त्यो दिन अफिसमा धेरै काम भएकाले म ढिला गरी कोठामा पुगेको थिएँ। अत्याधिक गर्मी र अफिसको थकानका कारण ननुहाई बस्नै नसकिने हुँदा म फ्रेस हुन गएँ। छोरी आफ्ना साथीहरूसँग खेल्न बाहिर गएकी थिइन् भने श्रीमती सरसामान लिन बजार गएकी थिइन्।
म फ्रेश भएर बेडमा पल्टिएर सदाझैँ मोबाइलमा नजर डुलाउन थालेँ। फेसबुक खोलेर न्युजफीडहरू हेर्दै गएँ। यसै क्रममा एक्कासी मैले नयाँ फ्रेन्ड रिक्वेस्ट आएको नोटिफिकेशन देखेँ। मेरो औँलाहरू त्यतै लम्किए। प्रोफाइल हेर्दा म अचम्म परेँ। एक किसिमको झड्का नै लाग्यो।
मेरी बन्न नसकेकी पूर्वप्रेमिकाको फ्रेन्ड रिक्वेस्ट रहेछ। एक किसिमको कौतुहलता छायो। एकाएक पुराना घटनाक्रमको आँधीबेहरी मन भित्रभित्रै सलबलाउन थाले। बिहे गरेर गैसकेकी उनी फेरि मेरो जीवनमा किन प्रवेश गर्ने चेष्टा गरिन्? मेरो बारेमा चासो र चिन्ता किन राख्दैछिन्? उनको अर्कैसँग बिहे हुँदैछ भनी थाहा पाउने वित्तिक्कै त मैले उनलाई ब्लक गरिसकेको थिएँ।
जीवनको परिभाषा वृहत छ। जीवनमा विभिन्न चुनौतीहरू आउँछन् र परीक्षा लिएर जान्छन्। ती परीक्षामा हामी फेल हुनुहुँदैन। हरेको चुनौतीको सामाना गर्नुपर्छ र ती चुनौतीमाथि जित हासिल गर्नुपर्छ। कुनै महत्वपूर्ण चिज पाउँदैमा मात्तिनु पर्ने र गुमाउँदैमा आत्तिनु हुन्न भन्ने कुरा मैले राम्ररी बुझेको थिएँ। आफूले मन पराएको मान्छे नै आफ्नो जीवनमा सदाको लागि बास गरेर बस्नुपर्छ भन्ने हुँदैन।
जीवनका पदमार्गहरूमा पाइला राख्दै गर्दा हरेक पाइला-पाइलामा विभिन्न चुनौतीहरू आउने गर्दछन्। जीवनमा एकपछि अर्को अवसर र सम्भावनाहरूले प्रवेश पाउँछन्। केही अवसर र सम्भावनाहरू बिलाएर जान्छन् भने केहीले सँगसँगै यात्रा गर्दछन्। प्रेमको परिभाषा संकुचित भएर बस्न सक्दैन। किनकि प्रेमको दायरा नै वृहत छ।
जीवनका हरेक सफलता र चरणहरूमा प्रेमले उर्जाको काम गर्दछ। प्रेम श्रीमान/श्रीमती अर्थात् प्रेमी/प्रेमीकाबीच मात्र हुँदैन। सबैभन्दा सँच्चा र निःस्वार्थ प्रेम भनेको त जन्मदिने आमा बुवासँग हुन्छ। त्यसपछि परिवारका विभिन्न हाँगाबिँगा र वंशावलीमा प्रेम झाँगिँदै जान्छ।
यसरी प्रेमका विभिन्न फराकिला दायरा र पक्षहरू भए पनि श्रीमान श्रीमती अर्थात् प्रेमी र प्रेमिका बीचको प्रेम अलि भिन्न हुन्छ। यो प्रेम भावनात्मक मात्रै हुँदैन। धन सम्पत्ति र शरीरमाथि समेत सार्वभौम अधिकार राख्ने सामर्थ्य राख्दछ। त्यही कारणले समेत आफ्नो मान्छे अरुसँग बोलेको हाँसेको सबैलाई मन पर्दैन होला सायद। किनकि सबैभन्दा ठूला कुरा त यस्ता प्रेमले शरीरमाथि अधिपत्य जमाउनु नै पहिलो प्राथिमकता ठान्दछ।
