घामलाई पश्चिम क्षितिजले आधा निलिसकेको थियो। अड्डा-अदालत, सरकारी-गैरसरकारी अफिस बन्द भएर मान्छेहरू आ-आफ्नो बासस्थान फर्कंदै गरेको प्रष्ट देखिन्थ्यो। टाढा-टाढा पुगेको पंक्षीहरू फर्कंदै थिए आ-आफ्नै गुँडमा।
ठिक त्यही समयलाई शुभ साइत ठानेर विपना बौद्ध आफन्तको डेराबाट चाबहिल गौशाला हुँदै पशुपतिनाथको आशीर्वाद बोकेर बागमती तरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न जाँदै थिई। बा-आमा अनि भाइ थिए विपनाको साथमा एयरपोर्टमा बिदाइ गर्न।
विपना घरकी ठूली छोरी, ठूलो जिम्मेवारी थियो ऊमाथि। भाइ सानै, बा-आमा डाँडामाथि पुगेको जूनजस्तै। सुदूरपूर्वको विकट गाउँबाट झरेकी विपना निम्न मध्यम वर्गको परिवारमा हुर्केकी। टाढाको परदेशमा धेरै धन कमाएर बा-आमालाई खुसी राख्ने सपना बोकी हिँडेकी ऊसँग साथमा केही थान कुर्था-सुरुवाल साथै गुन्द्रुक, सिन्की, भुटेको मकै, भटमासको पोको अनि आमाको मायाले भरेको स्यानो सुट्केस थियो।
हातमा पासपोर्ट र डकुमेन्टले भरेको सानो फाइल। बाटुलो निधारमा दहीमा मुसेको सेतो चामलको टीका। गलामा दुई/तीन वटा खादा। प्रस्थान गेटमा लाइन बसिन्। केहीबेरमै भुइँ छोडेर आकाशको बाटो हुँदै टाढा पुग्नेछे छोरी भन्ने पिरलोले विपनाकी आमा चुपचाप छोरीलाई हेरिरहिन्। नाकको डाँडी ओल्लो-पल्लो खोल्ची लपक्क भिझेको छ आँसुले। बग्दै गरेको आँसुको भलले गालाको चाउरी परेको खोल्चीहरू भरेर अनवरत चुहिँदैछ, च्यापुको बाटो हुँदै।
विपना भारी मन बोकेर एयरपोर्टभित्र पसिन्। बेलैमा बोर्डिङ पास लिएर गर्नुपर्ने अध्यागमनको कार्य सक्काएर अन्तिम प्रतीक्षालयमा पुगेर पर्खिरहिन् प्लेन उड्ने समय। कतार एयरबसको बोर्डिङ गेट खुल्यो। बोर्डिङ पास देखाएर विपना इकोनोमिक क्लासको आफ्नो सिटमा गएर बसिन्।
पहिलो पटक उड्दैछिन् विपना हवाईजहाजमा। रंगिबिरंगी थुप्रै सपना सजाउँदै। यात्रुहरूको घरको दैलोदेखि निक्लेको गोरेटोहरू फरक-फरक भए पनि लक्ष्य अधिकांशको लगभग उस्ताउस्तै छन्, विपनाको जस्तै। रंगरुप फरक-फरक देखे पनि सबैको सपनाहरू उस्तै वैदेशिक रोजगारीबाट केही आर्थिक उन्नति गरेर जिन्दगीलाई सहज बनाउने।
पौने पाँच घण्टाको उडानपछि प्लेन ल्याण्ड गर्यो हमाद इन्टरनेसनल एयरपोर्ट कतारमा। यात्रा पूरा भएको छैन विपनाको। बाँकी छ अझै साइप्रससम्म पुग्न। एयरपोर्टमा सहयोग गर्ने सहयोगीमार्फत बोर्डिङ गेट पत्ता लगाएर दोस्रो गन्तव्य पुग्ने फ्लाइटको समय कुरेर बसिन्।
प्रतीक्षारत समय सक्कियो। बेलैमा आफ्नो सिटमा पुगिन्। आँतुर मनको हलचललाई सान्त्वना दिँदै गर्दा फ्लाइटले टेकअफ गर्यो कतार एयरपोर्टबाट साइप्रसको लार्ना एयरपोर्ट पुग्न। यो पल्टको फ्लाइट बिल्कुल फरक पहिलेभन्दा। नेपाली एक्लै विपना, बाँकी अन्य मुलुकको थियो यात्री। लगभग चार घण्टाको उडानपछि पुगियो लार्नाका एयरपोर्ट।
अध्यागमनको सरकारी कामकाज सक्काएर विपना विस्तारै यात्री रिसिभ गर्ने स्थानमा पुगे। जहाँ एकजना अधबैंसे स्मार्ट महिला विपना लेखेको प्लेकार्ड लिएर उभिरहेको थिइन्। विपनाले सहजै अनुमान गरिन् त्यो नाम उनकै हो भन्ने।
'हाई, आई एम मारिया। आर यू विपना?'
