सधैं उसको 'गुड मर्निङ' मेसेजसँग सुरु हुने मेरो बिहानी आज उसको शुभकामना मेसेजले सुरु भयो। भन्नुपर्दा मेरो श्रावण नै उसको ह्याप्पी श्रावणवाला मेसेजसँग सुरु भएको थियो। ह्याप्पी तीज, ह्याप्पी विजया दशमीजस्ता मेसेज त हरेक वर्ष पाइन्थ्यो, तर ह्याप्पी श्रावण पहिलो पटक पाएकी थिएँ। स्पेशल फील भइराथ्यो।
'थ्यांक यु,' ब्लश गरेको इमोसँग पठाएँ।
मेसेन्जरको नोटिफिकेशन फेरि बज्यो- 'आज भेटम् है। म तिमीलाई हरिया चुरा र मेहेन्दी किनिदिन्छु।'
मेरो मुस्कानको चौडाइ बढेर आयो। उसको यस्तै साना-साना कुरामा म मायाका अनेकौं सुन्दर रुपहरूको चित्रण पाउँथेँ। आखिर मायारुपी बिउको मलजल भन्नु नै स-साना सुन्दर प्रयासहरू नै त हुन्।
'मसँग पहिलै हरिया र पहेँला चुरा धेरै छन्। तिमीले त्यति भन्यौ खुसी लाग्यो,' जवाफमा लेखेर पठाएँ।
'घरमा भए नि के भयो, मैले दिएको त छैन नि तिमीलाई।'
हुन त हो। उसको नामको चुरा र मेहेन्दी लाउन मलाई नि मन नभएको होइन, मैले हुन्छ भनेर मेसेज गरेँ।
खाना खाइवरी म घरबाट हिँडें। हरियो कुर्तीमा रातो सल ओढेर मेरा हातमा उसको नाममा सजिएको मेहेन्दीको कल्पना गर्दागर्दै म चाबहिल पुगेछु। चोकभित्र रहेको एउटा कस्मेटिकमा गएर उसले मलाई हरियो चुरा किनिदियो। पसलभित्रै एकहुल महिलाहरू चुरा र मेहेन्दी लाउँदै थिए। मैले पनि त्यतै बसेर चुरा र मेहेन्दी लगाएँ, हत्केलाको बीचमा उसको नामको पहिलो अक्षर कोरेर।
मख्ख पर्दै उसलाई हेरेँ, ऊ पनि छाती ठूलो फुलाएर मख्ख परेको थियो। त्यसपछि हामी चाबहिलको गणेश मन्दिर दर्शन गर्न गयौँ। मलाई हामी नवविवाहित जोडीझैँ लागिराथ्यो। मन्दिरमा हामीले २/४ वटा फोटो पनि खिच्यौँ।
'ला! एउटा कुरा त किन्दिनै बिर्सेछु,' उसले मेरो हात समाउँदै भन्यो।
के हो भन्दै आँखैले सोधेँ। 'पोते' आँखा झिम्काउँदै जिस्काउँदै ऊ अघि बढ्यो।
हातको मेहेन्दी बल्लबल्ल जोगाउँदै घर पुग्नासाथ मैले फेसबुकमा मन्दिरमा खिचेको फोटो प्रोफाइल पिक्चर अपलोड गरेँ, क्याप्सन थियो-
सपना पूरा या अधुरा सबै तिम्रै नाममा
मैले गर्ने हरेक कुरा सबै तिम्रै नाममा
साउनको हरियालीसँगै रङ्गोस् हाम्रो माया
यो हातको मेहेन्दी, हरिया चुरा सबै तिम्रै नाममा।
पोस्टमा लाइक र कमेन्टहरू आउन थाले। कसैले 'अब हरियो मात्र हैन, रातो चुरा लाउने बेला नि भयो है' भन्दै जिस्काएका थिए भने कसैले 'साउनमा सिङ्गल फोटो आए नि अब तीजमा दुवैको फोटो आउन पर्यो' भन्दै लेखेका थिए।
म कमेन्टहरू पढ्नमै व्यस्त थिएँ, ममी आउनुभयो, 'खै देखा त कस्तो मेहेन्दी लाइछेस्!'
