सामराको निलो डायरीको पृष्ठ २१ बाट
टीएस इलियट कहीँकतै लेख्छन्- अप्रिल इज द क्रुएलिष्ट मन्थ अर्थात् अप्रिल सबैभन्दा निर्दयी महिना हो। मेरो जन्मको २१ औं वर्ष आज पनि अप्रिल नै हो। मैले नाघेर आएका २० वटा अप्रिलका फूलहरूलाई सम्झँदा मलाई इलियट सँच्चा लेखक रहेछन् भन्ने लागेको छ।
म पहिलो पटक अस्पतालको शय्यामा रुँदा अप्रिल हाँसिरहेको थियो होला सायद। त्यो अप्रिलपछि आजसम्म मैले लगभग सबै अप्रिलमा आँसु पिएकी छु र मेरो तर्फबाट मेरी आमालाई आँसु नै उपहार दिएकी छु। मेरी आमाले पनि हिजो मलाई भनेकी थिइन्- छोरी, दिस इज अप्रिल। मलाई लाग्यो एउटी आमा आफ्नो सन्तानप्रति व्यंग गरिरहेकी छन्।
मेरा केही साथीहरू आफ्नो जन्मदिनमा साथीभाइ र आफन्तहरू बोलाउँछन्, केक काट्छन्, मैनबत्ती बालेर त्यही बलेको मैनबत्तीलाई फू गरेर निभाउँछन् अनि खुसीयाली मनाउँछन्। मानौं बलेको मैनबत्ती निभाउनुमा नै उनीहरू खुसी छन्। तर मलाई यस्तो केही रमाइलो लाग्दैन।
प्रत्येक जन्मदिन मलाई मृत्युका निम्ताजस्ता लाग्छन्। प्रत्येक अप्रिल मलाई बोझ लाग्दा क्यालेण्डरबाट अप्रिल सधैंका लागि हटिदिए हुन्थ्यो जस्तो लाग्छ। तर मेरो कुन चाहिँ रहर आजसम्म पूरा भएको छ र यो रहर पूरा हुन्छ भन्ने सपना देखुँ! समयको पानामा के लेखेको छ भनेर कसलाई पो थाहा हुन्छ र? अर्को बोझिलो अप्रिल आउनुभन्दा पहिले नै मैले अन्तिमपल्ट आँसु पिएर अस्ताउन पनि त सक्छु।
डायरीको गाता निलो छ, अक्षर पनि निला छन्। ऐना हेर्छु आँखाका नानी पनि निला छन् जस्तो लाग्छ। मेरी आमाले लगाउने प्रत्येक कपडा निला छन्, उनका राता सारी त मैले जन्मने बित्तिकै सधैंका लागि खोसेकी रे। कसरी मानुँ यो कुरा, रुन बाहेक केही नसक्नेले उनको र रातो रंगको सम्बन्धविच्छेद कसरी पो गर्न सकें हुँला र? तैपनि प्रतिवाद गर्न मन लाग्दैन। मलाई सधैं मेरी आमा यो सुनाउनुहुन्छ र म सुनिरहन्छु। सुन्न बाहेक अर्थोक के पो गर्न सक्छु र?
