कविता शव्द फुल्ने, फुलाउने अनि फल्ने एक सिर्जनात्मक उद्धान वा खेती कर्म हो।
कविता जब गहिरा एवं भावयुक्त शव्दहरूले भरिएर समथल बन्दछ वा पहाड झैँ ठिंग उभिन्छ अथवा नदि झैँ सलल बग्दछ त्यो कविताले काव्यिक क्षेत्रमा एक फरक स्वाद भर्दछ। त्यो स्वाद सबैले सहजै थाहा नपाउन पनि सक्दछन्। यद्यपि जसरी छुप्री चपाउँदै गर्दा सकिने बेला रस र स्वाद आउँछ त्यसरी नै कवि उमेश लुइँटेलको कविता संग्रहको शिविरमा विशिष्ठ स्वाद बोकेर आएको छ।
झर्रा र चोटिला विम्वहरूको प्रयोगले सबै पाठकलाई यसको पठनबाट भरपुर आश्वादन प्रदान गर्दछ। विम्वै-विम्वले महाविम्वित उनको कविता संग्रहमा आवश्यकता अनुसार सुटुक्क अंग्रेजी विम्व शव्दावली समेत मिसिएका छन्जसले कवितालाई थप सुन्दर मात्र होइन रुचिकर पनि बनाएको छ।
शितको शिविरमा कविता संग्रहको पहिलो कविता ‘बाआमाप्रति’ मातापिताप्रतिको समर्पणभाव साथै आमाबाको आशीर्वाद र मार्गदर्शनले सजिलै सफलताको चुली चुम्न सकिने सन्देश दिन खोजेको पाइन्छ।
‘धाँजा परेपछि’ कविताले वाध्यता र बन्दनको जिन्दगी कसरी जेलिरहन्छ भन्ने सन्देश कोरेको पाइन्छ। ‘अवसानोन्मुख कालखण्ड’ कविताले इतिहाससँगगर्व गर्ने नेपालीको बर्तमानको उपलव्धि विगतको गहिरो उतारचढावले प्राप्ति गरेको हो भनिएको छ।
त्यस्तै ‘घर’ र ‘ओझेल’ कविताले गहिरो विम्वले सिंगारेक छन् र समयसंगै अल्झिने वा बल्झिने मनको व्यथा लेखेका छन्। ‘शिक्षक र नानीहरु’ कवितामा पात्रको प्रगतिसंग निरन्तर शुभेक्षा दिदै हौसिने कित गुरु वा बाआमा बाहेक विरलै हुन्छन् भन्ने दर्शाइएको छ।
यस कवितामा उर्जावान, क्षमतावान र बौद्धिकतालाई बन्धनमा राखेर पराइ भूमितिर पलायन हुने प्रतिभाको विषयमा गहिरो चिन्तन गरेका छन्। ‘नदिभित्र आगो’ कवितामा संसारमा मसी ओकल्ने कलमसंग हुने अदभुत शक्तिको छाया देखिन्छ। बलवान कलमका कल्पनासँग कहिले भरियाका पिडासंग पौडिने कवि कहिले प्रकृतिसंग रमाउन्छन् भन्ने सन्देश पाइन्छ।
‘औँसी’ कविताले निरासाको प्रतिकारात्मक विम्व प्रस्तुति पोखेकोछ भने ‘फरक’ कवितामा फरकपन पृथकतावादी बन्न खोजेको देखिन्छ। ‘आंधी र अन्योल’ मा ‘आगो बिना नै हृदयको रंगमन्च जलिरहन्छ भन्दै जल्ने मनहरुलाई न आगो न चट्यांङ् चाहिन्छ भनी प्रस्ट्याएको छ। मन त निरर्थक जलिरहन्छ भनेको पाइन्छ।
‘सुर्योदयदेखि सुर्योदयसम्म’ मा ‘...विपन्नको बस्तीमा प्रसिद्ध छ मृत्यु भन्दै अभाव, प्रभाव र दवावले झेलिरहेको जिन्दगीमा मृत्यु यति प्यारो हुन्छ, जसको व्यग्र प्रतिक्षामा जसलाई मुक्तिको मार्ग भनी जीवनवाट विदा गर्न रस्तिबस्तीका मनुस्यहरुआतुर हुन्छन त्यही कुरा कविले कोरेका छन्।
दैनिक जीवनमा भोगिने पीडाको भवसागरै समेटिएको कविता ‘दृश्य-अदृश्य दैनिकीहरु’मा अनेक विम्व र साहित्य जादुमय शव्दपथले रंग्याइएको छ। ‘शहिद र प्रश्नचिन्नहरु’ कवितामा विरलै देख्न सकिने प्रकृतिको मन रोएको दृश्य देखाएकाछन्। ‘सदिन्धताको परिधिभित्र’मा प्रतिकुलतामापनि आशाका उजेली देख्ने प्रतिविम्वात्मक प्रस्तुति छ भने ‘आमा’ कवितामा
‘आज दिग्भ्रमित छु आमा
तिम्रा आदर्शहरु अर्थहीन भएका छन
नैतिकता र मानवताका पाठहरू मिथ्या भएका छन’।
भन्दै आमाले सन्तानलाई गर्ने स्नेह, प्रेम र मार्गदर्शन बिर्सेर सन्तानले गर्ने आनिबानीलाई प्रस्तुत गरेको पाइन्छ।
‘फुटेको सिसा फ्याँकिए झैँ फ्याँकिएको बस्तु
उ एक नारी
प्रेमिका...’
