गाडीमा कुनै हिन्दी सिनेमाको मैले नसुनेको गीत चर्को स्वरमा बजिरहेको थियो। हामी बसमा बसेको आधा घण्टाभन्दा बढी भैसक्दा पनि बस हिँड्ने सुरसार थिएन।
चालक आफ्नो सिटमा बसेका थिए, गाडीको इन्जिन चलिरहेको थियो, उनको ढोका खुलै थियो।
उनी बाहिर कसैसँग संवादमा रमिरहेका थिए। गीतको चर्को स्वरले चालकले के कुरा गरिरहेका थिए भन्ने सुन्न सकिँदैनथ्यो। बसपार्कमा अरू गाडीका घारघारघुरघुर पनि थियो।
मैले आफ्नो दाहिनेतिर सिटमा बसेकी आमालाई हेरें।
उनले चुपचाप फुटेको सिसाको झ्यालबाट बाहिर बाहिर नियालिरहेकी थिइन्। के नियालिरहेकी थिइन्, मलाई थाहा भएन। मैले सोधिनँ पनि।
मेरा नजर आमाका आधाभन्दा बढी फुलिसकेका कपालका केस्रामा रोकिए। आमाको गाढा हरियो रङ्गको ब्लाउजमाथि हल्का पहेंलो रंगको धोतीको सप्कोमा बसेको चुल्ठोका कुनै बेला गाजलको रंगभन्दा पनि काला र चम्किला ती केस्रा सेतामात्र हैन खस्रा पनि भैसकेका थिए।
मैले अनायसै आमालाई एकोहोरो नियालें। चाउरी पर्न सुरू गरेका उनका खस्रा र मैला हातका त्वचाहरू मेरी आमाको बुढ्यौलीका मात्र संकेत थिएनन् ती त उनको संघर्ष र कठिनाइका दर्शकहरू पनि थिए।
दुई दशकदेखि रंगीन चुरा लगाउन नपाएका ती हातहरूमा मेरा नजर परेपछि मलाई आमाको खाली सिउँदोको पनि याद आयो। आमा अर्थात् मेरो जीवन यात्राको सहयात्री।
अरू कसैको आगमनले मेरो जीवन यात्रामा बाधा होला भनेर नै उनले मसँग मात्र यात्रा तय गर्ने निश्चय गरेकी थिइन्।
आफ्ना सारा सपना र आशा ममा केन्द्रित गरेर मलाई डोर्याइरहिन्। त्यस्तो सोचाइले म अचानक भावुक भएँ।
आमाले मलाई हुर्काएका क्षणहरू सम्झँदै आँखा चिम्लेर सिटमा टाउको राखेर टोलाएँ।
‘नानीको घर काँ’ हो? मैले नानीलाई कता देखे जस्तो लाग्यो’ मेरो कानैनेर गुन्जिएको प्रश्नात्मक एउटा आवाजले मलाई आँखा खोल्न लगायो।
एक जना पचास काटेका जति देखिने ‘बाजे’ म बसेको सिट नजिकैको सिटमा बस्दै थिए। मैले आँखा खोलेपछि सुकेका ओठ तन्काएर मुस्काएँ।
अचानक एक अपरिचितले आफूलाई प्रश्न सोधेपछि म अलि सम्हालिएँ।
म बुझ्ने भएपछि पहिलो पटक आफू जन्मेको गाउँ जाँदै थिएँ। तर त्यो गाउँलाई मैले मेरो घर भन्दिनँ। त्यही गाउँ जानको लागि म बसमा थिएँ। म एउटा विकट पहाडको गाउँमा जन्मेकी हुँ। तर अब त्यो गाउँ पहिले जस्तो विकट छैन। ग्राभेल मात्र गरेको भए पनि सडक पुगेको थियो। आमाले जाने मन गर्नुभएको थिएन। त्यो गाउँसँग आमाका अनेक पीडाका कहानीहरू जोडिएका छन्। तर कर गरेर मैले उनलाई पनि साथै लान लागेकी थिएँ। अरू सिटभन्दा अलि सफा र नच्यातिएको सिट खोजेर हामी अलि छिटो नै बसमा बसेका थियौं। हामीले कुर्दै गर्दा बिस्तारै यात्रु भरिएका थिए।
‘हजुर?’ मैले उनको प्रश्नको उत्तर नदिई उनलाई हेर्दै विनम्र हुँदै भनें।
उनले कुनामा छाला खुम्चिएका आँखा झन् बढी खुम्चाएर मलाई हेरे र फेरि त्यही प्रश्न दोहोर्याए, ‘मैले नानीलाई कता देखेजस्तो लाग्यो। घर काँ हो र?’
