मुना फेसबुकभरी सबै साथीहरूका नयाँ वर्षमा घुम्ने, रमाइलो गर्ने प्लानहरू हेरेर दिक्क मान्दै बसिरहेकी थिई। चैतको अन्तिम दिन बिहानीपख रोचकले एक्कासि फोन गर्यो, मुना मनैदेखि खुसी भई।
'२०७९ नयाँ साललाई स्वागत गर्न घान्द्रुक जाम न हुन्छ,' रोचकले मुनालाई फोनबाटै स्वीकारोक्ति माग्यो।
'हुन्छ! भइहाल्छ नि' फुरूगं हुँदै मुनाले भनी। ‘तर कहिले?’ मुनाले प्रश्न गरी।
‘आज गएर उतै बस्ने, अनि भोलि सूर्योदय हेरेर फर्कने, हुँदैन?’ रोचकले जवाफ दिइहाल्यो।
मुनाले सिधै हुँदैन भनी।
‘भोलि जाम न फेरि १ गते नै घरबाट बाहिर गएर के रात बिताउनु। मलाई त अप्ठ्यारो लाग्छ। अहिलेसम्म बसेको पनि छैन।' मुनाले असहज हुँदै स्पष्टीकरण दिई। तर रोचक मान्नेवाला थिएन।
'केही हुँदैन के! मैले भनेपछि मान न! मप्रति पनि विश्वास छैन हो? आज गएर बसेपछि भोलि बिहानै फर्किने। होटल पनि आज बूक गरौंला। कहिलेकाहीँ नगरेका चिजहरू पनि गरी एकचोटि अनुभव लिनुपर्छ के।’
रोचक फोनबाटै फकाउँदै थियो। मुना भने मान्न तयार थिइन। तर प्लान क्यान्सिल हुने डरले 'हुन्छ' भनी।
'अनि सुन त रूम बुक गर्दा चाहिँ दुइटा सिंगल बेड भाको रूम बूक गर है!' मुनाले थपी।
रोचकले मुनाको यो गम्भीर कुरालाई हाँसोमा उडायो र जिरो किलोमा दिउँसोको तीन बजे भेटेर जाने भन्दै फोन राख्यो।
एक वर्षअघि, रोचक र मुनाको पहिलो भेट पिएन क्याम्पसको गेटमा भएको थियो। असार ताका झमझम झरी परिरहेको थियो।
मुना क्याम्पस बाहिर छाता ओढेर गाडीको प्रतीक्षामा थिई।
त्यसैबेला बाइकमा आएको रोचक मुनाको अगाडि आएर रोकियो।
'कहाँसम्म जाने होला?' भनी सोध्यो।
मुनाले सुरूमा त जानलाई सहमति जनाइन। तर कोठामा पुगेर भाइबहिनीलाई खाजा बनाउन ढिलो हुने डर र छिटो पुगिने लोभले बाइकमा चढी।
'कहाँसम्म पुग्ने हो हजुर?' रोचकले सोध्यो।
'हजुरको घर कता हो र?' मुनाले प्रतिप्रश्न गरी।
मुनाले बुझ्दै जाँदा थाहा पाई रोचकको घर लेकसाइड रहेछ। मुनाले पृथ्वी चोकमा आफू ओर्लिने विचार गरी। तर रोचकले मुनाको कोठा भएको चोकसम्म नै नरोकी ल्याएर छाडिदियो।
‘धन्यवाद है!’ जाने बेलामा मुसुक्क हाँस्दै मुनाले भनी। नाम र नम्बर साटासाट गरे। बेलुका फेसबुकमा जोडिने वाचा पनि।
धनाढ्य होटल व्यापारीको छोरा रोचक र गाउँबाट पढ्न पोखरा झरेकी मुनाबीच प्रेमको पालुवा पलायो।
फुर्सद हुँदा रोचक मुनालाई लिन सधैं क्याम्पस जान्थ्यो। कफी पिउन लैजान्थ्यो। तर सधैं पैसा रोचकले तिर्दा उनलाई नमज्जा लाग्थ्यो।
घरको बन्धन र भाइबहिनीलाई पढाउनुपर्ने बाध्यताबीच मुनाले पार्ट टाइम काम गर्थी। साँघुरो कोठा अनि ठूलो सपनाबीच संघर्ष गरिरहेकी मुनाको जीवनमा फक्रिएको प्रेमले कुन मोड लिन्थ्यो उनैलाई थाहा थिएन।
आजसम्म बाआमाको वाचा र कसमभन्दा पर गएर मुनाले प्रेम गरेकी थिइन। न त कुनै लप्पन छप्पन। त्यही भएर होला रोचकले घरीघरी अप्ठ्यारा प्रस्ताव राख्दा निकै सोचमग्न हुन्छे। हाँसखेल रमाइलो गर्ने उमेर र चाहना भएर पनि अन्जानमा कहीँ कतै गएर नराम्रोसँग फस्ने पो हो कि भनी सधैं पिर लिन्छे मुना।
