सृष्टिका हरेक चिजहरू आफ्नै गतिमा चल्दै थिए। हरेक वस्तु निश्चित नियमबाट गुज्रिरहेका थिए, ती चाहे प्राकृतिक होऊन् वा कृत्रिम तर हजार सपना देख्ने विशालका आँखाहरू बन्द थिए। चाहनाका सिँढीहरू चढ्ने पाइलाहरू स्थिर थिए। प्रेमको सुवास छर्ने हृदयको धड्कन रोकिएको थियो।
२८ वर्षको जवानी बोकेर कामको खोजीमा विदेश पसेको विशाल ३७ वर्षमा नेपाल फर्कियो तर काठको बाकसमा मृत्यु बनेर। ७५ वर्षीय वृद्धका आँखाहरूले सायद आफ्नो एक मात्र सुपुत्रको मृत्यु भएको कुरा पत्याउन सकिरहेका थिएनन्। ईश्वर यतिबिघ्न कठोर छैनन् भन्ने उनलाई विश्वास थियो।
उनले कात्रो हटाएर अनुहार गहिरिएर हेरे। उनले यो सबै दृश्य झुट होस् भन्ने चाहन्थे। त्यसैले उनले फेरि नाडी छामे। पीडा पोख्न आँसु थिएन। उनलाई धर्ती भासिएजस्तो लाग्यो, आकाश आफ्नै टाउकोमा बज्रिएजस्तो लाग्यो। सुनामीले आफ्नो जीवनका एकएक खुसीहरू उडाउँदै थियो। उनी बेसरी चिच्याए।
उनको त्यो रोदनभित्र पीडाको प्रशान्त सागर थियो, उनको त्यो चित्कारभित्र वेदनाका हजारौँ अरिङ्गालहरू थिए। उनको वृद्ध काँधले छोराको शवलाई बोक्न खोज्यो, तर उनलाई त्यसो गर्न दिइएन। उनले सातौँ पटक त्यो प्रयास गरिरहे। आफ्नो प्रयास असफल भएपछि अन्तमा उनी बेहोस भएर ढले।
विशाल र मनोज बालककालका साथी थिए। उस्तै उमेर, उस्तै परिवेश र एउटै गाउँमा हुर्केका उनीहरू असाध्यै मिल्ने साथी थिए। बाल्यकालको एउटा सुखद् समय, जहाँ न लोभ, न स्वार्थ, न ईर्ष्या, न त विभेदको कुनै रङ्ग। फरक थियो त केवल उनीहरूको आर्थिक परिवेश।
विशालका बुवा काठको काम गर्ने मिस्त्री थिए भने मनोजका बुवा सरकारी कार्यालयमा नासु थिए। दुवै बालकहरू उत्तिकै चलाख र तीक्ष्ण बुद्धिका थिए। बाल्यकालमा समान रुपमा रहेका उनीहरू समय क्रमसँगै धेरै कुराहरूमा फरक देखिए। विद्यालय फरक, पोशाक फरक, झोला फरक, विद्यालयमा खाने टिफिन फरक अनि विद्यालयको वातावरण नै फरक-फरक थियो।
मनोज बोर्डिङ स्कुलमा पढ्न थाल्यो, विशाल सरकारी स्कुलमा। कक्षा पाँचसम्म पढ्दा मनोज खरर्र अङ्ग्रेजी बोल्न सक्ने भयो। विशाल ट्वाल्ल परेर ऊ बोलेको सुन्ने मात्र भयो। समयक्रमसँगै मनोजको बुवा दिनेशको बढुवा भयो र उनी काठमाडौंमा बसेर सरकारी काम गर्न थाले।
मनोज पनि कक्षा ६ देखि काठमाडौंमा बसेर पढ्न थाल्यो। ऊ पढाइमा मेहनती थियो। एसइईमा ए प्लस ल्याएर उत्तीर्ण भयो र विज्ञान विषय लिएर पढ्न थाल्यो। उता विशाल भने एसइई परीक्षामा बि-प्लस ल्याएर उत्तीर्ण भयो। ११, १२ कक्षा पढ्न सकेन। कारण थियो परिवारको गरिबी। उसको पढाइमा पूर्णबिराम लाग्यो। उसले आफ्नै देशमा काम खोज्यो। उपयुक्त काम नपाएपछि ऊ छिमेकी देश भारत पस्यो।
भारतमा उसले चौकीदारीको काम गर्यो। जीवन अझ उन्नत बनाउने लालसामा ऊ कामको खोजीमा भौतारिँदा भौतारिँदै मलेसिया पुग्यो र वैदेशिक रोजगारीमा दसौं वर्षको अनुभव प्राप्त गर्यो। उता मनोज भने बितेका यी दश वर्षमा अमेरिकाबाट एमडी गरेर फर्किसकेको थियो। ऊसँग प्राज्ञिक ज्ञानको विशाल अनुभव थियो। त्यही ज्ञानको प्रयोग एउटा कुशल चिकित्सकको रुपमा उसले विरगञ्ज अस्पतालमा गर्न थाल्यो।
