फोनमा कुरा भएबमोजिम नै हाम्रो भेट बालाजुमा भयो। हामीले पहिलो पटक भेटेको ठाउँ सम्भवतः स्वयम्भू थियो। सम्भावित अन्तिम भेट पनि त्यही गर्ने निधो भयो। स्वयम्भू भगवान पाउको विपरीत दिशातर्फ एउटा रेस्टुरेन्ट देख्यौं र हामी त्यही गयौं।
सामान्य हालखबर सोधेपश्चात मैले हामी फेरि भेटिनुको कारण जान्न चाहेँ। किनकि हाम्रो सम्बन्ध सकिएपछिको पहिलो र सायद अन्तिम भेट थियो यो।
'ल भन, किन भेट्न बोलायौ?,' मैले सिधैँ प्रश्न गरें।
'आजकल हजुरलाई के भइरहेको छ?'
'केही भएको छैन, किन र?'
'हजुरले झुट बोल्न नि सिक्नु भयो र?'
'नाई, किन झुट बोल्थेँ र म?'
'हजुरको आँखाको गहिराई म बुझ्न सक्छु, आजकल हजुरलाई पक्कै केही भएको छ। के भएको छ भन्नु त?'
'तिमीलाई किन त्यस्तो लाग्यो?'
'विगत एक महिनादेखि हजुरको फेसबुक स्टोरीहरू, टिकटकहरू, हजुरको क्याप्सनहरू पढ्दा जो-कोहीले पनि सजिलै पत्ता लगाउन सक्छ नि। म त कुनै दिन हजुरको प्रेमिका थिएँ, यति पत्ता लगाउँदिनँ र?'
'हैन, सामाजिक सञ्जालमा त जे पनि राखिन्छ नि, त्यस्तो केही भएको छैन।'
'केही नभएको भए, यति भन्दै गर्दा हजुरको आँखा किन रसायो त?'
एकछिन सन्नाटा छायो।
फेरि मैले बोलेँ, 'खै के भएको छ भन्नु? आजकल म प्रेममा छु।'
'अनि प्रेममा त मसँग नि हुनुहुन्थ्यो हैन र? दुखी त देखिनँ कहिल्यै।'
'तिमीसँग प्रेम भएकै रहेनछ मलाई त्यो बेला, सायद हामी मायामा थियौँ।'
'साहित्यकार ज्यू, माया र प्रेम फरक कुरा हुन् र?'
'जसलाई मन पराइन्छ, दिलमा सजाइन्छ उसैलाई पाइयो भने माया रहेछ तर जो कहिल्यै मेरो हुँदैन भन्ने थाहा छ, त्यति थाहा हुँदाहुँदै पनि सबैभन्दा बढी चाहना उसैको राखिन्छ, स्नेह हुन्छ, केयर गरिन्छ, उसको लागि ज्यान लिन पनि र दिन पनि सकिन्छ, त्यही रहेछ प्रेम।'
भावुक हुँदै उनी बोलिन्, 'हामी पनि त एक हुन सकेनौं, के यो प्रेम भएन र त्यसो भए?'
'हामीबीच सायद अब एकअर्का प्रतिको चाहना छैन, त्यसैले यो प्रेम भएन।'
'ल छोड्नुस् हाम्रो कुरा, कफी पिउनुस् सेलाउन लाग्यो।'
अघि नै अर्डर गरेको कफी कतिबेला टेबलमा आइपुग्यो मलाई त पत्तै थिएन।
'तातै रैछ त,' एकचोटि सुरुप्प पार्दै भनेँ।
'प्रेममा परेसी चिसोले पोल्ने अनि तातोले जाडो हुने हुन्छ कि कसो महोदय? मायामा त यस्तो हुन्थेन,' व्यङ्ग्यात्मक टिप्पणी गरिन्।
हामी दुवैले फिक्का हाँसो हाँस्यौं।
मैले कुरा मोड्ने विचार गरेर सोधें, 'अनि के छ त आरएनको खबर?'
भर्खरै पिसिएल नर्सिङ सकेर लाइसेन्सको परीक्षा पास गरेकी उनीलाई सम्बोधन गर्न आरएन भन्ने दुइटा अङ्ग्रेजी वर्णमालाको अक्षर नै याद आयो मलाई।
'अब लाइसेन्सको तनाव सकियो, २/४ दिन चाहिँ बिहान ९ बजेसम्म सुत्छु, घुमघाम गर्न जान्छु, त्यसपछि फेरि त्यही हो पिटिईको तयारीमा लाग्नु पर्छ। मिति लिगिसकेको छु।'
'भनेसी अब ४/५ महिनाभित्र आठ नम्बर प्रदेश पुगिन्छ हैन?'
