त्यसो त खास पुरानो सम्बन्ध पनि होइन, करिब ६ वर्ष अघिदेखिको मित्रता हो समीपसँग मेरो। विवाह भएको करिब एक वर्षपछि परिवार नियोजनको प्रोजेक्टमा जागिरे हुँदा चिनचान भएको हो उनीसँग।
अग्लो कद, गोरो वर्ण, फरासिलो बानी र सहयोगी मन भएका समीपसँग म चाँडै नै नजिक हुन पुगेँ। अन्य कर्मचारी साथीले पनि उनको सहयोगी व्यवहारको खुलेर प्रशंसा गर्थे। उनको लगातारको निःस्वार्थ सहयोगले म उनीबाट प्रभावित भएको थिएँ।
प्रोजेक्टमा जागिरे रहँदा मासिक रुपमा सेवाग्राहीसँग परामर्श गरिएका विषय, गरेका सचेतनामूलक कार्यक्रम, वितरण गरिएका नियोजनका साधन सम्बन्धमा मासिक प्रगति विवरण समीपसमक्ष पेश गर्नुपर्ने हुन्थ्यो। उनी सुपरभाइजर थिए, म साधारण कर्मचारी। उनले सबै कर्मचारीले पेश गरेको रिपोर्टलाई कम्पाइल गरेर हाकीमकहाँ पठाउँथे। मैले रिपोर्टिङ गर्न नभ्याउँदा आफै रिपोर्ट बनाएर प्रतिवेदन पेश गर्नेमा सही गराउन मकहाँ ल्याई पुर्याउँथे।
मेरो अध्ययन क्षमतालाई बुझेका समीपले मलाई यस्ता प्राइभेट जागिरमा नभुल्न र लोक सेवाको तयारी गर्न सुझाउँथे। कहिलेकाहीँ बिरामी भएर अफिस आउन नसक्दा उनैलाई फोन गरेर जानकारी दिन्थेँ। अनि उता श्रीमानलाई भन्थेँ। श्रीमानले औषधि खाऊ भन्ने सल्लाह दिनुहुन्थ्यो, उता समीप औषधि बोकेर कोठामा आइपुग्थे।
समीप मेरो नजिक हुनुभन्दा पहिला मलाई श्रीमानले गर्ने हेरचाह र माया नै गहिरो प्रेम हो, यही नै हो मायाको अन्तिम विन्दु हो भन्ने लाग्थ्यो। तर जब समीप नजिक भए, अनि लाग्न थाल्यो, माया त सगरभन्दा पनि अग्लो र सागरभन्दा पनि गहिरो हुने रहेछ। प्रेम शाश्वत र महान् रहेछ। प्रेमले विवाहित र अविवाहित, यो जात, उ जात भन्दो रहेनछ।
मेरो जागिर नै यस्तो थियो कि मैलै सेवाग्राहीसँग विवाहको उमेर, शारीरिक परिपक्वता, यौन, परिवार नियोजन, सन्तानजस्ता विषयमा खुलेर परामर्श गर्नुपर्थ्यो। परिवार नियोजनकै साधन र प्रयोग सम्बन्धमा सँगै परामर्श गर्नुपर्दा अन्य पुरुष कर्मचारीहरूसँग मलाई असहज लाग्थ्यो, उनीहरू मसँग स्वार्थवश नजिकिन चाहन्थे। उनीहरूको कुटिल नजर म बुझ्थेँ। तर समीप विल्कुल फरक थिए।
अन्य कुरामा अनौपचारिक भएर हाँसो ठट्टा गर्ने र फरासिलो व्यवहार देखाउने समीप अनावश्यक कुराहरूमा चासो देखाएर स्वार्थको सम्बन्ध राख्ने प्रकृतिको थिएनन्। उनको यही बानीले मलाई प्रभावित गर्थ्यो। म बिरामी भएर बेडमा पल्टिरहेको बेला औषधि लिएर पुग्दा उनको हात एकपल्ट मेरो निधारमा परेको याद छ। त्यसबाहेक, उनले मलाई छोएको याद छैन।
कोही कसैलाई नछोइकन पनि यति प्रगाढ माया र प्रेम गर्न सक्छ भन्ने उदाहरण हुन् उनी। त्यसैले त उनको जीवन्त तस्बिर मानसपाटलमा ताजा छ। अहिले पनि उनको तस्बिरलाई अन्तस्करणको क्यानभासमा मात्रै होइन, दिलको बाकसमा राखेर समर्पणको साँचो लगाएकी छु।