विशालले अनेकौँ प्रकारका हण्डर ठक्कर खाइसकेको थियो। कहिले भारत, कहिले मलेसिया गएर अनेक खालका कष्टहरूसँग ऊ परिचित बन्दै गयो। ऊ जहाँजहाँ जान्थ्यो, उसको अगाडि अनेक खालका सङ्कटहरू उसलाई घेर्न आइपुग्थे। उसलाई लाग्यो कि यो संसारमा म दुःख नै झेल्नका लागि जन्मिएको हुँ। हरेक कुराको सीमा भएजस्तै दुःख र पीडाको पनि एउटा सीमा अवश्य हुनेछ।
यस बीचमा उसलाई के पनि अनुभव भयो भने बाहिरी संसारमा जति विविधता छ, मनुष्यको आन्तरिक संसारमा भने समानता छ। हरेक मनुष्य आफ्नो जीवनमा सुख र दुःखको भारी बोकेर कुदिरहेको छ। दुःखका प्रकृतिहरू मात्र भिन्न भिन्नै छन्। यही सोचेर उसले सन्तोषको श्वास फेर्थ्यो।
विशाल जीवनका धेरै सुखहरूबाट लुटिएको थियो। उसले जीवनमा धेरै चिजहरू गुमाएको थियो। भारतमा बसेर काम गर्दा ऊ श्रम शोषणबाट लखेटियो। अपमान र दुर्व्यवहारबाट लखेटियो। मानिसभित्र बाँचिरहेको विवेकहीनता र कठोरताबाट लखेटियो।
सङ्घर्षबाट थाक्नु हुँदैन र निरन्तर सपना देख्नुपर्छ भन्ने शिक्षा पाएको विशालले दोस्रो पटक आफ्नो देश छोड्यो र मलेसिया पस्यो। प्लास्टिकका सामान बनाउने कारखानामा उसले काम गर्न थाल्यो। काममा जोडिएको छ महिना हुँदै थियो, दुर्भाग्यवश असावधानीको कारण करेन्टले उसको दाहिने हात नै गुमाइदियो। कम्पनीको साहुबाट उसले उपचार पाएन। आफ्नै असावधानीले गर्दा भनेर ऊ जिम्मेवारीबाट पन्छियो।
धेरै दुःख गरेर जम्मा गरेको पैसा उसले आफ्नै घाइते शरीरका लागि खर्च गर्नुपर्यो। यहाँसम्म आइपुग्दा उसले अब दुःखका सबै पहाडहरू चढिसकेको थियो। दुःखका सबै रङ्गहरूसँग ऊ परिचित थियो। ऊ जस्तोसुकै दुःखको पहलमानसँग पनि हार्नेवाला थिएन। कुनै पनि गुरुहरूबाट प्राप्त नभएको शिक्षा उसलाई दुःखका पाठशालाहरूबाट प्राप्त हुँदै थियो।
एक महिनाको उपचारपछि उसले घर फर्किने विचार गर्यो। ऊ अब योभन्दा बढी गुमाउन चाहन्न थियो, योभन्दा बढी लुटिन चाहन्न थियो। उसले यी कष्टपूर्ण अध्यायहरू छिट्टै समाप्त गर्न चाहन्थ्यो। उसले के अनुभव गर्यो भने मानिससँग विशेष सीप र क्षमता भयो भने मात्र उसले सहज तरिकाले जीवन जिउन सक्छ। अन्यथा जुनसुकै ठाउँ गए पनि उसको भागमा दुःख नै पर्छ।
घर फिर्तीको अघिल्लो दिन उसले झोला कस्यो। साथीभाइले गरेको उपचार सहयोगबाट उसले ७० हजार जति पैसा जम्मा गर्न सफल भएको थियो। उसलाई एकातिर आफ्नो देशमा फर्किने र परिवारसँग भेट हुने कुराले रोमाञ्चित बनाएको थियो भने अर्कोतिर आफ्नो अपाङ्ग शरीर देखाउनु पर्दाको पीडाले पिरोलिरहेको थियो। ऊ भोलिको सबै बन्दोबस्त मिलाएर रातको १२ बजे ओछ्यानमा पल्टियो। मनमा अनेक कुराहरूले प्रतिस्पर्धा गर्दै थिए। ऊ भने कतिबेला निदायो पत्तै भएन। तर ऊ कहिल्यै नफर्किने गरी निदाइसकेको थियो।
दुष्ट आत्माहरूले उसलाई जिउँदोमा मात्र लुटेनन्, उसको जिन्दगी पनि लुटे। मृत्युपछि पनि उसको धनमाल लुटियो। काठको बाकस भरियो तर ऊ सम्पूर्ण रुपमा रित्तियो। कहिल्यै नफर्किने गरी, कहिल्यै नभेटिने गरी।