'एस, आई एम विपना!'
'नाइस टु मिट यू' भन्दै मारियाले 'वेलकम टु साइप्रस' भनिन्।
'थ्याङ्क यू' भन्दै विपना लागिन् उनको पछि, निरीह बाछो सुधी माली गाईको पछि लागे जसरी।
ती महिला साइप्रसको एजेन्ट! विपनालाई लिएर लगभग एक घण्टाको ड्राइभपछि लिमासोल सहरमा अवस्थित उनको अफिसमा पुर्याइन्। तत्काल उनको मेडिकल चेक गरे। इम्प्लोयरलाई बोलाएर जिम्मा लगाए विपनालाई। विपना लिमासोया भिलेजको एउटा आधुनिक भिल्लामा घरेलु काम गर्ने कामदारको रुपमा भित्रिन्छिन्। यसरी ढाई वर्षअघि साइप्रस आइपुगेकी थिइन् विपना।
भू-मध्य सागरमा अवस्थित मानव बसोबास गर्ने टापुहरू सिशिली, सार्डिनिया पछिको ठूलो टापु हो साइप्रस! पर्यटकको लागि उत्कृष्ट गन्तव्य साइप्रस टापु केही वर्षदेखि रोजगारको रोजाइमा परेको मुलुक हो हामी नेपालीहरूको लागि! विशेष गरेर घरेलु कामकाज, केयर टेकर अनि केही मात्रमा सुसी सेफको साथै फार्मिङको लागि डिमान्ड आउँछ नेपालमा।
सन् १९६० मा ब्रिटिश उपनिवेशबाट मुक्त भएर स्वतन्त्र गणराज्य बनेको साइप्रस। सन् २००४ मा युरोपियन युनियनमा संलग्न भएकोले युरोपेली मुलुक भनेर चिनिन्छ। १०-१२ लाख जनसंख्या भएको सुन्दर देश साइप्रसमा नेपालीहरू महंगो रकम तिरेर आउँछन्। युरोपेली मुलुकको सपना देखाएर पठाएको हुन्छ एजेन्टहरूले। युरोपेली पिआर पाउने, सुरक्षित सुनिश्चित भविष्यको कपोकल्पित सपना सजाएर।
विपना ती धेरै नेपाली मध्येकी एक पात्र! एक बिम्ब मात्रै हो जो आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारीको भारी बोकेर साइप्रस आएकी। मज्जाले बुझाएर आएकी छिन् दस्तुर, मान्छे लिलाम गर्ने म्यानपावर कम्पनीलाई। सावाँको भन्दा ब्याजले कोट्याएको घाउले नमिठोसँग दुखाइदिएको छ कलिलो विपनाको जिन्दगीलाई।
दुई-तीन वर्ष खटेर काम गर्दा कमाएको पैसाले साहुबाट लिएको ऋण चुक्ता गर्न सकेकी छैनन्। बा-आमाको सपना अनि स्वयम आफ्नो चाहना एकादेशको कथा बनेको छ। जन्मथलोदेखि हजारौं माइल टाढाको भूमिलाई कर्मभूमि बनाएर हिँडिरहेकी छिन् जिन्दगीले तय गरेको गोरेटोमा।
सबेरै कामसँगै उठ्ने गर्छिन्, साँझ कामसँगै निदाउने गर्छिन्! बिरामी भएको बेला आरामको बदला तुच्छ कर्कश स्वर मिठो उपहार पाउने गर्छिन् इम्प्लोएयरको- 'मैले तिमीलाई किनेर ल्याएको हो! मलाई तिम्रो स्वास्थ्यको भन्दा कामको पर्वा छ!'
