वरिपरि समुन्द्र छ प्यास मेटिएन
लामो यात्रा हिँड्दा पनि लक्ष्य भेटिएन
सुरुआती कृषि यात्रा अड्डा चारखाल
सुस्त-सुस्त अघि बढ्दै कछुवाको चाल
कतै बने पशु फाराम, कतै कृषि केन्द्र
चेतनाको ज्योति छर्न बने तालिम केन्द्र
हावापानी, धरातल, अनुकूल माटो
प्रकृतिको वरदान विज्ञताको खाँचो
लेक फुल्यो लालीगुँरास बेसी फुल्यो टाँकी
धेरै काम भए यहाँ अझै धेरै बाँकी
बेसी फाँट बाँझै हुन्थे चैते धान लाग्यो
बाली सघनता बढाउने अझै आश जाग्यो
दूध अनि पोल्ट्री विकास जग थियो राम्रो
बर्ड फ्लुको भुइँचालोले सातो लियो हाम्रो
कृषि बिमा लागु भयो जोखिम घटाउन
उद्यमीलाई प्रोत्साहन दिई लगानी बढाउन
विविध छ हावापानी प्रकृतिको देन
पर्यटनको सम्भावना कृषि पहिचान
स्वस्थ्यवर्द्धक कृषि वस्तु अर्गानिक रोजौं
विकासको जग कृषि सम्भावना खोजौं
निर्वाहमूखि कृषि होइन, व्यवसायी बनाऔं
नीति नियम जे चाहिन्छ सरलीकरण गराऔं
लगानीको क्षेत्र अब कृषि हुनुपर्छ
कृषि बाटो हिँड्दै अब देशले फड्को मार्छ
निजी क्षेत्र प्रोत्साहन बीउ-बिजन नीति
आत्मनिर्भर प्राथमिकता कृषिको उन्नति
९० अर्ब विदेशीयो कृषि वस्तु किन्न
योजनाहरू अलमल छन् सही बाटो चिन्न
निजी क्षेत्र ढुक्क भई गर कृषिमा लगानी
अर्थतन्त्र बलियो भई पलाउँछ संजिवनी
गाउँसम्म पुग्नु पर्छ विज्ञताको सेवा
प्रविधिको प्रसारमा पुग्छ चुस्त टेवा
किसानको गुनासो छ विज्ञ सेवा छैन
झार टार्ने आश्वासन हामीलाई चाहिँदैन
हुनुपर्छ उत्पादन र बजारको तालमेल
तोड्नु पर्छ नाफाखोर विचौलियाको जालझेल
अक्षरशः पालन गरौं एडिएसका कुरा
दृढ इच्छा लियौं भने हुन्छन् लक्ष्य पूरा
गाउँको विकास छोडेका छौं जेटिएको भर
अझै कृषि उठ्दैन कि लाग्दैछ हे डर
विज्ञहरू केन्द्रिकृत सुविधाको भोगी
यस्तै चालले अघि बढे देश बन्छ जोगी
कृषि प्रधान देश भन्छौँ अनिकाल साथी
कछुवाको हिँडाइले कहिले पुग्ने माथि?