सामाजिक परम्पराको दश कर्म मध्ये एक गुन्यु चोलो। परम्पराअनुसार सात वर्षीय छोरीलाई गुन्यु-चोलो दिन सत्यनारायणको पूजा र होमको साइत हेरेकोमध्ये राम्रो साइत पर्सिको छ भन्नुभएको छ गुरुले। पर्सिको साइतको तयारी गर्नु छ।
उहाँ विदेशीनु भएको पनि पाँच वर्ष भैसक्यो। यो घर बनाएको ऋण तिरिसक्न पाए घर फर्कन्छु भन्नुभएको छ। त्यतिन्जेल मैले आमा र बाबा दुवैको भूमिका निर्वाह गर्नुपर्ने छ।
पूजाको लागि सामान जोर जम्मामा जुटेकीले आज घाँस जान भ्याइनँ। परालले मात्र नहोला गाईलाई भनेर हतार-हतार करेसा बारीको सानो घाँसको रुख इपिलिपीलाई नै आजको घाँस बनाएर गोठमा राख्दै साँझको खाना तयार पार्न भान्सामा जाँदै थिएँ, छोरी दगुर्दै 'ममी, भोक लाग्यो' भन्दै कुर्ताको फेरो समाउन आइपुगी।
उसलाई भोक लाग्नु पनि स्वभाविक थियो। दिउँस स्कुलमा के खाजा खाई, मैले भने बिहानको खानापछि उसलाई केही दिएकै थिइनँ। त्यसैले उनले भोक लाग्यो भन्दा कत्ति ढिलो नगरी उसकै लागि दिउँस बजारबाट फर्कंदा ल्याएको पाउरोटी र दूधको व्यवस्था गरेर साँझको खाना बनाउन लागेँ।
आज माइतीबाट आमा पनि आउँछु भन्नु भएको थियो तर साँझसम्म पनि आइपुग्नु भएन। किन होला भनेर फोनमा आमासँग कुरा गरेँ। आमाले 'आज आउन भ्याइनँ छोरी, भोलि आउँछु' भन्नु भएपछि 'हुन्छ तर भोलि भने चाँडै आउनुस् है' भन्दै फोन राखेर दिउँस गाँसेका टपरी मिलाउन लागेँ। छोरी मेरो छेवैमा बसेर दूध-पाउरोटी खाँदै मलाई सोध्न लागिन्।
'ममी, मेरो गुन्यु-चोलोमा मेरो कुन-कुन साथी बोलाउँ?'
गुन्यु चोलोको अर्थ उनले बुजेकी थिइनन् पक्कै पनि तर उनी खुसी थिइन्। उनलाई मैले भनेको थिएँ- गुन्यु-चोलोमा मेरी छोरीलाई परीजस्तै देखिन्छ, म गाँजल टिकी अनि यो चोली र गुन्यू लगाइदिनेछु भनेर।
उनलाई ल्याइदिएको श्रृंगारको समान देखाएदेखि नै उनको खुसीको सीमा नै थिएन। उनको खुसीसँगै म पनि खुसी थिएँ अनि उनको बोलीसँगै आफ्नो शब्द मिसाउँदै भनेँ- 'बोलाऊ कस-कसलाई बोलाउन मन छ।'
'हाम्रो घरमा सत्यनारायण भगवानको पूजा छ अनि मेरो गुन्यु-चोलो पनि भन है।' मेरो उत्तरले उनी हर्षित थिइन्।
'आजको रात कहिले जाला है मामु?' भन्दै होमवर्क भ्याउन कोठातिर कुदिन्। कुद्दै गर्दा पनि उनको एक्लो भलाकुसारी जारी थियो!
'भोलि त म मेरो सबै साथीलाई भन्छु, आज त मैले मेरो मिल्ने साथीलाई मात्र भनेँ, ममुले के भन्नु हुन्छ भनेर! भोलि त सबैलाई भन्छु।'
उनको भलाकुसारी सुनेर म आफै-आफै हाँस्दै थिएँ।
एक आवाज आयो- 'नानी!'
