कृषि विषय पढेँ अनि गैससको खेती गरेँ
खेतीको कुरा हैन, कुराको खेती गर्न थालेँ
कस्तो अचम्म!
पैंतिस वर्षसम्म खेती गर्दा पनि
यो बालीको जरो, टुप्पो, पात केही देखिनँ
फल पनि देखिनँ
पाकेको फलको स्वादको त कुरै नगरौं
सानो चिचिलोको स्वाद समेत चाख्न पनि पाइनँ
२०४६ सालपछि विकासे बिउ, मल बेच्न
चार सयभन्दा बढी विदेशी संस्थाहरू कस्सिएका छन्
चालिस हजारभन्दा बढी नेपाली किसानहरूले
झोलामा बारी बनाएका छन्
महङ्गा चिल्ला कागजहरूमा, पाना-पानामा
खेती गर्ने तरिकाबारे राम्ररी जोतिएको छ
बिउ छरिएको छ, मलजल गरिएको छ
तर गैससको खेतीमा बालीभन्दा
झारपात बढी मौलाएको छ
खेतबारीमा बालीभन्दा
झारपात हर्लक्क बढेको छ
खेती गर्ने तरिका सिकाउन
अहिले त कलेजहरूले समेत नर्सरी बनाएका छन्
साना किसानको खेतीमा
बालीभन्दा झारपात मौलाउँदो रहेछ
सानै खेती भए पनि झार उखेल्न धेरै संघर्ष गरें
मैले झारलाई उखेल्न खोज्दा
उल्टै झारले मलाई तान्यो
मेरो केही लागेन
खेती गर्न औजार हुनेहरूका लागि
यो खेती रोप्न सजिलो छ
बाली थन्क्याउन सजिलो छ
औजार नहुनेहरूका लागि
न रोप्न सजिलो छ
न फडानी गर्न सजिलो छ
खेतबारीमा उम्रिएको झार उखेल्न म प्रयत्नरत छु
अपत्यारिलो तर सम्भव
यो खेतीभित्र उम्रिएको झार उखेल्न म लागिरहेछु
म लागिरहने छु।