उनको बोलीमा पर्वते लवज स्पष्ट सुनिन्थ्यो। मान्छे भलाद्मी देखिन्थे। मुहारमा कुनै कपटपन र आँखामा कुनै झूट देखिँदैनथ्यो। उनले खरानी रंगको सर्ट, त्यसमाथि इस्टकोट लगाएका थिए।
खुट्टामा स्पोर्टस् जुत्ता र कालो पेन्ट थियो भने शिरमा अलि मैलो ढाका टोपी। कालाभन्दा सेता धेरै देखिने जुंगा दाह्री दुवै खोरेका भए पनि बढेर झुसे भएका थिए।
सज्जन मान्छे देखेपछि मैले नढाँटी उनलाई आफ्नो घर बताएँ।
‘पहाड घर काँ हो?’ उनले फेरि सोधे।
‘पहाड घर छैन’ मैले सोझै उत्तर दिएँ। मैले कसैसँग कुरा गरिरहेको सुनेर आमाले पुलुक्क मतिर हेरिन् अनि फेरि आफ्ना नजर झ्यालबाहिर नै लगाइन्।
‘नानीहरू पहाडबाट झर्या हैन? मैले त पहाडतिरै देख्या जस्तो लाग्यो। कस्की छोरी हौ?’ उनले सोध्न छोडेनन्।
उनको प्रश्नले मलाई झर्को लागिसकेको थियो। पहाड घर छैन भनेपछि त चुप लाग्नु नि! तर मैले उनलाई ‘पहाड घर छैन’ भने पनि वास्तविकता चाहिँ उनले भने जस्तै हामी पहाडबाटै झरेका हौं रे। तर मलाई याद छैन। त्यसैले आफू जन्मेको ठाउँ भए पनि पहाड मेरो लागि घरजस्तै लाग्दैन।
म सम्झने हुँदा हामी तराई झरिसकेका थियौं। म छ महिनाकी हुँदा आमा र म पहाडबाट तराईतिर सरेका हौं रे। एकल महिलाकी छोरी भएकोले मेरो बाल्यकाल निकै कठिनाइमा बितेको थियो। बसाइ सरेपछि म एक पटक पनि आफू जन्मेको गाउँ गएकी थिइनँ। आमाले त गाउँको सम्झना गर्न पनि चाहँदैन थिइन् तर जति निष्ठुरी बन्न खोजे पनि मनले मानेन र एक पटक त जानुपर्यो भनेर हामी त्यताको यात्रामा निस्केका थियौं।
आमा चार महिनाकी गर्भवती हुँदा बुवालाई क्षयरोगले लग्यो। गाउँमा अस्पताल थिएन। सबभन्दा नजिकको अस्पताल भनेको पाँच घण्टा पैदलको दूरीमा रहेको सदरमुकाममा थियो। त्यो पनि नाम मात्रको सरकारी अस्पताल। न राम्रा डाक्टर थिए न ठूलो रोगको उपचार नै सम्भव थियो।
बुवाले क्षयरोगको औषधि खाइरहनु भएको थियो। नियमित औषधि खानुपर्ने थियो तर धेरै पटक औषधि सकिएर बीचमा रोकिँदा क्षयरोग निको हुनुभन्दा झन्झन् बल्झिदै गयो। त्यो दिन बुवालाई निकै चापेपछि आमाले डोकोमा बोकेर दिनभरी लगाएर सदरमुकाम लिएर गइछन्। रोग सर्छ भनेर गाउँका अरू कसैले बोकेर लान सहयोग गरेनन्। आमाको ढाडैभरि रगत छाद्दै खोक्दै बुवा बाटोमा नै बेहोश भैसक्नु भएको थियो रे।
अस्पताल पुर्याउनासाथ आमाको आँखा अगाडि बुवाले सधैंको लागि आफ्ना आँखा चिम्लनु भयो। न मैले पेटभित्रबाट बुवालाई देख्न पाएँ, न बुवाले पेटभित्रको मलाई देख्न पाउनु भयो। बुवा र मेरो चिनाजानी त्यत्ति मै सदाको लागि सकियो।
बुवालाई आफ्नो सामु उभिएको, आफूसँग बोलेको, आफूलाई काखमा लिएको अनुभव गर्न नपाए पनि बुवाले छोडेर गएका तस्बिरहरूले मलाई बुवाको अनुपस्थितिको थोरै भए पनि कम गरे। तिनै तस्बिरहरू नै मेरा लागि बुवाका प्रतीक हुन्।