जागिरे जीवनको केही महिनापछि नै हामी नजिकको साथी बनेका थियौँ। मैले नै उनलाई विशेष साथी बन्न प्रस्ताव गरेको थिएँ। उनले विशेष र अविशेष नबनौँ, साथी मात्रै बनौँ भनेका थिए। मैले खिसिक्क पर्दै हस् भनेकी थिएँ। तर उनी मैले सोचेभन्दा बढी विशेष बने मेरो लागि। जागिरको रिपोर्ट मैले उनलाई मासिक रुपमा दिए पुग्थ्यो तर मैले मेरो व्यक्तिगत दिनचर्याको रिपोर्ट उनलाई दैनिकजसो दिन थालेँ।
लगाउने लुगा र मेकअपदेखि पकाउन जान्ने परिकार र खान मनपर्ने परिकारसम्म, मन पर्ने मुभीदेखि किताबसम्म, घुमेका ठाउँदेखि नघुमेका ठाउँसम्म यी यावत कुराहरू उनलाई फोनमा सुनाउथेँ। मैले यो सबै सुनाइरहँदा उनी चासो दिएर सुन्थेँ, आफ्ना पनि सबै कुरा शेयर गर्थे। मैलै उनलाई मलाई कति माया गर्नुहुन्छ भनेर सोध्थेँ, उनले शब्दमार्फत व्यक्त गर्न सक्दिनँ भन्थे।
मप्रतिको उनको प्रेम निःस्वार्थ सहयोग, हेरचाह र सद्भावबाट देखिन्थ्यो। प्रकृति र ईश्वरको सुन्दर सृष्टि उनी सुन्दर व्यक्तित्वको धनी थिए। उनको निश्चल मुस्कान र हाँसोमा म मन्त्रमुग्ध हुन्थेँ।
साँझमा एकदिन लोक सेवाको तीन/चार वटा किताबहरू लिएर आए समीप मेरो कोठामै अनि मलाई स्थानीय तहको अधिकृतको विज्ञापन खुलेको जानकारी दिई सोमा आवेदन दिई ती किताब पढ्न अह्राए। म अवाक् भएँ, केही नबुझेको अबोध बालकले झैँ टाउको मात्रै हल्लाएँ। उनले मेरो नागरिकता, फोटो, शैक्षिक योग्यताका प्रमाणपत्रसबै लिएर निस्किए।
भोलिपल्ट अफिसमा उक्त डकुमेन्टहरू फिर्ता गर्दै आफूले आवेदन फर्म भरिदिएको कुरा गरे। मलाई सुरुबाटै स्थायी जागिरको लागि लोक सेवा तयारी गर भन्दै आएका थिए तर मैले खासै चासो देखाएकी थिइनँ। अहिले उनी आफैले किताब ल्याएर फर्म समेत भरिदिएपछि पढ्न जाँगर चल्यो। दैनिक आफूले पढेका टपिक र कन्टेन्टहरू उनलाई सुनाउन थालेँ।
उनले नाम चलेका इन्स्टिच्युटबाट नमुना प्रश्नपत्रहरू पनि ल्याइदिए, फेसबुकमा लोक सेवा सामाग्रीसँग सम्बन्धित ग्रुप र पेजलाई मात्रै फलो गर्न लगाएर अरु पेज, ग्रुपहरू अनफलो गर्न सुझाए। समसामयिक प्रश्नोत्तर समेटिएका किताबहरू पनि ल्याइदिए। जिके र आइक्युको अतिरिक्त दैनिक कम्तीमा दुई/तीन वटा विषयगत प्रश्नको उत्तर समय हेरेर आफैले लेख्ने अभ्यास गर्न उनले सुझाए।
उनले जसो जसो भने, मैले त्यसै त्यसै गरेँ। समीपको सामीप्यता, प्रेरणा र हौसला मेरो लागि रामवाण सावित भयो। मैले पहिलो प्रयासमा नै लोक सेवाको अधिकृत स्तरको परीक्षा पास गरेँ। हाल म स्थानीय तहमा प्रशासनिक अधिकृतको रुपमा कार्यरत छु।
