जीवनका केही त्यस्ता दिनहरू हुन्छन् जसले बाँचुन्जेलका लागि सम्झन लायकको स्मृति दिएर जान्छन्। मेरा जीवनका केही दिनमध्ये म त्यो दिन कहिल्यै भुल्न सक्दिनँ जुन दिन तिमी मेरोसामु हातमा एउटा पुस्तक बोकेर मसँग मित्रताको आग्रह गर्न आएका थियौ।
त्यो क्षण म शिशिरमा उजाडिएको सिसौको फेदमा बसेर आफ्नो जीवन र समग्र मानव सभ्यताको भविष्यबारे सोचिरहेको थिएँ। तिमीले मित्रताको कमना गर्दै पुस्तक अगाडि बढायौ। मैले पुलुक्क तिम्रा अनुहारमा हेरेँ र तिमीलाई बेवास्ता गरेझैं अगाडिको गुलाफको बगैँचातिर टोलाएको थिएँ।
त्यतिबेला तिम्रो अवस्था अगाडिको बगैँचामा स्याहार नपुगेका सिन्काजस्ता बोटमा फुलेका गुलाबको फूलजस्तै लागेको थियो मलाई। अनि मेरो मन चाहिँ वरपरको उजाडिएको मौसमजस्तो।
तिम्रो अर्को पटकको आग्रहसँगै मलै हतपत्त तिमीले दिएको पुस्तक समाएको थिएँ र पछिल्तिरबाट तिमी ओझेल नहुन्जेल हेरेको थिएँ। जब तिमी हरायौ र मैले तिमीले दिएको पुस्तक खोलेँ, मेरो मनमा हलचल आउन थाल्यो।
मलाई तिमीले मित्रताको प्रस्तावको लागि रोजेको दिन पटक्कै मन परेन। एउटै कक्षाको पल्लो कुनामा बस्ने तिमीले यदाकदा स्वदेशी संस्कृतिको पक्षमा भाषण दिएको सुनेको थिएँ। तर तिमीले त मित्रताको लागि भन्दै उही प्रणय दिवस रोजेछौ जसको तिमीले आलोचना गर्ने गर्थ्यौ।
मलाई तिमीदेखि दिक्क लाग्यो। सोचेँ, तिमी पनि तीजस्तै पुरुष हौ जो प्रेम पत्र लेखेर र मेरो बाटो छेकेर मसँग जीवन जिउने सपना सुनाउँथे। मलाई आफ्नो पत्नी बनाएर जीवनभर माया गर्ने कसम खान्थे। तिमीले दिएको नारीवादी पुस्तकको बाक्लो ठेली पढ्न लायकको त थियो तर तिम्रै कारणले कयौं दिन त्यो त्यतिकै मेरो डेराको कुनामा मिल्किरह्यो। सम्झेँ, मित्रताको लेपन लगाएर तिमी प्रेम प्रस्ताव राख्दै छौ जुन कुराप्रति मेरो मनैदेखि वितृष्णा रहिआएको थियो।
म विकट पहाडमा पढ्दै गर्दादेखि नै मलाई कतिले प्रेम पत्र लेखेका थिए, मौका छोपेर मायाको भिख मागेका थिए। केही पत्र त रगतलेसम्म लेखिएका थिए। तर ती सबै प्रेम पत्रहरू मैले पूरा कहिल्यै पढिनँ। एउटी नारी भएर विपरीत लिङ्गीप्रति स्वभाविक आकर्षण देखाउनु पर्ने हो मैले। तर त्यसमा मेरो कुनै उत्सुकता थिएन।
यसको मतलब म नारीत्व नभएकी भने कदापि हैन जुन कुरा कति 'मेरो प्रमी हुन चाहान्छु' भन्नहरूले मेरो इन्कारपछि शंका गरेका थिए र समाजमा हल्ला चलाएका थिए। तर पनि आफूभित्र नवीन जीवात्माको भ्रुण हुर्काएर प्रकृतिलाई जीवित बनाइराख्ने महान् मातृत्व ममा छ भन्ने स्पष्टीकरण दिइरहन मैले कहिल्यै जरुरी ठानिनँ।
मलाई हरेक पुरुषले गर्ने प्रेम प्रस्ताव कागजको फूलजस्तै सुगन्धरहित लाग्थे। हरेकले मेरो शारीरिक बनावट, सुन्दरता र योवनको बारेमा शब्दकोषबाट गहकिला शब्दहरू छानेर वर्णन गरेजस्तो लाग्थ्यो। त्यस्ता वर्णन त बजारमा पाइने साहित्यका पुस्तकमा अधिकांश पुरुष साहित्यकारहरूले महिला पात्रको बारेमा गरेकै थिए। त्यसरी मेरो सामुन्ने जति मेरो प्रेमी बन्ने उत्कण्ठा बोकेर आए ती सबैका चेहरामा मैले मेरो बाबु देख्थेँ।