‘बुवा’ भन्ने शब्द करणकुहरमा गुञ्जनासाथ मेरो दिमागमा मेरोजस्तै गोलो चेप्टो अनुहार, थेप्चो नाक, अलि चिम्सा आँखा अनि ओठमाथि पातला जुङ्गा भएको शरीरमा खुम्चिएको धर्के सर्ट अनि शिरमा ढाका टोपी लगाएको २४-२५ वर्षको केटोको चित्र बन्छ। त्यो चित्र मैले बुवाका दुई वटा श्याम स्वेत तस्बिर र एउटा रङ उडेको रंगीन तस्बिरमा मात्र देखेको चित्र हो।
आमाले मेरो अनुहार ठ्याक्कै बुवाको अनुहारसँग मिल्छ भन्नुहुन्थ्यो। बाबुको अनुहारसँग अनुहार मिल्ने छोरी भाग्यमानी हुन्छन् भनेर सबैले भन्थे। म पनि आफ्नो भाग्य पक्कै ठूलो छ भनेर मख्ख पर्थें। तर मेरो भाग्य उनीहरूले भने जस्तो ठूलो हुन सकेन। मेरै कारणले मैले मात्र हैन, आमाले पनि निकै दु:ख झेल्नुपर्यो।
सायद म नजन्मेको भए आमालाई त्यति गाह्रो हुन्थेन होला। म जन्मेको छ महिनापछि एकल बुहारीसँग बस्न गाह्रो भयो भनेर घरकाले आमालाई छुट्टाइदिएछन्। पहाडमा बसेर छोरी हुर्काउन गाह्रो हुने भयो भनेर आमा तराई झर्ने निर्णय गरिन्।
आमाको सानिमाको जेठानीको छोरीको बिहे तराईमा भएको रहेछ। उनैलाई भनेर उनकै गाउँनजिकै जग्गा किन्ने कुरा मिलाएर आमा एक दिन पिँठ्यूमा बडेमानको डोको अनि काखामा मलाई झुण्ड्याएर तराई झरिन्। अरू दुई जना भरियाले आफूभन्दा दुई गुणा ठूला आकारमा हाम्रा भाँडाकुँडा, लुगा कपडा बोकेर ल्याइदिए। तर मलाई त्यो पनि केही याद छैन। आमाले भनेकोले मलाई थाहा भएको हो। म तराईकै गाउँमा हुर्केकी हुँ।
तराई झरेपछि पहाडमा भन्दा धेरै सजिलो भयो तर पनि जीवन कठिनाइमा नै बित्यो। धेरै नभए पनि अलि मेहनत गरेमा र मौसमले साथ दिएमा दुई मुखले वर्षभरि खान पुग्ने अन्न उब्जाउन सकिने जग्गा भने थियो। नपुगेमा सापट पैंचो गरेर आमाले मलाई हुर्काइन्।
नगद आउने केही स्रोत हामीसँग थिएन, त्यसैले मैले गाउँकै स्कुलमा पढें। पैसा कति लाग्थ्यो र कहाँबाट आउँथ्यो भन्ने कुरा न त मलाई थाहा थियो न त मेरो सरोकारको विषय थियो। मैले आमालाई त्यसको बारेमा कहिल्यै सोधिनँ। आमाले पनि कहिल्यै भनिनन्। आफ्नो परिवारको लालनपालान, शिक्षा र स्वास्थ्यको लागि एउटी आमाले जे गरे पनि त्यो पवित्र हुन्छ, त्यो जायज हुन्छ भन्ने मलाई लाग्छ।
मलाई हुर्काउन र पढाउन एउटी आमाको ब्रम्हले जे सही देख्यो आमाले त्यही गरिन्। मलाई त्यसको बारेमा जान्नु पनि थिएन र कुनै गुनासो पनि थिएन।
तर हाम्रो गाउँको बसाइ पनि दीगो हुन सकेन। आफैं खेती गर्नको लागि आमा एक्लै सक्षम थिइनन्। काम गर्ने राखेर खेती गर्दा उब्जेको आधा जति काम गर्नेलाई दिँदा नै सकिन्थ्यो। त्यसमाथि गोरु पाल्नुपर्यो, हरेक वर्ष कुलो खन्न जनश्रम गर्नुपर्यो, मल किन्नु पर्यो। गाह्रो पनि हुने, उब्जनी पनि राम्रो नहुने, कहिले खडेरी, कहिले बाढीले गर्दा सधैं त्रासमा बाँच्नुपर्ने गाउँको जिन्दगीले आमालाई छिट्टै थकायो।
