असमानताका काला पहाडहरू भत्काउन
अत्याचारका जन्जिरहरू चुँडाउन
वस्तीका फोहोरमैला उडाउन
एउटा हुरी आउनुपर्छ यहाँ।
ए दलालका सरदारहरू हो!
तिम्रो साम्राज्य भत्काउन
दासत्ताका अवशेषहरू मेटाउन
एउटा हुरी पहाड फोडेर आउँदैछ
हिमाल तोडेर आउँदैछ
संसारलाई हलचल गराउँदै
समुन्द्रको पिँधबाट ज्वारभाटा निस्केजस्तै
एउटा हुरी आउनुपर्छ यहाँ।
हुस्सु र तुवाँलो हटाउन
सीत र तुसारो सुकाउन
चिसोले कठ्याङ्ग्रिएका
जीवनमा खुसी बोकेर
पारिलो घामको आगमन हुँदैछ
खबरदार! ए छद्मभेषका ब्वाँसाहरू हो
अत्याचारविरुद्ध सङ्ग्राम गर्न
एउटा नायकको आगमन हुँदैछ
सोझासाझा भुइँमान्छेहरूको
मुक्ति र स्वामित्वका लागि
एउटा हुरी आउनुपर्छ यहाँ।
शक्ति र सत्ता स्थायी हुँदैन
बैँस र जवानीमा काबु हुँदैन
याद राख ए कथित महामानवहरू हो!
संसारको नियम कसैले छेक्न सक्दैन
मक्किएका पर्खालहरू
हल्लिएका खम्बाहरू
अनन्तः जीवन कसैको हुँदैन
पीडक र पीडित बीचको रेखा मेटाउन
शोषक र शोषित बीचको खाडल हटाउन
समानताको साम्राज्य ल्याउन
एउटा हुरी आउनुपर्छ यहाँ।