चारैतिर निलोले घेर्दा पनि मेरो जिन्दगीमा निलो फूल अहँ! कहीँकतै फुलेन। मैले फूल फुलाउन जानिनँ या फूलले ममाथि फुल्न मानेन, त्यो म केही जान्दिनँ। यत्ति थाहा छ, मेरो जिन्दगीमा कुनै फूल फुलेको मलाई थाहा छैन। कमलपित्तको बिरामीको अनुहारजस्तै जिन्दगी पहेंलिंदै गइरहेको छ। अब त सायद अस्ताउन पनि लाग्यो क्यारे।
यो डायरी मैले धेरै अघि फेला पारेको हुँ, भैरहवाबाट काठमाडौं जाँदै गर्दा। पछिल्लो सिटको झ्यालनेर बसेको थिएँ। मलाई लामो यात्रामा झ्यालनेरको सिट नै प्यारो लाग्छ। राजमार्गमा बस, मानौं म्याराथन बिजेता बन्ने गरी हुइँकिँदा झ्यालबाट छिरेको हावाले मेरो अनुहारमा स्पर्श गर्दा रमाइलो लाग्छ। टाढा-टाढाका वस्ती र राजमार्गका छेउमै मोनालिसा बन्ने सुरमा श्रृंगारिंदै झरेका झरना, खोला र कुला मलाई असाध्यै मन पर्छ। त्यसैले लामो यात्रामा झ्यालबाट आँखा फुत्त बाहिर निकाल्न मिल्ने सिट नै मेरो रोजाइमा पर्छ। त्यस्तै बेला मैले यो डायरी भेट्टाएको थिएँ।
डायरीको पहिलो पृष्ठको उसको लेखाइले मलाई उसको नदेखिएको आकृति मनमा कोर्न झकझकाइरहेको थियो। लेखिएको थियो- आँसुको जहाज चढ्ने...। डायरी पल्टाएँ, सुन्दर गोला निला अक्षरहरू, त्योभन्दा पनि सुन्दर उसको लेखन शैली। डायरीमा कतै कविता, कतै फूलका थुँगा, कतै रोइरहेकी भर्खरकी केटी, कतै पत्रहरू, कतै पात्रहरू। पढ्दै गएँ, प्रत्येक अक्षरहरू छुँदै गएँ र भित्रभित्रै रोएँ पनि- उसका शब्दहरूले पोलेर।
सानै उमेरदेखि पुस्तकसँग मेरो गहिरो र भावनात्मक प्रेम परेको छ। गाउँमा बिजुली थिएन- टुकी बालेर पढ्नु पर्ने। जूनको उज्यालोमा पनि मैले धेरै रात पुस्तकसँग सँगै बसेर, सँगै दौडेर, सँगै हाँसेर, सँगै रोएर बिताएको छु। अचेल पनि रात सँगसँगै बसेर आख्यानसँग प्रित गाँसेर कतै बादलको देशमाथि मधुमालती बन्न मन लाग्छ। तर धेरै रात भयो मैले पुस्तक बुक-सेल्फमा अड्याएर मोबाइलसँग जिस्कन थालेको छु, मोबाइलसँग नजानिँदो तरिकाले प्रेममा परेको छु र हराउन थालेको छु त्यसैसँग।
एउटी अपरिचितसँग मेरो भर्खरै मोबाइल प्रेम परेको छ। देखेको छैन। भेटेको छैन। तर सधैं उसैसँग बोल्न मन लाग्छ। मन बेचैन बन्छ। रातको १० बजेको धैर्यता बाधिरहन सक्दिनँ। नाम- रुपा। घर- थाहा छैन। काम- बौद्धको एउटा गार्मेन्टमा। उमेर- थाहा छैन। रुप- थाहा छैन। थाहा भएको उसको मोबाइल नम्बर र फूल मात खाने उसको बोली मात्रै हो।
घडीले रातको १० बजाएपछि उसको र मेरो आवाजको स्पर्श बहेली खेल्न थाल्छ। प्रत्येक कुरामा ऊ पारदर्शी सिसाजस्तै बन्छे। मलाई यस्तो लाग्छ- ऊ साबुनको फिंज जत्तिकै कञ्जन छ। तर खै कुन्नी किन हो, मलाई उसले आफ्नो घरपरिवार बारे केही बताएकी छैन। मैले पनि बारम्बार सोधिनँ। एउटी भेट नै नभएकी केटीको घरपरिवारबारे बारम्बार सोधिरहनु मलाई निको पनि लागेन।
हुनसक्छ बिहेपछि उसको लोग्ने मलेसिया वा अरबतिर गएको होस् र न्यास्रो मेट्न मसँग नजिकिएकी होस् वा हुनसक्छ उसको बिहे नै भएको छैन। जे होस् उसले नबताएपछि मैले बारम्बार त्यही प्रश्न उसलाई सोधिनँ। सायद यसमै ऊ खुसी थिई। कुराकानीको क्रममै मैले कहिलेकाहीं मसला थपिदिन्थें- बोलीमात्रै साटासाट गर्ने कि भेटेर बैँसलाई शीतको शीतलता पनि दिने?