प्रेमका यी वृहत्तर क्षेत्र र परिस्थितिलाई राम्ररी बुझेको थिएँ मैले। उनी अर्केकी हुन लागेको थाहा पाए पनि म विचलित भइनँ। जीवनका वृहत दायरालाई शिरोपरी राख्दै भावनात्मक आवेश र आवेशमाथि नियन्त्रण जमाउन भरमग्दुर प्रयास गरी परिस्थिति र परिवेशलाई समायोजन गर्दै अगाडि बढेको थिएँ। तथापि उनी मेरी मानसपटलबाट हटेकी थिइनन्।
भौतिक उपस्थिति नभए पनि भावनात्मक संस्मरण, लगाव र सामीप्यता ताजै थियो। तथापि अर्कैकी भइसकेकी उनी माथिको हस्तक्षेपलाई निरन्तरता दिएर उनको जीवनलाई थप जटिल बनाउनु हुन्न मेरो निष्कर्ष र बुझाइ थियो। त्यही भएर मैले उनलाई ब्लक गरिदिएको थिएँ।
यतिका वर्ष चुप लागेकी उनी पुनः मेरो फेसबुक लिस्टमा किन स्थान खोज्न चाहिन्? यो कुराले चाहिँ मलाई कौतुहलता भयो। यही पत्ता लाउन भए पनि मैले उनको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्नैपर्ने थियो। मेरा औँलाले उनको रिक्वेस्ट कन्फर्म गर्ने चेष्टा गर्यो र उनी मेरो फ्रेन्डलिस्टमा स्थान जमाउन सफल भइन्।
मेरो फ्रेन्ड लिस्टमा १५ सयभन्दा बढी फ्रेन्ड रिक्वेस्ट पेन्डिङमा भए पनि उनले मेरो लिस्टमा स्थान पाएकी थिइन्। रिक्वेस्ट एक्सेप्ट गरेको लगभग १ घण्टापछि मेसेज आउँछ। 'हाई' भन्छिन्, मैले तुरुन्तै 'हेल्लो' लेखेँ। वार्तालापलाई निरन्तर अगाडि बढाइरहिन्। उनको मेसेजको गति रफ्तारमा अगाडि बढिरहेको थियो। मैले रिप्लाई गर्न नपाउँदे मेसेजहरूको वर्षा हुन थाल्यो।
लाग्थ्यो अहिलेसम्म ती सम्झनाका कोसेलीहरू पोको पारेर राखेकी रहिछिन् र पस्किन हतार भएको रहेछ। यसरी सामान्य सन्चो बिसन्चोबाट अगाडि बढेको कुराकानीले विगतका परिघटना र सम्झनाको समेत संक्षेपीकरण गर्न थाले। विगतका परिघटना र परिवेशका हरेक प्रसंगलाई सहर्ष स्वीकार्दै आआफ्नो जीवनलाई थप उज्जवल र शानदार बनाउँदै लग्नुपर्छ भन्नेमा हामी एकमत थियौँ।
किशोरावस्थामा विपरीत लिंगी प्रतिका आकर्षणको वेग बढ्ने भएर पनि होला, भेटिने जति प्रायः राम्रा लाग्दै जान्छन् र मन पर्दै जान्छन्। यसो भन्दै गर्दा ती सबैलाई प्रेम गर्नुपर्छ र आफ्नो बनाउँदै हिँड्नुपर्छ भन्ने हुँदैन। यसलाई जीवनको एउटा स्वभाविक रुपमा बुझी तत् पश्चातका जीवनलाई सहज, सरल र प्रभावकारी रुपमा अगाडि बढाउँदै लग्नुपर्छ।
जीवन जीउने क्रममा सबैभन्दा नजिकको र आफ्नो भनेको आफ्नै परिवार अनि आफ्नै जीवनसाथी हुन्छ। सुरिक्वेस्ट दुःरिक्वेस्टमा साथ दिने र जीवनका हरेक सफलता र असफलताका हिस्सेदार भनेको जीवनसाथी नै हुन्छन्। तसर्थ प्रेम त आफ्नै जीवनसाथीलाई नै गर्नुपर्छ। फक्रिँदै गरेको उमेरमा हुने प्रेम भनेको त प्रेम होइन, आकर्षण मात्रै हो। प्रेम त तब सुरु हुन्छ जब जीवनका हरेक उकाली ओरालीमा सँगै हिँड्ने संकल्प गरिन्छ।
सुरिक्वेस्ट दुःरिक्वेस्टमा साथ दिने वाचा गरिन्छ। जीवनका हरेक चुनौती र संघर्षमा साथ नछोड्ने प्रतिबद्धता गरिन्छ। सफल अनि सुन्दर जीवनको परिकल्पना गरी वैवाहिक बन्धनमा बाँधिई परिवारको अंग बनिन्छ। यी ध्रुवसत्य कुरालाई हामीले शिरोपरी गरेका थियौँ र पो हामीलाई आफ्नो परिवारभन्दा ठूलो अरु केही लाग्दैन थियो।