कसले बोलाउनु भयो भन्ने लागेर बाहिर हेरेँ, पल्लो घरको आमाले बोलाउनु भएको रहेछ।
मैले 'हजुर' भनेँ। उहाँले हातमा एउटा कार्ड समात्नु भएको थियो।
'नानी निम्तो लाऊ त' भन्दै उक्त कार्ड मेरो हातमा दिनुभयो, 'पर्सि नातिनीको गुन्यु-चोलो, अनि भोलि हल्दीको रसम छ! भोलि पनि आऊ है।'
मैले हुन्छ भन्दै विवाहको जस्तै रातो कार्ड समातेँ निम्तो स्वरुप। निम्तो त मलाई पनि दिनु थियो, दिउँसो सुपारी ल्याएको थिएँ झोलामा तर सबैलाई भोलि नै भन्नु पर्लाझैं लागेर मुसुक्क हाँस्दै निम्तो समातेँ अनि सोधेँ, 'कुन नातिनीको हो र आमा?'
उहाँले उत्तर दिनुभयो, 'कलाको कान्छी छोरी उत्शिखाको! तिम्रो छोरी र उत्शिखा त एकै सालका हुन् नि, तिम्रो छोरीको पनि बेला भयो त!'
'हो आमा, पर्सिको साइत राम्रो छ अरे नारायणको पूजाको लागि पनि। त्यसैले नारायणको पूजा लगाएर नानीलाई पनि गुन्यु-चोलो दिने विचार गरेको छु।'
आमा 'कस्तो एकै दिन परेछ' भन्दै झोलाको सुपारी निकालेर पहिलो निम्तो नै आमालाई भयो, सत्यनारायणको जलप्रसाद ग्रहण गर्न आउनुहोला, चुले निम्तो है' भन्दै सुपारी दिएँ।
उहाँले पनि 'भ्याएसम्म आउँछु नानी' भन्दै सुपारी समाएर 'ल म गएँ है त' भन्दै निस्कनु भयो। मैले हुन्छ भनेँ। मेरी छोरी भने यी सब कुरा निकै चाखिलो पारामा सुनिरहेकी थिई। पल्लो घरको आमा जानासाथ एउटा प्रश्न सोधिहाली- 'ममी, यो हल्दीको रसम भनेको के हो?'
'खै नानी, हल्दीको रसम भनेको त म पनि बुज्दिनँ। हाम्रो आमाले हामीलाई गुन्यु-चोलो दिँदा दसैँको टीकाको दिन टीका लगाएर दिनुभएको थियो' भन्दै म आफ्नै काममा लागेँ। उनी जिज्ञासु मनसँगै होमवर्क गर्न लागिन्।
बिहान चार बजे नै उठेर भोलिको तयारीमा जुट्नु थियो। आज आमा पनि आउनु भयो। बिहानै परिवारका सबै सदस्यको पनि जमघट भयो। बल्ल मलाई काममा सघाउने हातहरू भए। सबै मिलेर भोलिको तयारीमा लाग्दा काम सहजै सिद्धियो। बिहानैदेखि छोरीको खुसीको सीमा नै थिएन। स्कुल पनि साथीहरूलाई बोलाउन भनेर नै जान खोजेझैं लागेको थियो।
स्कुलबाट ऊ नाच्दै आएको देखेर सबैले उसलाई नै जिस्काइरहेका थिए। ऊ गमक्क परेकी थिई। उसको खुसीमा मेरो मन पनि दंग थियो। 'हैन, कति राम्री छोरी पाएकी हो' भन्दै हुनुहुन्थ्यो पल्लाघरे काकी! म मुसुक्क हाँस्न पछि परिनँ। घरमा धेरै खुसीको माहोल छाएको थियो।
पल्लो घरमा गीत बजेको आवाज आफ्नै घरमा बजे जसरी आउन लाग्यो। गाउँका सबै पहेँलो, हरियो भएर हल्दीको रसम भनेर जान लागे। मेरी छोरी पनि दगुर्दै पल्लो घर गई। मलाई पनि हल्दीको रसम भनेको के रहेछ हेर्न मन लाग्यो। घरमा आउनु भएको पाहुनाहरू यसै छाडेर जाने कुरो आएन। त्यसैले 'हेर्न जाउँ कस्तो रहेछ हल्दीको रसम हामीलाई पनि बोलाउनु भएको छ, कार्ड नै छ' भनेर सबैलाई हल्दीको रसम हेर्न लगेँ।
