शरद ऋतु सुरु भएको पहिलो दिन बरन्डाबाट बिहानैको दृश्य हेर्न लायक थियो। राति पानी परेकाले होला चिसो-चिसो शीतल मौसममा दंग पर्दै डाँडाको टुप्पोमा खेलिरहेको कुहिरोले बदलेको आकृति नियाल्न पुगेँ।
डाँडाको टुप्पो र डाँडा माथिसम्म फैलिएको कुहिरोले फररर पारेर फ्रक उडाउँदै गरेकी परी कपालमा फूलबुट्टा भरेर मुस्कुराउँदै गरेको जस्तो देखाइदियो। मुस्कुराउँदै गरेकी परीलाई फेरि हावा आएर डरलाग्दो आकृतिमा बदलिदियो। हातमा बन्दुक बोकेर कसैलाई ताकेजस्तो गरी आकाशतिर उचालिएको आकृति वयस्क हुँदै विलायो आकाशमा, पारि क्षितिजमा अनि ब्रम्हानन्दमा। त्यसपछि देखिएको दृश्यमा खम्बीको सुनौलो गाउँ पहेँलपूर भएर हाँसिरहेको थियो, पारिपट्टि डाँडाको काखमा।
दुईतिर काँधमा दुई वटा मादल च्यापेर डाँडाको चौतारीमा खम्बी मुसुक्क हाँस्दै उदाउँछे। लामो उकालोले बढाएको सासको गतिलाई शान्त पार्न ऊ बाटो छेउको ढुंगामा थ्याच्च बस्छे। आफ्नो घरको छानातिर हेर्छे। उसले हेरेको देखेर हो कि तालु खुइलिएको घरको छाना हाँसेझैं लाग्छ।
छानामा छाउनी बनाएका खरका त्यान्द्राहरू फाटेको टोपीबाट बाहिर छिरलिएका कपालजस्ता लाग्ने गरी फर्फराइरहेका छन्, स्वतन्त्रता र मुक्तिका गीतमा। त्यही भावमा खम्बी मादल काखमा लिएर ताल मिलाएर बजाउँछे। उसको मन खुब रमाउँछ, नाच्छ निर्भय, निर्धक्कसँग।
जिन्दगीको अनकन्टारमा बाँचेको रहेछ अलिकति हाँसो। एकैछिनमा फेरि त्यही हाँसोको तापले खुसीलाई खरानी बनाएर आँखाबाट वर्षेका भेलसँगै नजिकैको खोल्सामा मिसाइदियो। अब बाँकी रह्यो आँसु र हाँसोरहित सुनसान जिन्दगी। मादलको आवाज बन्द भयो, मनको गीत बन्द भयो। केबल फुसफुसाए शब्द मात्र- हरे राम। पीडाको निखार र स्वतन्त्रताको सुरुआतको फोस्रो र खोक्रो जिन्दगी अनकन्टारमा झुन्डिरह्यो। न टिप्नै सकियो न झर्नै सक्यो।
आज ठ्याक्कै एक महिना पुगेछ खम्बीले वैधव्य जीवन धारण गरेको। उमेर नपुग्दै मर्यो हर्के। उसलाई जाँडरक्सी नभई नहुने। सुरुसुरुमा उसले खुब जाँडरक्सी खायो तर पछि त्यही जाँडरक्सीले उसैलाई खायो। एकले अर्कालाई समाप्त पार्ने खेलमा हर्केको हार, रक्सीको जित भयो। हिपहिप हुर्रे!
