मेरो सानैदेखिको साथी विदेश जाँदैछ। आज उसको नेपाल बसाइको अन्तिम दिन, छात्रवृत्ति पाएर जर्मनीमा उच्च शिक्षा हासिल गर्नको लागि जान लागेको। ऊ सानैदेखि मेधावी विद्यार्थी, आखिरमा विद्यार्थीकालमा दोस्रो कहिले हुन नजानेको मान्छे। सुन्दर र उज्वल भविष्यको खोजीमा आफ्नो मातृभूमि छोडेर बाहिरिँदै छ।
उसको बिदाइमा सरिक हुन नपाउने भएकाले एकदिन अगाडि नै भेट्ने योजना हाम्रो बन्यो। काठमाडौं दरबार स्क्वायरको छेउमै रहेको रेस्टुरेन्टमा कफीको चुस्की लिँदै हामी हाम्रो वर्तमान र भविष्यको बारेमा मौखिक मस्यौदा कोर्दै थियौं। यत्तिकैमा उसले सोध्यो, 'अनि तिम्रो चाहिँ विदेश जाने विचार छैन?'
मैले उसको प्रश्न पूरा नहुँदै उत्तर दिइहालेँ, 'अहँ! त्यस्तो विचार छैन यार!'
कति सजिलै उत्तर दिएँ तर मन भारी भएर आयो। यो प्रश्न मेरो लागि न नयाँ थियो न उत्तर दिँदा महसुस भएको भावना नै। सायद हामी सबैले पटक-पटक यो प्रश्नको सामना गरेका छौं र गरिरहने छौं। आखिर मन भारी नहोस् पनि किन? संक्रमणकाल र अनिश्चिताले गाँजेको देशमा मेरो सुन्दर भविष्यको अस्तित्व खोज्नु कुनै साहसिक खेलभन्दा कहाँ कम छ र!
यो सवालको जवाफ दिँदा मनमा दोधार, शंका आखिर किन आए त? सानै उमेरदेखि मेहनत र परिश्रम आफ्नै देशमा खनाएर नै आफ्नो देश विकास गर्न सकिन्छ भन्ने विषयमा अडिग मेरो विचारलाई देशमा बसेर केही हुँदैन, गर्न सकिँदैन भन्ने विषाक्त सिद्धान्तले देशको सीमा मिचिएझैं मिच्न पो लागे कि?
विभिन्न समयमा मैले भोगेका राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनले जगाइदिएको आशाको घाँटी थिचेर, निमोठिएर पो यस्तो भयो कि? आफ्नै परिवार, छर-छिमेकले गर्ने अनावश्यक तुलनाले पो मेरो विश्वास धर्मरायो कि? कि विदेश गएर मात्र सफल भइन्छ भन्ने भाष्य समाजमा बलियो रुपमा निर्माण भएर पो मेरो आस्था डगमगायो कि?
त्यो प्रश्नको वाणलाई झेल्न आखिर किन मेरो मन मस्तिष्क काप्यो त?
मिठो भेटघाट र उसको आगामी दिनका लागि शुभकामना दिएर रत्नपार्कबाट आफ्नो डेरातिर गाडीमा म हुँइकिएँ। नेपथ्यमा सत्य स्वरुपराज आचार्यको गीत घन्किंदै थियो- 'जहाँ सुनका बाला झुल्छन, जहाँ इन्द्रधनुष झर्छन्... यही हो मेरो देश नेपाल।'
म सिंहदरबार तिर हेर्दै सोच्दै थिएँ, आफ्नै देशमा बसेर यहाँका हावापानीमा रम्दै, खेल्दै व्यक्ति, समाज र राष्ट्रलाई केही योगदान गरौँ भन्ने मजस्ता हजारौं सोच बोकेका युवाका लागि सहज वातावरण बन्नेमा औंला ठडाउने बेला भएकै हो?
गाडीबाट र्ओलेर डेरामा गएर एकछिन ओछयानमा पल्टिएँ। यसो टिकटक खोलेँ, एकजना स्वदेशमै तरकारी खेती गरेर राम्रो आम्दानी गरेर बस्ने दाजुको 'मलाई जापान पनि यही... मलाई अमेरिका यही....' भन्ने गीतमा टिकटक बनाउँदै गरेको देखेँ। त्यसैले त यो अन्धकार सधैं रहला भन्ने कुरामा शंका छ मलाई, हरेक औँसीको रातपछि उर्जा दिने प्रकाश त पक्कै आउनेछ। देशप्रति नकारात्मक विचारले भरिएको दलदलबाट सकारात्मक विचारको झिल्को लिएर त्यो दलदल पार गर्ने अठोट कति पनि ममा कम भएको छैन।
जब म र मजस्ता कैयौं व्यक्तिहरू आ-आफ्नो ठाउँबाट एउटा सभ्य र विकसित समाजको परिकल्पना गर्दै हातमा हात, काँधमा काध मिलाएर अगाडि बढ्नेछौं, निर्धक्कका साथ भन्न सक्छु वर्तमानमै केही गरेर आउँदो भविष्यलाई सुनौलो बनाउँदै आफ्नै देशमा बसेर आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण विश्वको सामु प्रस्तुत गर्न सक्नेछौं।
अनुभव र परिपक्वताका खानी अग्रज, उर्जा र सिर्जनाका उद्गम युवा वर्गको मिश्रित हातेमालोले नै आगामी दिनमा देश विकासको कोशेढुङ्गा साबित हुने कुरामा कुनै द्विविधा छैन।
त्यसैले आऔं, विचारमा सिर्जनशील भई आफूले गर्ने हरेक कार्यमा नवीनता भित्र्याउने प्रयास गरौं, देश निर्माणको बिगुल फुकौं ताकि जुन दोविचार हामीले भोगिराखेका छौं, त्यो अवस्था भविष्यका कर्णधारहरूले भोग्नु नपरोस्। आफ्नो परिवार, समाज र देशमै बसेर गर्वका साथ भन्न सकोस्- 'म मेरो देशमै बसेर केही गर्नेछु।'