हाम्रो गाउँमा बाहुन क्षेत्रीहरूको बाहुल्यता थियो। सुरू सुरूमा उनीहरूले हामीलाई राम्रै सहयोग गरे पनि पछि आमा ‘अर्कै’ काममा लागेको शंका गरेर उनीहरूले हामीलाई हेलाको दृष्टिले हेर्न थाले।
आमालाई मात्र हैन, गाउँका केटाकेटीहरूले मलाई पनि बहिस्कार गरे। उनीहरू मसँग खेल्न हिच्किचाउने भए। कुनै बच्चाले हिम्मत गरेर मसँग खेल्यो भने उसले घरमा गाली र थप्पड खाने भयो। गाउँलेहरूले सबैतिर तिरस्कार र एक्लाउने नीति लिए, सहयोग गर्न पनि छोडे। त्यसपछि हामी गाउँ छोडेर बजार सर्न बाध्य भयौं। त्यो बेला म दस वर्षकी थिएँ।
बजारमा बसाइसराइ गरेपछि आमाले बसपार्कमा चिया र नास्ताको होटल खोलिन्।
चिया र नास्ताको मात्रै पसल भने पनि त्यहाँ हामीले रक्सी पनि बेच्थ्यौं। झुपडी मात्र भए पनि त्यहाँ मानिसहरू राति बास पनि बस्थे। म अलि बुझ्ने भएपछि हामी बस पार्क छोडेर बजारको अलि भित्रतिर आफ्नै घरमा किराना पसल खोलेर बस्यौं। किराना पसलमा फुर्सदमा मैले पनि आमालाई सघाएँ। गाउँको जग्गा बेचेर हामीले बजारमा घडेरी किन्यौं। त्यही घडेरीमा सुरूमा एउटा झुपडी, अलि पछि काँचो इँटाको एक तले घर र पछि पक्की इँटाको सिमेन्ट लगाएको घर बनाएर हामी बजारका स्थायी बासिन्दा भयौं।
मलाई बोर्डिङ स्कुलमा पढाउन हाम्रो किराना पसलको पैसाले पुग्दैनथ्यो। हामीलाई नगदको जहिले पनि अभाव नै रह्यो। मैले बजारको सामुदायिक स्कुलमा पढें। त्यहीँबाट बाह्र पास गरें र बजारकै क्याम्पसबाट बि एड गरें। हामीलाई पाइला पाइलामा कठिनाइहरू आए। कहिलेकाहीँ बिरामी हुँदा औषधि गर्नको लागि पैसा हुँदैनथ्यो। दसैं तिहारमा हरेक वर्ष नयाँ लुगा हाल्न पाइँदैनथ्यो। दसैंमा पनि पेटभरी मासु भात खान पाइँदैनथ्यो। तर जीवनको यात्रा जति कठिन भए पनि आमाले बाटोमा यात्रा छोडिनन्, बाटो पनि बिराइनन्। आफ्नो सम्पूर्ण आशा र भविष्य ममा केन्द्रित गरेर लगातार अगाडि बढिरहिन्।
तर जति नै कठिनाइ भोगे पनि आमाले मलाई कहिले पनि बुवाको अनुपस्थिति अनुभव हुन दिइनन्। मेरो लागि फोटोको बुवाबाहेक बुवा भने पनि आमा भने पनि दुवै उनी नै भइन्। अन्य बच्चाले भन्दा नितान्त फरक अनुभवका साथ मैले आफ्नो बाल्यकाल पूरा गरें।
मैले अरूले जस्तो बाहिर गएर पढेर डाक्टर, इन्जिनियर हुने मौका पाइनँ। तर त्यसको बदला मैले आमालाई कहिले पनि छोड्नु परेन। मैले आमाकै काखामा बसेर, आमाले पकाएको खाना खाएर आफ्नै थलोमा पढें। त्यसैले अरू जस्तो बाहिर पढ्न जान नाएकोमा मलाई दु:खभन्दा खुसी लाग्छ।
