राजनीति करियरमा,
सम्भावना अपरम्पार,
सेवा सँगै पाइन्छ, नाम, दाम बारम्बार।
डाक्टर,इन्जिनियर बन्नु त,
हिजो अस्तिको कुरा जस्तै,
पुरानो नचल्ने बजार भएछ।
राजनीतिज्ञको बजार
हाम्रो जस्तो भूगोलमा,
जहिले नि उर्वर र आकर्षक,
निर्व्याजी लगानीको अवसर,
हरेक पाँच पाँच वर्षमा पाईन्छ।
एक चोटी मन्त्री भएपछि त,
आजिवन मन्त्री नै सम्बोधन पाईन्छ,
हरेक चुनावमा टिकट पक्का,
मानसम्मान सँगै जहाँ पनि लगानी गर्न पाइन्छ।
राजनीतिमा रिस्क पनि कम छ,
आए आँप,गए झटारो जस्तै,
चलि हाल्यो भने मन्त्री पक्कै,
न चले समाजिक अभियन्ता,व्यापारी ढुक्कै।
यसमा नकुनै परीक्षा पास गर्नुपर्छ,
न कुनै पुँजीनै लगानी गर्नुपर्छ,
आजीवन ठुक्क भई मानसम्मान खानु पाउँछ।
देशमा संघीयता सँगै,
राजनीतिज्ञहरुको बजार बढेछ,
संघमा मात्र हैन प्रदेश, स्थानीय सम्म,
नगर,गाउँ हुँदै वडा वडामा नियुक्ति पाईन्छ।
अब त अरब, खरबपति पनि,
यसै पेशालाई रोजी लामबद्ध छन्,
प्रतिनिधि सभाको टिकट नै नभेटिए के भो,
राज्यसभामा त पुग्नु पक्कै छ।
यस पेशाको जग हाल्दा,
बोर्डिङ स्कुल भन्दा,सरकारी स्कुल जरूरी छ,
निजीमा पढी बढीमा विदेशमा बस्न गईन्छ,
सरकारीमा पढे,देश हाक्ने नेता भईन्छ।
साँच्चै यो करियरका सम्भावना अपरम्पार,
राष्ट्रसेवा सँगै,नाम,दाम सबै बारम्बार।