त्यहाँ रमाइलो थियो, गाना बजेको थियो, सबै पहेँला र हरिया थिए। भोलिको गुन्यु-चोलो भनेर आज यो रसम गरेको अरे! उत्शिखालाई पहेँलो पहिरनमा सजाइएको थियो। पहेँलै गहना, हातमा मेहेन्दीसँगै बेसार र दूधले नुहाउने कार्यक्रम रहेछ। खानाको राम्रो बन्दोबस्त थियो। जसले जे खाँदा पनि पुग्ने जसरी खाना खानेको पनि घुइँचो नै थियो। कोही नाच्दै थिए, कोही खाँदै त कोही पालैपालो फोटा खिच्दै थिए। मेरी छोरी पनि त्यसै माहोलको एक कुनामा बसेर यो दृश्य हेरिरहेकी रहिछ।
मेरो आखाँ छोरीमाथि पर्यो, उनको नजर सबैतिर घुमिरहेको थियो। उनको उनुहारमा भएको चमक हराएझैं लाग्यो मलाई! उनको अनुहारमा अलमलताको भाव झल्केझैं लाग्यो। कता-कता छोरीको असजहतालाई देखेर मलाई त्यहाँ बस्न मन लागेन। त्यसैले छोरीलाई हिँड घर जाउँ भने। उनी पनि लुरुक्क परेर मसँग घर आइन्। हामी आमाछोरी त्यहाँबाट घर आयौं। अरु सबैजना त्यहाँको रमाइलोमा भुल्नु भएको थियो। मैले कसैलाई बोलाइनँ पनि!
उनी मेरो हात समातेर घर हिँडेदेखि नै मनमा उब्जिएको प्रश्न सोध्न थालिन्, 'ममु, मेरो पनि त भोलि गुन्यु-चोलो हो नि अनि मेरो चाहिँ हल्दीको रसम गर्नु पर्दैन? उत्शिखालाई कति राम्रो देखिएको है ममु! त्यो लुगा अनि उनीले घाँटीमा लगाएको के हो?'
अनेकौं थिए उनका प्रश्न! जुन प्रश्नको उत्तर मसँग थिए तर उनको सानो मस्तिष्कले मेरो उत्तर बुझ्ने थिएन। त्यसैले उनलाई के भनेर सम्झाउने मैले पत्तो नै पाइनँ। अघिसम्म उनको अनुहार अल्मलिएको अनुभूति पाउने म अहिले उनको प्रश्नले आफै अलमलमा परेँ। भोलिको काम खासै बाँकी थिएन, त्यसैले म छोरीसँगै बसेर उनको होमवर्क भ्याउन लागेँ। उनलाई पढ्न मन थिएन सायद! हातमा पेन्सिल दिनासाथ उनी निदाइन्।
आज पूजाको दिन धेरै काम थियो। घरमा सबै हुनुभएकोले सजिलै पूजाको समयमा सबै काम भ्याइयो। घरमा खाना पकाउने जिम्मा बहिनी र नन्दको थियो। हामी सबै पूजामा बस्यौँ। नारायणको पूजा सिद्धिन झन्डै चार घन्टा लाग्यो। पूजा सिद्धिन लागेपछि गुरुले छोरीलाई पनि चरु होम्नको लागि बोलाउनु भयो।
मैले पनि बहिनीलाई छोरी खै भनेर सोधेँ। बहिनी छोरी खोज्न लागी। छोरी पल्लो घरको गुन्यु चोलोमा गएकी रहिछ, बहिनीले छोरीलाई लिएर आइन्। छोरीलाई चरु होम्न लगायौँ। मैले छोरीलाई 'अन्त नजाऊ, गुन्यु-चोलो दिने समय हुन लाग्यो' भनेँ। उनले चुपचाप मुन्टो हल्लाइन्।
होम सिद्धिएर छोरी खोज्दा फेरि छोरी पल्लो घरमा नै थिइन् र म आफै लिन गएँ। त्यहाँ छुट्टै रौनक थियो, गाना र खानाको, फोटा र पहिरनको। उत्शिखालाई परीजस्तै सजाइएको थियो। कलेजी लेहेङ्गा, गलामा हार, बेहुलीजस्तो श्रृङ्गार, साँच्चै राम्री देखिएकी थिइन्। त्यहाँको रौनकमा मेरी छोरी हराएकी थिइन्, मेरा नजरले मात्र भेट्ने ठाउँमा!