ऊ केही बोल्दिन थिई र पनि मैले बीच-बीचमा खिचडी पकाउन छाडिनँ। भलै त्यो वीरबलको खिचडी नै किन नहोस्।
केही हप्ता अघिको शुक्रबारको राति म त्यही निलो डायरी पढ्दै थिएँ। टेबलमा सुतेको मोबाइलमा मालश्रीको धुन बज्यो, हेरें उसैको फोन थियो। त्यो रात उसलाई त्यही डायरीको एक पाना पढेर सुनाइदिएँ।
सामराको निलो डायरीको पृष्ठ ५१ बाट
ओठमा फूल फुलाउन र परेलामा इसारा नचाउन जान्नेहरूका लागि पो सुन्दरता र रुपको अर्थ। मलाई न रुप चाहिएको छ न श्रृङ्गार। अलिअलि रुपको रंगले मलाई पनि पोतेको छ रे तर मेरा आँखाले कहिल्यै मेरो जीउभरि रुप र श्रृंगारको बासना महसुस गरेका छैनन्। फेरि रुप र श्रृङ्गारप्रति मेरो घृणा छ। मेरी आमा अचेल झन्-झन् शरीरको उमेर घटाउँदै छिन्।
निलो सारी-ब्लाउज, अग्ला स्यान्डिल र आँखामा गाँजल बोकेर दिउँसो घरबाट निस्किन्छिन् र राति मात्रै घरमा आउँछिन्। उनको अफिस ३ बजेसम्म मात्रै हो। तर उनी घर फर्कंदा सधैं झ्याउँकीरीले आफ्नो भायोलिन रेटेर थाकिसकेका हुन्छन्। उनी कहाँ जान्छिन्, त्यो त म जान्दछु तर जानेजस्तो गर्न मन लाग्दैन। जन्मनेबित्तिकै रातो रंगसँगको उनको सम्बन्धविच्छेद गरिदिएपछि मैले बोल्नु हुँदैन भन्ने ठानेर म चुप नै बसें।
उनले पनि केही भन्थिनन्। मेरा रहरमाथि तुषारो परे पनि उनका रहरहरू फक्रेको देख्दा मलाई अलिअलि खुसी लागेको छ। झन्-झन् उनमा बैँस पोखिंदै गएको छ अचेल।
मैले पढेर नै सकेको थिइनँ त्यो पृष्ठ, फोन काटियो। तत्काल उसको नम्बर डायल गरें मोबाइल स्विच अफ। एक मनले शंका लाग्यो, कतै यो केटी यही डायरीको सजीव पात्र त होइन? आफ्नै हराएको डायरी सुनेर नरमाइलो पो लाग्यो की? तर विश्वास गर्ने आधार पो के थियो र? डायरीको पात्र र मेरो मोबाइल प्रेमको पात्र एउटै हो भन्ने? ओशोको एउटा भनाई सम्झें- शंका गर, त्यो बेलासम्म तिमी शंका गर्दै गर जुन बेला तिम्रो शंका चिहानमा पुरिएर तिमी चिहानबाट बाहिरिन्छौ। मेरो शंका भर्खर पलाएको मात्रै त थियो।
त्यही पृष्ठको बाँकी भाग पढ्न थालें।
सामराको निलो डायरीको पृष्ठ ५१ को बाँकी
म छोरी भएर जन्मिएँ। छोरा भएर जन्मेको भए आमाले मिठो बोल्थिन् होला। अलिकति माया घोलिएका आँखाले हेर्थिन् होला। न्यानो अंगालोमा राख्थिन् होला। तर म छोरा भइनँ। अर्थात् उनको न्यानो अङ्गालो र मिठो माया पाउने सफल उम्मेदवार बन्न सकिनँ। यसमा मेरो के दोष? छोरी भएरै जन्मिनु मेरो दोष भए उनले आफैमाथि प्रश्न गर्नुपर्छ। के उनी पनि कसैकी छोरी होइनन् र ?
के म उनको कोखमा जीवन पाएर उनको दूध पिएकी होइन र? कि आफ्नै दूधको माया लाग्न छाड्यो अचेल नारी जातिलाई? अहँ! त्यसो हुन सक्दैन। म पनि त नारी हुँ। मलाई पनि मेरो दूधको माया लाग्छ। के मेरो सन्तानलाई म आफ्नो दूधसँग सम्झौता गराउन सक्छु र ? के चेपेमा बगेको दूधको भार सस्तो भइसक्यो र? के सन्तानको अमृत प्रयोगशालाको झोल मात्रै हो र? अहँ! त्यो हुनै सक्दैन।
सहरमा सपनाको किनबेच हुन्छ रे। अब म पनि सहर जान्छु। छोरी हुनुका सरजाम बोकेर म सहर जान्छु। सुनेकी छु सहरले छोराभन्दा छोरी खोज्छ रे!