'आठ नम्बर प्रदेश?' आश्चर्य भावमा सोधिन्।
'अस्ट्रेलिया क्या।'
हामी फेरि फिक्का हाँसो हाँस्यौं।
उनले एक घुट्की मिल्क कफी निल्दै भनिन्, 'हजुर पनि के नेपाल बस्नु हुन्छ, जाऔं दुवै जना।'
हाँस्दै भने, 'दुवै जना?'
'हामी पुराना कुरा सबै भुलेर फेरि नयाँ जीवन सुरुआत गर्न सक्दैनौं र? हामी फेरि माया गर्न सक्दैनौं र? म हजुरलाई यसरी दुखी भएको हेर्न सक्दिनँ, हुन त म अधिकार क्षेत्रभन्दा बाहिरको कुरा गरिरहेको छु होला, तर हजुरलाई यस्तो देख्दा मलाई दुःख लाग्छ।'
मैले थपेँ, 'तिमी मायाको कुरा गर्छौ, मैले भनेँ त म प्रेममा छु।'
'अँ त साँच्चै, अघि हजुरले भन्नु भएको' केही सम्झिएझैँ गरेर उनले भनिन्।
म चुपचाप बसेँ।
फेरि थपिन्, 'अनि किन त तपाईंको प्रेमले यति पीडा दिएको? मायाले भन्दा बढी!'
'प्रेम नै त्यस्तो मान्छेसँग भएको छ,' केही गम्भीर मुद्रामा म बोलेँ।
'कस्तो मान्छे?'
'विवाहित' मैले बढो हिम्मतका साथ भनेँ।
'ह्वाट? आर यू सिरियस?'
'भेरी मच!' तुरुन्त जवाफ दिएँ।
एकछिन फेरि दुवै चुप भयौं।
मौनता तोड्दै ऊ बोली, 'यो कसरी?'
'कहाँ, कसरी, किन, केका लागि यी कुराहरूको जवाफ त छैन मसँग, छ त उसको लागि प्रेम मात्र।'
'आर यू म्याड?'
'अहिलेसम्म होसमै छु,' यो पनि तुरुन्त दिएको जवाफ थियो मेरो।
'अनि उनले पनि हजुरलाई प्रेम गर्छिन् त?'
'गर्छिन्, तर एउटा असल साथीको रूपमा,' आँखा भुइँतिर हेर्दै भनें।
'हरे शिव, अनि हजुर किन त यस्तो पागल भएको?'
'प्रेम गर्नु गलत हो र?'
'त्यो त होइन।'
उनले फेरि थपिन्, 'अनि उनी घरपरिवार, श्रीमान,सासू-ससुरा, आफन्त भएको एउटा विवाहित नारी, हजुर अविवाहित केटा। यो सम्भव छ र?'
'म उनको सिउँदोको सिन्दुरको सम्मान गर्छु, सात फेरा लिएर, देवता र जन्तीलाई साक्षी राखेर सात जुनीसम्म एकअर्काको हुने भनेर उनले खाएको कसमको पनि म सम्मान गर्छु।'
'अनि?' उनले थपिन्।
'तर म उनीसँगको प्रेममा छु, प्रेममा यति लिप्त छु कि मलाई मेरो जीवनमा अब कुनै केटी चाहिँदैन। म उनीसँगको कुराकानी, केही तितामिठा पलहरू सम्झेर र उनको खुसी हेरेरै जीवन बिताउन सक्छु।'
'अलि फिल्मी भएन र बेब्स?' मेरो तनाव कम गर्न उनले हामी मायामा हुँदा 'बेब्स' भन्ने शब्द भन्ने गर्थिन्, आज फेरि त्यही अभिप्राय थियो कि।
'फिल्म भनेको पनि त हाम्रो दैनिक जीवनमा घट्ने घटनालाई आधार मानेर बनाइएको परिदृश्य त हो नि।'
'अरु सुनाउनुस्,' उनले थपिन्।
'म उनीलाई आँखैअगाडि राखेर हेरिरहन चाहन्छु, उनीसँग बोलिरहन चाहन्छु, उनी हाँसेको मलाई खुबै मनपर्छ, तर यी सबै कुराहरूमा खुसी हुँदै गर्दा, उनी मेरी हैनन् भन्ने एउटा तिखो तीरले मेरो मुटु छेडेर जान्छ अनि म फेरि दुखी हुन पुग्छु। मलाई उनले हैन, उनीसँग मैले गरेको प्रेमले साह्रै पीडा दिएको छ।'
थप गम्भीर हुँदै सोधिन्, 'अब के हुन्छ?'
