म कसरी बिताउनु यी कठोर पलहरू
जहाँ मेरो नाममा अर्कैले
आफूलाई जोडेर हिँड्छन्
मैले त तन, मन तिमीलाई सुम्पिसकेँ
जीवनको गोरेटोमा तिम्रा पाइला
पछ्याउन थालिसकेँ।
अधुरो रहला सपना, कोइलामा सेकिएर
पिल्सिएका पैतालाले हिँडुला म
तिमीभन्दा धेरै टाढा...
बुझेर मेरा अतृप्त सपना
बुझेर मेरा आँखामा भाव
जब हावामा मैले बोलेका
शब्दहरू खोज्दै फर्किन्छौ
ठेस लाग्दा मेरो नसाबाट पोखिएको
रगतको मूल्य तिम्रो धड्कनले
अवश्य खोज्नेछ
मेरो छटपटी मेरो बेचैनी र
मेरो कौतूहलता अनि बुझ्नेछौ
तब होला मप्रति तिम्रो प्यार गाढा!
सुनसान रातमा आँगनीको डिलमा बसेर
जब चन्द्रमालाई नियाल्छु
तिम्रो नामको लाली र मुस्कान देखेर
मलाई नै जिस्काउँछ!
हो, मेरो खोजीमा जब थाक्छौ
तिमी गएर त्यहीँ छेउमा बस्छौ
र चन्द्रमालाई नै हेर्नेछौ
त्यतिबेला पाउनेछौ मेरो प्यारको सबुत
तिम्रो शंका र अविश्वासको जवाफ
अत्तालिएर उठ्न खोज्दा भारी लाग्नेछ
तिमीलाई आफ्नै शरीर
कालो रातम आउनेछन्
मेरा यादहरू रंगिन बनेर
सताउने छु फेरि अन्जान रहेर।
भौतारिँदै हिँड्दा मेरा यादले रुवाउला
हराउँदा मिठो सपनामा ढुङ्गाले लडाउला
तर उठ्नु तिमी क्षितिजको घाम हेर्दै
अनि आउनु मलाई रोक्न सायद
म नि अस्ताउनै लागेकी हुनेछु!
जे हुनेछु, जस्ती हुनेछु, जहाँ हुनेछु
तिम्रो यादमा, तिम्रै प्रतीक्षामा बस्नेछु।