कैयौं पटक दोहोर्याए पनि मलाई यो पृष्ठ प्रत्येक पटक नौलो लाग्छ। प्रत्येक पटक यो पृष्ठले मनमा नमिठो घाउ बनाउँछ र त्यो रात पनि मनमा नयाँ घाउ पलायो।
सिरसिर बतास चल्ने साँझमा कमलादीको बाटो निला शिरीषका फूलले नुहाउँदै हिँड्नु ज्यादै रमाइलो लाग्छ। चिसापानीबाट काठमाडौं झरेको त्यस्तै दुई हप्ता पछिको एक साँझ म कमलादीको बाटो हुँदै 'शिरीष आन्दोलन' ले चिप्लाएको इतिहासलाई दायाँतिर पारेर ठमेलतिर जाँदै थिएँ।
साँझ परेपछि ठमेल जवान बन्दै जान्छ। मेरो एउटा विदेशी साथीले अस्ति च्याटमा भन्दै थियो- काठमाडौंमा घाम अस्ताएपछि ठमेलमा उदाउँछ भनेर। उसले पनि ठमेलको पारिलो घाम तापेर गएको थियो एक रात। मलाई पनि ठमेलको साँझमा 'पेभ ट्रेक टु विन्डो पेमेन्ट' मा कुनै फकीरजस्तो गरी घुम्न असाध्यै मन पर्छ।
पातला गाडी, बाहिर थोरै कोलाहल, पसलभन्दा मान्छे धेरै। सडक बालबालिकाले भरिभराउ। कुकुर र ती बेवारिसे सडक बालबालिका एउटै सिरानी बनाएर सुत्ने तर्खर गर्दै थिए। कति प्रेम कुकुर र मान्छेको बीचमा। मान्छे र पशुको एउटै विस्तारा, एउटै सिरानी। कतै पढेको थिएँ- मान्छेलाई भोको पेटले क्रुर बनाउँछ। तर खै ती भोका केटाकेटी क्रूर बन्न सकेको?
सत्य त्यो होइन रहेछ। हुन त सत्य कहिल्यै निरपेक्ष हुँदैन। तर सापेक्ष पनि भइदिएन। अघाएको पेटले सन्तोष मान्न नसकेपछि पो मान्छेले मान्छेको आयु गुन्द्रुक बनाउँदो रहेछ। नत्र के काठमाडौंले ती केटाकेटीको भोको पेटमा अलिकति मात्रै भए पनि मायाको सर्वत चखाएको छ त? के ती केटाकेटीको भोक काठमाडौंले सापटी मागेको छ त?
मजस्तै ठमेललाई आँखाले पिउन आएका हुन् या ठमेलमा ठमठम-मेल/फिमेल पिउन आएका हुन्, बाटाभरि मान्छे म गएतिर नै जाँदै थिए। कोही एक्लै, कोही हुलमा, कोही तन्नेरीको मुकुट पहिरिएका र कोही बुढ्यौलीले छुन थालेका, कोही निरस कोही सरस आदि आदि। सायद काठमाडौंमा जीवन खोज्न आएका धेरै थिए त्यहाँ। चिनजानको कोही रहेछ भने नचिनोस् भनेर क्याप अलि ढल्काएँ।
'एक्सक्युज मि दाइ' सञ्चयकोषको पारिपट्टिको मोडमा पुग्दा नपुग्दै कसैले मलाई नै केही भनिरहेजस्तो सुनेँ। बोली उम्रिएको मुहानपट्टि फर्किन खोजेँ। तर कताबाट त्यो बोली आएको हो ठम्याउन सकिनँ। फेरि त्यही शब्द दोहोरियो। यो पटक भने ठ्याम्मै ठम्याएँ। मेरो नजिकैका दुइटी केटीले बोलेका रहेछन्। म उनीहरूको अनुहारमा हेरें। केही बोलिनँ। अनुहारमा हेर्नुभन्दा पहिला मेरा आँखा उनीहरूको छातीमा ठोक्किएका थिए।
'दुइटीको पाँच सय। होम सर्भिसमा एक हजार। ऊ नयाँ हो, भर्जिन छ,' छातीको भागमा 'बिन्दास छ जिन्दगी' प्रिन्ट गरिएको निलो टिसर्ट लगाएकीले बोली। उसकै बोलीलाई आधार मान्दा अभर्जिनवालीले भनी। ठमेलमा यस्ता केटीहरू धेरै भेटिन्छन्। कोही नयाँ, कोही पुराना। केही बोलिनँ र ससर्ति ती दुवैलाई हेरेँ।