दिउँसोको २ बजिसकेको थियो। चैतको ३० गते बुधबार भए पनि मुना कलेज गएकी थिइन। रोचकले फोन गरेर निस्किन भन्यो।
दोमनको भारी भोकिर हाँस्न रमाउन भाइबहिनीलाई 'बेलुका म आउँदिनँ है' भन्दै मुना गई।
भाइबहिनीले कहाँ? किन? प्रश्न गरेनन्। किनकि भरोसा र आदरका अघि प्रश्नहरू निम्सरो हुन्छन्।
माइक्रोमा चढेर जिरो किलोसम्म पुगी। रोचक उनलाई कुरी बसेको थियो। रोचकलाई भेटेपछि मुनालाई आधा बोझ घटेझैं भयो। सबै कुरा भुलेर रोचकलाई बाइकपछाडि बसी च्याप्प समाती।
रोचकले हेम्जा हुँदै नागडाँडाको बाटो कुदायो। सिमसिम पानी परिरहेको थियो, नयाँ पुल पुग्दा पानी बेस्सरी दर्कियो। पानीमा रूझ्दै दुवै घान्द्रुकको उकालो उक्लिए।
मुना पहिलो पटक आएकी थिई तर रोचक साथीहरूसँग धेरै पटक आइसकेको रहेछ। ठाउँ ठाउँमा बाटो निकै अप्ठ्यारो थियो, सात्तो नै लैजाने। जसो तसो गाउँ पुगेपछि मुनाले राहतको सास फेरी।
रात पनि झमक्कै परिसकेको थियो। बाइक पार्किङ गरी नसक्दै होटलको दाइ बाटोसम्म लिन आइसक्नु भएको थियो।
होटलमा मान्छेहरू टनाटन थिए। धेरै जसो प्रेमिल जोडीहरू नै थिए।
'धन्न हिजो नै बुक गर्नुभयो नत्र हजुरहरूले कोठा नै नपाउने' भन्दै दाइले बधाइ दिँदै थिए। मुनाले पनि 'गुड जब माई ब्वाई' भन्दै रोचकलाई थमथमाई।
होटल सनराइजमा रूम नम्बर २०२ मा लगेर रोचक र मुना दुवैले ब्याग राखे। फ्रेस हुन लागे। मुनाले भनेझैं रूममा दुइटा सिंगल बेड थिए। त्यसपछि उनी झन् दंग भई।
होटलको आँगनमा नाचगान सुरू भइसकेको थियो। आगो फुकेर होटलका साहुजीले सबै पाहुनाका लगि सितन र झ्वाइँ खट्टे पनि तयार पारिसकेका थिए। रोचकलाई तल ओर्लिन हतार भइसकेको थियो। तर मुना भने उता भाइबहिनीलाई राम्रोसँग सुत ल भन्दै फोनमा व्यावहारिकपन पस्कन व्यस्त थिई।
केही समयपछि दुवै तल ओर्लिए। मुना भने कसैले चिन्ने हो कि भन्ने डरले मास्क लगाई। रोचक भने झ्वाइँ खट्टे मगाएर पिउन थाल्यो। मुनालाई पनि पिउन करकाप नगर्ने कुरै भएन।
'अहिलेसम्म खाएको छैन, म खादिनँ' भन्दै थिई।
तर धेरै प्रयासपछि मुनाले पनि पिउन सुरू गरी। भुटेको भटमासमा एक दुई हुँदै चार गिलाससम्म पिउँदा मुनाले आफैंलाई कन्ट्रोल गर्न सकिन।
उता स्पिकरमा 'डाँडा घरे साइली..' बजिरहेको थियो। रोचकले मुनालाई नाच्न प्रस्ताव गर्यो। सबैले ताली पिटे। मुना पनि जसो तसो बिना कुनै लाज सरम रोचकसँगै कम्मर मर्काई। किनकि उनलाई नशा लागिसकेको थियो।
नाच्दा नाच्दै पानी फेरि दर्कियो। एकछिन ओझेल भएको पानी रातको आठ बज्दासम्म फेरि घमासान भएर ओर्लियो। आगो निभ्यो, गीत बन्द भयो अनि दुवै जना निथ्रुकै भिजे। सबै जना खाना खाएर आ-आफ्नो कोठातर्फ लागे। मुना र रोचक भने खाना नखाइकन रूममा गए।
रूम पुगेपछि दुवैले गम्छाले शरीर पुछपाछ पारे। एक अर्कालाई आँखा चिम्लन भन्दै चिसो लुगा फेरेर ओभानो लगाए। अनि केही तातो अनुभव गरे।