मैले भने, 'उनी उनकै संसारमा खुसी छिन्, उनलाई माया गर्ने श्रीमान छन्, साथ दिने बाआमा छन्, उनको छुट्टै संसार छ, उनी उतै व्यस्त पनि छिन्, आजकल त खासै कुरा पनि हुँदैन, प्रायः व्यस्त हुन्छिन् उनी। तर म सधैं उनलाई सम्झेर टोलाउँछु, उनी मेरी हैनन् र पनि किन यति गहिरो प्रेम बस्यो भनेर आफूले आफैलाई धिक्कार्छु, रुन्छु, कराउँछु।
उनीलाई आफ्नो बनाएर यो संसारबाट टाढा कतै गएर छुट्टै संसार बनाउन मन छ, तर उनी पनि उनको केही 'लिमिटेसन्स' मा अडिग छिन्, उनी कहिल्यै मेरो हुन सक्दिनन् रे, माया चाहिँ गर्छिन् रे फेरि मलाई, म दुखी भएको हेर्न पनि सक्दिनन् रे, उनको जीवनमा म एउटा अमूल्य पात्र चाहिँ हुँ रे। तर मलाई अंगाल्न चाहिँ उनी सक्दिनन् रे,' मैले अब सबै कुरा सुनाएँ।
'तपाईं साहित्यको विद्यार्थी हुनुपर्ने, विज्ञानको कसरी हुनु भयो?' सायद मेरो सोचाइ स्थानान्तरण गर्न सोधिन्।
'खै!' यति नै जवाफ दिएँ।
'गल्ती हजुरको पनि हैन रैछ, उहाँको पनि देख्दिन, पीडा त हजुरको आँखामा प्रष्ट देख्छु, बिना गल्ती आफूले आफैलाई यति सजाय दिँदै हुनुहुन्छ। अब उहाँ, जोसँग तपाई प्रेममा हुनुहुन्छ के चाहनु हुन्छ त उहाँबाट? उहाँले के गर्नु भयो भने तपाईं खुसी हुनुहुन्छ?'
'त्यो चाहिँ मैले उहाँलाई नै भनेको छु,' मैले जवाफ फर्काएँ।
'भन्न मिल्दैन?'
'फेरि कुनै दिन भेट भयो भने,' मैले कुरा टुंग्याउने प्रयत्न गरेँ।
वर्षा ऋतु भएर होला बाहिर दुई झर पानी परेर पनि रोकिसकेको थियो, हामीले यति कुरा गर्दा। अब छुट्टिनु पर्छ भन्ने हेतुले मैले भनेँ, 'अब तिमी ओपेरा हाउसअगाडि गएर फोटो खिचेर हाल, अनि म ओपेरा मिनीबाट रिएक्ट गरौंला।'
यतिबेला उनी पनि भावुक भइन्, 'हजुरले प्रेम गरेको मान्छेबाट त प्रेमको आभास अनि विश्वासको आलिङ्गन आजसम्म पाउनु भएको रहेनछ। जाँदाजाँदै म हजुरलाई हग गर्न सक्छु?'
म निःशब्द भएँ, केवल दुइटा हात फैलाएँ। उनी अन्तिम पटक मेरो अंगालोमा बेरिइन्, खै के सम्झिन्, सुक्क-सुक्क गरेर रुन पनि लागिन्।
मैले भने, 'आँसु यति सस्तो हुन्न, भयो नझार।'
'अनि तपाईंको आँसु नि? जुन दिनदिनै अरु कसैको अंगालोमा भएकी अर्काकी श्रीमतीको लागि झर्छ? त्यो चाहिँ सस्तो हो?'
मैले उनलाई अंगालोबाट हटाउँदै भने, 'उनी मेरो प्रेम हुन्, मेरो जिन्दगी हुन् अनि मेरो संसार हुन्। उनीभन्दा महंगो त म स्वयं पनि छैन, जाबो आँसु त के परिआए रगत पसिना पनि बगाउँछु।'
यति भनेर हामी त्यहाँबाट हिड्यौं, सडकमा आइपुग्ने बेलासम्म पनि हामी केही बोलेनौँ। उनी आफ्नो भेस्पा स्टार्ट गरेर हिँड्नै लाग्दा भनिन्, 'हजुरको प्रेम सफल रहोस्।'
'धन्यवाद!' यति भनेर म पनि बाइक स्टार्ट गरेर अगाडि बढेँ। उनी पूर्व लागिन्, म पश्चिम लागेँ झनै गह्रुंगो मन लिएर।