म जता बसे पनि तिमी उल्टो नै देख्छौ
मैले जे गरे पनि तिमी उल्टो नै देख्छौ
म तिमीले देख्ने गोलाइको निकै पर उभिँदा पनि
तिमी मलाई सानो तर उल्टो नै देख्छौ
म कर्भेचर (वक्रता) को केन्द्रमा उभिँदा पनि
तिमी मलाई उस्तै तर उल्टो नै देख्छौ
म केन्द्रमा फोकस भएर उभिँदा त
तिमी मलाई झन् ठूलो, तर उल्टो नै देख्छौ
कन्भेक्स लेन्सबाट हेर्दैछौ सायद
तिमी मलाई!
मलाई थाह छ, म उभिएको धराताल
मैले टेकेको यो धर्ती
पाइलाले ओगटेको श्रेत्रफल
अनि थाहा छ मलाई
म सिधा उभिएको!
आर्टिफिसियल लेन्स बिनाका
तिम्रा नाङ्गा नयनले पनि
फगत तिमी मेरा छाया मात्र देख्छौ क्यार
मलाई देख्दैनौ
र भन्ने गर्छौ तिमी
मेरा छायालाई हेरी
म बाङ्गै छु!
एकपटक तिमी मलाई
हेर्न छाडेर संसारलाई हेर त
सुन्दर प्रकृतिलाई हेर त
मलाई शंका छ
कलकल बगेको त्यो नदीनाला
पारिलो लागेको त्यो घाम
सिरिरी बहेको त्यो शीतल हावा
चराचुरुङ्गीका चिरविर आवाजहरूसँगै
स्वच्छन्द भई आकाशमा उडेका ती चराहरू
मगमग बास्नासहित फुलेका ती फूलहरू
कतै तिमी सब उल्टो त देख्दैनौ?