‘वर्तमान उपहार र विजेता’ कवितामा प्रेमिकाप्रति व्यङ्ग्य गर्दै प्रेममा हुने धोका र फेरिरहने अन्त्यहीन प्रेमको विम्वत्माक र व्यङ्ग्यात्मक प्रस्तुति छ। ‘अविराम पाइलाहरु’ कविताले रक्तिम किरणले शुभ सुरुवात गरेपनि विहानीपनि काला र त्रासदीपूर्ण हुने भनी आशा र निरासा एकै पटक पस्किको छ,यद्यपि अविराम गन्तव्य भने तय गरेको संकेत छ।
‘मृत परिधि’ मा अन्तत्वगत्व चिहान खोज्ने मान्छेहरु सबै क्षेत्रबाट आशाका दियालाहरु निभेपछि निराश भएर पनि बाँचेका नै हुन्छन। यस्तै ‘रात’ कवितामा रात गए अग्राख पलाउँछ भन्ने नेपाली उखानको विपक्षमा रातले खवदारी गर्छ भन्दै रातको वर्णन गरेका छन्। ‘यो वर्तमान र तपाइँको शिक्षक बीच साँच्चिकै अन्तर छ ?’ भन्दै वर्तमान शिक्षा प्रणालीप्रति प्रश्न गरेका छन् भने ‘शहर’कवितामा सुख-सयल भोग्न शहर पस्ने र शहरमा जतिसुकै मान्छे जस्तोसुकै अवस्थामा अटाउने भन्दै शहरियाहरुको व्यङ्ग्य गरेका छन्। ‘झरी-१ र २ ‘ मा दुःखका झरीले निथुक्कै भिजेको आम मानिसको कथा व्यथा छ।
यद्यपि दिनदुखीलाई समाजले उपेक्षा गर्दछ तर समाजका मुनाहरुसँग दिनदुखीको आशा रहिरहेको कुरा समेत दृष्टान्त राखेका छन। ‘अन्त्त: एउटा गन्तव्य’शीर्षक कवितामा मन्दिर ढोगेर भन्दा परिश्रमको पसिना बेचेर गन्तव्य तय गर्दाको मज्जा अर्कै हुने साश्वत चित्रण छ। यसैगरी ‘आशा’ कवितामा कठोर अवस्थामा पनि आशाका उजेली सञ्चय गर्दाको काव्यिक प्रस्तुति छ।
‘शीतको शिविरमा’ पीडाको पर्खालले सजेको पाइन्छ भने ‘फूल’ कवितामा फूल चढाएर फूलको जीवन नष्ट गर्दै मन्दिर धाउनेको कर्मलाई व्यंङ्ग्य गरेका छन्। ‘नयाँ साल’ मा देशमा चरम अव्यवस्था हुँदा कसरी नयाँसालको शुभकामना आदानप्रदान गरुँ भनी व्यंङ्ग्य बगाएका छन्।‘चित्र’ कवितामा चित्रकलाले दिने सन्देश गहिरो हुने दृष्टान्त राखेका छन। ‘अधुरो कविता’ ले प्रकृतिले जे-जस्तो रुप देखाए पनि रचनाको स्रोत सामाग्री बन्दछ भन्ने भाव व्यक्त गरेका छन।
‘आगमन खण्डहर बिहानीको’ कवितामा चेतना र मानवता शून्य सामाजको चित्रण गरेका छन। ‘क्षितिज टाढिँदा’ कवितामा टाढिँएको बालापन र वालस्मृतिको संग्रहहरुको केस्रा कोरेका छन। ‘बाली’ कवितामा भोग र खेतीको नाता देखिन्छ भने पानि कवितामा पानी फोहोर हुदाँ पनि मानिसहरु वा कविहरुले चिन्तित भएर कविता लेख्छन। ‘आगोभित्र म’ मा
‘म ओइलिएका भावनाका फूल सजाउँदै
जिन्दगीको क्यानभासमा
रंगहिन मसीले सुदुर भविष्य कोरिरहेछु’।