कामुकता प्यारो लागिरहेको समयमा मुनाले के सही के गलत छुट्याउने मेसो पाइरहेकी थिइन। बाहिर चट्यांग परेर घर नै थर्किरहेको थियो, त्यसमाथि चिसो हावाले झ्यालका पर्दाहरू उघारिरहेको थियो। एउटा बन्द कोठा अनि रूझेर तातो खोजिरहेका प्रेमील जोडी।
रोचकले विस्तारै मुनाका हातहरू समातेर खेलाउन थाल्यो। मुनालाई रोमान्स गर्ने चाहना भित्रैदेखि उजागर हुँदै थियो। तर पनि केही बचेको होशले ऊ टाढा भाग्न खोजिरहेकी थिई। कोठामा चुकुल लगाएर रोचकले बत्ती निभायो। रोचकले मुनालाई च्याप्प समातेर मीठो चुम्बन साटासाट गर्यो। त्यसपछि मुना आफैंले रोचकको शरीर चाही। रोचकले विस्तारै मुनाका कपडाहरू खोल्दै गयो, आफू पनि नांगो भयो। लुकाउन र देखाउन बाँकी केही रहेन। एउटा रित्तो खाटलाई साँची राखेर साँघुरो खाटमा दुइटा ज्यान खेलिरहे। रातको बाह्र बजेको रहेछ।
बाहिर 'ह्याप्पी न्यू इयर' भनेको सुनिँदै थियो। तर दुवै जना यौन सागरमा डुबुल्की मार्दै बसेका थिए। कतिखेर त्यो यौनको सागरबाट उत्रिएर निदाए, एकअर्काले पत्तो नै पाएनन्।
बिहान छिट्टै उठ्दा मुना आकाशबाट खसेजस्तै भई। निर्वस्त्र आफूलाई रोचकसँग एउटै बेडमा देख्दा रूँन मात्र सकिन। अनि जुरूक्क उठेर भुइँभरि फालिएका लुगाहरू टिपेर बाथरूम छिरी।
ऐना हेर्दा पहिलाजस्तो 'ब्युटिफुल मुना' अब आफू नरहेको भान पाउँदै गई। हाडछालाको कंकालजस्तै स्वरूप लाग्ने आफ्नै शरीर देखेर उनलाई घिन लागिरह्यो।
भगवानसँग हिजोको रात अघिको जीवन फिर्ता गर्न अनुरोध गर्न थाली। आफ्नो कुमारित्व आफैंले नष्ट गरेको र इज्जतमा नमेटिने दाग लगाएको भन्दै चिन्तित भई। बाआमा भाइबहिनीलाई के भनेर मुख देखाउने भनी पिरोली। बिहे अघि परपुरूषसँग सम्बन्ध राख्ने हिम्मत गरेकोमा उनलाई ग्लानी भइराख्यो।
तर जे नहुनु भइसकेको थियो। रोचक उठेर बेडमा नै झोक्राएर बसेको थियो। मुना निशब्द थिई।
रोचकले 'अब हामी बिहे गरौंला नि किन टेन्सन लिन्छ्यौ' भनेर सम्झाउन खोज्यो।
रोचकको बिहेको आश्वासनले मुनाको मन पलाउन सकेन। पोलेको विगतमा शितलता भर्न सकेन। बरू छिटो आफूलाई पोखराको कोठासम्म छोडिदिन आग्रह गर्न थाली।
दुवै उदास मन लिएर घान्द्रुकबाट ओर्लिए। बिहानै उदाएको घाम र टलक्क टल्केको माछापुच्छ्रे अन्नपूर्ण हेर्ने जाँगर दुवैमा थिएन। मुनाको कोठा अगाडि पुगेर छुट्टिने बेलामा रोचकले 'आई एम सरी' भनेर शिर निहुँर्यायो तर अहँ! छाँगाबाट खसेकी मुना अझै उक्लिएर विगतलाई स्वीकार गर्ने अवस्थामा पुगिन।
त्यसपछिका दिनमा रोचकले कयौं फोन गर्यो, उठेन। म्यासेजहरू सीन भएनन्। हप्ता अनि महिनौ बित्यो। अचानक असारको १९ गते बेलुका मुनाको फेसबुकमा अर्कै केटासँग बिहे भएको फोटो देखेर रोचक छाँगाबाट खसेझैं भयो।
सम्बन्धहरू गाँसिन चाहना भए पुग्ने रहेछ तर टुट्न बाहना चाहिँदो रहेछ भनेर गुनासाका फेदमुनि बसेर सुस्ताइरह्यो रोचक। नेपथ्यमा अन्जु पन्तको 'माया एउटासँग, बिहे अर्कोसँग' गीत गुञ्जिराथ्यो।