हिँड्दा
छोरी कोमल हातले तिम्रा औंला खोजेको कतै आभास छ तिमीलाई?
छिमेकी नामका तिम्रा दौँतरीको नजरको परिवर्तन तिमी नहुँदा कस्तो छ?
अनुमान गर्न सक्छौ?
यी सबै प्रश्नको उत्तर तिमी फर्किंदा मात्रै थाहा हुनेछ प्यारा
बन्द गर अब रेमिट्यान्ससँग खुसी किन्ने सपना
पूरा गरिदिऊ मेरो प्यास र छोरीको हात समाउने चाहना
बन्द गर उधारो खुसी किन्ने सपना
मेरो जीवनमा सँगै कहिले रहन नसक्ने खुसी, प्यास र रेमिट्यान्स।