कोही आफ्नो नहुँदैमा जीवनप्रति वितृष्णा फैलाउने कुरा न्यायसंगत र सन्तुलित हुन सक्दैन। यी भलाकुसारीहरू च्याटमा मात्र सम्भव थिएनन्। त्यही भएर मसेन्जर कलमा पनि हाम्रो लामै कुरा चल्यो। विगतका ती परिवेश र प्रसंगप्रति सम्झनाका लहरहरू फैलाउँदै आफ्नो मनलाई सन्तुलित र शान्त राख्ने उनको प्रयास थियो र त्यसमा मेरो समर्थन र साथ रहँदै आयो। यसरी हाम्रो कुराकानी अगाडि बढ्दै गयो।
यसरी हुने कुराकानीमा एकअर्काको जीवनप्रतिको कुनै हस्तक्षेप वा हिस्सेदारी थिएन। मात्र एउटा असल साथीको नाता थियो। एकअर्काका जीवनमा घटिरहने घटना र परिवेशप्रति चासो कौतुहलताबाहेक अरु केही थिएन। जीवनमा घट्ने घटना र परिघटनाको साक्षी बस्ने बाहेक जीवनका कुनै पनि चलअचल सम्पत्ति र भौतिक शरीर माथिको अधिकार र हिस्सेदारी रहने कुरा पनि भएन।
अबको हाम्रो सम्बन्ध भनेको फेसबुकमा एकअर्काका पोस्ट लाइक-कमेन्ट गर्ने र स्टोरीमा रियाक्ट गर्ने बाहेक अरु केही थिएन। र समग्रमा जीवनमा हामीलाई एकअर्काको जीवनका सफलता असफलतासँग कुनै रिस, राग वा उत्साह थिएन। सबैको राम्रो होस्। जीवनमा सुरिक्वेस्टमय रुपमा अगाडि बढोस् र जीवनमा सफलता मिल्दै जाओस् भन्ने नै थियो।
अहिले हाम्रो समाजमा यो साझा समस्या र सवालको विषय बनेको छ। कतिपयको जीवनमा यस्तै घटना र परिघटनाहरू घटिरहेका हुन्छन्। यी नै कथा, व्यथा र अवस्था धेरै व्यक्तिको जीवनसँग मेल खान्छ। किशोरावस्थामा हुने आकर्षण र प्रेम सबै सार्थक निष्कर्षमा पुग्छन् भन्ने हुँदैन। केही थोरै मात्र प्रेम सम्बन्ध सफल हुन्छन्।
प्रेममा देखिने आशक्ति र अन्धोपनले कैयन व्यक्तिहरूको जीवनमा नकारात्मक असर परेको देख्न सकिन्छ। प्रेममा हार खाएकाहरूले लिने अप्रिय निर्णयले निम्त्याउने विभिन्न खालका आकस्मिक घटना र कारुणिक दृश्यले जीवनलाई जटिल मोडमा पुर्याएको देखिन्छ। यस्ता परिघटनाहरूले जीवनको परिभाषा नै संकुचन बनाइदिन्छन्।
जीवन र जगतमा प्रकारान्तरले घटिरहने घटनाहरूलाई जीवन संघर्षका स्वभाविक परिणतिको रुपमा बुझ्नुपर्ने हुन्छ। परिवेश र परिस्थितिका उल्झनसँग लडिबुडी खेल्दै माथि उठेको मान्छेले बाँच्न र बँचाउन सिकेको हुन्छ। समाजका समकालीन घटना र पीडा व्यथासँथ पौँठेजोरी खेल्न जानेको हुन्छ। जीवन संघर्षका विविध आयामहरूलाई सहर्ष स्वीकार्न जानेको हुन्छ।
समस्या र संकटसँग जुध्न जानेको हुन्छ। मानवता र मानवीय चरित्रको यथार्ततासँग भिजेको हुन्छ। यी समग्र ज्ञान, सीप र कलाले भरिएको मान्छेको जीवनमार्गहरू सभ्य, सन्तुलित र स्थिर रहन्छ। एकपछि अर्को गर्दै जीवनका गगनचुम्बी लक्ष्यहरू सहज र सरल रुपमा भेट्टाउँछ र सानदार जीवनको गोरेटो तय गर्दछ।