मलाई ऊ एकदमै मन पर्थी
तर
यो कुरा उसले कहिल्यै था' पाइन!
त्यसैले होला
भोलिपल्ट ऊ अमिली भएर आई
तर
सबैका मुखामुख पुग्दा
ऊ मेरी नहुँदै जुठी भइसकी!
मैले पर्खिएँ आफ्नो पालो
तर
अर्कोपल्ट
ऊ अर्कैकी भएर आई!
उफ्!
म अब कसको लागि फेरि कस्तो भएर
कति पर्खाइ कुरिरहनु!
अरूको लागि सबथोक भैदिँदा
म आफ्नै चाहिँ कहिले भइदिनु!
कसै-कसैको मन चिसोले कठाङ्रिएको बेला
ऊ सुख्खा
तर
पिरी हुन्थी
कसै-कसैको मन तरङ्गले कठाङ्रिएको बेला
रसहरूमा निथ्रुक्क भिजेकी हुन्थी!
मैले कतिपटक पड्क्याए जिब्रो
तर
ऊ हुँदाहुँदै पनि
मेरो लागि कहिल्यै बनिन!
त्यस दिनपछि
पानीपुरी
तिमी मलाई कहिल्यै मन परिनौ।