अरुभन्दा नि घरपालुवा जनावर कुकुर/बिरालो बिरामी हुँदा घरमै भेटेनरी डाक्टर आएर उपचार गर्छन् तर तेस्रो मुलुकको कामदार बिरामी हुँदा जे भए पनि पेनकिलर दिएर काम लगाउँदा मन साह्रै कुँडिन्छ।
मध्य-समर सिजन। महिनाझैं लाग्ने लामो दिन। खाडी मुलुकमा जस्तै हुने गर्मी। उराठलाग्दो वातावरण, विपनाको जिन्दगीजस्तै। साँझपख माउन्ट ओलोम्पिया (ट्रोडोस) पर्वतको छायाले लिमासोया गाउँलाई अंगालेको छ। लेडी स्माइल बिच पहेलो रंगले पोतेको चित्रजस्तै देखिन्छ।
थकाइ पनि थाक्ने गरी गलेको शरीर बोकेर विपना आफ्नै भाग्यसँग प्रश्न गर्छिन् बाल्कोनीमा बसेर आफूले आफैलाई- 'के यही हो मैले देखेको सपना? के यसरी पूरा गर्न सक्छु बा-आमाको चाहना? के यसरी भाइको जिम्मेवार पूरा गर्न सकिन्छ?' यस्तै-यस्तै मनमा उब्जेको उत्तर बिनाको प्रश्नहरूको सामना गर्दै उनी विगतमा फर्किन विवश हुन्छिन्।
काठमाडौंमा अवस्थित म्यनपावर अफिस। म्यनपावर धाउँदाधाउँदै फाटेको जुत्ता सम्झिन्छिन्। दुई/चार वटा जिब्रो भएको म्यनपावर संचालक सुटेट-बुटेट महोदयको फूलबुट्टे स्क्रिपटेड कुरा सम्झिन्छिन्। साइप्रस युरोपेली मुलुक! मनग्ये आम्दानी! केही वर्षभित्रै पिआर पाउने! सजिलैसँग सम्पन्नशाली युरोपेली मुलुक जान पाउने! आदि इत्यादि!
कल्पनाको संसारबाट फर्कंदा विपनासामु तितो यथार्थहरू ङिच्च दाँत देखाएर हाँसिरहेको पाउँछिन्। समस्यासँग हारेर महिनैपिच्छे जस्तो आत्महत्या गर्ने नेपाली छोराछोरीको तितो कथा सम्झिन्छिन्। नेपाल फर्कन हस्पिटलको डि-फ्रीजमा कक्रिरहेको नेपाली छोराछोरीको लास बारे बुझ्न मन लाग्छ।
डिप्रेसन र एनजाइटीले छोपेको साथीसंगीले फेसबुक वालमा लेखेको स्टाटसले झस्काउँछ, अरुको देशको मान्छेले गरेको एग्रिमेन्टमा पेपरमा लेखेको सम्झौताहरू पेपरमै सीमित भएको देख्दा। निर्वाचनमा भोट दिएर जितेको नेताको अनुहार सम्झेर तिनका अनुहार चिथोर्न मन लाग्छ विपनालाई।
अपवादमा परेर सीमित प्रतिशतको जिन्दगी फलेको होला, फुलेको होला प्रवासमा हामी नेपालीको। अधिकांशको कथा-व्यथा छ उस्तै, विपनाको जस्तै! भन्नुलाई त भनिन्छ सबैले जिन्दगी संघर्ष हो तर संघर्ष गर्दागर्दै पूरा नभएको सपनाहरू मनको आकाशमा अवस्थित बादलसँगै उडेर वर्षा बनेर दुई नयनको बाटो हुँदै वर्षिरहेको छ, विपनाहरूको उदास जिन्दगीको नयनबाट फुटेर।