यस्तो कुरा सुन्दा कसैको टाउको तात्न सक्छ, वाहियात लाग्न सक्छ। तर मेरा लागि सत्य त्यही नै थियो। जब म बुझ्ने भएँ, त्यति बेलादेखि म यसको साक्षी छु। जब मेरी आमा आफू भित्रको भावना व्यक्त गर्न उनका पतिको अगाडि प्रस्तुत हुन्थिन्, उनले आफ्नै पतिबाट तिखो गाली र बेवास्ता पाइन्। उनी शारीरिक र मानसिक पीडा र थकानमा दिकदार भैरहँदा पनि पतिमा जागेको वास्ना शान्त पार्न विवश भइन्। उनका भावना, पीडा र अप्ठ्यारोमा कहिल्यै उनको पतिको साथ भएन। न त मेरा बाबुले मेरो आमासँग कहिल्यै हँसिमजाक र प्रेमका कुरा गरे।
पछि मैले के बुझेँ भने समाजका अधिकांश महिलाहरू यस्तै जीवन बाँचिरहेका छन् भने पुरुषहरू आडम्बर, कुण्ठा र अहङ्कारमा। म घोरिएर समाज र सभ्यताको विकासको बारेमा सोच्थेँ। केही पुस्तकहरू पढ्थेँ। अनि मैले धारणा बनाएँ कि दोष त मानिसले खडा गरेको सभ्यताको जगमै छ। मैले प्रण गरेको थिएँ कि म यो क्रूर सभ्यताको एउटा लाचार पात्र बन्ने छैन जसको मूल्य धुलोको सानो कण बराबर पनि मानिँदैन।
म त्यस्तो जीवन बाँच्ने छैन जहाँ निर्ममतापूर्वक अत्याचार भैसक्दा पनि आफूमाथि भएको अन्यायको पत्तो पाउने क्षमतासम्म हुँदैन। पत्तो पाइहाले पनि बोल्ने ल्याकत हुँदैन। म यो सुन्दर धर्तीमा खडा भएको कुरुप सभ्यता जगैदेखि भत्काएर अर्को नवीन सभ्यताको निर्माण गर्ने वीर सन्तानहरू जन्माउन चाहान्थेँ। त्यस्तो सभ्यता जहाँ कमजोर प्राणीको रगत र आँसुको छिटासम्म नहोस्। एउटै जातिका जीवहरूमा असमानता, विभेद, दुश्मनी, द्वन्द र विखण्डनको पट्यारलाग्दो इतिहास नहोस्।
म यस्तै कल्पनामा हराउँदै गर्दा तिम्रो आगमन मेरो जीवनको एउटा मिठो संयोग बन्यो। यदि तिमी मेरो सुन्दरताको वर्णन गर्दै शरीरमा बग्ने रसायनको घटबढीले मनमा निम्त्याउने हलचललाई प्रेमको नाम दिएर मेरो सामु आएका हुन्थ्यौ भने म कहिल्यै तिम्रो नजिक हुने थिइनँ। तर तिमीले इतिहासका हरेक शब्दहरूको आलोचाना गर्दै मेरोजस्तै नवीन सभ्यता निर्माणको समान विचार दर्साउँदै मलाई आफूतिर आकर्षित गर्यौ।
समाजका तमाम् पुरुषभन्दा भिन्न धारणा प्रकट गर्दै मेरो विश्वास जित्ने प्रयत्न गर्यौ। तिमी पुरुष भएर पनि सभ्यताले नारीमाथि गरेको अत्याचार देखेको कुरा गर्थ्यौ। महिलालाई दासभन्दा पनि तल्लो स्थानमा राख्ने पश्चिमाहरूको दर्शनदेखि त्यही सभ्यताको नक्कलमा प्रगति देख्ने पूर्वीय समाजका प्राचिन शास्त्रका अन्धविश्वासी कथाहरूको तर्कपूर्ण आलोचना गर्थ्यौ।
तिमी हरेक कोणबाट एउटा कट्टर नारीवादीभन्दा पनि कठोर थियौ। सँगै वास्तविक र कोमलताले भरिएको पनि लाग्थ्यो। म तिम्रा बारेमा सोच्थेँ के तिमी यही समाज र सभ्यताको पुरुष त बोलिरहेका छौ?