यस कवितामा बिद्रोह, विनास र नयाँपनको विकास लगायत विकल्पको अक्षरहरु कोरिएको पाइन्छ। ‘अभ्यस्त हात र निरर्थक आँसु’ ले पनि उस्तै विद्रोहको सन्देश दिन खोजेको छ। ‘यो कविता हैन’ कविताले सबै विषयवस्तु समेट्न नसक्ने र समेटिएका कुराहरु सबैका विषयवस्तु नपर्ने हुदाँ यो कविता होइन वा भए पनि पूर्ण छैन भनेका छन्।
‘बाटो पढ्दा’ कवितामा बाटोलाई जिन्दगीका उतारचढावको रुपमा पस्किँदै बाटो एक अध्ययनको अध्याय हो भनी काव्यिक तर्क पेश गरेका छन् । ‘छालसँग’ र ‘दैनिकी’ प्रकृतिका छालहरु र कविको होस वा आम मानिसका दैनिकीका छालहरु छचल्केको पाइन्छ। ‘पागल मान्छेहरु’ कविता शीर्षकमा ‘त्यसैले यस्तो लाग्छ जड प्रकृतीमा चेतना छतर मान्छेमा’? भन्दै चेतना छैन भन्दै प्रकृतिको चेतना उजागर गर्ने कविलाई कतै यिनै मान्छेहरुले पागल त भन्ने होइनन भन्ने सन्देह दिएका छन्।‘कट्टेल सर तपाई गल्ती पढाउनुहुन्छ’ भन्ने कवितामा कवि लेख्छनः
‘जिन्दगी, औँसी/पूर्णिमा
उकाली/ओराली हो...
तर सर अहिले जिन्दगीहरु अवरोहको अवरोह नै छन्
औँसी नै औँसीको ढाकर बोक्दै ओराली लाग्दैछन्’।
यी लगायत यो कविताले वास्तविक भोगाइ र शिक्षण अध्यापनमा हुने धरातलीय भिन्नताको उछित्तो काटेका छन्। यस्तै ‘रुपान्तरण’ कवितामा छेपारे रुपान्तरण र फेरिने रङ्गको चित्रण गरेका छन भने अन्तिम कविता ‘मौसम’मा नियमित नियम भएको मौसम कहिले जाडो, कहिले गर्मी, कहिले हुरी, कहिले बर्सात हुन्छ, तर त्यसमा प्रतिकुलता थप्ने त मानिस हो भनी टिप्पणी गरेका छन।
बिम्बको भवसागर बगाइ लेखेका उमेश लुइँटेलको कविता संग्रह ‘शीतको शिविरमा’ ले वातावरणीय साहित्यको सुगन्ध बोकेको छ। यसले जल, थल लगायतको चिन्तन र सन्देह गरेको छ। साथै एक शिक्षकको दृष्टिकोणबाटको चिन्तन पनि उत्तिकै पाइन्छ। कुनै पनि कविता पूर्ण हुदैन। यो कुरा कविले आफैले भनेका छन् ‘यो कविता हैन’ शीर्षकको कवितामा, तसर्थ सबै दृष्टिकोणबाट प्रयाप्त र पूर्ण छैन।एकचोटीमात्र पढ्दा कुनै हरहालतमा बुझिदैन यो कविता संग्रह।
सबै पाठकका लागि हो जस्तो पनि लाग्दैन यो कविता संग्रह, यद्यपि काव्यिक धरातलमा अडिनका लागि ‘शीतको शिविरमा’को विकल्प पनि छैन। तसर्थ पूर्वाञ्चल साहित्य समाज प्रतिष्ठान बिराटनगरले प्रकाशनमा ल्याएको कवि उमेश लुइँटेलको ‘शीतको शिविरमा’ एकसय पचास रूपैयामा देशभरि उपलव्ध एक पठनीय विम्वको खेती भएको सुन्दर कविता संग्रह भन्नु पक्कै पनि अतिशयोक्ति हुनेछैन।
(लेखक बसन्तराज पाध्याय, उच्च अदालत दिपायल डोटीका इजलाश अधिकृत तथा नेपाल सरकार न्याय सेवाका अधिकृत हुन्)