दिउँसै स्याल करायो- उहुँहुँ गरेर। खम्बी झस्किई- 'कतै मेरै आवाज त होइन? कैयौं दिन मनका पीडा पोख्न त्यही छानामुनि म पनि त्यसरी नै कराउथेँ तर स्यालको जति तिखो आवाज नभएर घरभित्रै हराउँथ्यो, घर नजिकैको जंगलमै बिलाउँथ्यो अनि कहिलेकाहीँ छिमेकीको सम्म पुग्थ्यो तर पीडाको पिलो कहिल्यै फुटेन, जहिल्यै टन्किरह्यो, जहिल्यै दुखिरह्यो अविनाशी बनेर, घनिष्ट साथी बनेर।'
त्यो स्याल किन रोएको हो कुन्नी, भाषा मिल्ने भए दुवैजना कुराकानी गर्थे होलान् तर स्यालको पीडा पनि खम्बीको आफ्नै बनेर दिलमा बसिदियो।
रक्सीले मात्तेको हर्के चौबिसै घन्टा गनगनाइरहन्थ्यो। सायद उसको जन्म रक्सी खानकै लागि भएको थियो। रक्सीले मात्र पुग्दैन थियो उसलाई, स्वास्नी पनि चाहिन्थ्यो। रक्सीले मुढो बनाएको हर्केको शरीरलाई खम्बीले तीस वर्षसम्म सही। न दिन भन्न पायो न रात भन्न पायो शरीरले। न मेलापातमा राम्ररी काम गर्न पाउँथी न कहीँकतै गएर एक रात बिताउन। कतै गइहाले पनि हर्के उहीँ पुग्थ्यो र तानेर ल्याउँथ्यो।
दुनियाँलाई रमिता देखाउनुभन्दा एक्लै रुन र मर्न जाति भनेर ऊ कहिल्यै कतै गइन। जाँड र रक्सीको नाक पोल्ने, गन्ध सहनुसहेकी हो उसले। थिलथिलो शरीरले कसरी जीवन धान्न सक्थ्यो र! तर पनि जीवनमा आइलागेको दुःख सहेरै बसी। उसले कति सम्झाउन खोजी हर्केलाई तर माने पो? प्रहरी चौकीसम्म पनि पुर्याएको हो उसलाई, त्यहाँ आमा कसम खाएकै हो। अबदेखि रक्सी खान्नँ, स्वास्नी कुट्दिनँ भनेर कागज पनि गरेकै हो हर्केले तर कहिल्यै सुध्रेन।
आज खम्बीलाई बिथोल्न आउने कोही छैन तर दुःखको भारी बिसाएर पनि मनमा बसेको पीडाको डाम दुखिरहेको छ। स्यालको हुइयाँले नराम्ररी झस्काइदियो। जीवनमा कहिल्यै सुख भोगेको भए पो दुःखलाई कहिलेकाहीँका कहानी बनाएर सुनाउनु उसले। सधैं भोगेको कहानी सुनाएर साध्य पनि हुन्नन्। दुःखका पहाड चढ्दाचढ्दै कति वटा पहाड उक्ली गन्नै भ्याइन।
खम्बीले आफ्नो हातमा हेरी, बांगिएका औंलाले जीवन कथा सम्झाइरहेका थिए।
त्यो दिन ऊ मेला गएर आउँदा रात झमक्क परिसकेको थियो। सिंगारी बाख्राका माउपाठा पनि हर्केले रक्सीमा साटिदिएको थियो। उसको अमिलिएको मन कसलाई देखाउनु र? न बाख्रा पाल्न पाई न वस्तुभाउ नै पाल्न। छोराछोरी पनि खेलाउन पाइन उसले। हुन त जन्मेका भए पनि यस्तो नरकमा कति दुःख पाउथे होलान्। साथी पनि दुःख र सुख मिल्ने भए पो बन्दा रहेछन्। कोही सुखी, कोही दुखी भए भने साथी पनि हुँदैन रहेछन् बाबै- लामो सास फेरी।