जीवनसँग लड्दै, बाधा अड्चन पन्छ्याउँदै हामी अलिकति राम्रो स्थितिमा पुग्यौं। म सरकारी स्कुलमा शिक्षिका भएपछि जीवन बल्ल अलि सुखको बाटोमा हिँड्न सुरू गर्यो।
तर आमाले जति नै बुवाको अनुपस्थितिको अनुभव गर्न नदिन कोसिस गरे पनि मैले बुवालाई कहिल्यै बिर्सन सकिनँ।
मलाई मेरो बुवा बिर्सन नदिनुमा हाम्रो समाजको ठूलो योगदान छ। आफ्नो बुवालाई किन पो बिर्सन चाहुँला र? तर मैले बिर्सन नै खोजे पनि समाजले मलाई बिर्सनै दिएन, समय समयमा बुवालाई सम्झाइरह्यो। म जन्मेदेखि आजसम्म पनि बुवाको नाम आफ्नो ओठमा बोकेर हिँडिरहेकी छु। मेरो जन्म दर्ता गर्दा, अस्पतालमा खोप लगाउँदा, स्कुलमा नाम लेखाउँदा, परीक्षाको फाराम भर्दा सबै बेला मैले बुवाको नाम नै चाहिन्थ्यो। कहिलेकाहीँ बाहेक आमाको नामै चाहिँदैनथ्यो। नागरिकता बनाउन गएँ, बुवाको नाम। क्याम्पसमा नाम लेखाउन गएँ, बुवाको नाम, जागिरको लागि फाराम भर्न थालें, बुवाको नाम, बैङ्कमा खाता खोल्न बुवाको नाम, मोबाइल फोनको सिम कार्ड किन्न बुवाको नाम। सबै भनेर त साध्य छैन तर जे काम परे पनि बुवाको नाम। त्यसैले बुवाको नाम मलाई प्रिय थियो, कण्ठस्थ थियो। कसैले ‘कस्की छोरी हौ?’ भनेर सोध्दा मेरो मुखमा, ‘जगतमान सिंह बुढा मगर’ भन्ने उत्तर प्रश्नकर्ताको प्रश्न नसकिँदै आइसकेको हुन्थ्यो।
ती बाजेले ‘कस्की छोरी हौ’ भनेर सोध्दा सधैंझैं बुवाको त्यही श्याम स्वेत तस्बिरको चित्र मेरो दिमागमा कोरियो र मेरो मुखबाट ‘जगतमान सिंह बुढा’ निस्कनै थालेको थियो तर मेरा नजर अचानक आमामा गएर अड्किए।
मैले सिटमा आड लागेर आँखा चिम्लेर सोचेका अनेक प्रसङ्गहरू मनमा उर्लन थाले। आफू सम्झने भएदेखि अहिलेसम्म आमासँग बिताएका क्षणहरू, आमाले मेरो लागि गरेका त्यागहरू, उनले पाएका दु:खहरू, उनले गरेका संघर्षहरू सबै एकै पटक आए।
उनले अरू आमालेजस्तो नौ महिना गर्भमा राख्ने र मलाई आफ्नो दूध पिलाएकी मात्र थिइनन्, उनले मलाई आफ्नो सम्पूर्ण खुसी र समय दिएकी थिइन्। उनी मेरो लागि आमा मात्र हैन, बुवा मात्र हैन सर्वस्व नै थिइन्। तर हाम्रो समाजले जहिले पनि मलाई आफूले देख्न पनि नपाएकी बुवाकी छोरी भन्न सिकाएको थियो।
म त खासमा हरेक कोणबाट आमाकी छोरी थिएँ, मेरो जीवनमा मेरो बुवाको त खाली एउटा कोषिका मात्रको देन थियो। मलाई आमाप्रति समाजले गरेको अन्यायविरूद्ध बोल्न मन लाग्यो। मैले त्यो दिनदेखि आमाकी छोरी भनेर चिनाउने अठोट गरें र मैले ती बाजेको प्रश्नको उत्तरमा ‘चन्द्रकला बुढा मगर’ भने।
आफ्नो नाम सुनेपछि आमाले मलाई पुलुक्क हेरिन्। म पनि उनीतर्फ फर्केर मुसुक्क हाँसे। उनी पनि मुस्कुराइन्। आमाको त्यस्तो हाँसो मैले पहिले कहिल्यै देखेकी थिइनँ। उनको त्यो हाँसोमा खुसी मात्र थिएन एउटा अचम्मको चमक र सन्तोषको भाव थियो।