तिमी महिलाको मासिक धर्म र प्रसव बेदनाको बारेमा यति संवेदनशील बन्थ्यौ कि ती सबै पीडा एकैसाथ तिमी भोगिरहेका छौ। तिमीले वर्तमान बजारीया समाजमा नारी जाति केवल पुतलीको हैषियतमा बेचिन विवश बन्दै गएको सत्य बुझेका थियौ। टाईसुट लगाएका भलाद्मी देखिने पुरुषका जमात पनि उसका आँखाअगाडि देखिने महिलाको नितम्ब र छातीको गोलाइको भद्दा टिप्पणी गर्दै ती महिलालाई कसरी कल्पनामै भए पनि बलात्कार गरिसक्छन भनेर तिमीले नै त मलाई त्यस्तो पाखण्ड पनि हुने कुरा भनेका थियौ।
एउटी नारीले विद्यमान एक लिङ्गीए एकाधिकार भएको समाजमा आफूलाई सफल बनाउन कति कठिनाई र नैतिक प्रश्नको एकसाथ सामना गर्नुपर्छ भनेर मैलेभन्दा तिमीले नै बढी बुझेको लाग्थ्यो। तिमी समाजको वर्तमान संरचना र परिपाटीबाट धर्तीमा नारीपुरुष बीचको समान सहअस्तित्व त दूर, समग्र मानिसबीच थोरै मात्र समानता पनि हासिल गर्न सक्दैन भन्नेमा दृढ थियौ। तिमी पनि वर्तमान सभ्यतालाई भत्काएर मेलै चाहेजस्तै नवीन सभ्यताको निर्माण गर्न आँतुर थियौ।
लामो समयको तिम्रो सामीप्यतापछि म विश्वस्त भएँ कि तिमी वर्तमानको साँघुरो घेराबाट निस्केर यथार्थ धरातलमा आइपुगेको एउटा भद्र पुरुष हौ। तिमी पनि वर्तमान सभ्यतालाई जलाउने आगोको एउटा झिल्को हौ। लाग्थ्यो तिमी मात्र मेरो कल्पनामा फुलेको त्यो नवीन सभ्यताको यथार्थ बीज बोकेको मान्छे हौ। तिमी र मेरो समागमबाट संसारमा त्यस्तो सभ्यताको जन्म हुनेछ जहाँ कुनै अमुक जाति वा व्यक्तिको निरङ्कुश शासन हुनेछैन। कुनै अर्को जातिको कत्लेआम गरेर वा एउटै जातिको बीचमा तरबार चलाएर साम्राज्य बनाउने विचारको कल्पनासम्म हुँदैन।
तर तिमी त्यो दिनपछि मेरो सामीप्यताबाट हरायौ जुन दिन तिमीले मेरो शरीरमा कामोत्तेजक स्पर्श गरेका थियौ र मैले तिम्रो शारीरिक इच्छा पूरा गर्न इन्कार गरेकी थिएँ। तिमी परिवर्तन हुँदै छौ भन्ने महसुस त मैले त्यो बेलादेखि नै गरेकी थिएँ जब म तिम्रो नजिक हुँदा आनन्द मान्न थालेकी थिएँ र तिम्रा पाइलासँगै मेरा पनि कदम बढाएर परिवर्तनको जटिल बाटोमा साथसाथै यात्रा गर्ने सङ्कल्प सुनाएकी थिएँ।
तिमी नै त भन्थ्यौ, कोही नारीले कुनै पुरुष जो आफ्नो प्रेमी नै किन नहोस्, उसलाई पनि आफ्नो शरीर सुम्पिनहाल्नु। शरीरको भोगपश्चात पुरुष सधैं अतृप्त हुन्छ र प्रेमको साटो शरीरको सन्तुष्टिको लागि भड्कन थाल्छ। तर मेरो एक इन्कारीमा नै तिमी मबाट टाढियौ। म अनगिन्ती प्रश्न मनमा लिएर बसिरहेछु, तिमी भने आजसम्म हराइरहेछौ।
तिमीले किन बिछोडको बाटो राज्यौ? कि तिमी पनि उस्तै प्रेमी हौ जो बाहिर एकाथरी बोलेर भित्रभित्र चाहिँ शरीर प्राप्तिलाई नै प्रेम मान्थ्यौ? के तिमीले व्यक्त गरेका ती सबै भावनाहरू मेरो रुचिअनुसार मेरो मन जित्नलाई मात्र थिए? कि तिमी पनि एउटी सुन्दर स्त्रीलाई घरमा भित्राएर आफ्नो कोठा सजाउन चाहन्थ्यौ? कि समाजको अगाडि देखिँदा आफ्नो साथमा एउटी सुन्दर आइमाई छ भनेर मनमनै घमण्ड गर्न सकियोस् भन्ने चाहन्थ्यौ?
कि तिमी पनि उस्तै पुरुष हौ जो आफ्नो इच्छा लागेको समय बजारबाट खरिद गरेको एउटा खेलौनाजस्तै नारीको शररि प्रयोग गर्न सकियोस भन्ने सोच्थ्यौ? तिमी के देखावटी क्रान्तिकारी मात्र थियौ जो ठूला भाषण त गर्न सक्छ तर जब समाजको यथास्थितिलाई बदल्नका लागि होमिने समय आउँछ पुच्छर लुकाएर कतै गायब हुन्छ?
मेरा मनमा तिमीप्रति केवल प्रश्नमात्र छैनन्, तिमीसँग देखेका सपना र प्रेम अझै उस्तै छ। म हजारौंको भिडमा तिमीलाई अझै खोजिरहेछु। हामीले देखेको दुनियाँ बदल्ने सपना पूरा गर्न तिमीसँग सहकार्यको लागि आँतुर छु। तिमीमा यदि परिवर्तनको बीज छ भने आऊ, म तिमीसँग समागमको लागि तयार छु। म मेरो कोखमा त्यो नवीन भविष्य जन्माउनेछु जहाँ सुरुआतमै एउटी नारी पुरुषको मन बहाउलनका निम्ति सृष्टी हुने नभै आदर्श पृथ्वी निर्माणको सहयोद्वा हुनेछे।