उनीहरूको जीउबाट आएको पर्फ्युमको गन्ध मेरो नाकका दुई पोराबाट सहनै गाह्रो पर्ने गरी भित्र छिरिरहेको थियो। छातीको भित्री भागमा चिसो भएजस्तो लाग्यो। यो मेरो पहिलो अनुभव थियो। ननिको लाग्दै थियो। लामो सास फेरें। यो कत्ति छिटो भयो भने त्यो बेला घडीले कति पटक टिकटिक गर्न सक्यो होला सायदै अनुमान मात्र गर्न सकिन्छ।
'मेरी आमा बिरामी छन्। घरमा अरु कोही पनि छैन। पैसा पनि मसँग छैन। काम गर्थें। अहिले काम पनि छैन। मेरो स्वाभिमानभन्दा आमाको जीवन ठूलो हो। तपाईं मेरो ग्राहक बनिदिनुस्। पहिलो ग्राहक,' भर्जिनवालीले बोली।
म के गरुँ, के भनुँ भएँ। मनमा प्यारालाइसिस भएजस्तो भयो। म ठमेलमा जानुको उद्देश्य त्यो थिएन। तर त्यो केटीको बोलीले म त्यसै अगाडि चल्न पनि मन गरिनँ।
मलाई उसको पहिलो ग्राहक बन्न मन लागेन। माफ गर्नुहोस् पाठक, मलाई उसको ग्राहक बन्न मन लागेन। उसलाई सिधैं ग्राहक बन्ने कुरामा इन्कार पनि गरिनँ।
उसको आँखाबाट झरेको आँसु भिरबाट खसेको खोलाजस्तै देखियो। अलिअलि पत्यार पनि लाग्यो। नत्र भर्जिनवाली भनेर आफूलाई महंगो सावित गराउने व्यापारीको कुरामा विश्वास गर्ने कुनै आधारप्रमाण भेट्न गाह्रो हुन्छ। विश्वासभन्दा ठूलो प्रमाण सायद केही नहोला।
उसले कालो टिसर्ट र कालो नै जिन्स-पाइन्ट लगाएकी थिई। अर्की अभिर्जिन केटी सम्भावित ग्राहकसँग बार्गेनिङ गर्दै थिई अलि पल्तिर। म त्यो सुनिरहेको थिएँ।
म त्यो केटीसँग निकै बेर कुरा गरेँ। घर सोधेँ। केही बताइन। नाम सोधेँ, त्यो पनि बताइन। बोली कतै सुनेजस्तो लागे पनि ठम्याउन सकिरहेको थिइनँ। ऊ पनि बेलाबेला मसँग झस्केजस्तो लाग्थ्यो तर झस्केको हो/होइन त्यो निर्क्यौलमा म पुग्न सकिनँ।
जे होस् ऊ घरकी एक्ली छोरी रहिछे र उसकी आमा बिरामी रहिछन्। त्यो मैले पक्का विश्वास गरें। तर सहयोगको नातामा उसको ग्राहक बन्न मन लागेन। बरु गोजीमा भएको एक हजार रुपैयाँ र मेरो भिजिटिङ कार्ड उसको हातमा राखिदिएर म त्यहींबाट फनक्क बकुल्ला फुल्ने बिहान उदाउने दरबारको पेटी हुँदै फर्किएँ।
अर्को बिहान म सुतिरहेकै बेला मोबाइलमा एउटा म्यासेज आयो। हेरें। मेरो मोबाइल प्रेमिकाको म्यासेज थियो। खुसीले मात्तिएँ। र म्यासेज पढ्न थालेँ। लेखिएको थियो- 'तपाईंको भिजिटिङ कार्डले मलाई अतीत सम्झाएको छ। कृपया तपाईंलाई फुर्सद छ भने आज साँझ तपाईंलाई भेट्ने रहर लाग्यो। जवाफको प्रतीक्षामा छु।'
'साँझ ठिक ६ बजे नागपोखरी क्याफेमा आउनू' भनेर जवाफ फर्काउनुभन्दा पहिले सिरानी मुनिको त्यही डायरी हातमा लिएर भित्ताको घडी हेरेँ। साँझको ६ बज्न पूरै १२ घण्टा बाँकी थियो।