एकदिन समीपले ललितपुर गोदावरी पार्कमा डेटको लागि प्रस्ताव गरे। उनको प्रस्ताव सुन्नासाथ म खुसीले गद्गद भएँ। तत्कालै मेरा खुट्टाहरू उडेर गोदावरी पार्कमा गएर अडिए, मेरो मन जोडिको अन्तरंग कुराकानीको मिठो कल्पनामा रम्यो। सोच्दैछु, मेरो आत्माको नदी तिर्खाएको छ अनि उनको नदीसँग मिसिएर समुद्रसँग अनुवादित हुन चाहन्छ।
ए, भद्र मान्छे समुन्द्रको नुनिलो पानीझैँ हुँदो रहेछ माया। जति पियो, त्यती प्यास जाग्ने। कहिल्यै तृप्ति नहुने। यो असीम र अविराम मायाको लागि जीवन त केबल एक पल मात्रै रहेछ।
समीपसँगको सम्बन्ध, असीम प्रेम, भेटमा हुने मिठो भलाकुसारीको कल्पनाजस्ता यावत विषय एकपछि अर्को गर्दै मनमा आइरहे। भोलिको भेटको प्रतीक्षाको वेगले मनमा हुरी ल्याइदियो। राति निद्रै लागेन। बिहान भयो।
उनको घर उतै भएको हुँदा उनी उतैबाट आउने र म यताबाट जाने कुरा थियो। सात बजे समय निर्धारण गरिएकोमा म साढे ६ बजे नै पार्क पुगिसकेको थिएँ। केही समयमा समीप पनि आइपुगे। तर समीपको अनुहार उज्यालो थिएन, सधैँ प्रसन्न मुद्रामा देखिने उनको मुहारमा कान्ति थिएन।
उनी आए र मेरो छेउमा बसे। उनी केही बोल्न खोज्दैछन्। उनको गहभरि आँसु देखेँ। अनायासै मेरो आँखाबाट पनि आँसु बगेर गाला हुँदै गलासम्म पुग्यो। सोधेँ, 'के भयो? किन केही नबोलेको? आखाँ किन टिलपिल?'
केही क्षणको मौनतापछि आँखा पुछ्दै भने, 'परिवारमा मेरो बिहेको कुरो गर्दैछन्, म के गरौँ?'
'लौ, यस्तो कुरो पो हो? अचम्म छ, केटीजस्तो नगर्नु न! बिहेको कुरो चल्यो भनेर केटी मान्छेले जस्तो गहभरि आँसु बनाउँछ त?,' मनमा ढुंगा राखेर हाँस्दै भनेँ।
'तिमीलाई मेरो कुराले छोएन हो? हुन त तिम्रो मन किन छुन्थ्यो यो कुरोले? तिमीलाई त माया गर्ने श्रीमान् हुँदै हुनुहुन्छ,' भुइँमा हेर्दै समीपले भने।
म केही बोल्ने सकिनँ। बस्, आखाँबाट अश्रुधारा बगिरहे।
आँसु पुछ्दै बनावटी आत्मविश्वासका साथमा बोलेँ, 'हेर्नुस्, माया गर्नु र बिहे गर्नु अलग-अलग पाटो हो। आजसम्म म विवाहित हुँदा हाम्रो सम्बन्ध जसरी रह्यो नि तपाईंले बिहे गरेपछि पनि सम्बन्धलाई त्यही रुपमा राखौँला। तपाईंको साथ, सहयोग र प्रेरणाले आज म यो स्थानमा छु। साँच्चै भन्दा, तपाईंसँग नछुट्टिकन सधैं तपाईंकै अर्धांगिनी भएर बस्ने मन छ। मायाको साँचो परिभाषा मैले तपाईंबाट जानेकी हुँ, महसुस गरेकी हुँ।
तपाईंका कारण जीवनमा प्रगतिका पाइलाहरू अघि बढेका छन्। मैले तपाईंलाई गर्ने प्रेम र विश्वास तपाईंले मलाई गर्ने मायाभन्दा कम छैन, समीपजी! माया, प्रेम, साथ, सद्भाव, समर्पणजस्ता विषयहरूलाई विवाहसँग नजोड्नु। उता तपाईंको परिवार, यता मेरो अलग संसार। व्यवहारिक धरातलमा टेक्नुपर्छ हामीले। तपाईं बिहे गर्नुस्।'
क्रमशः