मलाई एक्कासी डर लाग्न थाल्यो। उसको नाम देख्नुभो भने त के भन्नु! मेरो अनुहारको रङ्ग उडिसकेको थियो। त्यही नि ममीलाई नदेखाई नहुने, हिम्मत जुटाएर देखाएँ। नभन्दै ममीको आँखा सबैभन्दा पहिला त्यही अक्षरमा गएर अडियो। पहिला त यस्तै कोही हैन भनेर टार्न खोजेँ, तर सकिनँ। कुनै न कुनै दिन त भन्नु नै छ सोचेर मैले सबै कुरा सत्यसत्य बताएँ। मेरो कुरा सुन्नेबित्तिकै ममीको अनुहारको रङ्ग उड्यो, त्यसरी नै जसरी मेरो उडेको थियो ममीले मलाई मेहेन्दी देखाउन लाउनु हुँदा।
'अरु केही नपाएर त्यही तल्लो जातकै केटा पाइस्!' ममीको आवाज ठूलो हुन थाल्यो।
'ममी, जात ठूलो र सानो हुँदैन भनेर हजुरले नै सिकाउनु भएको हैन र?' मेलै ममीलाई सम्झाउने कोसिस गरेँ, 'ऊ इमान्दार छ, मेहनती छ, मलाई बुझ्छ, र मलाई माया गर्छ। के जात ठूलो हो र यी कुराभन्दा?'
ममी रिसले आगो हुनुभयो, 'मायाले संसार चल्दैन केटी! यत्रो वर्ष कमाएको इज्जत माटोमा मिलाउने काम नगरेस्। २/४ दिनको मायाले केही नाप्दैन। त्यो केटालाई पनि भन्दे, आइन्दाबाट बोलेको थाहा पाए राम्रो हुनेछैन।'
यति भनेर ढोका बेस्सरी लगाउँदै ममी जानुभयो। बाहिर ममी र बाबाको कुरा हुन थाल्यो। बाबाले 'हाम्री छोरी बुझ्ने छे, तँ नआत्ती' भन्दै ममीलाई सम्झाउँदै हुनुहुन्थ्यो।
भित्र मेरा आँखा भरिएर आए। मैले सपना देख्न नपाउँदै टुटेको थियो। काम्दै गरेको हातले मेसेज लेखेर सबै कुरा उसलाई सुनाएँ। 'यसमा उहाँहरूको केही गल्ती छैन' उसले मलाई सम्झाउन थाल्यो।
'यो जात र धर्म भन्ने कुरा हाम्रो समाजमा यति बेस्सरी गढिएको छ कि यसलाई तिमीले र मैले मात्र सुल्झाउन सक्दैनौँ। हाम्रो पुर्खाको जीवन जात र धर्मले धेरै प्रभावित छ र यसलाई जरैबाट हटाउन अझै केही समय लाग्छ। तिमी नआत्तिनु, समयसँगै हामी उहाँहरूलाई पक्कै सम्झाउन सक्ने छौँ।' उसले यति भनेपछि मन अलि ढुक्क भएर आयो।
यसको केही दिन म्म ममी राम्ररी बोल्नु भएन। तर समय बित्दै जाँदा ममीले विस्तारै यो कुरा बिर्सिँदै जानुभयो। ऊ पनि आफ्नो मास्टरको पढाइ गर्न भनी जर्मनी गयो र मैले पनि यता मास्टर्स इन साइकोलोजि जोइन गरेँ। हामी अनलाइनमा समय मिलाएर कुरा गर्छौँ। एउटै देशमा नभए पनि हाम्रो माया कम भएको छैन, बरु लङ डिस्टान्स रेलेसनशीपमा झन् माया बढ्दो रहेछ। अझै पनि उसले मेरो सानोसानो कुराको ख्याल राख्न छोडेको छैन।
'ह्याप्पी श्रावण माया! हरियो चुरा र मेहेन्दीले मेरी मायाको हात मात्र होइन, जीवन नि सजाउन्।'
आज श्रावण एक गते, बिहानै उसको मेसेज आएको रहेछ। मेसेजसँगै तल जोडिएर एउटा फोटो पनि आएको थियो। फोटो मेहेन्दी र हरिया चुराको थियो।
मलाई खुसी हुन अरु के नै चाहिन्थ्यो र! दिउँसो गएर घर छेउकै कस्मेटिकमा नयाँ चुरा र मेहेन्दी लगाएँ। तर उसको नाम नलेखी। अनि मेरो एउटा राम्रो फोटो नि निकाल्दिन भनेँ। घर आइपुग्ने बित्तिकै त्यही फोटो अपलोड गरेर एक वर्षसम्म चेन्ज नगरेको प्रोफाइल पिक्चर चेन्ज गरेँ, क्याप्सन थियो-
मलाई छाडी अरु कोही नरोज्नु है माया
माया गर्न छोडी यसले नसोच्नु है माया
हातको नाम मेटिन्छ, मनको मेटिँदैन
यी हातमा तिम्रो नाम नखोज्नु है माया।