आफ्नो सुन्दर जीवनलाई ध्वस्त पारिदिने परिवेशभित्र कति मानिसका आकृति उदाए तर सबैभन्दा बढी त हर्के नै उदायो अनि सगँसँगै मानसपटलमा नदी पनि उदायो। उसको सास पनि लामो नदी सुसाएजस्तै लाग्यो। वर्षाको भेलले बढारेर ल्याएका ढुंगामुडा देखी। त्यही नदीमा बग्दै आएका ढुंगामुडामाथि हर्केको लास पनि बग्दै आएको देखी। ऊ रोमान्चित भई। आँखा ठूला बनाएर हेरी तर अगाडि अँध्यारोमा लुकेको आँगन देखेर झस्की। मनमनै बोली- 'पापीलाई नदीले बगाएर लगे पनि हुने नि, लाँदैन।'
भित्र पसेर खोपामा भएको कुपीलाई सलाई कोरेर बाली। एउटा कुनामा हर्के हातमा रक्सीको बोतल समातेर इन्तु न चिन्तु भएर लडिरहेको छ। दिनभरिको थकान र घरको दृश्यले उसको भोक हरायो। ऊ विस्तारामा पल्टिई, जिन्दगीका पाटाहरूको एकल भोक्ता र समालोचक आफै बनी।
आफ्नै कथालाई बारम्बार मन्चन गरेर नाटकजस्तै सम्झी- पीडादायी हेर्नै नसकिने, भन्नै नसकिने तर अनुभूत गर्न सकिने, सधैं मनमुटुभित्र पिलोजस्तै टन्किरहने, कहीँकतैबाट उपचार नै नपाइने, न मर्न सकिने न बाँच्न सकिने, न छोड्न सकिने न बस्न सकिने। उफ्! मन बिसाउने चौतारी कतै नपाएपछि आफ्नै भाग्य र कर्मलाई धिक्कारेर भुसुक्क निदाई।
खै कतिबेला हो एक्कासी खम्बीको ढाडमा हर्केको लात्तीको बज्रपात भयो। ऊ निद्रैमा कराई- ऐय्या!
'अझ ऐय्या भन्छेस्?,' उसले फेरि अर्को लात्त थप्यो। ऊ बोल्न सकिरहेकी थिइन।
हर्के एकोहोरो फतफताइरहेको थियो- 'मलाई यस्तै हालतमा छोडिदिने? किन उठाइनस्? किन भात पकाएर खुवाइनस्? कोसँग गएकी थिइस्?'
हर्केले अरु के-के भन्यो खम्बीको चेतनाले ठम्याउन सकेको थिएन। उसको अचेत शरीरमाथि हर्केले राज जमायो। अनकन्टारको पानी खन्यायो। माया, ममता, स्नेह, अभिभावकत्व, साथीत्व, जीवनसाथी कुनै पनि भाव थिएन त्यहाँ। केबल जंगली स्वरुप मात्र।
भोलिपल्ट बिहान खम्बी अलिअलि चल्मलाई, हर्के कतिखेर बाहिर निस्किसकेछ। खम्बीको उठ्न नसकेको शिथिल शरीर निचोरिएर आँखाबाट बर्सन थालेका थिए। त्यतिकैमा छिमेकी आएर हर्के भिरबाट लडेर मरिसकेको खबर ल्यायो। खम्बी रुँदारुँदै हाँस्न थाली। खुसी हो कि दुःख हो छुट्याउनै सकिन। चोट सहेको उसको मन र शरीर उठ्न पनि सकेन। नबोलेरै उसले खबर सुनी तर जवाफ नपाउँदै छिमेकी टाढा पुगिसकेको थियो।
अघि कराएको स्याल कता पुग्यो खै? खम्बीको विगत सम्झाएर वर्तमानमा टोलाउने बनाएर। लामो सास फेरेर खम्बीले आकाशतिर फर्केर हेरी। अलिअलि बादल, अलिअलि मुस्कुराएको आकाश अनि चम्कँदै गरेको सूर्यले सान्त्वना दिइरहेका थिए। थाहा छैन खम्बीले अब के गर्छे? अधबैंसे जीवनमा आजसम्म भोगेका कथा सम्झेरै बस्छे कि नयाँ जीवन सुरु गर्छे कुन्नी!