उनलाई मैले 'छोरी हिँड, गुन्यु-चोलो दिने बेला भयो' भनेँ। उनी मेरो हात समातेर हिँडिन् गर्वका साथ! 'मेरी आमाले लिन आइन्! अब म पनि सजिने छु उत्शिखाझैं भएर! म पनि परीजस्तै हुन्छु' भनेझैं खुसी हुँदै मसँग आइन्। मैले उनलाई ल्याइदिएको ढाकासुतीको चोली र त्यसै कपडाको फरिया थियो। आँखामा गाँजल, पातलो घुम्टो र ओठमा हल्का लिपग्ल्स लगाइदिएँ। मेरो नजरमा उनी परीभन्दा कम देखिइनन्।
खुट्टा धोएर पानी खाई टीका लगाइदिएर आशीर्वादस्वरुप धैरै पढ्नू भनेँ। घरमा आउनु भएको सबैले पालैपालो टीका लगाइदिनु भयो र आशीर्वाद दिनुभयो। गाँउघरबाट पनि आउनेहरूले छोरीलाई टीका लगाई आशीर्वाद दिनुभयो तर मेरी छोरीको अनुहार हाँसेन। उनलाई ती पहिरन मन परेन सायद!
मेरो पछिपछि लागेर 'ममु, म यो लुगा खोलेर अर्को लुगा लगाएर पल्लो घर जान्छु' भन्न लागी। यत्तिकै जाऊ न भन्दा रुन लागेकीले मैले केही भन्न सकिनँ। म चुपचाप आफ्नो काममा लागेँ। उनी रुँदै मेरो पछि लाग्न लागिन्। 'मलाई यो लुगा सुहाएन, म यो लाउन्न! पल्लो घरमा कति रमाइलो छ, म त्यहीँ जान्छु। उत्शिखाको गुन्यु-चोलो कति राम्रो छ। सबैजना मेरा साथी त्यहीँ छन्। हाम्रो घरमा कोही छैनन्, म त्यही जान्छु।'
उनको आँसुको अगाडि मेरो केही लागेन। उत्शिखाको जस्तो पहिरन ल्याइदिन सक्ने मेरो अवस्था नै थिएन। उनको जस्तो रौनकताको भोज गर्न सक्ने मेरो आर्थिक अवस्था नै थिएन तर म मेरी छोरीको अबोधताको अगाडि निरीह र विवश थिएँ। छोराछोरीको आवश्यकता पूरा गर्नुपर्ने दायित्व मेरो पनि हो तर म लाचार थिएँ, उनको आँसुको अगाडि! त्यसैले मैले उनको कपडा फेरिदिएर दसैंमा ल्याइदिएको घाँगर लगाइदिएँ। उनी आँसु पुछ्दै पल्लो घरतिर लागिन्। म अवाक मुद्रामा उनको पाइला नियाली रहेँ।
मन खिन्न भयो, चुपचाप काममा लागेँ तर मनमा अनेकौं प्रतिप्रश्न उठ्दै सेलाउँदै गर्न लागे। सुन्दरता सादापनमा पनि हुन्छ। मैले कति सुन्दर देखेको मेरी परी परको आकर्षण नियाल्दै होली।
मन अझै भारी थियो। साँझको आठ बज्न लाग्यो। म छोरी लिन फेरि गएँ। उनी अघिकै कुनामा थिइन्, एक्लै त्यही रौनकलाई नियाल्दै! म छोरीको छेउमा पुगेँ, 'सानु हिँड अब घर जाउँ।'
उनले आँसु पुछ्दै मेरो हात समातिन्। उनको हातको स्पर्श जब मेरो हातले पायो, उनलाई त ज्वरो पो आएछ भन्ने थाहा पाएँ। म छोरी बोकेर घर लागेँ।